सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : आम जनता पार्टीले विभिन्न मागसहित संघर्षका कार्यक्रम तय गर्दै सोमबार रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
असमान शिक्षक दरबन्दी वितरण सच्याउन, तहगत र विषयगत शिक्षक दरबन्दी एवं विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्तिको माग गर्दै आम जनता पार्टी मधेश प्रदेश कमिटी र आम विद्यार्थी मोर्चाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
गौरको मधेशी क्रान्ति चौकबाट सयौंको संख्यामा विद्यार्थी तथा पार्टी कार्यकर्ता सहभागी भएको र्यालीमा ‘अपुग शिक्षक तुरन्त व्यवस्थापन गर’, ‘शिक्षामा विभेद गर्न पाइदैँन’ जस्ता नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
उनीहरुले ५ सूत्रीय माग र संघर्षका कार्यक्रमसहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएका छन् । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा रौतहट जिल्लामा आवश्यक शिक्षक भन्दा १ हजार ७ सय शिक्षक सामुदायिक विद्यालयमा अपुग रहेको दावी गरिएको छ । जिल्लामा ३ हजार ७ सय शिक्षक हुनुपर्नेमा २ हजार मात्र शिक्षक कार्यरत रहेको हुँदा विद्यार्थीको भविष्यसँग राज्यले खेलवाड गरिरहेकोले तत्काल अपुग शिक्षकको दरबन्दी व्यवस्थापन नगरे सरकारकोविरुद्ध संघर्ष गर्ने समेत चेतावनी दिइएको छ ।
ज्ञापन पत्रमा शिक्षा ऐन अनुसार आवश्यकता भन्दा बढी दरबन्दी रहेको विद्यालयबाट तत्काल दरबन्दी कटौती गर्नुपर्ने, प्रत्येक विद्यालयमा तहगत र विषयगत शिक्षक आपूर्ति गर्नुपर्ने, शिक्षा विभागको मापदण्ड अनुसार प्रत्येक तहको विद्यालयमा तह अनुसारको न्यूनतम शिक्षक दरबन्दी आपूर्ति गर्नुपर्ने, मधेशका अधिकांश विद्यालयमा १०० देखि ३०० सम्म विद्यार्थी राखिएका विद्यालयमा तत्काल सेक्सन छुट्टयाइ अपुग शिक्षक र आवशयक भौतिक संरचना पूर्ति गर्नुपर्ने माग राखिएको छ ।
यस्तै विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो सत्ताभित्र शिक्षक सेवा आयोग खोली अनिवार्य रुपमा पूर्ति गर्ने व्यवस्था गर्नु पर्ने माग पनि राखिएको छ ।
उल्लेखित माग सरकारले सम्बोधन भएर चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्ने समेत चेतावनी दिइएको छ ।
वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, वैशाख २५ गतेदेखि ३० गतेसम्म प्रत्येक जिल्लामा अपुग दरबन्दी पूर्ति गराउन संघर्ष समिति गठन गर्ने, वैशाख ३० गते देखि अभिभावक र विधार्थी संग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ १५ गते जिल्ला शिक्षा समन्वय इकाई कार्यालय घेराउ तथा जेष्ठ २० गते शिक्षा विभाग घेराउ गर्ने कार्यक्रम सार्वजानिक गरिएको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जानकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies