सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । मुलुकमा देखिएको बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा जनशक्तिलाई स्वदेशमै राख्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा शुरु गरेको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।
लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको परीक्षा तथा शिक्षक सेवा आयोगको प्रावि तह, निम्न माध्यमिक तह, माध्यमिक तहको परीक्षाका लागि मात्र गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । तयारी कक्षाका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पनि उनले बताए ।
छत्रदेवका युवा युवतीहरुलाई लोकसेवाको पहुँचमा पुर्याउनका लागि गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार तयारी कक्षाको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले ८० जना विधार्थीले तयारी कक्षामा सहभागी हुनका लागि गाउँपालिकामा आवेदन दिएकोमा पहिलो चरणमा ५२ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइएको र अन्य विद्यार्थीहरूका लागि पनि समय मिलाएर कक्षा सञ्चालन गर्ने तयारी रहेको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीले मानव संशाधनको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भएकाले लोकसेवाको तयारी कक्षा सञ्चावलन गरिएको बताइन् । आगामी दिनमा गाउँपालिकाले बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरूका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्ने तयारी गरिरहेको उपाध्यक्ष पन्थीले बताइन् ।
अनुभवी प्रशिक्षकले प्रशिक्षण दिन शुरु गरेको भन्दै स्थानीय युवा युवतीहरु निकै खुसी भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सैद्धान्तिक र प्रयोगात्मक विधिअनुसार कक्षा सञ्चालन गरिएको जानकारी दिए । पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभाव राम्रो भएकाले यस पटक निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको उनले बताए ।
कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन-कुन विषयवस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने पालिकाका योजना अधिकृत शिव बर्माले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies