दिलमाया शाही/मध्यान्ह
जुम्ला : राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले महिला तथा बालिकामाथि हुने हिंसाका घटना निवारण गर्न राज्य जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
उनले महिला अधिकारको संरक्षण, सम्वद्र्धन र नीतिगत वकालतका लागि गठित राष्ट्रिय महिला आयोगले महिला हिंसा निवारणको लागि जिम्मेवार निकायलाई निर्देशन दिँदै आएको बताइन् ।
उनले आयोगले महिला, बालिकाहरुको अधिकारका विषय सम्बोधन गर्न पहल गर्दै आएको पनि बताइन् । अध्यक्ष पराजुलीले सामाजिक परिवर्तनसँगै हिंसाका घटनामा पनि परिवर्तन आएको बताइन् । महिलामाथि भएका घटनाहरुको गम्भीर रुपमा सुनुवाइ हुनुपर्ने उनको भनाइ छ ।
कुनै पनि राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी प्रशासन लगायतका जिम्मेवार व्यक्तिहरुले महिला र बालबालिका माथि भएको अपराध ढाकछोप गरेको खण्डमा आयोगलाई जानकारी दिन पनि उनले अनुरोध गरिन् ।
उनले भनिन्, ‘समग्रमा महिला आयोगले सबै प्रकार, अवस्था, समुदायका महिलाको अधिकार र मानव अधिकार संरक्षणका लागि सचेतना जगाउने काम गर्छौं । फरक समुदायका महिलालाई मात्र लक्षित गरेर पनि कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’
यस पटक कर्णालीको जुम्ला, मुगु र कालिकोटमा महिला हिंसा निवारणको लागि सचेतना तथा उत्प्रेरण सम्बन्धिको अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले महिला हिंसा न्यूनीकरणका लागि आफ्नो तर्फबाट सहयोग हुने बताए । उनले स्थानीय तहले पनि लैंगिक उत्तरदायी बजेट निर्माण गर्नुपर्ने बताए । सोही अनुसार कार्यक्रम बनाउन र कार्यान्वयनका लागि सुझाव र निर्देशन पनि आफ्नो तर्फबाट दिने उनको भनाइ थियो ।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले पछिल्लो समयमा मानसिक तथा शारीरिक हिंसाका घटना पनि त्यतिकै बढेको बताए । महिलाहरुमाथि हुने हिंसा कसरी कम गर्र्ने भन्ने विषयमा सबै लाग्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै नगरउपप्रमुख रामदेवी खड्काले महिला हिंसाको समाजमा हेर्दा बढी देखिएको तर उजुरीको रुपमा आउन नसकेको बताइन् ।
आफु न्यायिक समितिको संयोजक भएकाले महिला र बालबालिकामाथि भएका अपराधिक गतिविधिहरुका दोषिलाई कानूनी निकायसम्म जानका लागी सहयोग गर्ने बताइन् ।
त्यस्तै राष्ट्रिय मानव अधिकारी आयोग जुम्लाका प्रमुख धनराज शाहीले जुम्लामा बढ्दो क्रममा रहेका महिला हिंसाका कारण महिलाको मानव अधिकारको उल्लंघनको प्रमुख विषय भएको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले जुम्लामा महिला बालवालिका सम्बन्धी परेका उजुरीको बारेमा प्रस्तुत गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies