मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेपालले कतारबाट पोखरा र लुम्बिनी हवाइ उडानको प्रस्ताव गरेको छ । कतारी राजा शेख तमिम बिन हमाद अल थानीसँगको द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमै प्रस्ताव राखेका हुन् ।
साढे तीन लाख भन्दा बढी नेपाली श्रमिक कतारमा छन् । यसका अलावा नेपालमा कतारी पर्यटक आवागमन लगायतका आधारमा नेपालले कतारबाट पोखरा र लुम्बिनीमा नियमित हवाइ उडान गर्न सकिने नेपालको प्रस्ताव छ । तर, यसमा औपचारिक सम्झौता भने भएको छैन ।
बरु थानीको नेपाल भ्रमणका क्रममा बिभिन्न दुई वटा सम्झौता र आठ बुँदे समझदारी भएको छ । दुई देशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच दुईटा सम्झौता भएका हुन् । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पनि भएको छ ।
नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका न् । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका छन् ।
कतारी राजा थानी बुधबार नै स्वदेश प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार थानीले नेपालमा २२ घण्टा बिताए ।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । भ्रमणलाई नेपालले पनि उच्च प्राथमिकतामा राखेको थियो । सरकारले थानीको भ्रमणका अवसरमा वैशाख ११ गते सार्वजनिक बिदा दिएको थियो ।
थानीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ पुगेका थिए । त्रिभुवन विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका थानीसँग मंगलबार नै रामचन्द्र पौडेलको दुई पक्षीय वार्ता भएको थियो ।
त्यसपछि होटल सोल्टीमा थानीले रात्री भोजको आयोजना गरेका थिए । होटलमै नेपालस्थित कतारी दूतावासका प्रतिनिधिहरुसँग थानीले भेटघाट गरेका थिए । बुधबार सोही होटलमा प्रधानमन्त्री प्रचण्ड र थानीबिच वान टु वान वार्ता भएको थियो । त्यसपछि नेपाल र कतारका प्रतिनिधिमण्डलबिचमा दुई पक्षको बिचमा छलफल भई आठ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले द्वारिका होटलमा आयोजना गरेको दिवाभोजमा सहभागी भएका थानी त्यहाँबाट सिधै त्रिभुवन विमानस्थल पुगे । कतारी राजा थानीलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड लगायतका नेपालका अधिकारीहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies