शिव विक/मध्यान्ह
काठमाडौं : यही वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । उम्मेदवारहरुले गत चैत २८ देखि शुरु गरेको चुनावी प्रचारको अवधिक बुधबार सकिँदैछ । निर्वाचन आयोगले बिहीबार र शुक्रबार प्रचारप्रसारमा रोक लगाउनेछ । शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
चुनावी प्रचारको अन्तिम समयमा राजनीतिक दलहरु इलाम केन्द्रित भएका छन् । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको समर्थन छ । अन्य दलबीच गठबन्धन छैन ।
सत्ता गठबन्धनमा रहेका दल एमाले, रास्वपा र एकीकृत समाजवादीका छुट्टाछुट्टै उम्मेदवार छन् । कांग्रेसका डम्बरबहादुर खड्का उम्मेदवार छन् । गत चुनावमा खड्का एमालेका तत्कालीन सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
रास्वपाका तर्फबाट मिलनकुमार लिम्बू उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थेगिमलाई पहिचान पक्षधर र साना पार्टीहरुको समर्थन बढ्दो छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), उपेन्द्र यादव नेतृत्जको जनता समाजवादी पार्टी (जसपा), प्रभु साह नतृत्वको आम जनता पार्टी (आजपा), धरामका मेयर हर्क साङ्पाङदेखि हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ डकेन्द्रले पाएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर हाम्रो नेपाली पार्टीले इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो ।
लौरो अभियानले पनि पत्रकार सम्मेलन गरेर इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई ‘मुढा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ । मुढा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको चुनाव चिन्ह हो ।
निर्वाचन आयोगका अनुसार इलाम– २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । गत चुनावमा स्वर्गीय सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए । त्यसबेला नेम्वाङका प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत पाएका थिए ।
सीमा नाका बन्द
उपचुनावलाई मध्यनजर गरेर नेपाल सरकारले बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार विगतको अभ्यास झैं सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिन लागिएको हो ।
भारतको पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते लोकसभा चुनाव हुँदैछ । त्यसलाई लक्षित गर्दै भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका पनि बन्द गरिएको छ ।
मंगलबार साँझ ६ः १५ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो । जस अनुसार इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरु सिल भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies