तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : पर्वते राजा नामले परिचित लोक तथा दोहोरी गायक राम चन्द्र (आरसी) पौडेल कतार आउने भएका छन् । पर्वत समाज कतारको वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन केही समयदेखि बेलायतमा रहेका उनी सिधै कतार आउने भएका हुन् । संस्थाले बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्ने उद्घोष गरी आगामी अप्रिल २६ तारिकमा नज्मास्थित कलीकोट रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
पौडेलसहित गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगना निरु श्रेष्ठ सहित डेढ दर्जन कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष रघुनाथ शर्माले मध्यान्हलाई जानकारी दिए ।
उनले सांगीतिक प्रस्तुतिका लागि कतारमा श्रम गरिरहेका प्रतिभाशाली कलाकारलाई समाजले प्राथमिकतामा राखेको र संस्था स्थापनादेखि नै पर्वत समाजले कतारमा स्थापित विभिन्न संघसंस्थासँग सहकार्य गर्दे आएको स्मरण गर्दै अध्यक्ष शर्माले अक्षयकोष स्थापना गर्ने पवित्र अभियानमा आफूले पनि सबैबाट साथ सहयोग पाउने अपेक्षा गरेको बताए ।
बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्नुको उद्देश्य प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारीबाट फर्केका पर्वतेलीहरुलाई सहयोग गर्ने तथा पर्वत जिल्लाका विभिन्न सामाजिक एवं शैक्षिक संस्थाको भौतिक संरचनाहरूको पुनः निर्माण तथा अन्य कार्यमा सहयोग पुर्याउने रहेको अक्षय कोषका सचिव सन्तोष क्षत्रीले जानकारी दिए । अक्षयकोष मुनाफा रहित जनहितकारी रहेकोले यसलाई पारदर्शी एवं व्यवस्थित रूपमा दीर्घकालीन बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता गरेर अगाडी बढ्ने प्रक्रियामा रहेका अक्षयकोषका अध्यक्ष अजय विश्वकर्माले बताए ।
संस्थाले कार्यक्रममा सहभागिताका लागि कतारमा स्थापित सम्पूर्ण संघ–संस्था, समाजसेवी, बुद्धिजीवी एवम् पत्रकारहरूलाई निमन्त्रणा पठाइ सकिएको भन्दै सहभागिताका लागि अनुरोध गरेको छ । विविध सांस्कृतिक कार्यक्रममा यातायातको सुविधा सहित प्रवेश निःशुल्क गरिएकोले पर्वतेली दाजुभाइ तथा दिदीबहिनीलाई सहभागिताका लागि विशेष आह्वान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिक साधारण सभा विविध सांस्कृतिक कार्यक्रमका लागि आधिकारिक सञ्चार सहयोगी संस्थाको रूपमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies