-रेशमराज पाैडेल
आप्रवासी कामदारका दुई स्रोत मुलुक फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी कतारका अमिर शेख तमिम बिन हमाद अल थानी अर्को स्रोत मुलुक नेपाल अवतरण गरेका छन् । विश्वकै धनी मुलुककाे हैसियतमा रहेको, करिब पौने ४ लाख नेपालीले राेजगारी गरिरहेको र इतिहासदेखि सुदूर भविष्यका दिनमा पनि भरपर्दाे मित्रराष्ट्रका प्रमुखको नेपाल भ्रमण नेपाल र नेपालीका लागि गाैरवको विषय हो । नेपालीहरुले कतारकाे समृद्धिका लागि गरेको कडा मिहिनेत, परिश्रम र इमान्दारिताकाे कतारले गरेको सम्मानका रूपमा पनि अमिरकाे भ्रमणलाई हेरिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, युवा तथा खेलकुद र प्रविधिका क्षेत्रमा नेपाल र कतारबीच आपसी हितका लागि सहयोगका प्रशस्त सम्भावना छन् । खाद्य प्रशोधन, पिउने प्रयोजनका लागि हिमालयन मुहानको पानी, पेट्रो केमिकल र जलविद्युत उत्पादन, बैंकिङ र वित्त लगानीका परम्परागत क्षेत्र हुन् भने पेट्रोलियम पदार्थ, हस्तनिर्मित गलैंचा, कपडा, हस्तकला, औषधीय जडिबुटी, दाल, अलैंची, अदुवा, ताजा तरकारी, फलफूल आदिको व्यापारमा सहकार्यकाे प्रचुर सम्भावना रहेकाे छ । यी पक्ष नेपालका पूर्वराष्ट्रपति रामवरण यादवकाे कतार भ्रमणका बेला नै पहिचान गरिएका क्षेत्र पनि हुन् । यसका अतिरिक्त स्वास्थ्य क्षेत्रमा सहकार्य र कतारी लगानीकर्ताले नेपालको जलविद्युत, पर्यटन र पूर्वाधार विकासमा लगानी गर्ने सम्भावना छ । कतारले नेपालसँग कृषि, ऊर्जा र अन्य लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने अवस्था छ ।
तर नेपालले अपेक्षा गर्दैमा कतारबाट यी क्षेत्रमा लगानी आउन सक्ने देखिँदैन । कतारका अमिर थानीले नेपाल भ्रमणमा आउनुपूर्व फिलिपिन्स र बंगलादेशकाे भ्रमण गरिसकेका छन् । दुवै मुलुकले प्रष्ट याेजनासहित कतारी लगानीका क्षेत्र पहिचान गरी प्रस्ताव गरेका छन् ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले कतारलाई बंगलादेशको विशेष आर्थिक क्षेत्र (सेज)मा थप लगानी गर्न आग्रह गरेका छन् । बंगलादेशले कृषि उत्पादन र प्रशोधन, खाद्य प्याकेजिङ, स्मार्ट कृषि र मल उत्पादन जस्ता उत्पादनदेखि उपभोग, खाद्य आपूर्ति श्रृंखलालगायत विभिन्न क्षेत्रमा लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशले कतारलाई खाडी क्षेत्रमा बहुमूल्य विकास साझेदार भएको स्वीकार गर्दै दुई देशबीचको सहयोगसम्बन्धी पाँच सम्झौता र पाँचवटा एमओयूमा हस्ताक्षर गरेका छन् । उनीहरूबीच आगामी दिनमा द्विपक्षीय सहयोगलाई थप विस्तार र सुदृढ बनाउने याेजना छ । बंगलादेशमा पेट्रो केमिकल, ऊर्जा, मेसिनरी, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, सिरामिक्स, कृषि व्यवसाय, खाद्य प्रशोधन जस्ता क्षेत्रमा कतारी लगानीकर्ताले ठूलो प्रोत्साहन र सहयोग पाउन सक्ने भन्दै बंगलादेशका राष्ट्रपति शाहबुद्दीनले लगानीको प्रस्ताव गरेका छन् ।
यसका साथै, बंगलादेशी राष्ट्रपति शाहबुद्दीनले कतारका अमिरलाई बंगलादेशबाट थप युवा, दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि विशेषज्ञ र व्यावसायिक प्राविधिकहरू राेजगारीमा भर्ना गर्न आग्रह गरेका छन् । नेपाली कामदार फिलिपिन्स र बंगलादेशी कामदारहरूसँग प्रतिस्पर्धी मानिन्छन् । तर भाषा तथा अन्य पक्षमा नेपाली कामदार अपेक्षितरुपमा कमजाेर देखिन्छन् । कतारी लगानी भित्र्याउने विषयमा पनि प्रतिस्पर्धा चर्काे छ । कतारका अमिरले भ्रमण गरेका बंगलादेश र फिलिपिन्स दुवै मुलुकले कतारी लगानीलाई पूर्णरूपमा सुरक्षा गरिने प्रतिबद्धता जनाइसकेका छन् ।
दुई एशियाली मुलुकले लगानीका लागि कतारी लगानीकर्ताहरुलाई राताे कार्पेट बिछ्याइसकेको अवस्थामा उनीहरूभन्दा बढी आकर्षक प्याकेज निर्माण गर्नुपर्ने बाध्यता नेपालसामु खडा भएको छ । तर व्यक्तिगत स्वार्थलाई सर्वेसर्वा ठानिरहेका नेपाली प्रशासन र राजनीतिक नेतृत्वले कतारी लगानीका लागि वातावरण बनाउने विषय तत्कालै विश्वास गरिहाल्ने अवस्थामा देखिँदैन । खासगरी १९ वर्ष पुरानो श्रम सम्झौतामा प्रगति हासिल गर्न नसकेको सन्दर्भमा कतारी लगानी आकर्षित हाेला त ? नेपाली प्रशासनिक र राजनीतिक क्षेत्रमा रहेको व्यक्तिवादी साेचले यस प्रश्नको सकारात्मक उत्तरकाे अपेक्षा गरिहाल्नु पनि हताराे हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies