काठमाडौं : स्वास्थ्य उपचार सामग्रीमध्ये महत्वपूर्ण र अनिवार्य मानिने सिरिन्ज नेपालमै पहिलो पटक उत्पादन शुरु भएको छ । ललितपुरको चुनिखेलमा ६ वर्ष अगाडि स्थापित फरच्युना हेल्थ केयर प्रा.लि.ले फरच्युना सिरिन्ज उत्पादन शुरु गरेको हो ।
सो प्रा.लि.ले आफ्नो उत्पादन फरच्युना सिरिन्ज विश्व गुणस्तरीय भएको दाबी गरेको छ । नेपाललाई सिरिन्ज उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य कम्पनीले राखेको छ । मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिबद्धतासहित फरच्युना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिन्जहरुको उत्पादन थालेको छ ।
फरच्युना सिरिन्ज एक एमएलदेखि ५० एमएलसम्म र इन्सुलिन सिरिन्ज समेत उत्पादन हुनेछ । कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आईभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आईपी, गज, आईभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ ।
‘स्वस्थ जीवन समृद्ध नेपाल’ भन्ने लक्षका साथ करिब ८० करोडको लगानीमा सञ्चालित फरच्युना हेल्थकेयर प्रा.लि.को उद्योगमा सय जनाभन्दा बढीलाई रोजगारी दिइएको छ । नेपालमा १५ भन्दा बढी मुलुकबाट सिरिन्ज आउने गरेको भएपनि विदेशी कम्पनीलाई विस्थापित गर्ने उद्देश्यको साथ कम्पनीले उत्पादन थालेको हो । कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही आईएसओ मापदण्डको स्ट्यान्डर्ड पूरा गरिसकेको र नेपाल गुणस्तर चिह्नसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ ।
उद्योगबाट दैनिक ३ देखि ५ लाख सिरिन्ज उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगको अध्यक्षमा भवानी राणा, प्रबन्ध सञ्चालकमा ईश्वर जिसी र सञ्चालकमा भरत आचार्य र बाबुकाजी कार्की रहेका छन् । फरच्युना सिरिन्जको उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार एक विशेष समारोहबीच उद्घाटन गरे ।
यस्तै कार्यक्रम उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललगायतले नेपालमै सिरिन्ज उत्पादन भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा स्वागत मन्तव्य राख्दै फरच्युना हेल्थकेयर प्रा.लि.की अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रमा उत्पन्न निराशाहरुका बीच नयाँ वर्षको आगमनसँगै आफूहरुले स्वास्थ्य सामग्रीमध्ये महत्वपूर्ण सिरिन्ज नेपालमै उत्पादन गरेर बजारमा ल्याएको बताइन् ।
यस्तै सो प्रा.लि.का प्रबन्ध सञ्चालक डा. ईश्वर जिसीले धन्यवाद ज्ञापन गर्दै उद्योगलाई अगाडि बढाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रको पूर्ण सहयोगको आवश्यकता रहेको बताए ।
पूर्वमिस नेपाल सुगारिका केसीले सञ्चालन गरेको कार्यक्रममा उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु, वरिष्ठ डाक्टर, मेडिकल व्यवसायीहरु, उद्योगका शेयर धनी तथा कर्मचारीहरुका साथै लव्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies