काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको कार्यशैली बैदेशिक रोजगार ब्यबसाय र ब्यबसायीकालागि घातक र प्रत्युत्पादकतर्फ उन्मुख हुँदै गएको आरोप लगाएको छ । संघले कतिपय आवश्यक र सकारात्मक कार्यविधि पनि खारेजी हुनु दुःखद अवस्था भन्दै मागपत्र प्रमाणीकरण कार्यविधि खारेजी हुनु अव्यवहारिक र घातक भएको बताएको हो ।
संघका महासचिव मेघनाथ भुर्तेलले मन्त्री फेरिएपछि पुरानो निर्णय उल्टाउने शैलीले वैदेशिक रोजगारलाई सधैंभरि असुरक्षित र अमर्यादित बनाउने बताए । उनले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० समेत खारेज भएपछि संस्थागत वैदेशिक रोजगार धरासायी भएर असुरक्षित तरिकाले व्यक्तिगतरुपमा जाने र अलपत्र पर्ने प्रवृत्ति मौलाउने टिप्पणी गरे ।
उनले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० मुलतः युरोपेली मुलुकमा रहेका नेपाली कामदारको रोजगारीको अवसर नगुमोस् भन्ने उद्देश्यले ल्याएको मर्मलाई मन्त्रालयको वर्तमान नेतृत्वले नबुझेको र मन्त्रालयमा कार्यरत कर्मचारीले पनि त्यस विषयमा मन्त्रीलाई सही सल्लाह सुझाव दिएर अडान राख्न नसकेको पनि टिप्पणी गरे । उनले व्यक्तिगत श्रम स्वीकृतिले निम्त्याउने जोखिमको जिम्मेवारी पूर्णरूपमा मन्त्रालयले लिनुपर्ने भन्दै भारत, पाकिस्तान र श्रीलंका जस्ता प्रतिस्पर्धी मुलुकमा रहेकोे व्यवस्थाअनुरूप नेपालको वैदेशिक रोजगार ऐन र अन्य प्रणाली सुधारमा मन्त्रालयको ध्यान जान नसक्नु वैदेशिक रोजगार क्षेत्रको अत्यन्तै दुःखद पक्ष रहेकोे दाबी गरे ।
उनले वैदेशिक रोजगारमा सरकारले कामदार पठाउने हो वा निजी क्षेत्रले भन्ने अप्रष्टताका कारणले करोडौं लगानी गरेका निजी क्षेत्रको आत्मबल धरमराउन थालेको बताए । महासचिव भुर्तेलले वैदेशिक रोजगारमा हुने लागत परिभाषित गरेर सेवा शुल्क निर्धारण, लैंगिक विभेद हुने महिला तथा घरेलु कामदारको श्रम स्वीकृतिको प्रतिबन्धको अन्त्य, वैदेशिक रोजगार ऐनमा सुधार, पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क र जीर्ण अवस्थामा पुगेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको क्षमता वृद्धि गरी डिजिटलाइजेसन गर्नेजस्ता लामो समयदेखि समाधान नभएका समस्याहरू यथावत रहेसम्म कार्यविधि खारेजीले वैदेशिक रोजगारमा कुनै सुधार नहुने दाबी गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies