–रत्नप्रसाद अनामणि श्रेष्ठ
उहिले म्हेपी एक सुन्दर, शितल र हराभरा जंगल थियो । म्हेपीको जंगलमा योगाम्बर ज्ञानेश्वरी बस्दथे । ज्ञानेश्वरीले दिनहुँ भक्तिभाव गरी पूूजा गर्दथे , त्यसैगरी शान्तिकर आचार्यले पूजा गर्दथे । अहिले पनि शान्तिकर बाँसबाट बनेको विशेष पूजा थाली (जसलाई नेवारी भाषामा कलः भनिन्छ) उनी त्यो बोकी पूजा गर्न जान्थे । एक दिनको कुरा हो । सधैं जसरी पूजा गर्न जाने क्रममा शान्तिकर आचार्यले आफ्नै सुरमा कलः लिई एकोहोरो दायाँ बायाँ कहीँपनि नहेरी पूजा गरिरहेका थिए । त्यसै बेला उसको छोरा मेरो बुबा कहाँ जानु हुन्छ, म पनि थाहा नै नपाउनेगरी जान्छु भनेर गएछन् ।
सधैँ त्यसरी नै पूजा गरिरहेको देखेर देवता खुशी भई म तिमीसँग भएको एक वस्तु माग्छु तिमी दिन्छौ कि दिँदैनौ ? भनेर सोधेछन् । देवता प्रसन्न भई सोधेका कारण शान्तिकरले खुशी हुँदै भने, ‘मसँग भएको जे मागे पनि हजुरलाई दिन्छु भन्नुहोस्’ भने । देवताले बाचा गराई मागे ‘मलाई दिने हो भने तिम्रो पछि–पछि आउनेलाई दिनु’ भन्नुभयो । पछाडि फर्केर हेर्दा आफ्नै छोरा पो रहेछ । तर, दिन्छु भनि बाचा गरेको हुनाले देवतालाई आफ्नो प्राण भन्दा प्यारो छोरा दिए ।
त्यही छोरो अर्को जन्ममा करुणामय भई भारतको कामरुप कामाक्षको यक्षकुलमा जन्म हुन्छ भनेर योगम्बर ज्ञानेश्वरीको शरीरमा लिन भए । त्यसबेलादेखि म्हेपी जंगलको पीठको नाम म्हस पीठ भनियो । योगम्बर ज्ञानेश्वरी बोधिसत्वको शरीरमा लिन भएकाले नेवारी भाषामा ञम्हय च्वना विज्यातझ भनिन्छ । वास्तवमा नेवारी भाषामा ‘म्हये’ को अर्थ शरीर भन्ने हुन्छ । यसरी शरीरमा प्रवेश भएको वा लिन भएको हुनाले कालान्तरमा उक्त स्थानको नाम ‘म्हेपी’ रहन गएको हो । वास्तवमा म्हपीलाई किराँत कालमा ‘म्हप्रिङ’ भनिन्थ्यो । लिच्छविकालका राजा मानदेवको समयमा पशुपति देउपाटनको रत्न संघमा राखेको शाक सम्वत् ३८८ को शिलालेखमा ‘म्हस्प्रिङ ग्राम’ उल्लेख गरिएको छ । त्यसैगरी नक्साल नारायणचौरमा रहेको हाल राष्ट्रिय संग्रहालयमा राखेको राजा बसन्तदेवको अभिलेखमा पनि ‘म्हस्प्रिङ’ उल्लेख भएको छ । यसरी किराँतकालीन शब्द ‘म्हप्रिङ’बाट आज म्हेपी बनेको हो भन्न सकिन्छ ।
‘म्हेपी’ हिजो आजको शब्द भएतापनि यसलाई खासमा यसरी ‘म्हयपी’ लेख्ने गरिन्छ । ‘म्हयपी’ स्थानमा रहेको मातृकालाई ‘म्हयपी अजिमा’ भनेको पाइन्छ । म्हयपी जोगाम्बर अजिमाबारे स्वयम्भू पुराणमा उल्लेख गरेको पाइन्छ । यो रातो मच्छिन्द्रनाथको ऐतिहासिक कथामा पनि उल्लेख गरिएको पाइन्छ । स्वयम्भूको शान्तिपुरमा सिद्धी प्राप्त गरेका शान्तिकर आचार्य (गुभाजु) म्हयपी पीठको निवासी भएको उल्लेख गरेको देखिन्छ । इतिहासलाई केलाएर हेर्ने हो भने ‘योगम्बर’लाई आरधना गर्ने शान्तिकर आचार्यको कथाअनुसार स्वयम्भू भन्दा पनि म्हपी प्राचिन देखिन्छ ।
म्हयपी बौद्ध धर्मावलम्बीहरूको लागि पनि प्राचीन केन्द्रको रुपमा रहेको छ । बौद्ध धर्ममा मुख्य तथा चार पीठहरु आत्म, पर, योगिनी र गुह्य पीठमध्ये म्हयपीलाई आत्म पीठको रुपमा राखेको देखिन्छ । ‘म्हय’को अर्थ नै आत्मा वा शरीर हो ।
यी चार पीठहरुको चतुष्कायको क्रममा धर्मकाय, सम्भोयकाय, निर्माणकाय र महासुखायको रुपमा लिइन्छ । धर्मकाय भनेको मर्नुपर्ने शरीरको अवस्था हो, त्यस्तै सम्भोय काय भनेको जन्मदेखि मृत्युसम्मको भोग्नु पर्ने अवस्था हो । निर्माण काय भनेको मरेपछि पुनः जन्म लिनु पर्ने अवस्था हो । त्यसैगरी महासुखाय भनेको प्राणीमात्रले जन्मपछि चाहने सुखको अवस्था हो यही कुरा बौद्ध दर्शनको चतुष्कायमा व्याख्या गरिएको हुन्छ ।
हाम्रो शरीरअनुसार काय, वाक र चित्र भनि चक्र मण्डल स्वरुपमा बनाएको हुन्छ । यसमा म्हयपी वाक चक्रमण्डल भित्र राखिएको पाइन्छ । म्हेपी अथवा योगम्बर ज्ञानेश्वरी बज्रयानी बौद्ध दर्शनअनुसार ‘प्राज्ञयोपय’को प्रतिक मानिन्छ । ‘प्राज्ञयोपय’को अर्थ ‘स्त्रीत्व र पुरुषत्व’को संयुक्त अवस्था हो । जसलाई शूून्यता धर्मको रुपमा व्याख्या गरेको पाइन्छ ।
योग भन्नाले धर्ति हो भने अम्बर भन्नाले आकाश हो । यी दुईको मिलन नै योगम्बर हो, जसको अर्थ एकै समान शूून्यता ज्ञान प्राप्ति भन्ने बुझिन्छ । यस पवित्र भूमिमा योग साधना र ध्यान सिद्धी प्राप्त गर्न विभिन्न ठूला–ठूला योगीहरु, ध्यानाचार्यहरुले साधना गरेको इतिहास पाइन्छ । यहाँ समय–समयमा तान्त्रिक गुरु, बज्राचार्यहरूले विशेष विधिबाट साधना गरिरहेका हुन्छन् ।
बज्रयान सम्प्रदायहरुको लागि यो पवित्र भूमि हो । हाम्रो देशमा धर्मको नाममा कहिल्यै हिंसा भएको छैन । सबै धर्म मान्ने मानिसहरुमा सहिष्णुता छ । यसको एउटा ज्वलन्त उदाहरण म्हयपी हो । किनभने यस क्षेत्रमा शाक्त, हिन्दु, बौद्ध, र शिख धर्मावलम्बीहरुले शक्ति पीठको रुपमा समान रुपले मान्दै आएको देखिन्छ ।
बौद्ध परम्पराअनुसार ८४ सिद्ध पुरुषहरुले जहाँ–जहाँ र जुन–जुन स्थानमा सिद्धी अथवा ज्ञान प्राप्त गरे, ती ठाउँहरुलाई पीठ मानेको पाइन्छ । हिन्दु धर्मअनुसार पीठहरु सत्यदेवीको अंग पतन भएको स्थानको नामबाट बनेको हुन्छ भने यो म्हेपी पीठ त्यसरी बनेको होइन । नेवारी समुदायमा निकै प्रचलनमा रहेको अजिमा पीठहरु पनि भिन्न प्रकारले बनेका देखिन्छन् ।
नेपालमा यी र यस्ता पवित्र भूमि प्रचार–प्रसारको कमिले ओझेलमा रहेका छन् । यस्ता पुण्य भूमिहरुको संरक्षण र विकासका लागि स्थानीय तहहरुले पनि छुट्टै परियोजना ल्याउनु पर्ने देखिन्छ । यस क्षेत्रलाई नेपालमा मात्र नभइ विश्वमा चिनाउनु पर्ने आजको आवश्यकता हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies