काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको चर्चा शुरु भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको छ ।
शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अघि बढाउने निर्णय गरेको छ । बुधबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सोडारीको नेतृत्वमा गठबन्धन दलहरुको समर्थनमा मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको हो ।
नेताहरुका अनुसार सचिवालय बैठकमा नरेश शाहीलाई मुख्यमन्त्री बनाउने विषयमा समेत केही नेताले धारणा राखेका थिए । यस्तो धारणा राख्नुको पछाडि नेकपा एमालेका नेताहरुको दीर्घ सोडारीप्रतिको बुझाइ र आग्रह हो । नेकपा एमालेले सोडारीको विकल्प भए राम्रो हुने सुझाएको छ । एमालेको यस्तो आग्रहपछि एकीकृत समाजवादीमा मुख्यमन्त्रीको अर्को पात्रको खोजी हुँदा नरेश शाहीको चर्चा भएको हो ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन् । समयसीमाभित्रै एकीकृत समाजवादीले मुख्यमन्त्रीको दाबी पेश गर्नुपर्ने हुन्छ । केही गरी गठबन्धनमा रहेका दलहरुका बीचमा सोडारीको पक्षमा केही प्रश्न रहे अर्को पात्रका रुपमा नरेश शाहीलाई अगाडि बढाउने एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।
शाही गत चुनावमा बाजुराको प्रदेशसभा (१) बाट विजयी भएका थिए । यसअघि शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री थिए । जिम्मेवारी पाए शाही प्रदेश सरकारको नेतृत्वको लागि तयार रहेको एक नेता बताउँछन् ।
प्रदेश सभा सचिवालयको अभिलेख अनुसार २०३८ जेठमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– ५ मा जन्मेका शाही सामान्य किसान परिवारबाट उदाएका नेता हुन । उनका स्वर्गीय बुबा जयबहादुर शाही खेतीपातीको काम गर्दथे । स्थानीय भैरवनाथ निम्न माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेका शाहीले स्वामीकार्तिक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शाही राजनीति किसानका लागि हुनुपर्ने बताउँछन् ।
शाही हाल एकीकृत समाजवादी केन्द्रीय सदस्य छन् । सबै दललाई विश्वासमा लिएर जान सक्ने व्यक्ति मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका शाही अवसर प्राप्त भए यसका लागि आफू समेत तयार रहेको बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies