काठमाडौं- नेपाल कम्यनिष्ट पार्टी ९एकीकृत समाजवादी० मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।
सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए । साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ ।
पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ । महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन् ।
पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन सहयोगी हुन खोजेपछि संघीय सत्ता गठबन्धनमा दलहरु झस्किएका छन् । यो विषयलाई लिएर सोमबार सार्वजनिक रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको खुलेरै आलोचना गरे । माधव नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबाट आफूहरुमाथि सम्मानको व्यवहार नभएको बताएका छन् ।
वामपन्थीहरुबीच एकताको लागि भन्दै सहकार्य गरेको एक महिनामै एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सम्बन्धमा चिसोपना आएको हो । २१ फागुनमा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेपछि एकीकृत समाजवादी नयाँ गठबन्धनमा मौन रहेको थियो । प्रधानमन्त्री प्रचण्ड र केपी ओली स्वयमले माधव नेपाललाई भेटेर मनाएका थिए । त्यसपछि ३० फागुनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एकीकृत समाजवादी समेतले विश्वासको मत दिएको थियो ।
त्यसयता सहकार्य भएको एक महिना केही दिन मात्रै भएको छ । तर, मुख्य तीन नेतामध्ये ओली र माधव नेपाल सार्वजनिक रुपमै आलोचनामा उत्रिएका छन् ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन एमालेका अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको भन्दै आक्रोश पोखे ।
‘मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो सुदूरपश्चिममा । एस भन्ने पार्टी छ एउटा त्यसले अराजनीतिक निर्णय लियो’ ओलीले भनेका छन्, ‘तर, त्यसले कुनै फरक पार्नेवाला छैन ।’
सोमबार एकीकृत समाजवादीको पनि पार्टीको आन्तरिक बैठक थियो । उपलब्ध सचिवालयका सदस्यहरुको उक्त बैठकलाई ब्रिफिङ गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भनेका छन्, ‘सूदुरपश्चिम प्रकरण प्रचण्ड र केपी ओलीले सहमति पालना नगर्दाको परिणाम हो । हामी संघमा तत्काल समीकरण भत्काउन लाग्दैनौं । तर, सँधै हेरिएर, पेलिएर बस्दैनौं ।’
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले एमाले र माओवादी सम्मिलित गठबन्धनको विकल्प सोच्न अध्यक्ष नेपालमाथि दबाब नै बढाएका छन् ।
उपाध्यक्ष पाण्डेले प्रचण्ड र ओलीले गठबन्धनको जरा काट्न थालेकाले देशभरि समस्या सिर्जना हुनसक्ने चेतावनी नै दिएका छन् । सुदूरपश्चिम प्रदेशको नेतृत्व आफूहरुलाई दिने सहमतिबाट प्रचण्ड र ओली ब्याक भएपछि नयाँ ढंगबाट अघि बढ्नुपर्ने महसुस हुन थालेको उनको भनाइ छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : कोशी प्रदेशमा सरकार फेर्न प्रदेश सभामा संकल्प प्रस्ताव पेश भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकार फेर्ने उदेश्यले ८ बुँदे संकल्प प्रस्ताव लगेका हुन् ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेका छन् ।
कुनै पनि सरकार रहन्छ वा रहँदैन भन्ने प्रश्नको निरुपण संविधान, कानुन र अभ्यासले गर्ने विश्वास गरिन्छ । अन्यथा, अदालतले निकास दिने गदर्छ । यी कुनै पनि विकल्पमा नगएर कोशी प्रदेशमा सरकार फेर्न संकल्प प्रस्ताव दर्ता भएको हो ।
संकल्प प्रस्तावमा बैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख छ । वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहोरा पनि संकल्प प्रस्तावमा उल्लेख छ ।संक
ल्प प्रस्तावमा कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार दिन सक्षम रहेको पनि उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बैशाख ६ गतेलाई कोशी प्रदेशसभा बैठक बोलाएका छन् । सभा बस्नुअघि एमाले र माओवादीले सरकार फर्ने उदेश्यले संकल्प प्रस्ताव प्रदेश सभा मा पेश गरेका हुन् ।
यसअघि एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेशको अधिवेशन माग गरेका थिए । दुई दलको माग अनुसार प्रदेश प्रमुख परशुराम खापुङले ६ वैशाखमा प्रदेशसभाको अधिवेशन बोलाएका हुन् ।
सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि कार्की गैरदलीय हैसियतमा असोज २७ गते उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति भएका थिए ।
अल्पमतको सरकारले विश्वासको मत लिन नसकेपछि संविधानमा कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । गैरदलीय हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले ३० दिनभित्र विश्वासको मत प्राप्त गरिसकेको अवस्थामा वैकल्पिक सरकार बन्ने कि मध्यावधितिर जाने भन्ने राजनीतिक प्रश्न छ ।
संघीय गठबन्धनले यो प्रदेशमा पनि सरकार बनाउन खोजिरहेको छ । केन्द्रीय गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी छन् । रास्वपाको प्रदेशमा उपस्थिति छैन । ९३ सदस्यीय कोशी प्रदेशमा एमालेका ४०, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ५८ सांसद छन् ।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालका दुईसहित नेपालमा विगतमा भएका पाँच वटा संसद् विघटनका फैसलामा सर्वोच्चले संसदमा सरकारको विकल्प हुन्जेल मध्यावधिमा जान नमिल्ने भनेको छ । यस अनुसार सरकार बन्न सत्ता केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको तर्क छ । मुख्यमन्त्री कार्की आफू सरकार बन्ने व्यवस्थाको अन्तिम व्यवस्था अन्तर्गत मुख्यमन्त्री भएको दाबी गरिरहेका छन् ।
कोशी प्रदेशमा २०७९ को निर्वाचनलगत्तै एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेको थियो । तर, उक्त सरकार केन्द्रीय गठबन्धनको परिवर्तनसँगै ढल्न पुग्यो ।
राष्ट्रपति निर्वाचनसँगै माओवादी कांग्रेससँगको गठबन्धनमा फर्किएपछि १६८ को उपधारा २ अन्तर्गत कांग्रेसले प्रदेश संसदीय दलका मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा दोस्रो सरकार बन्यो । सभामुख समेतको बहुमत हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएका थापाको सरकार अदालतबाट विघटन भयो । संविधानको सोही धाराबमोजिम दोस्रोपटक उनी मुख्यमन्त्री नियुक्त भए ।
दोस्रोपटकको सरकार पनि ३० दिनभन्दा बढी टिक्न सकेन । सर्वोच्चको परमादेशबाट एमालेका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भए । तर, उनले पनि विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ (५) बमोजिम केदार कार्की मुख्यमन्त्री बने । फेरि सत्ता समीकरण बदलिएपछि कोशीमा सरकार फेर्ने पर्यास भइराखेको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने र राजीनामा पनि नलिने अडान राखेपछि एमाले र माओवादीले सरकार फेर्ने उदेश्यले संकल्प प्रस्ताव लगेका हुन् ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : नेकपा एमालेकाे दशौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राति भएकाे मतदानबाट जिल्ला कमिटी निर्वाचित भएको थियो ।
नवनिर्वाचित पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूलाई नेकपा एमाले निर्वाचन समिति सचिव काशी बरालले पद तथा गोपनीयता शपथ खुवाएको नवनिर्वाचित सचिव तिर्थ राज भण्डारीले बताए ।
जिल्ला समन्वय समितिको सभा हलमा पद तथा गाेपनीयताको शपथ खुवाइएको नवनिर्वाचित जिल्ला उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताए । उपाध्यक्ष शाहीका अनुसार सबै पदाधिकारी र सदस्यहरूले शपथ लिएकाे जनाए ।
एमाले हुम्लाको दोस्रो जिल्ला अधिवेशनबाट ज्ञानी बुमीकाे नेतृत्व टाेली विजयी भएकाे थियो । पद तथा गाेपनीयताको शपथ ग्रहण कार्यक्रममा स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटी, केन्द्रीय दल रावल, छक्क बहादुर लामा र दल फडेरा, समानुपातिक कर्णाली प्रदेश संसद कल बहादुर हमालकाे सहभागिता रहेको थियो ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनबाट बुमी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । जसमा जम्मा २५८ मत खसेकाे थियो । बुमी १२४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डबल रावतले ११९ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा प्रकाश बहादुर शाही १६२ मत ल्याएर विजयी भए भने अर्का उम्मेदवार उब्जन मल्लले ८० मत ल्याए ।
यस्तै सचिवमा तीर्थराज बोहरा १३१ मत ल्याएर विजयी भए भने अर्का उम्मेदवार गोकुल बुढाले १०३ मत ल्याए । उपसचिव खुलामा प्रदीप लामा १३३ मत ल्याएर विजयी भए भने बुध भण्डारीले १०१ मत ल्याए । उपसचिवमा मन्जु रावल १३४ मत ल्याएर विजयी भइन् भने विमला कुमारी शाहीले ९५ मत ल्याइन् ।
अधिवेशनमा दुई वटा प्यानल चुनावी माैदानमा होमिएको थियो । जसमा केन्द्रीय सदस्य रावल र छक्क बहादुर लामाकाे एक प्यानल र केन्द्रीय सदस्य दल फडेरा र स्थायी कमिटी सदस्य गाेरग बहादुर बाेगटीकाे एक प्यानल रहेको थियो ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा साहमाथि आक्रमण भएको थियो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आक्रमणमा संलग्न स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
पूर्व सांसद साहले आक्रमणमा संलग्नहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) तर्फबाट दुई जनाको दाबी पेश भएको छ ।
संघीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थनमा नाउपाका सांसद कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । कैलाश चौधरीलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ ।
कैलाश चौधरी भन्दा अगाडि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको निर्णयका कारण सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुई जनाको दाबी पेश भएको हो । मख्यमन्त्रीमा एकै पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेश भएपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सकस परेको छ ।
लक्ष्मणकिशोर नाउपाको रेशम चौधरी पक्षधर हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादी पनि मिसिएको नेताहरूले बताएका छन् । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ ।
यो सँगै संघीय सत्ता गठबन्धनको विकल्प सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा गृहकार्य भएको छ । संघीय सरकारमा माओवादी केन्द्र र एमाले सम्मिलित गठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा कांग्रेसको गठबन्धनलाई रोज्नु राष्ट्रिय राजनीतिमा एक परीक्षण हो । नयाँ प्रयोगको सफलता र असफलताको अर्थ सीधै सिंहदरबारसँग जोडिन आइपुग्ने नेताहरु बताउँछन् । जसले राष्ट्रिय राजनीतिमा एउटा तरंग पैदा गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ चार दलको बैठक बसेको थियो । जहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नाउपालाई दिनुपर्ने अवस्था आएको बताएपछि माधव नेपाल असन्तुष्ट भएका थिए ।
लगत्तै, सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धनको अभ्यास भएको हो । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने सुदूरपश्चिममा केन्द्रको सहमति अनुसार नै सरकार गठन हुने दाबी गर्छन् ।
‘केन्द्रमा जुन सहकार्य भएको छ । त्यही अनुरूपकै सरकार सुदूरमा पनि बन्छ’ ज्ञवालीले भनेका छन्, ‘एकीकृत समाजवादीको दलको नेताले केन्द्रको सहमति विपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस् भनेर निर्देशन दिएको सार्वजनिक भएको छ ।’ साथै ज्ञवालीका अनुसार नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेताबारे कानुनी निक्र्योल भएपछि सरकार बन्नेछ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : नेकपा एमाले हुम्लाको दशौं अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा उत्रिएको छ । जिल्लाका नेताहरुबीच सहमती हुन नसकेपछि प्यालन नै बनाएर दुई पक्ष चुनावी मैदानमा उत्रिएका हुन् । दुई प्यानल बनाएर निवर्तमान कावा अध्यक्ष डबल रावत र पूर्वउपाध्यक्ष ज्ञानी बुमी चुनावी मैदानमा उत्रिएका छन् ।
निवर्तमान कावा अध्यक्ष रावतको प्यानलमा उपाध्यक्षमा उब्जन मल्ल, सचिवमा गोकुल बुढा, उपसचिव खुल्लामा बुध भण्डारी र महिला उपसचिवमा बिमला शाही उम्मेदवार बनेका छन् भने अर्का अध्यक्ष प्रत्यासी ज्ञानी बुमी प्यानलको उपाध्यक्षमा प्रकाशबहादुर शाही, सचिवमा निवर्तमान सचिव तीर्थराज बोहरा, खुल्ला उपसचिवमा प्रतिप लामा र महिला उपसचिवमा मन्जु रावल चुनावी मैदानमा छन् । अध्यक्ष पदका प्रत्यासी रावतलाई स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य दल फडेराले समर्थन गरेका छन् ।
त्यस्तै अर्का अध्यक्षका प्रत्यासी बुमीलाई केन्द्रीय सदस्यद्वय दल रावल र छक्कबहादुर लामाको समर्थन रहेको छ । दशौं जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रियामा गएको निर्वाचन संयोजक अमरबहादुर शाहीले मतदान शुरु भएको बताए ।
निर्वाचनमा २९८ मत छ । ८० जनाको जिल्ला कमिटीका सदस्य पदका लागि पनि उम्मेदवारी परेको छ । जिल्ला अधिवेशन चैत २९ गते उद्घाटन भएको थियो भने बन्द सत्र चैत ३० गतेदेखि शुरु भएको थियो ।
काठमाडौं : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र सभामुखलाई पठाएकी थिइन् । त्यसपछि प्रदेश सभा सचिवालयले उनलाई चैत २६ गते सांसद पदबाट मुक्त गरेको सूचना टाँसेको थियो ।
त्यसविरुद्ध गिरीले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको वा दलबाट निष्काशन भएको अवस्थामा मात्र सभामुखले पदमुक्त भएको सूचना निकाल्न सक्ने बताएको छ ।
त्यस्तै सांसद गिरीलाई फिर्ता बोलाउने निर्णय गर्दा सुनुवाइको मौका नदिएको पनि आदेशमा भनिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औंल्याएका छन् । पूर्वप्रधानमन्त्री एवम् संविधानसभा सदस्य स्व. सूर्यबहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताए ।
“अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भने ।
पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि स्पष्ट पारे । उनले भने, “अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो । त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन् ।”
सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies