सूर्यप्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्री दिनेश पन्थीले विपतको सामना सबै मिलेर गर्नुपर्ने बताएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्दै मन्त्री पन्थीले कोही पनि जनता खुला आकाश मुनि बस्नु नपर्ने र सबै मिलेर आवास निर्माण गरिने प्रतिबद्धता जनाए ।
‘लुम्बिनी प्रदेशका धैरै जिल्लामा आगलागीका घटनाले धन जनको क्षति भएको छ । तपाईंहरुको दुःखमा सरकार छ, नजिकको सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, स्थानीयवासी सबै जुटेर घर र गोठ निर्माण गर्ने छौं । तत्कालका लागि जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री पठाएका छौं । राहत सामग्री वितरण गर्दा एकद्वार प्रणाली जिल्लस्तरीय विपत व्यवस्थापन समिति मार्फत वितरण गर्नुपर्छ,’ उनले भने ।
नेकपा एमाले अर्घाखाँचीका कार्यबाहक अध्यक्ष शम्भु पोख्रेलले आगलागी पीडितहरुको पुनर्स्थापनाको कार्य गर्न नेकपा एमाले अर्घाखाँचीले मन्त्री पन्थीको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘तत्कालका लागि अस्थायी आवास र पुनर्स्थापनाको कार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका छौं । सबैको साथ र सहयोगले विपतको सामना गर्न सकिन्छ ।’
भूमिकास्थान नगरपलिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले तीनै तहको सरकार, स्थानीयवासीको सहयोगलाई बास्केट बनाएर जनताको घर र गोठ निर्माण गरिनुपर्ने बताए । उनले भने, ‘अहिले विभिन्न देशबाट पनि सहयोग अभियान चलेको छ । सबै जनाले गर्ने सहयोगलाई एकीकृत गरी सबैका घर बनाउनुपर्यो ।’
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबाहादुर खत्रीले राहत वितरण एकद्वारा प्राणीलीबाट गरिने बताए । उनले भने, ‘व्याक्ति, संघ संस्थाले गर्ने आर्थिक सहयोगलाई एकीकृत गरी बास्केट बनाएर राहत र पुनर्स्थापना गर्नु पर्दछ ।’
'विपतको समाना सबै मिलेर गरौं'
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अर्घाखाँची जिल्लामा भएको आगलागीको घटना दु:खद भएको भन्दै सबै जनाले मिलेर सामना गर्नुपर्ने बताए । रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल अस्थायी बास र दीर्घकालीनरुपमा आवास निर्माणका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताए । उनले प्रभावित क्षेत्रका बालबालिका, महिला, अशक्त, अपाङ्ग तथा सुत्केरी महिलाहरुलाई पहिलो प्राथामिकतामा राख्न सरोकारवालासँग अपिलसमेत गरेका छन् ।
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उनले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताए ।
गृहमन्त्री लामिछानेले भने, “आपतका बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन । राहतको कुरा गर्दा स्रोत जुटाउनमा कुनै ढिलाइ गरेका छैनौं । स्रोत परिचालन गरेका छौँ ।” विपत्को अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, “प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ । गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ ।”
साताको एक पटक विद्यालयमा यस विषयमा रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा गृहमन्त्री लामिछानेले जोड दिए । उनले भने, “स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्छ । जनचेतनाका कुरामा हामी चुक्न पुगेका छौँ । अझै पर्याप्त मात्रामा पुग्न सकेका छैनौँ । जनचेतनाको तरिका फेर्नुपर्छ ।”
दमकलको क्षमता बढाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले भने, “सरकारले २२ तलासम्म भवन बनाउने अनुमति दिएको छ । तर त्यति माथिसम्म दमकलको क्षमताले भ्याउँछ कि भ्याउँदैन ? यसका लागि स्रोत बढाउनुपर्ने देखिन्छ । सुरक्षा निकायका अस्पतालमा जलन वार्ड विस्तार गर्नुपर्छ ।”
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा ४६ स्थानमा डढेलो, ४३ स्थानमा आगलागी हुनुका साथै जलेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली श्रेष्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले मालपोत कार्यालयका तत्कालीन खरिदार पौडेलसहित नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला,खुम्बु पासाङल्हामु गाउँपालिका १ बस्ने बुद्धमाया थापा मगर र निजका नाती रामकृष्ण थापा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
सरकारको नाममा रहेको जुभिङ्ग गाउँपालिका वडा नम्बर ५ मा रहेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने/गराउने कार्यमा संलग्न देखिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता घिमिरेले बताए ।
सो मुद्दामा फुर गेल्जे शेर्पा,ङिम याङ्जि शेर्पा,ल्हाक्पा दिकि शेर्पा,पेम्बा शेर्पा,ल्हाक्पा गेल्जेन शेर्पा,शर्मिला राई र मृत्यु भएका मिङमा ल्हमू शेर्पालाई जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
काठमाडौं : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।
हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।
निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताए ।
हात्तीपाइले रोगको धेरैजस्तो संक्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको संक्रमण रोकिएको बताए । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको संक्रमण रोकिएको छ ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ को ठाँटीखोला र जाजरकोटको नलगाड नगरपालिका मन्मैस्थित ठूलीभेरी नदीमाथि भइरहेको पक्की पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतको १३ करोड ७० लाखको लागतमा ठाँटीखोला पुल निर्माणको काम भइरहेको हो । उक्त पुल निर्माणको ठेक्का सपना निर्माण सेवा प्रा.लि.हेटौँडाले पाएको छ ।
निर्माण कम्पनीका प्राविधिक सिर्जन बर्तौलाका अनुसार ६२.५ मिटर प्रिसेस प्रविधि, २५ मिटर नर्मल स्लाब र ११ मिटर चौडाइ भएको उक्त पुलमा तीन वटा पिल्लर बन्नेछन् । आर्थिक वर्ष ०७९/८० मा ठेक्का खोलिएको यो पुल निर्माणको समयावधि तीन वर्ष तोकिएको छ । तोकिएकै समयमा पुल निर्माण गर्ने गरी काम भइरहेको प्राविधिक बर्तौलाले बताए ।
निर्माणाधीन उक्त पुलको आठविसकोट नगरपालिका प्रमुख रवि केसी, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्रमुख जगदिश शर्मासहितको टोलीले अनुगमनसमेत गरेको छ । अनुगमन टोलीले समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।
यो पुल निर्माण भएमा रुकुम पश्चिम हुँदै डोल्पा जोड्ने सडकको दुरी छोटिनुका साथै स्थानीयलाई आवतजावतमा सहज हुने छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयाेग गरेकाे छ । विभिन्न समयमा खाद्यान्नदेखि लत्ताकपडा सहयाेग गर्दै आएकाे चीन सरकारले याेपटक पनि ठूलाे परिमाणमा खाद्यान्न सहयाेग गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए ।
चीनकाे पुराङ काउन्ट्रीका पदाधिकारीले नेपाल र चीनकाे सिमाना हिल्सामा गाउँपालिकाका अध्यक्षलाई बिहीबार सम्पूर्ण सामग्री हस्तान्तरण गरेकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माेहन बहादुर शाहीले बताए ।
उक्त सामग्री नाम्खा गाउँपालिकाका ६ वटै वडामा वितरण गरिने छ । ६ वटै वडालाई पुग्ने गरी चीन सरकारले एक हजार बाेरा चामल, एक हजार बाेरा पिठाे सहयाेग गरेकाे छ भने पाँच सय लिटर तेल, पाँच सय केजी नुन र एक हजार बाेरा चिनी पनि सहयाेग गरेकाे गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।
चीन सरकाले सहयाेग गरेकाे सामग्री गाउँपालिकाको केन्द्र याल्माङमा गाडीमा ल्यायर सम्पूर्ण वडालाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् ।
“युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ”, प्रधानमन्त्री दाहालले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।”
युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री दाहालले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधन विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए । “युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “कूल जनसंख्याको करिब ४० प्रतिशत युवा जनसांख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।”
शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् रहेको बताउँदै प्रधानमन्त्री दाहालले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए । लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिनसमेत निर्देशन दिए ।
काठमाडौं : सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
जसअनुसार भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन् । ललिलतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती भरतपुर महानगरपालिकामा सरुवा भएका छन् । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाको अर्थमन्त्रालयमा सरुवा भएको छ ।
यस्तै ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दास आएकी छिन् । अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा भएको छ ।
को कहाँ सरुवा भए ?
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ६ एसएसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ ।
उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराईलाई राठोरको स्थानमा ल्याइएको छ ।
त्यस्तै, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ।
काठमाडौं : डेढ किलो भन्दा बढी सुन र झण्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट ७ जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन् ।
सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies