सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिकाले ४० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि मेसिनरी औजार प्रदान गरेको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० थान कृषि औजारहरु हाते ट्याक्टर, कुटानी पिसानी मिलहरु विभिन्न समूह सहकारी तथा फर्महरुलाई हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।
सन्धिखर्क नगरपालिका कृषि शाखाले विद्युतीय टेन्डरमार्फत खरिदको लागि २० लाख रुपैयाँको सामग्री हस्तान्तरण गर्ने प्रयोजनका लागि सूचना प्रकाशित गरेको थियो । सोही अनुसार स्मार्ट पावर प्रा.लि. काठमाडौंले १५ लाख ३४ हजार रुपैयाँमा सामग्री ल्याउने जिम्मा लिएको थियो ।
हाते टेक्टर १४ थान प्रति टेक्टर ४७ हजार, कम्बाइन मिल (कुटानी पिसानि मिल) ३० थान प्रति थान २७ हजार र कर्न सेलर(मकै छोडाउने मिल)प्रति थान ११ हजारका दरले नगरपालिकाको ६० प्रतिशत तथा विभिन्न समूह सहकारी तथा फर्महरुको ४० प्रतिशतमा खरिद गरी हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए ।
हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुम लाल भुसाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका कृषि विकाश शाखाका प्रमुख राजेन्द्र भट्टराई, विभिन्न शाखाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । अनुदानमा कृषि सामग्री पाएपछि किसानहरु हर्षित भएका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले किसानहरुको माग अनुसार नगरपालिकाले सामग्री हस्तान्तरण गरेको बताए ।
कृष्ण तिवारी/मध्यान्ह
रौतहट : पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको हो ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा हुम्लाको १८औं अधिवेशनकाे उद्घाटन सत्र सम्पन्न भएको छ । ६ महिना अवधि पूरा भएलगत्तै अधिवेशन गर्नुपर्ने भएपनि केन्द्रकाे निर्णय नआउँदा नाै महिनामा अधिवेशन गर्नुपरेको रेडक्रस साेसाइटी जिल्ला सचिव अर्जुन बाेहराले बताए ।
सचिव बाेहराका अनुसार जिल्लामा रहेका १२ वटा उपशाखा प्रमुखहरुकाे सहभागितामा १८औं जिल्ला अधिवेशन हुन लागेको हो । बिहीबार पाल रेडक्रस साेसाइटी हुम्लाका सभापति गणेश महतकाे अध्यक्षमा उद्घाटन सत्र सम्पन्न भएकाे हो । उद्घाटन सत्रमा नाै महिनामा भएका कामकाे प्रतिवेदन पनि पेस गरिएकाे थियाे ।
अधिवेशनमा सिमकाेट गाउँपालिका उपाध्यक्ष सुशीला राेकाया, जिल्ला समन्वय समितिकी कावा प्रमुख सरिता रावत, अधिवेशन गराउन आएका निर्वाचन अधिकृत रामलाल आचार्य, सिमकाेट गाउँपालिकाका वडा १ देखि ८ सम्मका अध्यक्ष, जिल्लाका सरकारी संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मीका प्रमुख र सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।
अधिवेशनले सभापति, दुई उपसभापति मन्त्री, उपमन्त्री, काेषाध्यक्ष र उपकाेषाध्यक्ष गरी सात पदाधिकारीसहित १७ जनाकाे कार्यसमिति छनाेट गर्ने छ ।
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि थुनामा रहेका १० जनाले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
सर्वोच्चले ३ जनालाई मात्र धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको छ । आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न तथा शमशेर मियाँलाई साधारण तारेखमा छाड्न सर्वोच्चले आदेश दिएको छ ।
थुनामै रहनेहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।
काठमाडौं : सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सामान्य र नियमित प्रक्रियाबाट सहकारी सम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको हो ।
बैठकले सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्र्याकबाट कानून बनाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले यस सम्बन्धमा छिटोभन्दा छिटो आवश्यक कानून तयार गर्न प्रक्रिया अघि बढाइने निर्णय भएको जानकारी दिइन् ।
मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको उनले स्पष्ट पारिन् । फास्ट ट्र्याकबाट कानून बनाउने र आवश्यक परे छुट्टै संरचना पनि बनाएर सहकारीको समस्या सम्बोधन गर्नुपर्छ भनेर छलफल भएको उनले बताइन् ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा करिब ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न पालिकामा ४ सय ९६ वटा सवारी दुर्घटनामा महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु भएको हो ।
जिल्लामा भएका दुर्घटनाहरुमा ७ सय ८५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ६ सय ४५ सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो ।
यस्तै गत साउनदेखि वैशाख १० गतेसम्म नियमविपरीत चलेका १६ हजार ९ सय ९१ सवारी साधनलाई कारबाही गर्दा १ करोड ५६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए ।
प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि कामपाले गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था बमोजिम महानगरले सो सूचना जारी गरेको थियो ।
सूचनामा एक हप्ताको समय दिइएको भए पनि नाम परिवर्तनका लागि संस्थागत विद्यालय आउनेक्रम जारी रहेकोले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि विद्यालयको आग्रहलाई स्वीकार गर्ने निर्णय भएको उनले जानकारी दिए । अहिले महानगर पाँच सयभन्दा बढी निजी विद्यालय रहेका सञ्चालनमा छन् ।
तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानूनअनुसार कारबाही गर्ने कामपाले चेतावनीसमेत दिएको छ ।
पिन्टु यादव/मध्यान्ह
सप्तरी : जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको टोली मनसुनजन्य विपद् जोखिम स्थलहरुको पहिचान गर्न बलान बिहुल गाउँपालिका पुगेको छ । टोलीले उक्त गाउँपालिकाअन्तर्गतका दुई वटा वडामा निरीक्षण गरी मनसुनजन्य विपद् न्यूनीकरण गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
मनसुनको बेला जिल्लाको पश्चिमीभागमा रहेको बलान बिहुल गाउँपालिकाका किसानहरुको टाउको दुखाइ बन्छ- बलान खोला । सिंचाइको आधुनिक व्यवस्था नरहेकाले सुख्खा बनेको यहाँका खेतीयोग्य जमिन मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको पाइएको छ । वर्षेनी गाउँमा र खेतीयोग्य जमिनमा बलान खोलाको बाढी पसेर क्षति पुर्याउँदा समेत सरकारले दिगो समाधान गर्न ठोस योजना बनाउन सकेको छैन ।
यसको दिगो समाधान गर्न तीनै तहका सरकारले तदरुकता देखाउन जरुरी रहेको समितिको भनाइ छ । सरकारको दीर्घकालीन योजनाबाट मनसुनजन्य वर्षाले खोलामा आउने अत्यधिक बाढीलाई गाउँ र खेतीयोग्य जमिनमा पस्नबाट बचाउन सकिन्छ । यसबाट स्थानीय किसानहरुको खेती बालीलगायत घरमा क्षति नपुग्ने समितिले बताएको छ ।
समितिले जिल्लाको बलान खोलाबाट भइरहेको परम्परागत सिंचाइलाई व्यवस्थित गरी आधुनिक बनाउन सके त्यहाँका खेतीयोग्य जमिन र गाउँ मनसुनजन्य विपद्को कम जोखिममा पर्ने आंकलन गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा समितिले बलान बिहुल गाउँपालिका अन्तर्गत मनसुनजन्य विपद् जोखिम स्थलहरुको निरीक्षण गर्ने क्रममा यस्तो आंकलन गरिएको राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइरालाले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर १ मा पर्ने मल्हनिया गाउँ मनसुनजन्य विपद्को जोखिममा रहेको निरीक्षण टोलीले निष्कर्ष निकालेको छ । बलान खोलाको पानी वर्षेनी त्यहाँका खेतीयोग्य जमिन र बस्तीमा पस्दा स्थानीयहरु मारमा पर्ने गरेका छन् । बलान खोलाको करिब आठ सय मिटर बाँध भत्किएर गएकाले त्यसको पुनःनिर्माण पनि गर्नुपर्ने टोलीले औंल्याएको छ ।
गत वर्ष बलान खोलाको स्पर बाँध भत्केर जाँदा गाउँपालिकाको वडा नम्बर ४ बेल्ही गाउँमा बाढी पसेको थियो । सो गाउँमा बाढी पस्दा केही घरहरू डुबानमा परेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ थापाको नेतृत्वमा गएको निरीक्षण टोलीमा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।त्यस्तै बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु तथा स्थानीयहरुको सहभागितामा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि जोखिम क्षेत्र पहिचान गरिएको हो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको बौधिमाई नगरपालिकामा हात्तीपाइले राेग निवारणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनमा हात्तीपाइले रोग निवारणसम्बन्धी अभिमुखीकरण तालिम नगरपालिकाकाे सभा हलमा सम्पन्न भएकाे हो । जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन हुने भएकाले तालिमको आयोजना गरिएको हो ।
बौधिमाई नगरपालिकाका प्रमुख प्रदिप यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमाेद यादव तथा लेखा प्रमुख अरबिन्द यादव रहेका थिए ।
हातीपाइले राेगले कयौंको ज्यान समेत जाने गरेकाले याे अभियान समयमा सञ्चालन गरी हातीपाइले राेगमुक्त नगरपालिका बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य सहसंयाेजक राकेश यादवले हात्तीपाइले राेगका लक्षण नदेखिए पनि शरीरमा हात्तीपाइले राेगकाे परिजिवी हुन सक्ने बताए । याे राेग लागिसकेपछि पुरै निकाे पार्न नसकिने जानकारी दिँदै यादवले वैशाख १६ गतेदेखि अभियानका रूपमा घर-घरमा गइ हात्तीपाइले रोगबाट ग्रसित भएकाहरुलाई औषधि खुवाउन लागिएको बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेल, स्वास्थ्य शाखा प्रमुख राकेश यादव, शिक्षकहरू, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
सुर्खेत : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित यहाँका पत्रकारलाई प्रेस काउन्सिल नेपालले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ ।
भूकम्पको गएको केही समयपछि जाजरकोट पुग्नुभएका सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भूकम्प पीडित पत्रकारका लागि इन्टरनेट शुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । मन्त्री शर्माले गरेको प्रतिबद्धताअनुसार काउन्सिलको टोलीले जाजरकोटका २४ पत्रकार र केही सञ्चारमाध्यमलाई आर्थिक सहयोग गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । काउन्सिल पीडित पत्रकारको पक्षमा सधैं रहेको भन्दै अध्यक्ष बस्नेतले मिडिया विकास कोषबाट लाभ लिन आग्रह गरे ।
दूरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठूलो सहयोग पुगेको उनले बताए । त्यस्तै काउन्सिलले जाजरकोटका मिडिया हाउसको आज अनुगमन तथा निरीक्षण गरिएको छ । भूकम्पबाट क्षति भएको भेरीमालिका दैनिक, नेपालपोष्ट खबरलगायतका सञ्चारमाध्यमको अनुगमन गरिएको काउन्सिलका अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए ।
अध्यक्ष बस्नेतले अब काउन्सिलले छिट्टै मिडिया हाउसको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको समेत जानकारी दिए । रुकुमपश्चिमका पत्रकारलाई प्रतिव्यक्ति वा संस्थालाई रु नौ हजारदेखि १० हजारसम्म इन्टरनेट शुल्कवापतको रकम उपलब्ध गराइएको छ । सुर्खेतमा पनि संहितासम्वन्धी कार्यक्रमको आयोजना गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies