काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए ।
“मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री दाहालले भने, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।”
प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभइ स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै कानूनी आधार तयार गर्न लागिएको जानकारी दिए । स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको उनले बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपाली नागरिकको ‘कोखदेखि शोकसम्म’को सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाए ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाही जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीले १७औं स्थापना दिवस बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका सशस्त्र प्रहरीको महोत्तरी स्थित नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक बहन गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्न निर्देशन दिए ।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र जनताको नैसर्गिक अधिकारको लागि शान्ति सुरक्षाको मूल मन्त्रलाई आत्मसात गर्दै सशस्त्र प्रहरी अहोरात्र खटिरहेको बताए । उनले सशस्त्र प्रहरीले विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा अहम् भूमिका निर्वाह गर्नुका साथै सरोकारवाला निकायहरूसँगको समन्वय, सहकार्य र सामाजिक कार्यमा पनि अहम् भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
कार्यक्रममा खेलकुदमा उत्कृष्ट हुने र संगठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रमाण पत्रसहित सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक रोहित बहादुर घिमिरेले बताए ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीको महोत्तरी स्थित नं.२ छिन्नमस्ता बाहिनीका बाहिनीपति, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
जापान : म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले नयाँ वर्षको शुभकामना आदान-प्रदान, क्यालेन्डर विमोचन तथा स्वागत समारोह सम्पन्न गरेको छ । मंगलबार साँझ चुरुमाईमा अवस्थित दियालो रेस्टुरेन्टमा उक्त समारोह सम्पन्न भएको हो ।
सो अवसरमा जापानको इतावासी नगरपालिका तथा मोना जापानले संयुक्तरूपमा आयोजना गरेको फेस्टिभल सफल बनाउन कतारबाट टोकियो हुँदै नागोया पुगेका मोना कतारका निवर्तमान अध्यक्षद्वय तिलु शर्मा पौडेल र नरेन्द्र फगामी सम्मानित भएका छन् । उनीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो ।
समितिका संयोजक सागर बगाले थापाको सभापतित्व तथा मोना आईईसीका उपाध्यक्ष दीपक केसीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो । विकास सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा विभिन्न वक्ताहरूले मोनाले सदैव प्रसंशनीय कार्य गर्ने गरेको बताएका थिए । आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि केसीले मोना जिल्लामा सदैव विकास र असहायका लागि सहारा बन्ने गरेको बताए । उनले नागोया क्षेत्रमा रहेका म्याग्देलीलाई संस्थामा आबद्ध हुन आग्रह गरे ।
नागोया क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको कार्यक्रममा म्याग्देली तथा गैरम्याग्देलीको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै सभापति थापाले सामाजिक संस्थाको महत्व बुझ्न आवश्यक रहेको बताए । समारोहको सहजीकरण सचिव सागर भण्डारीले गरेका थिए ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको संख्या बढ्दै गएका कारण दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोधसमेत गरेको छ ।
पूर्णखोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकोले सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको आग्रह छ ।
राहुल गुप्ता/मध्यान्ह
पर्सा : वीरगञ्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहका ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटका सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनका मण्टु पासवान र अका एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरले टिनको बक्सा फुटाएर एक सय र बीस रुपैयाँको दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरेका थिए । अनुसन्धानका क्रममा चार जना बैंकभित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सीसीटीभी फुटेजमा देखिएको थियो । सो रकम बैंकले राखेको स्टिल दराजबाट चोरी भएको थियो ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६, मग्मामा रहेको सिद्धार्थ जनता माविलाई घेरबार बनाउनका लागि अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकाबाट सहयोग प्राप्त भएपछि विद्यालयले घेरबारको काम पनि सम्पन्न गरिसकेको छ । योसँगै २०३५ सालदेखिको घेरबार लगाउने योजना पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर कुसारीले बताए ।
३ सय ४० मिटर लामो र ६ मिटर अग्लो घेराबार लगाइएको विद्यालयका प्रधानाध्यापक नदिराम केसीले बताए । विद्यालयको सुरक्षाका निम्ति घेरबार गरिएको प्रअ केसीको भनाइ छ । घेरबार तार र सरियाको प्रयोग गरेर बनाइएको छ । उक्त घेरबार लगाउन बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा घर भइ हाल अमेरिकामा रहेका गोर्ख कुसारीको पहलमा आर्थिक सहयोग जुटाइएको हो ।
५ लाख ९५ हजार १ सय ५७ रुपैयाँ लागतमा घेरबार निर्माण भएको हो । समाजसेवी गोर्ख कुसारीसहित अमेरिकामा रहेका १६ जनाले ५ लाख २० हजार ७ सय ५७ रुपैयाँ संकलन गरी पठाएका थिए । कुसारीसहित अमेरिकामा रहेका प्रेमबहादुर कुसारी, नेत्रबहादुर कुसारी, बिनाराम कुसारी, केशर कुसारी, शुमनशिखर कुसारी, विजय खनालले नगद सहयोग गरेका विद्यालयले जनाएको छ । त्यस्तै विकाश कुसारी, अमृत कुसारी, देव गौतम, रामबहादुर कुसारी, देवीराम कुसारी, कृष्णा खत्री, निमबहादुर ओली, लछिराम खत्री र प्रेम खत्रीले पनि सहयोग गरेका छन् ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : दैलेखको गुराँस गाउँपालिकाले २०७५ पुस २७ गते पालिकाको ४९ प्रतिशत र एक कृषि फर्मको ५१ प्रतिशत लगानीमा फलफूल बीउ बिरुवा उत्पादन ल्याब तथा हाइटेक नर्सरी सञ्चालन गर्ने निर्णय गर्यो । उक्त निर्णयअनुसार पालिकाले हाइटेक नर्सरी स्थापनाका लागि आशयपत्रको सूचना जारी गर्यो । उक्त सूचनाअनुसार नेपाल कृषि विकास फर्म प्रा.लि.ले आफ्नो आशयपत्र पेश गरी स्वीकृत भयो । उक्त प्रा.लि. स्वीकृत भएसँगै २०७५ चैत २६ गते २० वर्ष अवधि राखेर कार्यक्रम सञ्चालनका लागि सम्झौता भयो ।
स्टिमेटअनुसार गुराँस गाउँपालिका दैलेखको ४९ प्रतिशत र नेपाल कृषि विकास फर्म प्रा.लि.को ५१ प्रतिशत लगानी साझेदारीमा फलफूल बीउ बिरुवा उत्पादन ल्याब तथा हाइटेक नर्सरी सञ्चालन गर्ने सम्झौता भयो । सम्झौताअनुसार आलुको टिस्यूकल्चर ल्याब स्थापना गरियो । नेपाल कृषि विकास फर्म प्रा.लि.का सञ्चालक थिए बाँके खजुराका देबेन्द्र अधिकारी ।
तर २०७९ फागुन २६ गते आलुको टिस्यूकल्चर ल्याब स्थापनाका लागि मेसिन, औजार र इक्युप्मेन्ट आदि खरिद र जडान कार्यका लागि भएको अर्को पूरक सम्झौतालाई गाउँपालिकाले जानकारी नै नदिएर कानूनी समस्या भएको कारण देखाएर आगामी गाउँ सभाबाट पास गर्ने गरी रद्द गरिएको जानकारी गराइएको फर्म सञ्चालक अधिकारीले बताए । उनले आलुको टिस्यूकल्चर ल्याब स्थापनाका लागि मेसिन, औजार खरिद र जडान कार्यका लागि भएको अर्को पूरक सम्झौतालाई गाउँपालिकाले जानकारी नै नदिएर रद्द भएको चिठ्ठी इमेलमा पठाएको बताए । उक्त पत्रपछि दुबै साझेदारबीच असमझदारी सिर्जना पैदा भयो । सञ्चालक अधिकारी भन्छन्, ‘इमेलमा पत्र पठाइएको समयमा स्थानीय तहको चुनाव थियो । चुनावको तयारी भइसकेको हुनाले हाम्रो गुनासो सुनुवाइ हुन सकेन ।’
निर्वाचपछि आफुहरुले गाउँपालिकालाई आफ्नो धेरै लगानी भइसकेको भन्दै सम्झौताअनुसार काम गर्ने वातावरण सिर्जना गर्न पटक–पटक अनुरोध गर्दा पनि पालिकाले कुनै चाँसो नदेखाएको उनको आरोप छ । उनले रद्द भएको मेसिन खरिदको सम्झौतालाई कार्यपालिकाले अनुमोदन नगर्दा र सम्झौताअनुसार सिँचाइका लागि आवश्यक पहल नगर्दा सो व्यवसाय साझेदारीमा निरन्तरता दिन नसकिने स्वीकार गरे । उनले उक्त व्यवसायका निरन्तरनताका लागि गाउँपालिकाले लगानी गर्नुपर्ने बजेट दिन तथा एकलौटी गर्ने निर्णय गर्नका लागि आफूले पालिकामा निवेदन दिएको बताए । उनले निवेदन दिएपछि गाउँपालिकाले २०७९ मंसिर १० गते जाँचबुझ समिति गठन गरेको उनले बताए ।
समितिले नयाँ कार्यविधि बनाइ स्वतन्त्र सरकारी परियोजना, संस्थान, लिमिटेड वा प्राधिकरणको ढाँचामा गुराँस गाउँपालिकाले एकलौटी सञ्चालन गर्नुपर्ने र नेपाल कृषि विकास फर्मलाई चल अचल पूँजीलगायतको हिसाब सरकारी मूल्यांकनअनुसार भुक्तानी गरी बिदा गर्न सुझावसहित प्रतिवेदन बुझायो ।
त्यही सुझावको आधारमा २०७९ माघ ११ गतेको गाउँ सभा तथा माध १२ गतेको कार्यपालिका बैठकले साझेदार नेपाल कृषि विकास फर्मको सबै लगानी फिर्ता गरी गाउँपालिका आफैंले आलु, फलफूल बीउ बिरुवा उत्पादन ल्याब तथा हाइटेक नर्सरी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यही अनुसार गाउँपालिका आफैंले प्राविधिक मूल्यांकनसमेत गराइसकेको गाउँपालिकाले जनाएको छ । यता सञ्चालक अधिकारीले भने गाउँपालिकाले आफूलाई घरको न घाटको बनाएको गुनासो गरेका छन् । ऋण गरेर सञ्चालनमा ल्याएको व्यवसाय गाउँपालिकाले सञ्चालनको वातावरणसमेत अन्त्य गरी लगानीको रकमसमेत फिर्ता नगरेको हुँदा आफू निकै समस्यामा परेको उनले बताए ।
'सबै तथा विभिन्न स्रोतबाट प्राप्त अनुदान सहयोगको हिसाब ५० प्रतिशत गरी सम्झौताअनुसार घटाइ बाँकी देखिने सबै रकमको ५० प्रतिशत गत आर्थिक वर्षभित्र दिने भनियो,' उनले भने, 'बाँकी ५० प्रतिशत चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र भुक्तानी गर्ने गरी सम्झौता भएपनि ४० लाख बाहेक अरु रकम अहिलेसम्म पाएको छैन ।'
पटक-पटक मौखिकरुपमा अनुरोध गर्दा हुन्छ मात्रै भन्ने गरिएको भन्दै उनले सबै प्रक्रिया पूरा गर्दा पनि आलटाल गर्ने गरिएको दुखेसो पोखे । प्रमुख प्रशासकीय अधिकृतले विभिन्न बहाना देखाउँदै तोक आदेश तथा दर्ता नगरेको उनको भनाइ छ । परामर्शदाताबाट गरेको विस्तृत मूल्यांकन रिपोर्ट गाउँपालिकालाई प्राप्त भएको तथा सो रिपोर्ट आइसक्दा पनि आलटाल गरिएको उनले बताए ।
उनले सजिलै रकम दिँदैनौ भुक्तानी लिने भए अदालतबाट मुद्दा जितेर आदेश लिएर आउनु, नत्र अब यस विषयमा कुरा गर्न नआउनु भन्दै पालिकाले धम्कीपूर्ण व्यवहार गरेको बताए ।
उक्त फर्ममा गुराँस गाउँपालिकाले साझेदारी लगानी र पेश्की गरी जम्मा एक करोड ९६ लाख तीन हजार पाँच सय ६३ रुपैयाँ लगानी गरेको छ भने प्रदेश कृषि मन्त्रालय, कृषि विकास कार्यालय दैलेखमार्फत विभिन्न समयमा ३३ लाख ९० हजार ९ सय ३७ र इन इलम हेल्भेटास नेपालबाट विभिन्न समयमा ७ लाख ४० हजार रुपैयाँ अनुदान प्राप्त भएको देखिन्छ ।
उक्त नर्सरीमा अहिले गाउँपालिका पक्षको लगानी २ करोडभन्दा धेरै लगानी रहेको बताउँदै उक्त फर्मको लगानी करिब ५ करोड बराबरको कृषि तथा भौतिक पूर्वाधार सामग्री कर, ह्रासकट्टी काटेर बाँकी हुने रकम आफ्नो हुने सञ्चालक देवेन्द्रले दाबी गरे ।
अहिले गुराँस गाउँपालिकाले गाउँ सभा र कार्यपालिकाबाट निर्णय गरी विधिवत कृषि विकास शाखा, पशुपन्छी विकास शाखा र गुराँस कृषि अनुसन्धान तथा उत्पादन केन्द्र स्थापना गरी सञ्चालन गरिरहेको छ । यता गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर विसीले भने साझेदारीमा सञ्चालन भएको स्वीकार गर्दै कुनै हिसाबकिताब नभएपछि पालिकाले जिम्मा लिएको प्रतिक्रिया दिए । उनले हालसम्म आम्दानीको कुनै जानकारी नआएपछि पालिकाको सम्पत्तीको सुरक्षा आफूहरुले गरेको बताए । अध्यक्ष विसीले प्रक्रियाअनुसार सञ्चालकले आफ्नो लगानीको रकम फिर्ता पाउने बताए ।
पालिकाले एउटा व्यक्तीसँग साझेदारी गर्न उपयुक्त नदेखिएपछि आफूले फर्म सञ्चालकलाई बोलाएर उक्त ल्याब एक्लै सञ्चालन गर्न र पालिकाको लगानी फिर्ता गर्न अनुरोध गर्दा उनले नमानेको बताए । 'पालिकाले व्यक्तिसँग साझेदारी गर्न पनि गाह्रो, व्यक्तिलाई आफैं चलाउनुहोस्, पालिकाको रकम फिर्ता गर्नुहोस् भनेपछि होइन पालिकाले चलाओस् मेरो लगानी फिर्ता दिनुहोस् भनेपछि सरकारको लगानी असुरक्षित देखेपछि हामीले आफ्नो सम्पत्ती जोगाउन लागेका हौं,' अध्यक्ष विसीले भने ।
उनले प्रक्रिया अनुसार रकम पाउने भन्दै त्यसका लागि बिल भरपाई, अडिटसहित प्राविधिक मूल्यांकन चाहिने बताए । अध्यक्ष विसीले गाउँपालिकाले कुनै अन्याय गर्न नखोजेको बताए । पालिकाले अन्याय गरेको जस्तो लागे कानूनी उपचारमा जान सक्ने सुझाव पनि दिए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : सरकारले युट्युब, ब्लग र भ्लगमाथि निगरानी गर्ने भएको छ । सूचना प्रविधिको विकाससँगै विकसित भएका युट्युब, ब्लग र भ्लग जस्ता क्षेत्रमाथि निगरानी गर्ने गरी सरकारले कानून बनाउन लागेको छ । कानून बनाएरै सामाजिक सञ्जालमाथि समेत निगरानी राख्ने सरकारको तयारी छ ।
यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हालै ‘मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले ल्याएकी छन् । हालै राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा युट्युब, ब्लग र भ्लगलाई सञ्चार संस्थाको मान्यता दिने प्रस्ताव छ ।
‘सञ्चार संस्था’ भन्नाले आमसञ्चार माध्यम सञ्चालन गर्न प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भएको सञ्चार संस्था वा प्रतिष्ठान सम्झनुपर्छ र सो शब्दले कुनै व्यक्ति, समूह वा संस्था बीच एक अर्कासँग अन्तक्रियात्मक सञ्चार र विषयवस्तु प्रसार गर्ने उदेश्यले स्थापित अनलाइन सञ्चार संस्था तथा सामाजिक सञ्जाललाई समेत जनाउँछ’ विधेयकको दफा २ को उपदफा (ढ) मा भनिएको छ ।
सञ्चार मन्त्रालयका अनुसार सूचना प्रविधिको विकाससँगै विकसित भएका संचार क्षेत्रलाई समेट्न खोजिएको छ । प्रस्तावित विधेयक संसदबाट पास भए युट्युब च्यानल, तिनका सामाजिक सञ्जाल, ब्लग र भ्लग संचार संस्थाभित्र पर्नेछन् । अनलाइन मिडियाका फेसबुक, ट्वीटर अकाउण्ट वा पेज समेत संचार संस्थाको परिभाषामा समेटिनेछन् । कसैले फेसबुक पेज बनाएर सूचना, समाचार वा समाचारजन्य सामग्री सम्पेषण गर्ने गरेको अवस्थामा त्यो समेत सञ्चार संस्थाभित्र पर्नेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार संस्थाको परिभाषामा समेटिएपछि त्यसको आचारसंहिता, अधिकार र कर्तव्य जस्ता विषयहरु आर्कषित हुन्छन् । पत्रकार आचार संहिताको पालनाको विषय पनि आर्कषित हुन्छ ।
सञ्चारमन्त्री शर्मा भन्छिन्, ‘पत्रकारिता क्षेत्रको आचारसंहिता उल्लघन सम्बन्धी उजुरी सुनुवाई गर्ने स्वतन्त्र स्वायत्त र सक्षम निकायको रुपमा विकास गर्नका लागि नयाँ कानूनको आवश्यकता महसुस भएको हो ।’
हाल ब्लग, भ्लग, फेसबुक पेजका सामग्रीहरु मिडिया काउन्सिलको अनुगमन गर्ने संस्थाभित्र पर्दैनन् । प्रस्तावित व्यवस्था संघीय संसदले स्वीकार गरे प्रचलित ऐन बमोजिम सूचना र समाचार सम्प्रेषण भए÷नभएको विषयमा संस्थागत सामाजिक सञ्जाल मिडिया काउन्सिलको अनुगमनमा पर्नेछ । अनुगमनका आधारमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराउने लगायतका कार्यका लागि प्रस्तावित व्यवस्था आवश्यक भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
प्रस्तावित विधेयकको दफा १७ मा मिडिया काउन्सिलले स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि सञ्चार माध्यमलाई स्वनियमन र स्वमूल्यांकन गर्न लगाउने व्यवस्था छ ।
मिडिया तथा पत्रकारले आचार संहिता उल्लंघन गरेमा काउन्सिलले क्षमायाचान गर्न लगाउने, उल्लंघन कर्ताको नाम सार्वजनिक गर्ने, सचेत गराउने, एक वर्षसम्म प्रेस प्रतिनिधि निलम्बन गर्न पाउँछ ।
प्रेमचन्द्र झा/मध्यान्ह
राैतहट : जिल्लास्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला सुक्न थालेपछि छाडा चाैपाया र चरा चुरुङ्गी मर्न थालेका छन् । करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेको छ । पछिल्लो पटक २०८० साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लागातार तापक्रम दैनिक बढ्दै आएको छ । मंगलबार राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको छ । तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले जनजीवन प्रभावित भएको छ भने बोट बिरुवाका साथै अन्न बालीमा समेत असर परेको छ ।
यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्थामा फेला परेकाे स्थानीय सञ्चारकर्मी कमल यादवले बताए । प्राकृतिक खाेला नदी सुकेका कारण जंगली जनावर, छाडा चौपाया तथा चरा चुरुङ्गी पानी खान नपाएर मर्न थालेको उनले बताए ।
सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरी पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लाल बकैया नदीको दायाँ बायाँ करिब ५ /५ किलोमिटर दुबैतर्फको दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय: जसाे पानीका मुहान सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए ।
चाैपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीयस्तरबाट जन श्रमदान गरी सुकिसकेको लाल बकैया नदीमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्वनगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : नेपाल पत्रकार महासंघ शाखा उदयपुरको १३औं साधारण सभा सम्पन्न भएको छ । कोशी प्रदेश उपसभामुख सृजना दनुवारले महासंघ परिसरभित्र बनाइएको नेपाल पत्रकार महासंघ शाखा उदयपुरको स्ट्याचु विधिवत रुपमा उद्घाटन गरिन् ।
स्वतन्त्र तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले पत्रकारिताको विकासक्रमसँगै विगतका आफ्ना दिनहरुमा भन्दा अहिले पत्रकारिता गर्न सूचना प्रविधिको विकासले सहज तुल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले समाचार लेखेपछि लुकेर हिँड्नु, जेल जानुपर्ने अवस्था रहेको बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले देशमा पत्रकारिता क्षेत्रमा पारिश्रमिक, तलव, मिडिया हाउसहरुका संकटकालिन समस्याहरुका अवस्थाहरुका बारेमा पत्रकार महासंघमा चुनौती र राज्यले विशेष सरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
अधिकारीले नेपाली पत्रकारिता क्षेत्रमा ठूलो मिडिया हाउसहरु बन्द हुँदै जानु, श्रमजीवी पत्रकारहरुले पारिश्रमिक, तलब भत्ता नपाउनु निष्कासित हुनुले अन्तर्राष्ट्रिय क्षेत्रहरूमा नराम्रो सन्देश गएसँगै प्रश्न चिन्ह खडा भएको बताइन् । उनले सोसाइल मिडिया सामाजिक सञ्जाल, यूट्युवमा हालिएका विभिन्न मोनिटाइज गरिएका भिडियो विभिन्न भ्रामक अश्लिल सूचना भिडियोहरुले समाजलाई गलत दिशा तिर डोहो¥याउँदै लगेसँगै पत्रकारहरुलाई यसले चुनौती र समस्याहरूमा बढवा दिँदै लगेको बताइन् ।
कोशी प्रदेश उपसभामुख सृजना दनुवारले पत्रकार राज्यको चौथो अंग रहेको उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेशनसँगै पत्रकारिता पेशा मर्यादित र सम्मानित हुनुपर्ने बताइन् । दनुवारले पत्रकारिता तथा सञ्चार क्षेत्रको विकास सरक्षणसँगै पत्रकारिताभित्रको समस्या शुद्धीकरणमा कोशी प्रदेशले आवश्यक ठानेको बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies