–सुरेश भट्ट आश्रिन
आजभोलि विश्व राजनीतिमा लोकप्रियतावादको (पपुलिजम)को चर्चा परिचर्चाले ठूलो हिस्सा ओगटेको छ । इतिहासकार माइकल केजिनको ‘दि पपुलिष्ट मोमेन्ट : अ सर्ट हिस्ट्री अफ दि अग्रेरियन रिभोल्ट इन अमेरिका’मा उद्र्धत गरिएअनुसार लोकप्रियतावाद उन्नाइसौं शताब्दीमा संयुक्त राज्य अमेरिकाबाट उदाएको हो भन्ने कुरा स्थापित छ । तर, पश्चिम युरोपमा भने सन् १९७० को दशकमा मात्रै यसले ठाउँ पायो । २००८–०९ को बृहत् मन्दीपछि युरोप र अमेरिकामा दक्षिणपन्थी, मध्यमार्गी र वामपन्थी सबै खाले राजनीतिमा लोकप्रियतावादको उदय भएको ‘दि पपुलिष्ट एक्सप्लोजन’ पुस्तकमा लेखिएको छ ।
जसमा लेखिएको छ– स्रोत साधन परिचालनको उचित क्षमता नहुँदै, विचारधाराबिना राजनीतिक (कु)तर्कका आधारमा जब केही ताल न तुकका एजेन्डाहरू कार्यान्वयन गर्ने नाममा सार्वजनिक भइरहन्छन्, तिनलाई ‘क्षणिक, सस्तो लोकप्रियताका लागि’ भन्ने गरिन्छ । त्यसलाई इतिहासकार केजिनले आफ्नो पुस्तकमा भनेका छन्– साँघुरो घेराभित्र नबाँधिएका सर्वसाधारणलाई कामकाजी शासकविरुद्ध भड्काउन सत्तामा र विपक्षीमा रहेकाले अपनाउने हतकण्डा वा तिकडमका रूपमा बुझिन्छ । यसको एकमात्र उद्देश्य सत्ता हत्याउनुमात्र हो । जुन अहिले नेपाली राजनीतिमा हुने गरेको छ । तर, संसारभर भएका साना–ठूला विद्रोह र क्रान्तिहरू सत्ता हत्याउने निहित उद्देश्यपूर्तिका लागि मात्रै भएका थिएनन् । सहज सहकार्यको वातावरण बनाउने, एकअर्काप्रति हरेक अप्ठ्यारा विषयहरू र गाह्रा–साँघुरा संघर्षहरूमा ऐक्यबद्धता जनाउने पवित्र उद्देश्य तिनमा निहित देखिन्थ्यो । समानता तिनको लक्ष्य हुने गरेको थियो ।
नेपालमा वि.सं. २०५१ सालमा एमाले सरकारले अगाडि सारेको लोककल्याणकारी कार्यक्रमसहितको बजेटलाई तत्कालीन विपक्षी नेपाली कांग्रेसले ‘पपुलिष्ट’ भन्ने शब्द पहिलो पटक संसदमा प्रयोग गरेको थियो । नेपालमा पपुलिजम् शब्दको प्रयोग हुने प्रयास अनुचित प्रकारले प्रकट भएर लोकरिझ्याइँ गर्ने कार्य लोक चाहनाको दोहन गर्ने प्रयत्न हो । त्यसरी लोक चाहनाको दोहन गरिसकेपछि स्वयम् लोक चाहनामाथि फासिस्ट शासन चलाउन कुनै शक्ति निर्माण हुन्छ भने त्यो जनतामा हुने पपुलिस्ट सोचाइका कारणले हुने गर्दछ ।
लोकप्रिय मतबाट निर्वाचित सार्वभौम जनताका प्रतिनिधि सांसदहरू ‘भाइरल’ हुने लोभमा तत्काल कार्यान्वयन गर्न असम्भव, तथ्यका दृष्टिले अपुष्ट र शैलीगतरूपमा पनि उत्तेजक र अस्वाभाविक भाषा प्रयोग गरिरहेका छन् । हाम्रो संसद्मा फस्टाएको लोकप्रियतावादको हावाबाट सबैभन्दा बढी मध्यमवर्गीय चरित्र प्रभावित हुने गर्दछ । स्वार्थी, महत्वाकांक्षीहरू मात्र होइन, राजनीतिमा न्यून चेतनास्तर भएका मानिसहरूको ठूलो भीड पपुलिजमको कित्तामा जाने सम्भावना रहन्छ । उनीहरूले बनाएको त्यो चक्रव्यूहमा सबैभन्दा पहिले जनताको स्वतन्त्रतालाई फाँसीमा चढाउन थालिन्छ ।
उदाहरणको लागि सकारात्मक परिवर्तनका लागि आफ्नो अभिव्यक्ति व्यक्त गर्ने माइतीघर मण्डला आजभोलि अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने सम्माननीय गृहमन्त्री रवि लामिछानेबाट निषेधित छ । यसरी जनताले आफूले प्राप्त गरेका उपलब्धिलाई समाप्त गर्नेहरू नै लोकप्रियताको लहर वा लोकप्रियतावादबाट उत्पन्न भएको जनमतका कारणले पनि चुनावमा भारी विजय प्राप्त गर्ने गरेका उदाहरणहरू थुप्रै पाइन्छन् । लोकप्रियतावादको लहरको अर्थ हुन्छ, कुनै सिद्धान्त, नीति, कार्यक्रम वा जनहितैषी कार्यक्रमका आधारमा होइन, एक वा अर्को प्रकारका गलत भावनालाई उभारेर लोकप्रिय हुने गरेका कारण खराब तत्वहरू शक्तिसम्पन्न हुने गर्दछन् ।
हामीले अन्तर्राष्ट्रिय स्तरका एउटा उदाहरण मात्र पनि हेर्यौं भनेपनि हिटलरको ‘नाजीवाद’लाई लिन सकिन्छ । हिटलरले जातिवादको, यहुदीको विरोध र जर्मन जातिको श्रेष्ठताका जातीय व्याख्याका आधारमा व्यापक जनमत जुटाएका थिए र चुनावमा सफलता पनि प्राप्त गरे । जर्मनका इतिहासकारहरूले यो मत प्रकट गरेका छन् कि तत्कालीन समय महिलाहरूका व्यापक समर्थन र भारी मतका कारणले नै हिटलरले विजय प्राप्त गरेका थिए । यद्यपि, जर्मनका महिलाहरूको अत्यधिक मतले हिटलरलाई विजय बनायो तर, पछि हिटलरले चलाएको आतंक र अत्याचारका कारणले ठूलो संख्यामा उनीहरूका पति, पिता, छोरा आदि वा स्वयम् महिलाहरूलाई पनि हिटलरद्वारा यातना दिने वा हत्या गर्ने काम गरिएको हुनाले जर्मनी मात्र हैन, संसारभरि नै महिलाहरूमा ठूलो रुवाबासी भएको थियो ।
नेपाली राजनीतिमा पनि यस्तै खाले पात्र र प्रवृत्ति हावी हुन् थालेको छ । आफू शक्ति र सत्तामा नहुँदा रगत उमाल्ने ठूल्ठूला नारा दिने र सत्तामा पुगेपछि ती लोककल्याणकारी कार्यक्रमलाई नारामा सीमित राख्नेहरूबाट जनमुखी र जीवनोपयोगी काम हुँदैन भन्ने कुरा पुष्टि हुँदै आएको छ । लोकप्रियतावादको दार्शनिक र सैद्धान्तिक आधार त हुँदैन नै, त्यसका साथै संघर्षको कुनै पृष्ठभूमि पनि हुँदैन । लोकप्रियतावाद, जसलाई पपुलिजम भनेर बढी उच्चारण गरिन्छ । उग्रवामपन्थी विचारधाराको खण्डन गर्दा नेपालमा पहिले मोहनविक्रम सिंहले पपुलिस्ट सोचाइको आलोचना गरेका थिए । त्यस यता लामो समयपश्चात् लोकप्रियतावाद अर्थात् पपुलिजमबारे नेपालमा चर्चा हुन थालेको छ र यसप्रति मानिसहरूको ध्यान जान थालेको छ । यो स्वागतयोग्य कुरा हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यता स्थापित भएको नेपालमा लोकप्रियतावाद हाबी हुनु लोकतान्त्रिक विधि र व्यवस्था नै खतरामा पर्ने अर्को संकेत हुन्छ । किनभने लोकप्रियतावादले कुनै पनि रूपमा खासै राजनीतिक लक्ष्य प्राप्त गर्ने उत्कट चाहना राख्दैन । आर्थिक संरक्षणवादीहरूले चुनावमा खासै भाग लिदैनन् । हामी आप्रवासबाट चिन्तित मतदाताहरूले समेत आफ्नो छनोटको आधार मताधिकार, आर्थिक र कल्याणकारी राज्यको विषयलाई मुद्दा बनाए पनि आजको राजनीति रवि, राजेन्द्र र प्रचण्डले बेग्लै प्रकारको राजनीतितर्फ अगाडि बढाइरहेका छन् । यहाँनेर लोकतन्त्रमा पार्टीको विकल्प पार्टी नै हुने विधि लत्याएर रवि, राजेन्द्र र प्रचण्ड व्यक्ति नै पार्टी र पार्टी नै व्यक्ति हुने मार्गबाट नेपाली समाजको कदापि भलो हुँदैन । यसले व्यक्तिगत महत्वकांक्षालाई नै पार्टीको मुद्दाको रूपमा स्थापित गर्छ र पार्टीलाई एकाधिकार, एकाङ्की प्रणालीअनुसार चल्नुपर्ने मान्यता स्थापित गर्छ । जुन मान्यताले जुनसुकै समय जे पनि राजनीतिक घटना पर्खिरहेको हुन्छ ।
-रोयल आचार्य
पछिल्लो दशक मुलुकमा थुप्रै आर्थिक सामाजिक परिवर्तनहरु भए । लैंगिक तथा सामाजिक विभेदहरु हट्दै गए । राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीले मुलुकको नेतृत्व गरिन् । शुसीला कार्की प्रधानन्यायाधीश बनिन् । न्यायालयदेखि संसदसम्म महिला नेतृत्वमा पुगेका छन् । वित्तीय क्षेत्रको सर्वोच्च पद अर्थात बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकमा पनि महिलाले नेतृत्व गर्ने अवसर जुर्यो । अर्थात, वित्तीय क्षेत्रको सबैभन्दा ठूलो पदमा पुग्ने महिला बन्न सफल भएकी छिन् नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिना । निलम २९ फागुन २०७७ मा केन्द्रीय बैंकको डेपुटी गभर्नर बन्न सफल भएकी हुन् । निलम अघि कुनै पनि महिला यो पदमा पुग्न सकेका थिएनन् । डेपुटी गभर्नरमात्रै होइन, गभर्नर महाप्रसाद अधिकारी विदेशमा जाँदा निलमले नै कार्यबाहक गभर्नरको रुपमा केन्द्रीय बैंकको नेतृत्व पटक–पटक गरेकी छिन् । त्यतिमात्रै होइन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णय गरेपछि निमित्त गभर्नरको रुपमा समेत निलमले केन्द्रीय बैंकको नेतृत्व गरेकी थिइन् । महिलाका रुपमा वित्तीय क्षेत्रको इतिहासमा नै सबैभन्दा ठूलो पदमा पुग्ने निलम संघर्षले नै यहाँसम्म पुगेकी हुन् । उनको लगनशीलता र मिहिनेतले नै यो पदसम्म उनलाई पुर्याएको हो ।
को हुन् निलम ?
२४ मंसिर २०२५ मा जन्मेकी निलमका बुबा माध्यमिक विद्यालय निरीक्षक (माविनि) र आमा शिक्षिका हुन् । माविनि बुबाको जहाँ–जहाँ सरुवा हुन्थ्यो, निलम पनि त्यही क्षेत्रको स्कुल पढ्न जान्थिन् । प्राथमिक तहको अध्ययन पूरा गर्न धेरै स्कुल चाहारेकी उनले झापा दमकको हिमालय माविबाट २०४१ सालमा एसएलसी उत्तीर्ण गरेकी छिन् । उनले दमक क्याम्पसबाट जिल्लाकै उत्कृष्ट नतिजासहित आईकम उत्तीर्ण गरिन् । त्यसपछि स्नातक तहको अध्ययनका लागि उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पस पुगिन् । स्नातक तह प्रथम वर्ष अध्ययन गर्दागर्दै विराटनगरमै निलमको विवाह भयो । श्रीमान शिक्षण पेशामै थिए ।
पहिलो सन्तानको रुपमा छोरी जन्मिइन् । पारिवारिक जिम्मेवारी पनि उनकै काँधमा थियो । उनको करियरमा भने असर नपरोस् भनेर श्रीमानले पढाइलाई निरन्तरता दिन लगाए । निलम सानै हुँदा माविनि बुबालाई भेट्न उनको घरमा मानिसहरुको आउजाउ हुन्थ्यो । आउनेमध्ये अधिकांशले जागिर मिलाइदिन अनुरोध गर्थे । यो सब देखेर हुर्केकी निलमलाई लाग्यो, बुबाले पक्कै मलाई पनि जागिर मिलाइदिनुहुन्छ । एसएलसीपछि बुबालाई भनेर जागिर खाने सोच मनमनै बनाएकी थिइन् । क्याम्पस पढाउँदाको आम्दानी नराम्रो थिएन । लेखाशास्त्रको ट्युसन पढ्ने विद्यार्थी पनि धेरै हुन्थे ।
२०५२ सालको कुरा हो । निलमका श्रीमानले पढाउने विद्यार्थीहरूले राष्ट्र बैंकमा जागिर खुलेको सूचना देखाए । सडकपेटीको पुस्तकको थुप्रोमा राष्ट्र बैंक प्रवेशका लागि तयारी गर्न सहयोग गर्ने एउटा ‘गाइड’ पनि थियो । सडकपेटीमा किनेको त्यही ‘गाइड’ आफ्नो जीवनको ‘गाइड’ बनेको उनले बताउने गरेकी छिन् ।
सडकपेटीको पुस्तकको थुप्रोमा राष्ट्र बैंक प्रवेशका लागि तयारी गर्न सहयोग गर्ने एउटा ‘गाइड’ पनि थियो । २०५४ सालमा खुलेको सहायक निर्देशकको परीक्षा उनले पहिलो पटकमै उत्तीर्ण गरिन् । सहायक निर्देशकको जिम्मेवारी विदेशी विनिमय विभागबाट शुरु गरिन् । त्यहाँ एक वर्ष काम गरिन् । त्यसपछि उनको विराटनगर सरुवा भयो । विराटनगरबाट फेरि काठमाडौं सरुवा भयो । त्यसपछि सपरिवार काठमाडौं आइन् । केही वर्ष बैंक सुपरिवेक्षण विभागमा काम गरिन् ।
२०५९ सालमा राष्ट्र बैंकबाटै अध्ययनका लागि अष्ट्रेलिया जाने अवसर जुर्यो । अध्ययन पूरा गरेर आएपछि उपनिर्देशकमा बढुवा खुल्यो । उनले नाम निकालिन् । चार वर्ष अनुसन्धान विभागमा काम गरेकी निलमको २०६६ सालमा निर्देशकमा बढुवा भयो । निर्देशक भएपछि पनि उनले बैंक सुपरिवेक्षण विभाग र अनुसन्धान विभागमा काम गरिन् ।
२०७१ सालमा राष्ट्र बैंक उच्च व्यवस्थापनमा राष्ट्र बैंकको पोखरा निर्देशकमा महिलालाई पठाउने कुरा उठ्यो । कसलाई पठाउने भन्ने विषय टुंगो लागेकै थिएन । उनले आफैंले रोजेर पोखरा पुगिन् । निलम क्षेत्रीय कार्यालयको नेतृत्व गर्ने पहिलो व्यवस्थापक महिलासमेत हुन् ।
१४ महिना पोखरा कार्यालयमा काम गर्दा धेरै कुरा सिकेको उनको अनुभव छ । राष्ट्र बैंक प्रवेश गरेको २० वर्षपछि अर्थात २०७४ सालमा उनलाई राष्ट्र बैंकले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दियो । त्यही वर्ष उनी कार्यकारी निर्देशक भइन् । आन्तरिक लेखा परीक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेर उनले लामै समय काम गरिन् । राष्ट्र ऋण व्यवस्थापन विभागको कार्यकारी निर्देशक रहेकै बेला उनी प्रथम डेपुटी गभर्नर महिला बनेर इतिहास रच्न सफल भएकी हुन् ।
-सुजाता लामिछाने
ब्रह्मयोगको अनुसन्धान कर्ता माता अन्तर्वीणा ब्रह्मज्ञानको साधिका हुन् । विक्रम संवत २०३० मा भारतको बिहार प्रान्तमा अन्तर्वीणा जन्मेकी हुन् ।
सानैदेखि ब्रह्मयोगमा साधनामा लागेकी अन्तर्वीणाले गहीरोसँग साधना गरेकी छिन् । नेपालको ललितपुरमा बस्ने अन्तर्वीणाले विगत दस वर्ष देखि त्यस ज्ञानलाई जनमानस सम्म पु¥याउन पनि उनी प्रयासरत छिन् । उनको प्रयासले भारत र नेपालको ज्ञानबाट हजारौं व्यक्ति लाभान्वित भइसकेका छन् ।
अन्तर्बीणाकाअनुसार ब्रह्मयोग एक प्रकारको ध्यान साधना हो । उनी आफना बुझाइलाई साधिका अन्तर्बीणा यसरी ब्याख्या गर्छिन्, ‘बह्मयोग अभ्यास ब्रह्म मूूर्हुतमा गर्नुपर्छ । ब्रह्मको अर्थ ईश्वर र मुर्हूतको मतलब समय हुन्छ । यो ईश्वरको समय हो । यस सम मा साधकहरुलाई, ध्यानसाधना गर्न लाभकारी हुन्छ । मंदिरको ढोका पनि त्यसै समयमा खुल्छ । त्यस समय सकारात्मक उर्जाको सञ्चार हुन्छ । ब्रह्म मूूर्हुतको समय ३ देखि ६ हो । तर, प्रतिदिन १०–१५ मिनटको हराहारीमा यता–उता हुन्छ ।’
माता अन्तर्वीणाको अनुसार मानिसले मानिसले सबैभन्दा पहिले मृत्युको बोध गर्नुपर्छ । किनकि काम,क्रोध, लोभ, मोह, ईष्र्या र द्वेष जुन हाम्रो सबैभन्दा ठूलो शत्रु हो ।
दोश्रो क्षमाको भाव हुनुपर्छ । जबसम्म हामी क्षमा गर्न सक्दैन । जीवन सुखी हुन सक्दैन । सामान्य रुपमा हामीलाई जीवनको सानो–सानो कुराहरु धेरै दुःखी र अपमानित गरिरहन्छ । एक पटक हैन पटक–पटक गरिरहन्छ । क्षमा गरेपछि आन्तरिक शान्ति प्राप्त हुन्छ ।
तेश्रो हो करुणाको भाव हो । सबैप्रति करुणाको भाव राख्नु पर्छ । करुणाको भाव आत्मविकासको लागि धेरै सहायक हुन्छ । चौथो हो परोपकार । सकेसम्म अर्काको सहयोग गर्ने र कसैलाई मन–कर्म र वचनबाट दुःख न दिने हो । पाँचौ हो इमानदारी गलत तरीकाबाट कहिले पनि लाभ लिन हुदैन । यो पाप हो । इमानदारिताको गुणबाट नै हाम्रो कल्याण हुनेछ ।
उनी भन्छिन्, ‘कति दिन सम्म हामी यस पृथ्वी ग्रहमा रहन्छौं थाहा छैन । तर, एक दिन हामी रहदैन यो कुरा हामी सबैलाई थाह छ । जन्म र मृत्युको बीचको यही समयलाई जीवन भन्छ ।’
जीवनलाई क्षणभंगुर पनि भनिन्छ । किनकि हेर्दाहेर्दै जीवनको अन्तिम समय आउँछ । कसरी आउँछ हामीलाई थाहा हुँदैन । अर्काको कमी कमजोरी निकाल्दा निकाल्दै आफनो जीवन नै सकिन्छ । यसकारण हामी सबैलाई सधै याद राख्नु पर्छ कि यस पृथ्वी ग्रहमा हामी सबै प्रवासी हौं । यसैलाई ब्रहमयोगको सिद्धान्त भनिन्छ ।
हामी को हौं ? कहाँबाट आएको हौं । कहाँ जान्छौं ? यस सबै प्रश्नको उत्तर मर्नुभन्दा पहिला नै खोज्नुपर्छ । जीवन पनि एउटा किताब नै हो । मनोचिकित्सकहरू पनि भन्छन्, ‘मान्छेहरु को जीवन जीउने जुन तरीका छ त्यसलाई दुःखबाट मुक्त गर्न गाह्रो छ ।’
भगवान बुद्ध पनि भन्नु हुन्थ्यो । जीवन दुःख छ । दुःखको कारण छ, कारणको निवारण छ । आर्य अष्टांगिक मार्ग दुःख मुक्तिको उपाय छ । त्यस्तै ब्रह्मयोगको सिद्धान्त पनि भन्छ कि ‘संसार दुःख हो तर यस दुःखबाट मुक्तिको उपाय आध्यात्मिक साधना हो ।’
-कमला अवस्थी
दुई दशकअघिसम्म नेपाली समाजमा महिलाको पर्याय चुलोचौको नै थियो । समाजले महिलालाई बच्चा जन्माउने र घर धान्ने ‘जात’का रुपमा हेर्थे भने पुरुषले आम्दानी गर्न बाहिर जानुपथ्र्यो । अहिले समय फेरिएको छ । महिलाहरू पनि पढाइ, रोजगारीका सिलसिलामा घर छाडेर शहर र देश छोडेर संसार पुग्न थालिसकेका छन् ।
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा २९ हजार ७३६ जना महिला रोजगारीका सिलसिलामा विदेश गएका छन् । यी मध्ये अधिकांश महिला खाडी मुलुक कतार, साउदी अरब, मलेसिया साइप्रस ओमान लगायत पुगेका छन् । रोजगारीका सिलसिलामा विदेश पुगेका यी तथ्यले पछिल्लो समय महिलाहरू आत्मनिर्भर बन्दै आर्थिक रुपान्तरणको दिशामा लम्केको स्पष्ट हुन्छ ।
महिलाहरू रोजगारका लागि मात्रै होइन, पर्यटन, अध्ययन, स्थायी÷अस्थायी बसोबास, सेमिनार, स्वास्थ्य उपचार, ब्यापार, भ्रमण, खेलकुद लगायत अन्य १६ वटा शीर्षकमा देश विभिन्न देश गएको तथ्याङ्कले देखाउँछ । अध्यागमन विभागले सन् २०२३ मा सार्वजनिक गरेको तथ्यांअनुसार एक वर्षभित्र १६ लाख मानिस बाहिरिदा महिलाको संख्या ४ लाख ३२ हजार ५८४ छ ।
संसारका विभिन्न देशमा पुगेका महिलाहरूले समाज र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलिरहेका छन् । नेपालको अर्थतन्त्रमा विदेशमा काम गरेर नेपाल पठाएको रेमिट्यान्सको योगदान उच्च छ । यसरी नेपाल भित्रने कुल रेमिट्यान्समा मध्ये करिब ११ प्रतिशत महिलाको योगदान रहेको तथ्यांकले देखाउँछ । पुरुषसँगै महिलाहरूले पनि विदेशमा कमाएको रकमबाट परिवारको शिक्षा, स्वास्थ्य तथा आर्थिक स्तर बृद्धिमा समेत योगदान पुगेको छ । घरेलु उद्योग खोलेर आफ्नो परिवार तथा समाजमा केही योगदान दिने काममा समेत महिलाको वैदेशिक रोजगारीले सघाएको छ ।
सीप सिक्नमा जोड !
वैदेशिक रोजगारीका सिलसिलामा जाने क्रम बढे पनि सीप सिकेर जानेहरू भने अत्यन्तै कम देखिएका छन् । पछिल्लो तथ्यांकअनुसार रोजगारीका लागि विभिन्न देश जाने महिला कूल महिला श्रमिक मध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै सीप विनै विदेश गएका छन् ।
उच्च दक्षता भएका महिलाको संख्या ०.०६ प्रतिशत मात्र रहेको तथ्यांकले देखाउँछ । यसरी महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त नहुँदा एउटा कामका लागि स्वीकृति लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने अवस्थामा पनि रहेका छ । जसका कारण महिलाहरू बढी हिंसामा पर्ने गरेको पनि देखिन्छ ।
महिलाहरू वैदेशिक रोजगारीमा जाँदा प्रायः घरेलु कामदारका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । त्यसरी गएका महिलाहरूमध्ये कतियपयले घरेलु हिंसा र यौनहिंसाको सिकार हुनुपरेको पनि विभिन्न तथ्यांकले देखाउँछ । यति मात्रै होइन, वैदेशिक रोजगारीमा जाने महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएकाविषय पनि बेलाबेला सार्वजनिक भइरहन्छन् । उनीहरूले रातदिन काम गरेर पनि उनीहरूले तलब पनि सकेका छैनन् ।
वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने दुःख कम हुने जानकारहरू बताउँछन् । लामो समयदेखि अप्ठेरोमा परेका महिलाहरूको उद्दार गर्दै आएकी अभियन्ता सुनिता दनुवार भन्छिन्, ‘महिलाले तालिम, भाषा लगायत अनिवार्य विषयमा दक्षता प्राप्त गनैपर्छ । नत्र विदेशमा गएर पनि महिलाहरूले पाउने दुःखका कथाहरू दोहोरिरहन्छन् ।’
दलालहरूको प्रलोभन परी गैह्र कानूुनी बाटोबाट विदेश भासिने महिलाहरूको संख्या पनि उस्तै छ । त्यस्ता बाटाहरू पनि रोक्नका लागिराज्य नै लाग्नुपर्ने अभियन्ता दनुवारको बुझाइ छ ।
-दिवाकर अधिकारी
होचो कद र सानो जिउडाल, तर खेल प्रदर्शन गतिशील र फिनिसिङ पनि उत्कृष्ट । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी सदस्य प्रिती राईको खासियत नै यही हो । २०६१ साल मंसिरमा काठमाडौंमै जन्मिएकी प्रितीको स्थायी घर भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल तुमाउ हो ।
सानै उमेरदेखि फुटबल खेलमा लगाव राख्ने प्रितीलाई फुटबल खेल्न घरपरिवारबाट पनि पूर्ण समर्थन थियो । त्यसैले त आज उनले फुटबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाएकी छन् ।
आठ वर्षकै उमेरबाट प्रितीले फुटबल खेल्न शुरु गरेकी हुन् । बुबाले कराँते सिक्न पठाउँदा प्रितीले कराँतेको लुगासँग फुटबल बुट साटेर ल्याएकी थिइन् । त्यहाँबाट पनि फुटबलप्रति प्रितीको लगाव प्रष्ट बुझ्न सकिन्छ । गाउँमा साथीहरुसँग फुटबल खेल्दाखेल्दै प्रितीले नेपाल युथ प्रोग्राममा प्रशिक्षण गर्ने मौका पाएकी थिइन् । जहाँबाट उनले आफ्नो व्यावसायिक फुटबल यात्रा प्रारम्भ गरेकी थिइन् ।
उमेर समूहमा नेपाली टिमको कप्तानी गरेकी प्रिती सानै उमेरमा नेपाल एपीएफ क्लबमा आबद्ध भएकी थिइन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेको भएरै एपीएफले प्रितीलाई क्लबमा अनुबन्ध गरेको थियो । जसबाट उनलाई राष्ट्रिय टिममा प्रवेश गर्न ढोका खुल्यो ।
२०७८ भदौमा १६ वर्षकै उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी प्रिती अहिले १९ वर्षकी भइन् । डेब्यू खेलमै बंगलादेशविरुद्ध गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी प्रिती सबैको ध्यान आफूतिर खिच्न सफल भइन् ।
प्रितीलाई नेपाली महिला टिमको भविष्यको रुपमा हेरिएको छ । उनको खेलले नै यसलाई प्रमाणित गरिसकेको छ । मिडफिल्डर र फरवार्ड जुनसुकै पोजिसनमा खेल्न सक्ने प्रितीले अफ्नो खेललाई निरन्तर निखार्दै लगेकी छन् ।
प्रितीले भारतीय महिला आई–लिगबाट पनि व्यावसायिक फुटबल खेल खेल्दै आएकी छन् । उनी भारतीय आई–लिगमा किक स्टार्समा अनुबन्धित छिन् । तर साउदी अरबमा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा घाइते भएपछि प्रितीको स्थानमा नेपाली राष्ट्रिय फुटबल टिमकी अर्की सदस्य अनिता केसीले आई–लिगमा आवद्ध भइन् । राष्ट्रिय टिममा गरेको उत्कृष्ट प्रदर्शन गरेकै कारण प्रितीलाई भारतीय आई–लिग खेल्न प्रस्ताव आएको थियो ।
यस सिजन आई–लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रितीसँगै दीपा शाही, राष्ट्रिय महिला टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले आई–लिग खेलेका छन् ।
साउदीमा भएको वाफ वुमेन्स च्याम्पियनसिपबाट प्रितीको लोकप्रियता झनै आकाशिएको छ । उपाधि जित्न नसके पनि नेपाललाई फाइनलसम्म पुर्याउन प्रितीले उत्कृष्ट प्रदर्शन गरिन् । सेमिफाइनल खेलमा इन्ज्युरी समयमा प्रितीले गरेको गोलबाटै नेपाल विजयी हुँदै फाइनलमा पुगेको थियो । डी–बक्स बाहिरबाट लङ सट हान्दै प्रितीले गरेको त्यो गोलको निकै चर्चा भएको थियो । वाफ च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनस्वरुप प्रितीलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले नगदसहित सम्मान पनि गरेका छन् ।
शुरुमा नेपाली टिममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्ने प्रिती अहिले पहिलो रोजाइको महत्वपूर्ण खेलाडी बनिसकेकी छन् । १९ वर्षको कलिलो उमेरमै राष्ट्रका लागि ठूलो जिम्मेवारी काँधमा बोकेर मैदानमा उत्रिएकी प्रितीलाई चुनौतीपूर्ण सफलताका खुड्किला अझै पार गर्न बाँकी नै छ ।
नेपालमा पुरुष फुटबल टिमकै घरेलु प्रतियोगिता कमैमात्र हुने गरेको छ । यस्तोमा महिला फुटबलका गतिविधि नगन्य मात्रामा हुन्छन् । सेवा सुविधादेखि खेल पूर्वाधारको अभावमै फुटबल खेलिरहेका नेपाली खेलाडीहरुलाई विदेशी खेलाडी सरह हुन त निकै समय लाग्ला ।
तर सेवा सुविधा र खेल पूर्वाधारको आधारमा हेर्दा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो देखिन्छ । घरेलु महिला फुटबलका गतिविधिमा बृद्धि गरेर खेलाडी उत्पादनमा राज्यले ध्यान दिने हो भने प्रितीजस्ता उम्दा खेलाडीले विश्वभर आफूसँगै देशलाई चिनाउने थिए ।
-भानु चन्द
कालिकोट जिल्ला रास्कोटको दुर्गम भेग, मेलापात गरी खाने बराल परिवारमा २०२५ सालमा जन्मिइन् लिला । बसन्त ऋतुको आगमनसँगै डाँडाकाँडा हरियाली हुँदा धर्ती टेकेकी लिलाको आगमनमा कयौं गाउँलेले जिब्रो टोके । लिलाकी आमालाई पनि सन्तान पाएकोमा खुशी लागेन । बरू आफ्नो सन्तानको रूपमा जन्मेकी लिलाको भविष्य सम्झेर उनी दुःखी भइन् ।
लिला जन्मिएपछि आमाले सुत्केरी स्याहारको सुविधा कहाँ पाउनु र ? छोरी पाएको भोलीपल्टैदेखि उनले मेला पात गरिरहिन् । खान लाउन अत्यन्तै दुःख थियो । बिहान खाए बेलुका खान नसक्ने अवस्था थियो । बनिबुतो गरेर अन्य पाँच सन्तानसँगै बराल दम्पत्तिले लिला पनि हुर्काए ।
लिला १५ वर्षकी हुँदा घरबाट ४ घण्टा टाढा पैदल दुरीमा रहेको रास्कोटको पाटडिलबाट बिहेको कुरा आयो । बराल दम्पत्तिले हुर्केकी छोरी लिलालाई सजिलै पराइको जिम्मा लगाए । लिला सुवेदी परिवारमा बुहारी भएर भित्रिइन् ।
खानलाउन दुःखै भएपनि आमाबुवाको लाड प्यारमा हुर्किएकी लिलाका लागि नयाँ घर असहज बन्यो । तर, २५ वर्षका लक्का जवान श्रीमानले भने उनलाई माया गरे । श्रीमानको मायाले लिलालाई ‘घर खान’ सजिलो भयो । श्रीमानले खेती किसानी गर्थे । उनी श्रीमानसँगै खेती किसानी र मेलापात गर्थिन् ।
विवाह गरेको तीन वर्षमा उनले पहिलो सन्तान जन्माइन् । १८ बर्षको उमेरमा छोरा जन्माएपछि परिवारमा खुशियाली छायो । छोरा नै जन्माएपछि श्रीमानको माया पनि बढ्यो ।
उनले डेढ/डेढ वर्षको फरकमा ७ सन्तान जन्माइन् । ‘सन्तान जन्माउँदा खेपेका पिडा महशुस गर्ने त्यो समय नै थिएन । अहिलेको जस्तो ख्याल कहाँ हुन्थ्यो र ? आइमाइको कामै बच्चा पाउने त थियो ।’ उनले त्यो समय सम्झिइन् । उनले पिडा खेपेर जन्माएका २ सन्तानले साथ छोडेर गए । अहिले पाँच सन्तानमा मात्रै उनको काखमा छन् । कमजोर आर्थिक अवस्थाका बाबजुद दुखजिलो गरेर छोराछोरी स्कूल पठाइन् लिलाले ।
आफ्नो जीवनकालमा कयौं दुःखका जंघार पार गरेकी लिला देशमा आएका कयौं राजनीतिक परिवर्तनकी पनि साक्षी हुन् । उनी जन्मेपछि नै पञ्चायती व्यवस्था, बहुदलीय ब्यवस्था हुँदै माओवादीको गृहयुद्ध चल्यो । सबैभन्दा बढी प्रभाव रहेको कर्णालीमा उनका छोराहरू पनि माओवादीका नारामा साथ दिन थाले । जताततै युद्ध र मृत्यु सामान्य बनिरहेको थियो । आफ्ना हुर्केका छोराहरूलाई पनि केही हुने हो कि भन्ने त्रासमा रहन्थे, लिला र उनका श्रीमान । ‘भाग्यले जितेको भनौं वा के भनौं । मेरा सन्तान चाहिँ सकुशल रहे ।’ लिला खुशी हुन्छिन् ।
माओवादी जनयुद्ध ताका नै लिलाका श्रीमानमा दमको रोग देखियो । उनलाई उकालो ओह्रालो गर्न असहज हुँदै गयो । गाउँघरमा गरिने उपचार लिलाले सकेजति गरिन् । अन्ततः उनी हारिन् । उनको सिँउदो पुछियो । २०६३ सालमा लिलाका श्रीमानले एक्लै छाडेर गए । ३५ वर्षको कलिलो उमेरमा पाँच सन्तानको जिम्मेवारी लिलाकै काँधमा आइपर्यो ।
एकल भएकी लिला हेर्दा राम्री थिइन् । बैशालु उमेरमै एक्ली भएकी लिलामाथि गाउँलेहरूकै गिद्दे नजर पर्न थाल्यो । त्यो बेला उनी एकदमै डराउथिन् । त्यो समय सम्झिदै लिला भन्छिन्, ‘म एक्ली हुँदा छोराछोरी हुर्काउन धेरै गाह्रो भयो । त्यो बेला खान लाउन त त्यति गाह्रो भएन । तर, दुनियाँले गिद्दे नजरले हेर्ने गर्थे । प्रतिवाद गर्दा कतिपयले गाउँ निकाला नै गर्नुपर्छ भन्थे । म धेरै डराउँथेँ ।’
अहिले लिलाका चार छोराले विवाह गरिसकेका छन् । दुइ नाती र चार नातीनी उनको काखमा लुटुपुटु खेल्दा उनी हर्षविभोर हुन्छिन् । दुःख गरी हुर्काएका सन्तानको खुशी देख्दा उनी आनन्द मान्छिन् । विवाह गर्न एक छोरी बाँकी छिन् । छोरीलाई भने धेरै पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउन मन छ लिलालाई ।
हजारौं हण्डर ठक्कर खाएकी लिलालाई अहिलेको समय निकै फरक लाग्छ । उनमा अहिले राजनीतिक चेत पनि बढ्न थालेको छ । अहिले उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी क्रियाशील सदस्य छिन् ।
जीवनमा धैर्यता नै सबैभन्दा ठूलो रहेको उनको बुझाइ छ । भन्छिन्, ‘धैर्यता नै ठूलो रहेछ । मलाई गाउँलेले गाउँ निकाला गर्न खोज्दा पनि म हारिन । छोराछोरीका लागि मर्न तयार भएँ ।’
-डा. उद्धव पुरी
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि लामो समयसम्म भिक्षुणी बनाउने र भिक्षुणी संघको व्यवस्थाको परम्परा थिएन । पुरुषहरू नै बुद्धका अनुयायी भएका थिए । बुद्धका दाजुभाइलगायत उनको शिक्षाबाट अनुग्रहित सबै भिक्षु भएका थिए र आफ्नो गृहस्थ जीवन त्यागेर अनागरिक भइ भिक्षु संघमा सामेल भइ बिहारमा बस्न थालेका थिए । तत्कालीन सामाजिक परिवेश र महिलाहरु पुरुषप्रति आत्मनिर्भर हुने प्रचलनले पनि स्त्रीजातिलाई भिक्षुणी हुन नदिन भूमिका निर्वाह गरेको हुन सक्छ । तर यी सबै परिबन्ध र व्यवधानलाई पार गर्दै ठूलो त्याग गरी गौतमी पहिलो भिक्षुणी बनिन् । उनी हालको नेपालको देवदहमा जन्मेकी राजकुमारी थिइन् । उनको विवाह हालको नेपालको कपिलवस्तुका राजा शुद्धोदनसँग भएको थियो । उनी शुद्धोदनकी कान्छी/दोस्रो श्रीमती थिइन् । प्रचलित भाषामा उनी बुद्धको सानीआमा पनि थिइन् । उनै प्रजापति गौतमी बुद्ध शासनमा पहिलो भिक्षुणी बनिन् ।
गौतम सिद्धार्थको जन्म आजभन्दा भण्डै २६ सय वर्षअगाडि लुम्बिनीमा भएको थियो । कपिलवस्तु गणराज्यको राजकुमार सिद्धार्थ राजधानी तिलौराकोटमा हुर्केका थिए । विवाह र पुत्र लाभपछि दरबार र आलशी जीवन त्यागेर उनले हालको भारतको बोधगयामा पुगेर बुद्धत्व प्राप्त गरेका थिए । विभिन्न कारणले उनी पटक-पटक कपिलवस्तु आवतजावत गरेको पुष्टि पनि भएको छ । जुन समयमा उनका पिता, माता, श्रीमतीलगायतले भिक्षु जीवन त्यागेर राजकाज सम्हाल्न अनुरोध गरेका छन् । तर बुद्धले ती कुराहरु अस्वीकार गर्दै आएका थिए । गौतम बुद्धकी आमा मायादेवी, गौतम बुद्ध जन्मेको सातौं दिनमा परलोक भएकाले उनको लालनपालनको सम्पूर्ण दायित्व तिनै सानीआमा प्रजापति गौतमीले गेरेकी थिइन् । उनका लागि बुद्ध नै पहिलो/जेष्ठ पुत्र थिए । बुद्ध र सानीआमाबीचको सम्बन्ध आफ्नै आमा छोराको जस्तो थियो । हरेक पटकको बुद्धसँगको भेटमा प्रजापति र बुद्धकी श्रीमती यशोधराले बुद्धलाई राजकाजमा फर्काउन धेरै प्रयास पनि गरेका थिए भने राजकाजमा नफर्किने भए आफूहरुलाई पनि भिक्षुणी बनाएर लैजान अनुरोध गरेका थिए । तर त्यो सम्भव भइरहेको थिएन । महिलाहरुलाई भिक्षुणी बन्ने अनुमति बुद्धले दिएका थिएनन् । जब शुद्धोदनको कपिलवस्तुमा देहावसन भयो त्यसपछि प्रजापति गौतमी एक्लो बनिन् । तत्कालीन सामाजिक परिवेशमा महिलाहरु पतिको मृत्युपछि साहराविहीन हुन्थ्ये । छोरा, छोरी र धन सम्पत्ति उनीहरुका लागि अर्थहीन मानिन्थ्यो । उनले पनि त्यही ठानिन् र बुद्धकै शरणमा बाँकी जीवन बिताउने सोच बनाइन् । तर त्यस अघि नै बुद्धले उनको अनुरोध तीन पटकसम्म अस्वीकार गरिसकेका थिए । जुन सम्भव बनाउनु उनका लागि कठिन विषय थियो ।
पति वियोग हुँदा प्रजापति गौतमीको उमेर ८० वर्षको थियो । उनमा बुद्धकै शरणमा जाने तीव्र इच्छा भएपछि उनले बुद्धसँग अन्तिम याचना गर्ने सोच बनाइन् । गौतम बुद्ध त्यस समयमा वैशालीमा थिए । कपिलवस्तुमा भएकी प्रजापति आफैंले केश छेवर गराइन् र कषाय—वस्त्र धारण गरिन् । जुन बुद्धको आदेश विपरीत थियो । तर वैशाली जाने र बुद्धको शरणमा पर्ने निधो गरिन् । उनको यो ढिपीका पछाडि कसैको केही लागेन । तत्कालीन दरबारले उनलाई रोक्न सकेन । मुमा महारानीको पछि कपिलवस्तुका अरु पाँच सयजति महिलाहरु पनि घर र परिवार छोडी उनकै पछि लागे । दरबारले पालकीसहित बाटोमा खानपान र सुरक्षाका लागि तयारी बन्दोबस्त गरिदियो । तर उनले ती कुनै सुविधाको उपभोग र उपयोग नगरी खाली खुट्टा बाटो लागिन् । अरु पनि उनकै पछि लागे । लामो वा धेरै दिनको यात्रापछि उनी वैशालीको बुद्ध बसेको बिहारमा पुगिन् । जहाँ पुग्दा उनको खुट्टा सुन्निएको थियो । उनका साथमा अरु पाँच सयजति महिलाहरु पनि पुगे । दृढ चाहनाले उनले बुढी भएर ८० वर्षको उमेरमा पनि धेरै दिन हिँडेर यात्रा पूरा गरेकी थिइन् । त्यतिखेरको नाप प्रणाली योेजनमा थियो । कपिलवस्तुबाट वैशाली ५१ योजन थियो । बुद्धको ढोका अगाडि पुग्दा उनको आँखा रसाइरहेका थिए । उनमा अर्को एउटा ठूलो डर पनि थियो । किनकि उनले तथागत बुद्धको स्वीकृति बिना नै कषाय—वस्त्र धारण गरेकी थिइन् । जुन कुरा सारा जम्बुद्वीपभर फैलिसकेको थियो । जब बुद्धले उनको अनुनयविनय सुनेन भने उनको समाजमा मुख देखाउन लायक हुने थिएन ।
गौतम बुद्धलाई भेट्न उभिएकी गौतमीको पहिलो भेट भिक्षु आनन्दसँग भयो । आफ्नी ठूलीआमा समेत पर्ने प्रजापतिको यो हालत देखेर आनन्द आश्चार्यमा पर्दै दुःखी भए । आनन्द र प्रजापतिबीच लामो संवाद भयो । प्रजापतिले आफूले नारी जातिको निमित्त पनि प्रव्रज्याको अनुमति मागेको अनुरोध गरिन् । जुन बुद्धले तीन पटकसम्म अस्वीकार गरिसकेका थिए । अन्तमा आनन्दले बुद्धसँग स्त्रीजातिका लागि पनि प्रव्रज्याको अनुमति माग्ने वचन दिए । तर पटक-पटक आनन्दले अनुरोध गर्दा पनि बुद्धले अनुमति दिएनन् । बुद्ध शास्त्रहरुले आनन्दले तीन पटकसम्म स्त्रीजातिलाई तथागतको धर्म विनयमा घर छोडी अनागरिक भइ प्रव्रजित हुने अनुमति दिए वेश हुने थियो भनेका थिए । स्वीकृति नपाएपछि आनन्दले बुद्ध शिक्षा र स्त्रीजातिलगायतको प्रसंगमा बुद्धसँग संवाद गर्न थाले । लामो संवादपछि बुद्धले प्रजापतिले आठ—गुरु—धर्म स्वीकार गर्छिन् भने अनुमति दिने बताए । बुद्ध शिक्षामा भिक्षुहरुका जस्तै तर केही फरक आठ वटा विनयका विषयहरु छन् । सोही कुरा आनन्दले प्रजापतिलाई सुनाए र त्यसलाई स्वीकारे उपसम्पदा हुने बताए । प्रजापतिले बुद्धका वचन स्वीकार गरिन् र आनन्दले बुद्धलाई सोको जानकारी गराएपछि बुद्धको अनुमतिमा उनी अनागरिक भइ प्रव्रजित भइ भिक्षुणी बनिन् । उनको साथमा आएका अरुले पनि त्यसै गरे । तिनै प्रजापति त्यसपछि ४० वर्षसम्म भिक्षुणी बनिन् र एक सय २० वर्षको उमेरमा आफैंले परिनिर्वाण हुने घोषणा गरिन् । बुद्धको अनुमतिमा उनी परिनिर्वाण भइन् । उनको शवयात्रामा छोरा बुद्ध आफैं पनि सामेल भए । यो शवयात्रा बुद्धको महापरिनिर्वाण पछिको सबैभन्दा ठूलो संख्यामा सहभागी भएको शवयात्रा थियो भनि बुद्धगाथाहरुमा उल्लेख छन् ।
यहाँ प्रजापति कसरी प्रथम भिक्षुणी भइन् भन्ने कुरा पनि उठ्न सक्छ । किनभने उनकै साथमा अरु पाँच सय महिला पनि कपिलवस्तुबाट गएका थिए भने उता भारतीय राज्यका विभिन्न स्थानका महिलाहरु पनि बुद्धको अनुयायी बनिरहेका थिए । तर बुद्धले भिक्षुणी बन्ने अनुमति नदिएको हुँदा उनीहरु भिक्षुहरुले झैं चिवर लगाउन पाउँदैन थिए । घर परिवार त्यागेर विहारमा बस्न पाउँदैन थिए । उनीहरु अनागरिक बन्न सकेका थिएनन् । स्त्रीजातिलाई भिक्षुणी बन्ने र बनाउने शुरुवात कर्ता प्रजापति थिइन् । स्त्रीहरुका लागि बुद्धले प्रतिपादन गरेको आष्ठ गुरु धर्म पालना गर्ने पहिलो महिला उनै थिइन् । उनीपछि नै अरुले अनुमति पाएका हुन् । यहाँ प्रजापति बुद्धलाई पालन पोषण गर्ने र दुध चुसाउने आमा भएका कारण होइन । किनकि बुद्धका लागि सबै प्राणि एकै थिए । बुद्ध तृष्णा र मोहविहीन थिए । सबै उनका लागि बराबर प्रिय थिए । बुद्ध आफैंले पनि श्रवस्तीमा रहँदा सबै भिक्षु भिक्षुणी र उपासक उपासिकाका सामुन्य महाप्रजापति गौतमी नै सबभन्दा पहिलो मेरी भिक्षुणी श्राविका हुन् भनेका छन् । बुद्धले उक्त सभामा महाप्रजापति गौतमीलाई रात्रज्ञाको अग्रस्थानमा राख्दै प्रथम भिक्षुणीको औपचारिक घोषणा गरेका थिए । यस विषयलाई विभिन्न मूलसुत्र र सुत्रहरुमा उल्लेख गरिएको पाइन्छ । यसरी प्रजापति गौतमी पहिलो भिक्षुणी हुन् र उनी नेपालको देवदहमा जन्मेकी र नेपालको कपिलवस्तु गणराज्यको महारानी थिइन् अर्थात उनी नेपाली थिइन् ।
-सन्दिप वि.क
२०५६/०५७ सालतिर सिरहा र सप्तरी जिल्लाहरूमा सिनो बहिष्कार आन्दोलनले खुब चर्चा पायो । गरिब दलित चमार समुदायलाई सिनो फाल्न बाध्य पारिदै आएको थियो । कसैको गोठमा गाइबस्तु मरे भने लगेर गाड्ने काममा चमार समुदायलाई बाध्य पारिन्थ्यो ।
उनीहरुलाई हेपाह प्रवृतिले हेरिन्थ्यो । त्यही बीच एकाएक एक विद्रोही अभियान चल्यो, सिनो बहिष्कार अभियान । चमारभित्र केही व्यक्तिहरु यस अभियानमा लागे ।
उक्त आन्दोलनमै थिइन्, रामरतीदेवी राम, सियावती राम, जानकी राम, चन्देश्वरी सदा, गुलावदेवी राम, मुर्नरदेवी राम, फुलकुमारी राम लगायत पनि । यस अभियानमा उनीहरुको भूमिका उल्लेखनीय रह्यो ।
यिनै मध्येकी रामरतीदेवीले सिरहामा सिनो बहिष्कार संघर्ष समितिमा रहेर आन्दोलनको नेतृत्व गरिन् । २०२३ सालमा सप्तरीमा रामरतीदेवीको जन्म भएको थियो । गरिब परिवारमा जन्मिएकी उनको जीवन बाल्यबालमा त्यति सुखमय भएन । दलित र विपन्न परिवार त्यसमाथि पनि ‘चमार’ समुदायमा जन्मिएकी उनको सानै उमेरमा सिरहा लहानमा विवाह भयो । त्यो बेला गरिब, दलितहरुको छोरीहरुको सानै उमेरमा विवाह हुने गथ्र्यो ।
सानै उमेरमा विवाह भएकाले उनी केही वर्ष माइतमै बसिन् । १८ वर्ष पुगेपछि उनी श्रीमान्को घर गइन् । त्यो समय दलितहरु राजनीतिमा आउनु सहज थिएन । अझ दलित महिलाको त कुरै छोडौं । उनीहरु घरको चुलोचौकामै सीमित थिए । तर पनि रामरतीदेवी भने घरको चुलोचौकाको कामलाई त्याग्दै राजनीतिमा होमिइन् । उनी कम्युनिष्ट विचार धाराकी थिइन् ।
विवाह गरेर आएको गाउँमा एक जना पनि कम्युनिष्ट थिएनन् । सबै गाउँ नै कांग्रेसको वर्चश्व थियो । रामरतीदेवीको विवाह गरेर आएको घरपरिवार किसान थियो । ज्याला मजदुर गरेर जीवन निर्वाह गर्दै आएका थिए । माइतीमा रहँदा रामरतीदेवीको दाजु हरिलाल राम राजनीतिमा होमिएका युवा थिए । उनीपनि कम्युनिष्ट विचार धाराका थिए । विद्यार्थी कालमा उनी विभिन्न राजनीतिक संगठनमा सक्रिय भएका लागेका थिए ।
कम्युनिष्ट भएकै कारण हरिलालले ९ महिना जेल बसेका थिए । रामरतीदेवीमा पनि दाजुकै प्रभाव परेको थियो । माइतीमा दाजु राजनीतिमा भएकाले राजनीति माहोल भएपनि श्रीमानको घरमा भने त्यो अवस्था थिएन । परिवारले उनलाई घरमै श्रीमान, सासुससुराको स्याहार गरेर बसोस भन्न चाहन्थे । त्यो बेला दलित चमार घरपरिवारले सिनो फालेर जीवन निर्वाह गर्दै आएका थिए ।
एक पटक कम्युनिष्ट विचारधारामा केही नेताहरु रामरतीदेवीको चमार बस्तीमा आए । उनीहरुले त्यहाँ पार्टी सदस्यता बनाउन थाले । त्यो बेला दुई रुपैयाँमा पार्टी सदस्यता दिइन्थ्यो । त्यही बेलामा रामरतीदेवीले पनि पार्टी सदस्यता लिइन् । पार्टी सदस्यता लिएपछि उनीहरुले लुकिछिपि गाउँमा बैठक राख्न थाले । त्यसको केही समयपछि बहुदल आयो । रामरतीदेवीले पार्टीमा संगठित सदस्यता पाइन् । २०५४ सालमा उनी मनोनित वडा सदस्य भइन् ।
चमारको छोरीलाई जनप्रतिनिधि बनाएको भन्दै उनीमाथि कुटपिट समेत भयो । रामरतीदेवीको गाउँमा दलित चमार जातले सिनो फाल्ने, सुत्केरी स्याहार गर्ने काम गर्थे ।
२०५६ सालतिर रामरतीदेवी लगायत केही चमार एकजुट भए । उनीहरु सिनो बहिष्कार गर्ने निधो गरे । त्यसलाई उनीहरुले आन्दोलनको रुप दिए । चमारहरु आफुले गर्दै आएको काम नगर्ने भन्दै संगठित हुन थालेपछि गाउँमा उनीहरुविरुद्ध सामाजिक बहिस्कार भयो । सिनो नफाले २५ हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने भन्दै धम्की समेत आउन थाल्यो ।
चमारहरुको खेतबारी केही थिएन । साहुहरुले सिनो फाल्ने तपाईंहरुको काम हो । सिनो नफाल्ने भए हाम्रो खेतिबारीमा नआउनु भन्न थाले । उनीहरुलाई पसलहरुमा जान समेत रोक लगाइयो । धारामा पानी दिइएन । पछि एउटा एनजिओले दुई वटा कल बनाइदियो । त्यो धारोले चमारहरुको केही समस्याको समाधान भयो । उनीहरु पिडा मुक्त भए । स्वतन्त्र भएर जीउन थाले । मरेको गाइबस्तु फालेनन् । सुत्केरी हुँदा स्याहार सुसार गर्न जान छोडे । त्यो आन्दोलनमा रामरतीदेवीको महत्वपूर्ण स्थान छ ।
उनले अरु महिलाहरुलाई यसकोविरुद्धमा उठ्न आग्रह गरिन् । यस अभियानमा रामरतीदेवीले टोल टोलमा भाषाण गरेकी थिइन् । समाजमा अभियानप्रति जागरुक ल्याउन उनी कम्मर कसेर लागेकी थिइन् । उनी भन्छिन्, ‘त्यो बेला यस सिनो बहिष्कार अभियान लाग्नु सहज थिएन् । अझ हामी महिलाहरुलाई साह्रै गाह्रो थियो । यो अभियान, घरपरिवार, राजनीति, छोराछोरीको व्यवस्थापन ।’
दलित महिला भएपनि राजनीतिमा होमिएकी रामरतीदेवी दुई पटक एमालेको केन्द्रीय सदस्य भइन् । २०६४ मा एक पटक सभासद बनिन् । आफुले गरेको संघर्षले सिराह, सप्तरी, धनुषामा आफ्नो नाम कसैले नविर्षने उनी बताउँछिन् । उनी भन्छिन्, ‘हामीले गरेको यो संघर्षकै बाबजुँद आज यो अभियानले सार्थकर्ता पाएको छ । हामीले यो अभियान नचलाएको भए आज पनि हाम्रा छोराछोरी नातिनातिना त्यही सिनो फालेर बसिरहेका हुन्थे ।’
अभियानकै क्रममा रामरतीदेवी नेपालको इलाम, झापा, मोरङ, सप्तरीदेखि रुकुम रोल्पासम्म पुगेकी छिन् । उनी भारत भ्रमणमा समेत गएकी छिन् । महिला जनप्रतिनिधिलाई त्यो बेलाको जिल्ला विकास समितिले यूएनडिपिको सहयोगमा भारत लगिएको उनी बताउँछिन् ।
नेकपा एमालेको चितवनमा २०७८ साल मंसिरमा भएको १० औँ महाधिवेशनबाट दलित महिलामा केन्द्रीय सदस्यमा उनी निर्विरोध निर्वाचित भइन् । यसअघि पनि उनी केन्द्रीय सदस्य नै थिइन् ।
उनी भन्छिन्, ‘लामो संघर्षका कारण हामी यहाँसम्म आएका छौं । अझै पनि समाजमा छुवाछुत जस्तो कुप्रथा हट्न सकेको छैन । महिलाहरु अझै पनि थिचोमिचो सहज बाध्य छन् । महिलाहरु त्यसमा पनि दलित महिलाहरु अझै घरबाहिर आउन नसकेको अवस्था छ । अब फेरि जाग्नुपर्ने बेला आएको छ । अब दलितहरु फेरि जागौं ।’
-रेशमराज पौडेल
मुलुकको अन्य क्षेत्रमा जस्तै वैदेशिक रोजगार क्षेत्रमा पनि महिला व्यवसायीहरुको उपस्थिति बाक्लिएको छ । आर्थिक स्रोतहरुमा पुरुष प्राधन्यता रहेको तत्कालीन नेपाली समाजमा अपेक्षितरुपमा जोखिम र तनावको पेशा मानिने वैदेशिक रोजगार व्यवसायमा अघि बढ्नु शुरुवातका दिनमा महिला व्यवसायीहरुका लागि सहज थिएन । तर पुरुष प्रतिस्पर्धीसँग काँधमा काँध जोडेर व्यवसाय गरिरहेका महिला व्यवसायीहरु पेशागतरुपमा अब्बल र निडर हुँदै आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम अध्यक्ष पुष्पलाल महर्जनका अनुसार शिला गुरुङ व्यवसायीले बुझेसम्मका वैधानिकरुपमा नेपालकी पहिलो महिला वैदेशिक रोजगार व्यवसायी हुन् । उनले राजधानीको मैतीदेवीमा एभरेष्ट फरेन इम्प्लोइमेन्ट इन्टरनेशनल मेनपावर प्रा.लि. सञ्चालन गरेकी थिइन् । इजाजत पत्र नं. २ रहेको उक्त म्यानपावर हाल सञ्चालनमा भने छैन । वैधानिकरुपमा नेपालको संस्थागत वैदेशिक रोजगारीको इतिहास ४ दशक पुरानो भइसकेको छ । र, महिला व्यवसायीको उपस्थितिलाई नियाल्ने हो भने उनीहरुको सक्रियतालाई मोटामोटीरुपमा तीन कालखण्डमा वर्गीकरण गर्न सकिन्छ ।
शिला गुरुङ, कमला शर्मा र विष्णुकुमारी गुरुङहरुबाट शुरु महिला वैदेशिक रोजगार व्यवसायीका रुपमा शुरुवाती प्रवेशलाई आधार मान्दा उनीहरलाई पछ्याउँदै व्यवसाय सञ्चालकका रुपमा दुर्गा राणा, पार्वती खड्का, प्रतिमा महर्जन, अम्बिका शर्मा, शुष्मा खत्रीहरुको प्रवेशले यस क्षेत्रमा महिला व्यवसायीहरुलाई अझ उत्साह थप्यो । त्यसपछि अप्रत्यक्षरुपमा वैदेशिक रोजगार क्षेत्रमा नै क्रियाशील सुवर्ण श्रेष्ठ, राधिका कटुवाल, शारदा न्यौपाने, माधुरी पौडेल, गंगाकुमारी पुनहरुको करिब करिब एकै समयमा सञ्चालकका रुपमा प्रवेश भयो । ७० को दशकपछि त यस व्यवसायमा उल्लेख्यरुपमा महिला व्यवसायीको प्रवेश भएको देखिन्छ । होप इन्टरनेशनल प्रा.लि.की सबिना श्रेष्ठ, सुपर्व फर अल्टिमेट प्रा.लि.की चन्द कमल श्रेष्ठ, अवसर म्यानपावर सर्भिस प्रा.लि.की अन्नपूर्ण राणा, एस एलडी इन्टरनेटशनल प्रा.लि.की सरस्वती गुरुङ, अलकर्निस म्यानपावर प्रा.लि.की हिरादेवी बुढाथोकीलगायत दर्जनौं महिला व्यवसायीलाई दोस्रो पुस्ताका व्यवसायीका रुपमा गणना गर्न सकिन्छ भने वीनर एचआर सोलुसन प्रा.लि.की हेमा गुरुङ, सगरमाथा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.की तेजमाया लिम्बूलगायत थप दर्जनौं महिला व्यवसायी नयाँ पुस्ताका व्यवसायी महिला मानिन्छ ।
सार्वजनिक चर्चामा नआएका भएपनि व्यवसायमा कोरोना भाइरसको संक्रमणपछि नयाँ पुस्ता जोडिएको छ । यसले वैदेशिक रोजगार व्यवसायमा महिला व्यवसायीको संख्यात्मक वृद्धि बढाउँदै लगेको देखिएको छ । पछिल्लोपटक नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित अन्य संघसंस्थाले महिला व्यवसायीको हकअधिकार रक्षाका लागि सशक्त भूमिका नखेलेको आरोप लगाउँदै वैदेशिक रोजगार क्षेत्रका महिला व्यवसायीहरुले गल्फ लिंक ओभरसिज प्रा.लि.की सञ्चालक सीतादेवी देवकोटाको अध्यक्षतामा नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन गरे । तत्कालीन अवस्थामा रहेका ८ सय ५४ व्यवसायीहरुमध्ये व्यवसायी महिला संघ स्थापना गर्दा ३२ जना महिला व्यवसायीहरुको सक्रिय उपस्थिति देखिएको थियो ।
महिला व्यवसायी व्यवसायमा मात्रै नभएर राजनीति र समाज सेवामा पनि देखिन्छन् । व्यवसायी स्व. कमला शर्मा संविधान सभा सदस्य र राज्यमन्त्री हुँदै शासकीय व्यवस्थाको माथिल्लो तहमै पुग्ने पहिलो महिला वैदेशिक रोजगार व्यवसायी थिइन् । गल्फ लिंक ओभरसिज प्रा.लि.की सञ्चालिका सीतादेवी देवकोटा पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा माथिल्लो हैसियतमा छिन् । पेशागत संगठनको रुपमा २०४९ सालमा स्थापित नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा माथिल्लो पदमा पुग्ने श्रेय भने शिला गुरुङलाई नै जान्छ । उनी सर्वसम्मतरुपमा संघको उपाध्यक्ष भएकी थिइन् । संघको निर्वाचनमा भने प्रतिस्पर्धाबाट महिला व्यवसायीले हासिल गरेको माथिल्लो पद सचिव हो । व्यवसायी सुवर्ण श्रेष्ठले सचिवमा निर्वाचित भइ इतिहास कायम गरेकी छन् भने संघको कोषाध्यक्षमा जुनसुकै प्यानलबाट आएको भएपनि केही वर्षयता महिला व्यवसायी नै चुनिएको अवस्था छ । सोही हैसियतमा वैदेशिक रोजगार बोर्ड सदस्यमा महिला व्यवसायीको सहज पहुँच पुगेको देखिन्छ । हालसम्म सीता देवकोटा, सुवर्ण श्रेष्ठ, तेजमाया लिम्बू र सरिता घलेले वैदेशिक रोजगार बोर्डमा बोर्ड सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।
करिब ४० वर्षअघि वैदेशिक रोजगार ऐन २०४२ जारी भएपछि तत्कालीन अवस्थामा इजाजतपत्रका लागि धरौटीस्वरुप ५० हजार रुपैयाँ राख्नुपर्ने प्रावधान थियो । त्यसको केही वर्षपछि उक्त धरौटीमा दश गुणा वृद्धि गरी पाँच लाख पुर्याइयो भने वैदेशिक रोजगार ऐन २०६४ ले ३० लाख नगदै वा ७ लाख नगद र २३ लाख बराबरको बैंक ग्यारेण्टीको प्रावधान राख्यो । त्यसमा न्यूनतम ५० लाखभन्दा बढी लगानी गरी म्यानपावर कम्पनी सञ्चालन गर्नु ठूलै चुनौतीको काम थियोे । वैदेशिक रोजगार व्यवसायमा यात्रा प्रारम्भ गरेका ती साहसिक महिलाको पदचाप पछ्याउँदै हाल सयौं महिला वैदेशिक रोजगार व्यवसायमा प्रवेश गरेका छन् । जबकि अहिले धरौटीमा सैयौं गुणा वृद्धि गरी २ करोड, ४ करोड र ६ करोड पुर्याइएको छ ।
केही महिला व्यवसायीले श्रीमान वा परिवारका अन्य सदस्यका लागि पेशा व्यवसाय गर्न इजाजतपत्र ल्याइदिएर सहयोगीको भूमिकामा मात्रै रहेका भएपनि अधिकांश महिला निरन्तर म्यानपावर कम्पनी सञ्चालन गरी अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिकामा देखिएका छन् । यसबाट प्रत्यक्षरुपमा आन्तरिक तथा वैदेशिक रोजगारी सिर्जना भइ राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुगेको छ भने अर्कोतिर महिला उद्यमशीलतामा उर्जा भरेर नयाँ पुस्ताका लागि व्यावसायिक प्रेरणा मिलिरहेको देखिन्छ । वैदेशिक रोजगार ऐनका कतिपय झन्झटिलो प्रक्रिया, नकारात्मक सामाजिक टिकाटिप्पणी जस्ता कारणले केही महिला व्यवसायी पेशाबाटै पलायन हुने र जोखिमलाई आत्मसात गर्दै व्यवसायमा नयाँ व्यवसायीको संख्या भने हाराहारीमा रहेकोे महिला व्यवसायी मात्रै नभएर पुरुष वैदेशिक रोजगार व्यवसायीहरु पनि बताउँछन् ।
एउटा म्यानपावर कम्पनी सञ्चालन गर्ने, बीचमा त्यसलाई छोड्ने र पुनः अर्को म्यानपावर कम्पनीमा जोडिने व्यावसायिक प्रवृत्तिका कारणले महिला व्यवसायीको अग्रताको समयवद्ध श्रृंखला निर्माणको कार्य झन्झटिलो मात्रै नभइ कतिपय अवस्थामा जोखिमपूर्ण मानिएको छ ।
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) र वैदेशिक रोजगार व्यवसायका विभिन्न अग्रज व्यवसायीबाट प्राप्त जानकारीअनुसार हालसम्म वैदेशिक रोजगार व्यवसायमा अल्पकालीन वा दीर्घकालीनरुपमा संलग्न सवा दुई सयभन्दा बढी महिला व्यवसायीको नाम वैदेशिक रोजगार व्यवसायसँग जोडिएको छ । यसले अन्य व्यवसायमा जस्तै वैदेशिक रोजगार क्षेत्रमा महिला व्यवसायीको आगमन र आकर्षण निरन्तर बढेको देखाउँछ ।
-सविना मुडभरी
छोरी मान्छेले एक्लै हिँड्नु हुँदैन, नचिनेको मान्छेसँग बोल्नुहुँदैन, निहुरिएर हिँड्नुपर्छ, सामाजिक मूल्य–मान्यतामा अडिग रहनुपर्छ भनेर अझै पनि घोकाइन्छ । यो सायद छोरीमान्छेलाई कमजोर देख्ने सोचको उपज हो ।
छोरीलाई पढाउनुपर्छ भन्ने सोच कतिपयमा अलि अगाडिबाटै विकास भएको भए पनि कतिपयमा अझै छोरीको पढाइमा खर्च गरेर फाइदा छैन भन्ने मानसिकता कायमै छ । छोरीलाई पढाइमा खर्च गरेमा उनीहरू छोराभन्दा कम हुन्नन् भन्ने मान्यता स्थापित गर्ने गतिलो उदाहरण हुन्, डा. रेणुका थापा ‘सोलु’ ।
वि.सं. २०२८ सालमा हिमाली जिल्ला सोलुखुम्बुको सोताङमा जन्मिएकी रेणुका थापाले डाक्टरको उपाधि पाउन कम्ती संघर्ष गर्नुपरेन । सहनै नसकिने खालका आरोप खेप्नुपर्यो ।
जब उनी आइए पढ्न सोलुखुम्बुबाट काठमाडौं आइन्, त्यतिबेला गाउँभरी उनका कुरा काट्थे । ‘राधा बिग्री’ भनिन्थ्यो (गाउँमा उनलाई राधा भनिन्थ्यो) । त्यति मात्रै होइन, दसैँको टीका लगाउँदा छोरीहरूलाई आशीर्वाद दिँदा ‘राधाजस्ती नभएस्’ भन्थे ।
जब अन्तिम सास जान बाँकी बुबालाई बचाएर सकुशल घर फर्काइन् । पढिन् लेखिन त्यसपछि भने सबैले गाउँका छोरीहरूलाई भन्न थाले– ‘राधाजस्तै भएस्’ । गाउँमा म रोलमोडल बनिन् । धेरैले उदाहरण दिँदा आजभोलि उनकै नाम नाम लिन थालेका छन् ।
उनको आत्मबल झन् उच्च भएको छ । उनी हुन् सोलुखुम्बु जिल्लाबाट पहिलोपटक पिएचडी गर्ने महिला हुन् रेनुका थापा ‘सोलु’ । रेणुका सोलुखुम्बु जिल्लाबाट पिएचडी गर्ने पहिलो महिला मात्रै होइनन्, एउटा कुशल प्रशासक र साहित्यकार पनि हुन् ।
गाउँभरिकाले कुरा काट्दा रेणुलाई पढ्ने र अघि बढ्ने प्रोत्साहन उनका बाबुले दिन्थे । बाबुकै रेखदेखमा उनले एसएलसी दिएकी थिइन् । उनी बाबुलाई साँच्चिकैको पहरेदार भनेर सम्झन्छिन् ।
“बुबा राजनीति गर्ने हुँदा मलाई पढ्न कुनै बाधा भएन । पाँच कक्षासम्म गाउँकै विद्यालयमा पढेँ । जुन विद्यालय बुबाले नै स्थापना गर्नुभएको थियो । १० कक्षासम्म पढ्न शिवटार मावि जानुपर्यो । जब टेस्ट परीक्षा पास गरेँ । अनि केटा साथीहरू सदरमुकाम सल्लेरीमा कोठा लिएर ट्युसन पढ्न थाले । हामी छोरीजतिले घरमै काम गर्दै परीक्षाको तयारी गर्यौँ । एसएलसी दिने समय आयो । सेन्टर नेले भन्ने ठाउँमा थियो । सामान भरियालाई बोकाएर बुबा र म परीक्षा केन्द्र पुग्यौँ । परीक्षा दिन जाँदा बुबाले मलाई पूरै सुरक्षा दिनुभएको थियो । पुलिस देखेपछि छोरी सुरक्षित हुन्छे भनेर होला, उहाँ पनि निस्फिक्री देखिनुहुन्थ्यो । परीक्षा नसकिइन्जेल बुबा कुरेर बस्नुहुन्थ्यो । सुरक्षा दिएर डेरासम्म पु¥याउनु हुन्थ्यो । नतिजा आउँदा म गणित विषयमा फेल भएँ । फेरि दिएँ, फेरि फेल भएँ । भागेर झापास्थित दिदीको घरमा गएर ट्युसन पढेपछि तेस्रोपटक गणितमा ५६ नम्बर ल्याएर एसएलसी पास गरेँ”, आफ्नो एसएलसी परीक्षा दिँदै गर्दाको अनुभव रेणुले यसरी सुनाइन् ।
रेणुलाई पढ्न सकस थियो । आफन्तहरु १० कक्षामै पढ्दा उनलाई बुढी भइ भन्थे । आफन्तहरु विवाहको लागि एकपछि अर्को गर्दै केटा लिएर आइरहन्थे । तर, उनको सोच पढ्ने थियो । बुबालाई विवाह गर्दिनँ भनेपछि बुबाले आफन्तको कुरालाई टारिदिन्थे । सायद भावना बुझ्ने बुबा नभएको भए रेणुको बिहे सानैमा हुन्थ्यो । उनको पढ्ने इच्छा पूरा हुन्नथ्यो । “समयमै विवाह नगरेर अध्यक्षले छोरी बिगा¥यो भन्ने आरोप लगाउने धेरै थिए”, बाबुलाई परेको पीडाबारे रेणुले भनेकी छिन् ।
रेणुमा पढ्ने चाह यति थियो कि उनी जे पनि गर्न तयार भएकी थिइन् । एसएलसीपछि उनी एक्लै भागेर झापा गइन् । एसएलसी पास गरिन् । त्यो देखेर बुबालाई उनीप्रति निकै विश्वास बढेछ । छोरी बिग्रिन्न भन्ने परेछ । त्यसपछि आइए पढ्न काठमाडौं जाने उनको प्रस्ताव बुबाले स्वीकार गरे ।
धोबिधारामा ४ सय रुपैयाँमा कोठा भाडामा लिइन् । फुपुको छोरीको सहयोगमा काठमाडौंको बागबजार स्थित पद्मकन्या क्याम्पसमा आइए भर्ना भइन् ।
एक दिन उनलाई बुबा बिरामी भएको खबर आयो । उनी घर पुग्दा बुबालाई तुलसीको मठमा निकालिएको रहेछ । अन्तिम सास कतिखेर जाला भनेर आफन्त कुरिरहेका थिए । गलाभरी सिँगानका टाटै टाटा लिएर भाइबहिनी उदास अनुहारमा देखिन् । बुबालाई बोकेर काठमाडौं लगे । त्यसपछि उपचार गरेर फर्काएँ ।
काठमाडौं छिरेपछि आर्थिक चिन्ताले उनलाई सताउन थाल्यो । ट्राभल एजेन्सी अफिसमा रिसेफ्सनको काम पाइन् । मासिक सात सय रुपैयाँ तलब दिइयो । सानैदेखि स्वीटर बुन्ने उनको रहर थियो । ठमेलको गार्मेन्टबाट अर्डरको स्वीटर ल्याएर बुन्न थालिन् । रातभरि स्वीटर बुनेर आफूलाई पुग्ने पैसा कमाउन थालिन् । त्यतिबेला उनी जम्मा दुई–तीन घन्टा मात्र सुत्थिन् ।
उनको गाउँकै एकजना बलबहादुर थापाबाट विवाहको प्रस्ताव आयो । माग्न आउने थापा त्रिविको जागिरे भएकाले उनी राजी भइन् । आफूले पढ्न पाउनुपर्ने सर्तमा बिहे गरिन् ।
“काठमाडौं जिल्ला प्रशासन उनी भन्छिन् कार्यालयमा विवाह दर्ता गयौं । अन्य तामझाममा लागेनौँ, दाइजो र अंश दुबै नलिइ आफ्नै परिश्रममा जीवन बाँच्न सिक्ने भन्दै”, विवाहको निर्णयबारे उनी भन्छिन् ।
विवाहपछि उनको दैनिकी फेरियो । गरिरहेको काम छोडिन् । सासूआमा दमको बिरामी भएकाले उनको स्याहार–सुसारमा कुनै कमी हुन दिइनन् । तर, पढाइ भने निरन्तर लगिन् ।
यही बीचमा छोरा जन्मियो । छोराको स्याहार गर्दा गर्दै उनी पुनः पढ्न थालिन् । केही समयभित्रै उनले त्रिविमै जागिर खाइन् ।
सासु, श्रीमान्, छोरा सबैको रेखदेखसँगै उनीमाथि जागिरको बोझ पनि उत्तिकै थियो । तर, पढाईप्रति उनको लगाव सामान्य थिएन । सबै कामको बीच उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहिन् । निकै व्यस्तताको बीच संस्कृत विश्वविद्यालयबाट ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका नारी पात्रमा नीति चेतना’ शीर्षकमा पिएचडी गरिन् । सोलुखुम्बुबाट पिएचडी गर्ने पहिलो महिला उनै बनिन् । जीवनमा पिएचडी गर्नेसम्मको अवस्थामा पुग्नुमा आत्मभित्रको साहससँगै परिवार अनि जीवनसाथीको पनि महत्वपूर्ण योगदान रहेको बताउँछिन् । उनी आफ्नो सफलतामा आफ्नाको भूमिका बिर्सन सक्दिनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies