तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : अन्तरजातीय प्रेममा परेका एक जोडी आफ्नो जीवन जिउन संघर्ष गरिरहेका हुन्छन् । 'लिभिङ टुगेदर'को सम्बन्धलाई विवाहमा परिणत गर्न कोसिस गरिरहँदा आफ्नो प्रेमिकालाई 'कान्छी तिम्रो बाबाले हाम्रो प्रेम स्वीकार्दैनन् भागेर बिहे गरौं' भन्ने केटाको अनुरोधलाई केटीले धुमधामसँग बिहे गर्ने चाहाना राखेसँगै शुरु हुन्छ कथा ।
यो कथा 'बागलुङ तमाना' पञ्चेबाजा गीतले बोलेको छ । गीतले बागलुङको तमाना र म्याग्दीको बेनी बगरसहित विभिन्न ठाउँलाई शब्दबाट वर्णन गरेको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका राम गगनले उक्त ठाउँलाई समेट्दै कोरेका शब्दले अहिले चर्चा पाउँदै गइरहेको छ ।
गगनको संगीत रहेको उक्त गीतमा चर्चित गायिका शान्ति श्री परियार र गगनकै स्वर रहेको छ । एचबीएन किस्मतले संगीत संयोजन गरेको गीतको भिडियोमा वसन्त विश्वकर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको कथा तथा निर्देशन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् । केही समय पहिले 'जाम भो साइँली' बजारमा ल्याएका गगनले 'हेर्दामा राम्रो बेनीको बजार', 'घर छोड्दाको रात', 'जिन्दगी', 'सङ्क्रान्ति मेलामा', 'डिभोर्स', 'पश्चिम हिँडियो', 'सालैजो'सहित दर्जनौं गीत बजारमा ल्याएका छन् । सांगीतिक पस्तुति दिनकै लागि गगन मलेसिया र बहराइनसमेत पुगेका छन् ।
काठमाडौं : लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गरेका छन् । गीतकार विमला तुलाचन र चर्चित संगीतकार शंकर थापा ‘स्माइल’सँगको सहकार्यमा गायक परियारले गीत बजारमा ल्याएका हुन् । गीतमा विषम आचार्यको एरेन्ज रहेको छ ।
एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । शिव परियारको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा माया प्रेम र बिछोडको पीडाले कसरी ‘भतभती मुटु पोलिरहेछ’ भनेर देखाउन खोजिएको छ । यसअघि गायक शिव परियार र संगीतकार शंकर थापा ‘स्माइल’को सहकार्यमा धेरै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।
गायिका समेत रहेकी गीतकार तुलाचन पछिल्लो समय टुहुरा बालबालिकाको पढाइको लागि निरनतर खटिरहेकी छिन् भने संगीतकार स्माइल पनि संगीतदेखि गायनसम्म त्यतिकै पोख्त छन् । उनले गरेका चलचित्रदेखि सुगम संगीतसम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।
काठमाडौं : फिल्म ‘पर्खि बसेँ तिमीलाई’ हलमा लागिरहँदा नायक राजवल्लभ कोइरालालाई दर्शकले निकै सम्झिए । फिल्म ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको तारिफ धेरै भयो ।
तर फिल्म ‘हाइवे टू धम्पुस’को छायाँकनका लागि राजवल्लभ अमेरिका पुगे । यसपछि भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन् । अब उनै नायक फिल्म ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।
नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।
यो फिल्मको छायाँकन केही महिनामा नै शुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् ।
फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् । आना र प्रदीपको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।
काठमाडौं : गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए ।
उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् ।
बनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट अवकाश भएका थिए ।
वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : निकै पुरानो भाकालाई पछिल्लो समय प्रत्यक्ष दोहोरीमा प्रयोग गर्न थालेपछि चर्चामा आएको हो ‘रेलै सलल’ । यही भाकामा आएको नयाँ गीत अहिले सामाजिक सञ्जालमा निकै हिट भइरहेको छ । अमेरिकामा बसोबास गर्दै आएका बागलुङका राजन क्षेत्रीले सञ्चालन गर्ने ई–नेपाल रोधी घरको युट्युबबाट उक्त गीत बुधवार राति बजारमा आएको हो ।
द्वन्द्वकाल माया प्रेम र लाहुरेको कथा बोलेको मौलिक गीतका शब्द संकलन बालकुमार श्रेष्ठले गरेका हुन् भने रामेश्वर ढकालले संगीत संकलन गरेका छन् । माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबी कार्की, श्याम राना र स्वयं श्रेष्ठले स्वर दिएको गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । केसीले सिर्जना गरेको संगीत अहिले टिकटकमा सर्वाधिक रुचाइएको छ । घुम्ती घुम्ती रोड गीतमा जँडियाको आवाजमा गीत गाउँदै अभिनय गरेर ह्वात चर्चामा आएका म्याग्देली कमेडीयन तथा गायक कार्कीले यस गीतमा आवाजसहित डबल रोलमा अभिनय गरेका छन् । उनको अभिनयले यस गीतमा पनि विशेष आकर्षण पाएको छ ।
सुरेश श्रेष्ठ र सञ्जीव खनालले खिचेको भिडियोमा दर्जनौं स्थानीयहरूलाई समेत देख्न सकिन्छ । गीतको भिडियोको कथाले गाउँ छोडेर कहीँ जान नसक्ने र लाहुरे पनी गाउँमै बस्नुपर्ने सन्देश दिएको छ । विष्णु शर्माको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको कोरीयोग्राफी प्रवीन थापाले गरेका हुन् । गायक गायिकाका अलावा भिडियोमा सुमन परियार विशेष आकर्षणको रूपमा फिचर्ड छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा आगामी शुक्रबार माघ्या सकराटी-२०२४ बृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ l उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट चार जना कलाकार कतार आउने क्रम शुरु भइसकेको छ l जसमध्ये लोक दोहोरी गायक तथा हास्य कलाकार अर्जुन कुँवर केही दिन पहिले नै कतार आइपुगेका छन् भने बुधबार बिहान लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर (रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर कतार आइपुगेका छन् ।
आमन्त्रित कलाकारहरूलाई स्वागत गर्न संघका अध्यक्ष, महासचिव सहित कार्यसमितिका पदाधिकारीहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । शुक्रबार बिहान १० बजेबाट अल अरबी स्पोर्ट्स क्लबमा सञ्चालन हुने कार्यक्रममा मगरहरूको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई निरन्तरता दिइने भएको छ l महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरूका लागि डोरी तान्ने खेल समेत खेलाइने भएको छ l कार्यक्रममा मगर समुदायको मौलिक नाच सालै जो, कौराह, झ्याउरे, हुर्रा, भुम्या तथा लोकदोहोरी मगर फिल्मी र आधुनिक गीतहरूमा नृत्य तथा गायन प्रस्तुत गर्ने आयोजक संघले जनाएको छ l कार्यक्रममा आउन जानको लागी कतारको दोहा, सनैया, अल्खोर, सहानिया तथा अन्य स्थानहरूबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ l
नेपालबाट आमन्त्रित अर्का चर्चित गायक सर्जक तथा संगीतकार डोलराज बार्हघरे नेपाल मगर संघ शाखा यूएईले आयोजना गरेको माघ्या सकराटी मेला तथा सांस्कृतिक साँझ २०८० मा सांगीतिक प्रस्तुति दिएर यूएईबाट बुधबार राति दोहा आइपुग्ने जानकारी कार्यक्रम संयोजक देवी कुमारी मगरले मध्यान्ह दैनिकलाई जानकारी दिइन् l बाह्रघरे कतार आएसँगै कार्यक्रमको तयारी पनि पूरा हुने उनको भनाइ छ l
काठमाडौं : ‘आइसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् ।
अडिसनमा ३५० भन्दा बढी मोडलको सहभागिता रहेको थियो । अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, कमर्सियल फोटोग्राफर राजभाइ सुवाल, मिष्टर नेपाल विजेता समर्पण कार्की, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापालगायतका निर्णायकले मोडल छानेका हुन् । छानिएका मोडल आगामी चैत १६ (मार्च २९) गते होटल याक एण्ड यतिमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा ¥याम्पमा प्रस्तुत हुनेछन् ।
शोमा विभिन्न फरक फरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसन शोको रुपमा ‘आइससी डिजाइनर रनवे’को आगामी सिजन आफूले प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ धमलाले जानकारी दिए ।
‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अबको सिजमा आइसी कलेजका २०२१ ब्याजका विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक–फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिइन् ।
काठमाडौं : नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकमर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ ।
महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइन अप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनोट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको बताए ।
‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ,’ उनले भने, ‘तर निरन्तरता दिने हिसाबले आर्थिकरुपमा यसले चुनौतीको सामना गरिरहनु परिरहेको छ । यो पक्षका लागि सबैसँग सहयोगको अपेक्षा राखेका छौं ।’ निफमा यो पटक छनोटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको जानकारी गराइएको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पुँजी र बजार एवम् पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए । उनले राष्ट्रिय चलचित्र उद्योग पुँजी र बजारमा केन्द्रित नहुने हो भने अबका थुप्रै वर्ष यही अवस्थामा रहिरहने र निफ जस्ता कार्यक्रमले यस्ता कुरामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । यसैगरी उनले पश्चिमा चलचित्रकर्मी कथाको खोजीमा रहेका पूर्वीय दर्शन र ज्ञान बाँड्नमा पनि महोत्सव सक्रिय हुन सुझाव दिएका थिए ।
अघिल्लो साल ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीप खड्काले आफू चलचित्रको सिकारु भए पनि चलचित्रलाई सञ्चार मन्त्रालयको मातहतमा राखिनु आफ्नो लागि जिज्ञासाको विषय रहेको धारणा राखेका थिए । ‘म आकस्मिक कलाकार हुँ । जीवनमा धेरै कुरा कोसिस गर्ने क्रममा कलाकार बनेको हुँ । चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राखेर हेर्दा यसको सामर्थ्य खुम्चिएको हो कि भन्ने लाग्छ । यसैलाई संस्कृति मन्त्रालय अन्तर्गत राखेर हेर्ने हो भने यसको बुझाइमा फरक पथ्र्यो कि,’ प्रदीपको भनाइ थियो ।
यसैगरी कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको धारणा राखेका थिए । ‘पञ्चायतकालीन कानूनको भरमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौं । अहिले हामी कानुन निर्माणका लागि लागि परेका छौँ । योपछि विश्व बजारमा जाने फिल्मको निर्माणमा बल्ल सघाउन सक्छौँ,’ उनको भनाइ थियो ।
निफको यो संस्करण पनि अघिल्लो संस्करणझैं राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु चलचित्र र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ ।
प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
मोफसलमा केही संस्करण सम्पन्न गरेको निफले यो सालबाट प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका अन्य फिल्म प्रदर्शन गरिनेछन् । आयोजकले महोत्सव हुने प्रदेशको मिति र स्थान केही समयपछि सार्वजनिक गरिने जनाएको थियो ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।
महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
यो सालबाट दर्शक रुचीका चलचित्रलाई अवार्ड दिने थप एउटा विधा पनि थपिएको जानकारी गराउन चाहान्छौँ । ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा बाँडिने यो अवार्ड दर्शकको मतका आधारमा चयन गरिनेछ ।
काठमाडौं : 'मिसेस नोबेल नेपाल–२०२४' को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यही चैतमा इजिप्टमा हुने एनएफईए अवार्ड–२०२४ मा इन्ट्री टिकटसमेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा आइतबार अपराह्न राजधानीको म्युजिक सिटी स्टुडियोमा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनरअप र जुना भण्डारी सेकेन्ड रनरअप घोषित भए ।
चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा 'जति हेर्यो उति राम्रो' बोलको गीतमा ओपनिङ नृत्य गरेका प्रतियोगीहरूले सुब्बाकै कोरियोग्राफीमा दुई साताको प्रशिक्षणपश्चात स्टेजमा आफूलाई पारङ्गतरुपमा परिचय चरण, प्रश्नोत्तर र क्राउनिङ चरणमा उतारेका थिए । कार्यक्रममा विविध सब–टाइटलहरूसमेत वितरण गरिएको थियो । जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मोस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजेन्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल बेस्ट फोटोजेनिक एवम् पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भए ।
कार्यक्रमको निर्णायकमण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट, मोडल नायक मनिष राउत, मिसेस हिमालयन नेपाल–२०२० माया लामा, व्युटिसियन नेपाल–२०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल–२०२३ अनुषा केसी रहेका थिए । कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए । विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेजसम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
काठमाडौं : गीतकार प्रकाश पण्डितको देशभक्ति र राष्ट्रिय भावनाले भरिएको गीत ‘मुटुभित्र नेपाल’ सार्वजनिक भएको छ । जिल्ला अदालतका न्यायाधीशसमेत रहेका गीतकार पण्डितको उक्त गीतका हरेक शब्दमा देशको माया व्यक्त गरिएको छ । पण्डितको शब्द रहेको गीतमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ ।
देशप्रतिको माया, आस्था र विश्वासलाई मिठो तरिकाले गीतमा वर्णन गरिएको छ । गीतमा रहेको ‘मर्दा पनि मुटुभित्र नेपाल भनेर लेख्न पाइयोस्’ भन्ने लयले सबैको मन छुन्छ । गीतमा वीरताको गाथा, नेपालीको खुसी, पुर्खाको योगदान सबै भेट्न सकिन्छ ।
लक्ष्मी पण्डितको प्रस्तुति रहेको गीतको भिडियोमा अभिनेता राजेश हमालले अभिनय गरेका छन् । सुव्रत आचार्यको निर्देशनमा तयार पारिएको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् ।
१२ मिनेट ३० सेकेन्डको गीतको भिडियोमा अभिनेता हमालका साथै बाल कलाकार सायरा आचार्य, दियान गौतम, सन्देश पौडेललगायतले अभिनय गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies