काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् ।
निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्मतर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी गराए । खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् । साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।
आगामी चैत १ देखि ५ सम्म काठमाडौंमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । तत् तत् विधामा दुई जना जुरी विदेशी चलचित्रकर्मी हुनेछन् । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराएका छन् ।
निफका अध्यक्ष पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उनीहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी गराए ।
यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
काठमाडौं : प्रवासमा रहेर पनि अनवरतरूपमा नेपाली गीतसंगीतमा लागिरहेकी गायिका निता आचार्यको ‘झिमझिम परेली’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायिका आचार्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
डिपी खनालको शब्द रचना, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् । भिडियो एक विशेष समारोहबीच वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।
केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।
गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवम् निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्यलगायतकाको आतिथ्यता रहेको थियो ।
काठमाडौं : नेपाली चेली मेनुका पौडेल यतिबेला भारतकै सर्वाधिक लोकप्रिय रियालिटी शो ‘इण्डियन आइडल १४’मा प्रतिस्पर्धा गरिरहेकी छिन् । उनी, उत्कृष्ट १० मा पुग्न सफल भइसकेकी छिन् ।
मान्छेलाई समेत चिन्न नसक्ने नेपाली कलाकार मेनुकाको आँखा जाँचको निम्ति ‘यो रियालिटी शो’ले भरपुर सहयोग गरेको छ । ‘इण्डियन आइडल’को पछिल्लो भागमा प्रशारण भएको भिडियोमा मेनुकाको आँखा,भारतका नेत्र जाँच विशेषज्ञले चेकअप गरेका छन् । डाक्टरका अनुसार विशेष डिभाइसको मद्दतले मेनुकाले एक्लै हिँड्न, मान्छे चिन्न र पढ्न सक्ने भएकी छिन् । यो भन्दा अघि उनले सहकर्मीको साहारमा हिँड्नु र चिन्नु परेको थियो ।
आँखाको चेकअपका क्रममा मेनुकाको आँखाको नर्भ्सले काम नगरेको डाक्टरले बताएका छन् । डाक्टरका अनुसार मेनुकाले पूर्ण रुपमा दृष्टि पाउन भने नसक्ने बताइएको छ । तर विशेष डिभाइसको मद्दतबाट भने मेनुकाले केही मात्रामा भएपनि दृष्टि पाउन सक्ने र मान्छे चिन्न सक्ने बताइएको छ ।
डाक्टरको यो भनाइपछि मेनुका निकै उत्साहित छिन् । इण्डियन आइडलकी निर्णायक श्रेया घोषले मेनुकाले मान्छे चिन्ने भएको चिन्न सक्ने भएकोमा बधाई दिएकी छिन् । यसैगरी उनले आफूले चाँडै नै मेनुकाको आँखामा यो डिभाइस राखेको हेर्न चाहेको समेत बताएकी छिन् । रियालिटी शोमा गायिका आशा भोस्लेका गीत गाउन सफल भएकी मेनुकाले गीत गाएपछि निर्णायक मण्डल नै उठेर उनको सम्मान गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : चार चरणमा सम्पन्न हुने गरी १ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको गायन र नृत्य विधाको गैरआवासीय नेपाली तारा सिजन ४ को फाइनलको मित नजिकिँदै छ l आगामी महिनाको २ तारिक कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा हुने ग्राण्ड फिनालेमा गायनबाट पाँच र नृत्य विधाबाट पाँच जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् l गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको हो l
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । ग्रानड फिनालेमा पचास प्रतिशत निर्णायक र पचास प्रतिशत हलमा उपस्थित दर्शकले आफू सँग भएको कार्यक्रमको टिकटमार्फत भोट गरी विजेता छान्ने गरी तयारीलाई अन्तिम रूप दिन लागिएको छ l बहु चर्चित गायक रामकृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पूर्णिमा श्रेष्ठ अतिथि निर्णायकका रूपमा ग्राण्ड फिनालेमा आउने निश्चित भएपछि आयोजक, प्रतिस्पर्धी र कतारमा रहेका गीत संगीत प्रेमीहरू निकै उत्साहित छन् l कार्यक्रमलाई भव्य बनाउन कुनै कसुर नछाड्ने गरी अन्तिम तयारी आयोजकले थालेकै बेला प्रतियोगीहरूले आइडललाई कसरी हेरेका छन् र समग्रमा कसरी लिएका छन् भन्ने बारेमा मध्यान्ह राष्ट्रिय दैनिकले प्रतिस्पर्धीसँग अलग अलग उनीहरूका विगत, वर्तमान र भविष्यका बारेमा भलाकुसारी गरेको थियो l भलाकुसारीबाट तयार गायन विधाका प्रतियोगीको रिपोर्टलाई यहाँ पेस गरिएको छ l
१. दीपक कुमार घले (भोटिङ नम्बर १)
विगत एक सालदेखि कतारमा कार्यरत धादिङ नेत्रवती ५ घले गाउँका दीपक सानैबाट गीत गाउने गरेको स्मरण गर्छन् । अरू कुनै गायन प्रतियोगितामा भाग नलिएको बताउने उनले आफ्नो आवाजमा २ वटा अफिसियल गीत रिलिज भइसकेको बताए । विभिन्न स्टेजहरूमा प्रस्तुति दिइसकेका दीपकले अतिथि जज रामकृष्ण ढकाल आफ्नो आइडल गायक रहेको बताए । यदि आफूले प्रतियोगिताको ताज जित्न सकेमा आफूले अध्ययन गरेको स्कुलका निम्न वर्गीय विद्यार्थीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२. ईशान रेग्मी (भोटिङ नम्बर २)
कोशी प्रदेशको विराटनगरमा जन्मिएका ईशान रेग्मी विगत ७ वर्षदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छन् भने भक्तपुर लोकन्थलीका बासिन्दा हुन् l नेपालमा हुँदा धेरै वर्ष पहिले नेपाली तारामा समेत अडिसन दिएका उनको आफ्नै अफिसियल गीत पनि रहेको छ l करिब दुई दशकदेखि गीत गाउन थालेका रेग्मीले आफू फाइनलका लागि भरपुर तयारीमा लागेको बताउँछ्न् l नेपालबाट अतिथि जजमा रामकृष्ण ढकाल आउने कुराले उनी दंग छन् l उनी भन्छन्, “नेपाली तारामा पनि उहाँ नै जज हुनुहुन्थ्यो, यहाँ पनि उहाँ आउने खबरले उत्साहित छु ।” आफूले प्रतियोगिता जितेमा उक्त पुरस्कार राशिले गीत संगीतमा नै केही गर्ने लक्ष्य लिएको उनी बताउँछन् ।
३. सुजन गुरुङ (भोटिङ नम्बर ३)
धादिङ जिल्ला नेत्रावति गाउँपालिका वडा नं. ५ बेतीनीमा जन्मिएका सुजन गुरुङ विगत सात वर्षदेखि कतारमा कार्यरत छन् । नेपालमा रियालिटी शोहरूको आगमन भएसँगै गायनमा झुकाव बढाएका गुरुङले प्रतिभा आँगनको रियालिटी शोमा भाग लिएको अनुभव सँगालेका छन् । कुनै पनि एल्बम सार्वजनिक नगरेका गुरुङले ग्रान्ड फिनालेका लागि तयारी गर्न कोसिस गरिरहेको बताए । उनले भावुक हुँदै भने, "ड्युटीमा गाउन मिल्दैन, रुममा गाउँदा अरूलाई समस्या पर्छ तर पनी मेहनत जारी छ ।" उनले आशाको दियो निभ्न भने दिएका छैनन् । नेपालबाट आउने अतिथि जजका सामुन्ने आफूले प्रस्तुति गर्न पाउनु नै आइडल जिते सरह हुने उनी बताउँछन् । आफूले प्रतियोगिता जितेमा आफूलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई कुनै न कुनै रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
४. मानसिङ परियार (भोटिङ नं. ४)
'भाग्य लेख्ने मसी', 'माया बस्ने मुटु', 'काठमाडौंको नाइट बस चढौंला', 'जुनेली रातैमा', 'दशैं तिहार सँगै मनाउँला' र 'बेसीमा टुनी'जस्ता गीतहरू बजारमा ल्याइसकेका रोल्पाली लोक तथा दोहोरी गायक मानसिंह परियार यतिबेला एनआरएन आइडलको ताज आफ्नो पोल्टामा पार्न कोसिस गरिरहेको छन् । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी हाल दाङमा बसोबास गर्छन् । सन् २०१७ मा पहिलो गीत रेकर्ड गराएका परियार गाउँमा हुँदा झ्याउरे गीतहरू गाउने गरेको स्मरण गर्छन् । ड्युटीबाट बचेको समयमा रियाज गर्ने गरेका उनी रामकृष्ण ढकाल आउने कुराले दंग छन् । आइडलको ताज आफूले जितेमा गाउँकै स्कुलमा निम्न आए भएका विद्यार्थीका लागि कापी कलम किन्दिने र बचेको रकम गीतसंगीतमै लगानी गर्ने उनले बताए । ताज आफ्नो लागि आयोजक संस्थाको मुटु सरहको उपहार हुने उनले बताए l
५. रुस्तम तामाङ (भोटिङ नं. ५)
सुनखानी ५ सिन्धुपाल्चोकमा जन्मिएका रुस्तम एक दशकदेखि कतारमा कार्यरत छन् । नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका उनी स्कुले जीवनकालदेखि गाउन शुरु गरेको स्मरण गर्छन् । आफ्ना कुनै पनि एल्बम सार्वजनिक नगरे पनि उनीसँग थुप्रै स्टेजमा प्रस्तुति दिएको अनुभव छ । रामकृष्ण ढकाल अतिथि निर्णायकमा आउने खबरले रुस्तम हर्षित छन् । उनी भन्छन्, "मैले पहिलो पटक रियालिटी शोमा भाग लिएर पहिलो पटक उहाँकै गीत गाएको हुँ र त्यो एनआरएन आइडल हो । मैले उहाँका गीतहरू गाइरहेको र उहाँकै सामुन्ने प्रस्तुति दिन पाउने हुँदा सक्दो तयारी गरेको बछु ।" उनले आफूले प्रतियोगिता जितेमा पुरस्कारको राशि भने गीतसंगीतमै खर्च गर्ने बताए l
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।
मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ । खाडीमा काम गर्दै आफूसँग बचेको समय कलाकारितामा लगाइरहेको अवस्थामा मध्यान्ह दैनिकले ठूला साना कलाकार नभनी समान स्थान दिएकोप्रति कलाकार सकारात्मक मात्र देखिएनन् आभार समेत प्रकट गरे l मध्यान्हकर्मीलाई कलाकारितासँगै श्रमिकका मुद्दामा समेत कलम चलाउन उनीहरूले आग्रह गर्दै खुसी व्यक्त गरे l
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : भर्षटायल गायक प्रमोद खरेल कतार आइपुगेका छन् । देशदेखि विदेशका स्टेज कार्यक्रममा व्यस्त खरेलले आज शुक्रबार साँझ आफ्नो प्रस्तुति दिँदैछन् । कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको 'प्रमोद खरेल लाइभ' शोमा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका खरेलले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । खरेलको स्वागतका लागि क्लब सञ्चालकद्वय सन्दीप भट्टराई र रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याललगायत सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । कार्यक्रममा प्रवेश शुल्क कतारी रियाल एक सय कायम गरिएको कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : चार चरणमा सम्पन्न हुने गरी १ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको गायन र नृत्य विधाको गैरआवासीय नेपाली तारा सिजन ४ को फाइनलको मित नजिकिँदै छ । आगामी महिनाको २ तारिक कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा हुने ग्राण्ड फिनालेमा गायनबाट पाँच र नृत्य विधाबाट पाँच जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको हो ।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । ग्रानड फिनालेमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत हलमा उपस्थित दर्शकले आफूसँग भएको कार्यक्रमको टिकटमार्फत भोट गरी विजेता छान्ने गरी तयारीलाई अन्तिम रूप दिन लागिएको छ । बहु चर्चित गायक रामकृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पूर्णिमा श्रेष्ठ अतिथि निर्णायकका रूपमा ग्राण्ड फिनालेमा आउने निश्चित भएपछि आयोजक, प्रतिस्पर्धी र कतारमा रहेका गीत संगीत प्रेमीहरू निकै उत्साहित छन् । कार्यक्रमलाई भव्य बनाउन कुनै कसुर नछाड्ने गरी अन्तिम तयारी आयोजकले थालेकै बेला प्रतियोगीहरूले आइडललाई कसरी हेरेका छन् र समग्रमा कसरी लिएका छन् भन्ने बारेमा मध्यान्ह दैनिकले प्रतिस्पर्धीसँग अलग अलग उनीहरूका विगत, वर्तमान र भविष्यका बारेमा भलाकुसारी गरेको थियो । भलाकुसारीबाट तयार नृत्य विधाका प्रतियोगीको रिपोर्टलाई यहाँ पेस गरिएको छ ।
१. जुनु माया कुमाल (भोटिङ नम्बर १)
विगत तीन वर्षदेखि कतारमा श्रमिकका रूपमा रहेकी इलाम कल्कतेकी जुनु माया कुमाल सानैदेखि गीत संगीतप्रति झुकाव राख्थिन् । पहिलो पटक रियालिटी शो एनआरएन आइडलमा भाग लिएकी उनले थुप्रै स्टेजमा प्रस्तुति दिएकी छिन् । ग्रान्ड फिनालेको तयारी र नियमित कार्यमा व्यस्त कुमालले अतिथि निर्णायकहरूप्रति निकै आकर्षित र उत्साहित हुँदै खुसी व्यक्त गरिन् । औपचारिकरूपमा कुनै भिडियोमा काम नगरे पनि आफूले प्रतियोगिता जितेमा बाबा आमाको दु:खलाई चिर्ने तथा एकसरो भए नि नयाँ लुगा किन्दिन चाहान्छिन् । बचेको रकम नृत्यमै खर्च गर्ने उनको लक्ष्य रहेको छ ।
२. सरोज लामा (कान्छा) (भोटिङ नम्बर २)
तराईको समथर भूमि सर्लाहीमा जन्मिएका सरोज विगत पाँच वर्षदेखि कतारमा कार्यरत छन् भने उनी नेपालको नवलपुर जिल्लामा बसोबास गर्दछन् । सानैदेखि नृत्यमा रुची राख्ने लामाले पहिलो पटक नृत्य प्रतियोगितामा भाग लिएका हुन् । नेपालबाट आउने जजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरुको सामुन्ने आफूले प्रस्तुति दिन पाउने खबरले एकदम उत्साहित हुँदै तयारीलाई तीव्रता दिएको उनले बताए । आफूले प्रतियोगिताको ट्रफी उचाल्न सकेको खण्डमा पुरस्कारको राशि सही ठाउँमा सहयोग (उपयोग) गर्ने चाहना रहेको उनले बताए ।
३. निरु श्रेष्ठ (भोटिङ नम्बर ३)
इलामको बिब्लाटे डाँडा गाउँमा जन्मिएकी निरु विगत चार वर्षदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छिन् । बच्चा हुँदादेखि नै नृत्यमा सौखिन उनले थुप्रै स्टेजमा आफ्नो कला प्रस्तुत गरे पनि प्रतिस्पर्धामा भने पहिलो पटक भाग लिएको बताइन् । नेपालबाट अतिथि निर्णायकका रूपमा रामकृष्ण ढकाल र पूर्णिमा श्रेष्ठ आउने खबरले धेरै खुसी लागेको बताउँदै तीन चरण पार गर्दासम्म जजहरूले दिएका सल्लाह सुझावलाई ध्यानमा राखेर ग्राण्ड फिनालेका लागि थप मेहनत गरिरहेको उनले बताइन् । प्रतियोगिता जितियो भने के गर्ने भन्ने सोच्न नसकेको बताउँदै निरुले कहीँ न कहीँ सकारात्मक काममै खर्च गर्ने बताइन् ।
४. झरना राई (भोटिङ नम्बर ४)
मेची नगरपालिका वडा नं. ३ मा जन्मिएकी राई सानो उमेरदेखि नै नृत्यमा रुची राख्थिन् । विगत तीन वर्षदेखि कतारलाई कर्मथलो बनाउँदै आइरहेकी उनले आफू भारतमा हुँदा आफ्ना साथीहरूसँग नृत्य गर्दै युट्युबमा भिडियो अपलोड गरेको स्मरण गरिन् । तीन वटा गीतको म्युजिक भिडियोमा समेत काम गरेको अनुभव उनीसँग छ । आफ्नो जीवनमा पहिलो पटक रियालिटी शोमा भाग लिएको बताउने उनले आफूले प्रतियोगिता जित्न सकेमा पुरस्कारको राशि नेपालमा दुखी पीडितका लागी खर्च गर्ने बताइन् ।
५ सौजन चाहार (भोटिङ नम्बर ५)
पछिल्लो एक वर्षदेखि कतारमा श्रम गरिरहेका झापा धुलावारीका सौजन चाहार बच्चैबेलादेखि छमछमी नाच्ने गर्थे । चर्चित कमेडियन बोकेदाह्रीको एक गीतको म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरेका उनले थुप्रै म्युजिक भिडियोमा कोरसका रूपमा नाचेको अनुभव सँगालेका छन् । पहिलो पटक रियालिटी शोमा भाग लिएका चहार नेपालबाट आमन्त्रित अतिथि कलाकारलाई लिएर उत्साहित हुँदै "उहाँहरु जस्तो अग्रज र अब्बल कलाकारको सामुन्ने प्रस्तुति दिन पाउनु आफ्ना लागि ठूलो अवसर" रहेको बताए । आफूले प्रतियोगिताको विजेता बन्न निकै मेहनत गरिरहेको बताउँदै आफूले प्रतियोगिता जितेमा प्रवासमा रहेका नेपाली कलाकारहरूसँग मिलेर एउटा नृत्य संघ स्थापना गरी नेपाली संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको उनले बताए ।
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।
मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ । खाडीमा काम गर्दै आफूसँग बचेको समय कलाकारितामा लगाइरहेको अवस्थामा मध्यान्ह दैनिकले ठूला साना कलाकार नभनी समान स्थान दिएकोप्रति कलाकार सकारात्मक मात्र देखिएनन् आभार समेत प्रकट गरे । मध्यान्हकर्मीलाई कलाकारितासँगै श्रमिकका मुद्दामा समेत कलम चलाउन उनीहरूले आग्रह गर्दै खुसी व्यक्त गरे ।
काठमाडौं : सुप्रसिद्ध गायक गायिका उदित नारायण झा र दीपा झाको स्वरमा नयाँ नेपाली युगल गीतको सुटिङ सम्पन्न भएको छ । लामो समयको अन्तरालपछि उदित र दीपाको स्वरमा 'थाहा छैन आज भोलि' बोलको प्रेमिल गीत आउन लागेको हो ।
उक्त गीतका गीतकार सरला श्रेष्ठ रहेकी छन् भने अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलले संगीत भरेका छन् । मनोज चौलागाईंको संगीत संयोजन, किशोर थापाको ध्वनि सम्पादन रहेको गीतको भिडियोलाई चर्चित निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका छन् । नायिका श्रद्धा क्षत्री, विजु पार्की, आनन्द सिंहले अभिनय गरेको भिडियोको सिनोमाटोग्राफर अहिलेका व्यस्त छायाँकार उत्सव दाहाल रहेका छन् । क्रियटिभ निर्देशकको जिम्मा जया शर्माले गरेकी छन् ।
नयाँ नेपाली गीत नेपाली दर्शक स्रोताहरुलाई सुम्पिन आउन पाउँदा खुसी लागेको गायक उदित र गायिका दीपाले मध्यान्हलाई बताए । नेपाली दर्शक स्रोताहरुले दिँदै आएको माया यस गीतमार्फत पनि पाउनेमा आफूहरु विश्वस्त रहेको झा दम्पत्तीले बताए ।
लामो समयपछि सुप्रसिद्ध गायक गायिकाको जोडीसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको संगीतकार लक्ष्मण पोखरेलले बताए । 'यो मेरो लागि एउटा अवसर, चुनौती र यादगर क्षणमध्येको एक हो । यसका लागि उदित सर, दीपा दिदी, गीतकार सरला श्रेष्ठप्रति आभार व्यक्त गर्न चाहन्छु,' पोखरेलले भने ।
गीतकार सरला श्रेष्ठ पनि उदित र दीपाको स्वरमा गीत दर्शक स्रोतामाझ ल्याउन पाउँदा निकै उत्साहित र खुसी लागेको बताउँछिन् । उनले भनिन्, 'गीत राम्रो बनेको छ, आशा छ सबैले गीतलाई मन पराउनु हुन्छ ।'
उदित र दीपाको स्वरमा रहेको एउटा निकै नै मिठो गीतम सहकार्य गर्न पाउँदा उक्तिकै उत्साहित भएको निर्देशक सुव्रत आचार्यले बताए । गीतको सुटिङ देशको विभिन्न रमणीय स्थानहरुमा भएको र गीत अनुसारको भिडियो निर्माण भएको निर्देशक आचार्यले बताए ।
काठमाडौं : सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उक्त पुस्तकको लोकार्पण गरे ।
कार्यक्रममा अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराइन् ।
किर्तिमानी संगीतकार सन्तोेष श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवम् गीतकार शान्तिप्रिय, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट लगायतले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।
सञ्चारकर्मी अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार कृति पाठकमाझ ल्याएकी हुन् । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
काठमाडौं : पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ ।
आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने महोत्सवको ७४औं संस्करण हुँदै गर्दा पहिलोपटक नेपाली चलचित्रले प्रवेश पाएको हो । यस विधामा कूल २० चलचित्र प्रतिस्पर्धामा रहेका छन् ।
निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताए । “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौं, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल होजस्तो लाग्छ, सहयात्री सबैलाई धन्यवाद छ, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौं”, निर्देशक भामले भने ।
उनले चलचित्रको शुरुवात गर्दा ‘चिसो वर्ष’ नाम राखेता पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताए ।
उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेखेका हुन् । डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा दृश्यांकन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गरेका छन् ।
निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उनको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।
आठ वर्षमा ४४ मस्यौदा (ड्राफ्ट) लेखेर चलचित्रलाई अन्तिम रुप दिइएको बताउँदै निर्देशक भामले दोस्रो चलचित्रमार्फत इतिहास बनाएका छन् । यसले अन्य अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रतिस्पर्धा गर्ने उनले बताए । यसको नेपाल प्रदर्शन तय गरिएको छैन ।
काठमाडौं : गायक निर्मलराज पौडेलको ‘छम्म नाचौं, छप्प नाचौं’ गीत सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
नेपाल विज्ञापन संघको अध्यक्ष भइसकेका विज्ञापन व्यवसायी पौडेल गायन क्षेत्रमा पनि छन् । बीचमा गाउन छोड्नुभएका पौडेल आज सार्वजनिक भएको गीतमार्फत १५ वर्षपछि उनी पुनः गायनमै फर्किएका छन् ।
विशेष गरेर नेपालका विभिन्न क्षेत्र र वर्गका पर्वमा नाच्ने गरिएको शैलीमा तयार पारिएको यस गीतमा नेपालका चर्चित कलाकारले अभिनय गरेका छन् । आज सार्वजनिक भएको यस गीतमा कलाकारहरु सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धीरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनील सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्कीलगायत नयाँ र पुराना चर्चित कलाकारले अभिनय गरेका छन् ।
गायक पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले संगीत भरेका छन् भने गीतको निर्देशन मनिष पौडेलले गरेका छन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाको छायांकन तथा व्यवस्थापन कला रहेको छ ।
गीतको भिडियो सार्वजनिक गर्न आयोजित कार्यक्रममा कलाकारहरु सरोज खनाल, किरण केसी, राजाराम पौडेल र गायक निर्मलराज पौडेलले नेपाली गीतसंगीत क्षेत्रका साथै आज सार्वजनिक भएको गीतका विषयमा चर्चा गरेका थिए । करिब ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरेर गीत गाई गायन यात्रा शुरु गरेका पौडेलका ‘फेसन यो हो फेसन’, ‘ह्याप्पी लाइफ’, ‘सलल बगेको गण्डकी’ लगायतका गीत चर्चित छन् ।
हालैमात्र पौडेलले नेपालमा विज्ञापन विषय र व्यवसायको इतिहास र वर्तमान अवस्था एवम् विज्ञापन पेसामा आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक पनि प्रकाशन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies