तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : रामेछाप बाम्ती भण्डार, ५ मा बुबा रामबहादुर घताने र आमा सुकुमाया घतानेको कोखबाट जन्मिएकी सन्ध्या घताने (सानु) नेपाली गीतसंगीतको क्षेत्रमा स्थापित नाम हो । मोडलिङसँगै नृत्य प्रशिक्षण र ब्युटिसियनमा व्यस्त उनी गायिकासमेत हुन् । लगभग एक दशक अगाडिबाट यो क्षेत्रमा होमिएकी उनी ‘मर्छु म त सानु’ गीतबाट औपचारिकरुपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनले मोडलिङ गरेका ‘मुना पलायो’, ‘लाली ओठैमा’, ‘नाइ भन्छ मायाले’, ‘आँखा जुध्यो फेरि’, ‘मै पनि नाचौं छौं छौं’, ‘हासन हौ मायालु’, ‘फूल रसैको’, ‘तिम्रो आँखामा’, ‘छुटेको माया’, ‘स्यानी’, ‘ज्यान चोखो’लगायतका गीतले चर्चा बटुलेका छन् । उनले ‘माया गर्छु तिमीलाई’ गीतमा मोडलिङसँगै आवाज पनि भरेकी छन् । गीत संगीतमा सानैदेखि रुची रहेको बताउने सानुले हालसम्म करिब ५ दर्जन गीतमा मोडलिङ गरेकी छन् । उनी विद्यार्थी जीवनमा विद्यालयमा हुने विभिन्न क्रियाकलापमा भाग लिएर प्रायः प्रथम र द्वितीय हुने गर्थिन् । नृत्य पनि सिकाउने उनलाई शिक्षकहरु र साथीहरुबाट हौसला र प्रेरणा मिल्ने गरेको मध्यान्ह दैनिकसँगको कुराकानीमा बताइन् ।
नृत्यमा सफल हुँदै गएपछि परिवारले पनि खुसी भएर साथ र सहयोग गरेको उनले बताइन् । विसं २०७२ सालको भूकम्पपश्चात काठमाडौंमा प्रवेश गरेकी उनी अध्ययनसँगै व्यवसाय र औपचारिकरुपमा संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् । सांगीतिक क्षेत्रमा साथ सहयोग कमैको पाएको बताउने उनले एक्लै संघर्ष गरेर आजको दिनसम्म आउन सफल भएको बताइन् । आफूलाई कलाकार र ब्युटिसियन भन्न रुचाउने सानुले विभिन्न प्रकारका नृत्यको प्रशिक्षण दिँदै आएकी छिन् ।
सानुले दोस्रो ओएस नेपाल अवार्ड २०७५, दोस्रो सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड २०१९ कतार, जलजला नेसनल फिल्म एन्ड म्युजिक अवार्ड २०२३, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०८०, दोस्रो विशाल लुम्बिनी म्युजिक अवार्ड २०८०, तेस्रो हिमालय इन्टरनेशनल अवार्ड २०२३ प्राप्त गर्न सफल भएकी छिन् । उनले लिटिल क्युमार नेपाल–२०२३, डान्स आइकन दाङ सिजन २, गोवा सिङगिङ एण्ड डान्सिङ कम्पिटिसनमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
हालः राष्ट्रिय संगीतकर्मी संघकी केन्द्रीय सदस्य, रामेछाप कलाकार समाजकी उपाध्यक्ष, म्युजिक भिडियो कलाकार संघकी सदस्य, नेपाल सांस्कृतिक महासंघकी केन्द्रीय सदस्य, नेपाल सांस्कृतिक कलाकर्मी संघकी उपाध्यक्षसमेत भएर उनले संस्थागतरुपमा पनि आफ्नो छविलाई फराकिलो बनाएकी छिन् । आगामी दिनमा सांगीतिक क्षेत्रसँगै व्यवसाय र नृत्य केन्द्रलाई पनि निरन्तरता दिने योजना रहेको उनले बताइन् ।
काठमाडौं : युवा लेखक एवम् गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गइ’ सार्वजनिक भएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुति रहेको उक्त गीतमा वरिष्ठ देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त म्युजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारिक युट्युब च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्पmत सार्वजनिक गरिएको हो ।
‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो । रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्युजिक भिडियोमा ध्वनि मिश्रण जीवन बडु, अभिनयतर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा रहेका छन् । त्यसैगरी छायाँकनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् ।
‘नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारण छुट्टिन बाध्य भएका घटनाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, यो पूर्ण वियोगान्त देउडा गीत हो,’ फुलाराले भने ।
लेखक फुलाराले यसअघि आमामा समर्पित गीत ‘जुनसरी बिलाइ गयौँ’, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो’, ‘म मरे भने यो शहरको डेरामा’, एकल महिलाको पीडामा समर्पित ‘आँशु पिउँदै’, ‘भाग्यभित्र जीवन’ फिल्मी गीतहरुः ‘कर्कलाको पानी’, ‘पूरा भयो सपना मेरो’, ‘आहा भो आहा भो’, देउडा ठाडी भाका ‘न रयो घडेरी’ जस्ता गीतहरु दर्शक स्रोतामाझ ल्याइसकेका छन् । त्यसैगरी साहित्यिक क्षेत्रमा उनले ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘ओरपान हरस्कोप’ (अंग्रेजी संस्करण उपन्यास), ‘वासुदा’ (उपन्यास) र ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ आदि कृतिहरु पाठकमाझ पस्किसकेका छन् ।
काठमाडौं : चलचित्र ‘द्रौपदी’को छायाँकन सम्पन्न भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘द्रौपदी’को छायाँकन ४४ दिनमा सकिएको हो । यस चलचित्रको सम्पूर्ण छायाँकन कर्णाली प्रदेशमा गरिएको हो । डोल्पाको दुनैबाट शुरु भएको चलचित्रको छायाँकन जुफाल, मुड्केचुला, मधु हुँदै फोक्सुण्डोसम्म पुगेर सम्पन्न भएको हो ।
डोल्पाको दुनइ, कालिका मन्दिरमा मुहूर्त गरेर शुरु भएको चलचित्रको छायाँकन शुक्रबार ४४औं दिनमा डोल्पाको फोक्सुण्डो तालमा सम्पन्न भएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक आचार्यले जानकारी दिए । आचार्यले चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको बताए । करिब ४ वर्ष लगाएर स्कृप्ट लेखेको यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको आचार्यले बताए ।
चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
महेश्वर आचार्य र सुजाता तिमिल्सिना सहायक निर्देशक, विमला भुसाल निर्माण व्यवस्थापक रहेको यस चलचित्रमा रबि ओडको संगीत, विजय आचार्यको कला तथा मोहन कुमार झिल्लुको छायाँकन रहेको छ भने अनिल महर्जनको सम्पादन रहनेछ । ऋषिराज आचार्य, विष्णु ठडराई, प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको चलचित्रमा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन आचार्यकै रहेको छ ।
निर्देशक आचार्य चलचित्रको कन्टेन्ट नै बलियो भएकाले यो प्रकारको चलचित्र नेपाली दर्शकलाई मनपर्नेमा आफू विश्वस्त रहेको बताउँछन् । बौद्धिक निर्देशकका रुपमा परिचित निर्देशक आचार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र सेन्सर बोर्डका सदस्य पनि हुन् ।
कथाअनुसार चलचित्रमा भरपूर मिहिनेत गरिएको र यो चलचित्रबाट नेपाली चलचित्र बजारले आशलाग्दा नजनायक तथा नवनायिका पाउनेमासमेत निर्देशक आचार्य ढुक्क छन् । उनी भन्छन्, ‘हामीकहाँ कथाको कमी छैन । हाम्रो गाउँघर, पाखा पखेरा, परिवार, समाजभित्र धेरै कथाहरु छन् । यी हाम्रै अर्गानिक कथाहरू नै चलचित्र बनुन् भन्ने नेपालीहरुको चाहना हो । यस्ता विषयवस्तुहरुलाई चलचित्रमा समेट्न सके नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा फैलिन समय लाग्दैन ।’
काठमाडौं : राष्ट्रिय संगीतकर्मी संघको १८औं वार्षिक साधारण सभा तथा छैटौं केन्द्रीय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सोबारे जानकारी गराएको हो ।
संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन वैशाख २८ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिव खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ वैशाखमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।
संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भइरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यकामा थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजारभन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यबाहक अध्यक्ष कटुवालले जानकारी गराए । उनले भने, ‘संघका मतदान अधिकार भएका करिब १३ सय जना आजीवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साढे पाँच सय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’
यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यबाहक अध्यक्ष कटुवालले बताए । यो १८औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।
छैटौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मतरुपमा नयाँ कार्यसमिति ल्याउने आफूहरुको चाहना रहेको, तर लोकतान्त्रिक प्रक्रियाअन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफूहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।
संघको ३९ जनाको केन्द्रीय कार्यसमितिका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यबाहक अध्यक्ष कटुवालले कार्यक्रममा जानकारी गराए ।
संघका पूर्वअध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफूहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत् भएकोमा निकै खुसी लागेको बताए । यस्तै संघका सल्लाहकार तथा पत्रकार रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
काठमाडौं : भारती पिक्चर्स प्रा.लि.को प्रस्तुतिमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ कार्यक्रम सम्पन्न भएको छ ।भारतको चन्डिगढस्थित टागोर थियटर सेक्टर १८ बिमा अवार्ड कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक एवम् भारती पिक्चर्स प्रा.लि.का अध्यक्ष अमृत भारतीले जानकारी दिए ।
प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र नेपाली दूतावास भारतका संस्कृति विभाग प्रमुख गोकुल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५७ विधामा नेपालबाट गएका राष्ट्रिय कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
समाजसेवी तथा लोक गायक कृष्ण कँडेललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको थियो । दशकका गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसीलाई सम्मान गरिएको थियो भने मौलिक लोक गायकको रुपमा चर्चित लोक गायक राम कुमार नेपालीलाई सम्मान गरिएको थियो ।
पत्रकार सम्मान कमल चौलागाईंले हात पारे । चन्डिगढमै पहिलो पटक यति धेरै कलाकार र चार हजार दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई चर्चित कार्यक्रम सञ्चालक पिएन सापकोटा र संस्थाका सचिव करण खड्काले सञ्चालन गरेका थिए ।
काठमाडौं : १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले फिल्म ‘लेबर’को घोषणा गरेका छन् । पुर्णेन्दु प्रोडक्सन्स प्रा.लि. र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने फिल्म घोषणा गर्न आयोजित कार्यक्रममा जानकारी दिइयो ।
काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले यसले लेबर र सरकारबीचको कथा भन्ने बताए ।
‘हाम्रो देशबाट लेबरको काममा विदेशिन संख्या बढी छ । उनीहरूको आ–आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनुपर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौं,’ निर्देशक झाले भने । उनले फिल्मलाई मैथली भाषामा तयार गर्दैछन् । यद्यपि उनले नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गरिने जानकारी दिए ।
‘हामीले बाहिर त बजार बनायौं, तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन् । यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने ।
सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका हुन् ।
उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताएका छन् ।
फिल्मका कलाकार उत्पल झाले यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मलाई विषयप्रधान बनाउन थालेका छौं । यसमा मिथिलासँगै नेपालभरका दर्शकलाई हेर्ने कथा छ’, कलाकार झाले भने ।
कार्यक्रममा पूर्वराजदुत सूर्यनारायण मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति रहेको थियो ।
फिल्ममा प्रवेश मल्लिकको संगीत तथा पाश्र्वसंगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको छ ।
फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाका लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाका लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रविण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।
काठमाडौं : आमा र आमाप्रतिको माया समेटिएको गीत ‘आमा तिमीलाई’ सार्वजनिक भएको छ । गोविन्द नागिलाको शब्द सिर्जनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन् । गीतमा शान्तीश्री परियारको स्वर रहेको छ । गीतलाई नागिला नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
उक्त गीतको भिडियोमा शिल्पा पोखरेल, संगी अधिकारी पोखरेल, इन्दिरा भण्डारी नागिला तथा युशा भण्डारीको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा उत्सव दाहालको छायाँकन विष्णु खड्काको सम्पादन तथा सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।
काठमाडौं : निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौंमा निधन भएको छ ।
अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको उनका भतिज एवम् पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए ।
गीतसंगीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहेका थिए ।
वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसंगीत क्षेत्रमा उनी परिचित थिए । माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गरेका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहेको पत्रकार लोहनीले जानकारी दिए । लोहनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने परिवारले जनाइएको छ ।
काठमाडौं : सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्म ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४ ’ मा फिल्मले पुरस्कार जितेको छ । मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा अवार्ड लिन चलचित्रकी निर्मात्री साबित्री बज्राचार्य मुम्बई पुगेकी थिइन ।
बज्राचार्यले दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) का जुरी, आयोजकलाई धन्यवाद दिँदै प्राप्त भएको अवार्डको खुसी सामाजिक सञ्जालमार्फत शेयर सबैमाझ साटेकी छिन् ।
मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ ।
सामाजिक विषयमा बनेको फिल्म ‘बिच्छेद’ को निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा सन्तोस गिरी र प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको फिल्म मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ ।
फिल्मले गत हप्ता रामेछापमा सम्पन्न ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव - २०८०` अन्तर्गत चलचित्र सर्वोत्कृष्ट छायांकार र सर्वोत्कृष्ट चलचित्र जुरी अवार्ड दुई विधामा विजेता भएको थियो ।
तिलोत्तमा, रुपन्देही : रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा दोस्रो सांस्कृतिक मेला–२०८१ हुने भएको छ । दुर्गा मन्दिर टोल विकास संस्था तिलोत्तमा–१०, कान्छीबजारको आयोजनामा ‘कला, संस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान’ भन्ने नाराका साथ दोस्रो कान्छीबजार सांस्कृतिक मेलाको आयोजना हुने भएको हो । मेला यही वैशाख २० गतेदेखि आगामी जेठ २ गतेसम्म सञ्चालन हुने टोल विकास संस्थाले जनाएको छ ।
स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यअनुरुप कान्छीबजारमा दोस्रो पटक बृहत् सांस्कृतिक मेलाको आयोजना गरिएको टोल विकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । ‘कान्छीबजार यो क्षेत्रकै एउटा व्यापारिक केन्द्र हो । मेलामार्फत कान्छीबजारको प्रचार–प्रसार गर्ने र स्थानीय बजारको चहलपहल बढाउने हाम्रो मुख्य उद्देश्य हो, श्रेष्ठले भने ।’
मेलामा चर्चित लोकदोहोरी गायक बद्रि पँगेनी, लोकदोहोरी गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शान्तीश्री परियार, लोकगायक प्रकाश सपुत, गायक शिव परियार, प्रमोद खरेल, हेमन्त शर्मा ज्योति मगर, प्रिती आले, एलिना चौहान, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी, प्रिती पासवानलगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।
संस्थाका अनुसार मेलामा ४० भन्दा बढी विभिन्न खालका व्यवसायीक स्टल रहने छन् भने युवा तथा बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुलालगायतका मनोरञ्जनका सामग्रीसहित बाल उद्यान रहने बताइएको छ ।
गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको साँझ ५ बजेदेखि रातको ११ बजेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । अहिले मेला स्थलको व्यवस्थापन, स्टेज निर्माण, स्टल निर्माणलगायतका काम चलिरहेको र मेलाको व्यापक तयारी भइरहेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय स्तरमा आयोजित मेलाको अवलोकन गर्न र भरपूर मनोरञ्जन लिनका लागि संस्थाले नगर क्षेत्र वरपरका बासिन्दालाई विशेष आग्रहसमेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies