कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : दक्षिण कोरियाले नेपाललाई दिँदै आएको सहयोगलाई थप वृद्धि गर्दै लैजाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगमा आगामी दिनमा वृद्धि गर्दै जाने बताए ।
गणतन्त्र कोरियाले नेपाललाई विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा कोरियाले नेपाललाई गरेको सहयोग नमूनाको रुपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी पाएको बताएका छन् ।
हाल दक्षिण कोरियामा इपिएस प्रणाली अन्तर्गत ४३ हजार नौ सय ६३ नेपालीहरु विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएको बताए । कोरियामा जन्मदर न्यून भएकोकारण श्रमिकको खाँचो रहेकोे र सोको लागि नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि गर्दै जाने लक्ष्य रहेको राजदूत पार्कले बताए ।
दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाज लगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए। दक्षिण कोरियाले १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्दै आएको छ । जसमध्ये नेपाल पहिलो स्थानमा छ ।
सोही अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी कोइकाको नेपाल प्रमुख मोहन कोङले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएको सहयोगबारे जानकारी गराउँदै उनले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलता लगायतको क्षेत्रमा सहयोग गर्दै बताए ।
कोइकाले गरिबी निवारण, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ । कोइका अन्तर्गतको ‘के हामी’ परियोजनाका अधिकृत किम दोअले कोरियाबाट फर्केका नेपाली कामदारलाई नेपालमा स्वरोजगार बनाउन सञ्चालन गरिएको उद्यमशीलताको विषयमा जानकारी गराएका थिए । सन् १९९१ मा स्थापना भएको कोइकाले अहिले ४७ देशमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
शिव विक/मध्यान्ह
काठमाडौं : पशु र कृषि बाली धितो राखेर समेत ऋण लिन पाइने भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेका छन् ।
चल सम्पत्ति समेत धितो राख्न सक्ने गरी सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ ।
पारित विधेयक कानूनमा रुपान्तरित भएपछि पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन र खाद्यवस्तुका साथै उत्खनन्का लागि अनुमति लिइएका खनिज पदार्थ धितो राखेर समेत ऋण लिन सकिने छ ।
पहिलोपटक २०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो । उक्त ऐन प्रभावकारी कार्यान्वयन नभएको भन्दै सरकारले गत ४ चैत २०८० मा संशोधन विधेयक ल्याएको हो ।
अर्थ मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेको विधेयकमाथि विधायन व्यवस्थापन समितिले दफावार छलफल सकाएर पारित गरेको हो । विधायन व्यवस्थापन समितिबाट पारित विधेयक अब राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा जान्छ । प्रतिनिधिसभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुन्छ ।
विधेयक ऐनमा रुपान्तरित भएपछि घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन पाइनेछ । समिति बैठकमा अर्थमन्त्री वर्षमान पुनले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा नयाँ ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिन्छ ।’
अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खनन्का लागि अनुमतिप्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।
यो प्रावधान लागू भएपछि कृषकलाई राहत मिल्ने सरोकारवालाहरुको विश्वास छ । किसानले उत्पादन गर्दै गरेको बाली धितो राखेर ऋण पाउँछन् । जसले उनीहरुलाई सहज जीवन चलाउन र कृषिमा लगानी बढाउन समेत मद्दत पुग्नेछ । बिना धितो ऋण नपाउने अवस्थालाई समेत यसले कम गर्नेछ । साथै, व्यक्तिसँग चर्को मूल्यमा ऋण लिनुपर्ने किसानको बाध्यता समेत कम हुनेछ ।
उत्पादन गर्दै गरेको बाली वा पशु पालनलाई समेत धितो राखेर ऋण लिन पाउने व्यवस्था भएपछि स्वरोजगारमा लाग्ने युवाहरुको संख्यामा समेत बृद्धि हुने सरकारको विश्वास छ । लगानी नभएको भनेर रोकिएका वा अलमलिएका युवाहरुलाई समेत यसले लाभ दिने सरकारको विश्वास छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
काठमाडौं : सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचो अन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा ल्याएको छ । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले नयाँ टफी तड्का इमलीलाई ‘टेस्टको नयाँ ब्लास्ट’ नारा सहित बजारमा ल्याएको हो । तड्का इमलीको चट्किलो स्वादको साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण टफीमा पाइने कम्पनीले जनाएको छ । यस टफी ५ रुपैयाँको २ वटा पाइनेछ ।
नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । आँप र लिचीको स्वादमा उपलब्ध गराउँदै आएको टफी अब इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिनुको साथै टफिचो तड्का इमिली नेपाल भरिका खुद्रा पसलहरुमा पाइने कम्पनीले जनाएको छ । मिन्ट ओ फ्रेस तथा टफिचोका विभिन्न उत्पादन बजारमा ल्याएको सूर्य नेपालले टफिओ इमिली समेत नेपाली उपभोक्ताले मन पराउने जनाएको छ ।
काठमाडौं : समृद्धि फाइनान्सले महोत्तरीको औरहीस्थित पिस जोन विद्यालयमा अध्ययन विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । फाइनासन्सले बुधबार सो विद्यालयमा अध्ययनरत एक सय २५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।
फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई स्टेशनरी वितरण गरेको जनाएको छ । फाइनान्सले बनेपा र मधुवन शाखाबाट गत हप्ता समेत ७० जना विपन्न वर्गका विद्यार्थीलाई कापी र कलम वितरण गरेको थियो ।
काठमाडौं : सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरुलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । सो सहकार्य अन्तर्गत, भारतीय नागरिकहरुले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
सो सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लामा स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा समस्या उत्पन्न भएको छ । स्वास्थ्य चौकीमा बारम्बार पानी चाहिने भएपनि पानीको व्यवस्था नहुँदा गाउँको धारोबाट बाल्टिन र बोतलमा पानी ल्याएर खानेपानी आपूर्ति गरिँदै आएको स्वास्थ्य चौकीका कार्यालय सहयोगी कालू सिंहले बताए ।
सिमकोट गाउँपालिका वडा नं. ७ मा रहेको डाडाँफया स्वास्थ्य चौकीमा दैनिकजसो २० देखि ३० जना बिरामी आउने गर्दछन् । बिरामीलाई पिउने, सरसफाइ गर्ने पानीको अभाव हुने गरेको छ । दैनिक पटक–पटक गाउँको छेउमा रहेको सार्वजनिक धाराबाट पानी ल्याउँदै पानीको पूर्ति गरिँदै आएको कार्यालय सहयोगी सिंहले बताए ।
उनले गाउँको सार्वजनिक धारामा पानीको स्रोत कम हुँदै गएको, त्यसैमा धारो खाली नहुँदा पानी भर्न समस्या हुने गरेको र कहिले काँही धारोमा हुने महिलाबाट गाली खानुपर्ने अवस्था समेत रहेको कार्यालय सहयोगी सिंहले दुखेसो पोखे ।
स्वास्थ्य चौकीमा धारोको व्यवस्था गरिदिनु पर्यो भन्दा कसैले पनि वास्ता नगरेको र जसोतसो बोकेरै भएपनि पानीको व्यवस्था गरिँदै आइएको स्वास्थ्य चौकी इन्चार्ज सन्तोष बोहराले बताए ।
इन्चार्ज बोहराले स्वास्थ्य चौकीमा पानी अति आवश्यक हुने भएकाले पटक–पटक जनसमुदायलाई भन्दा पनि कसैले नसुनेको बताए । उक्त स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको पनि व्यवस्था छ । सुत्केरीको लागि सरसफाइ, लुगा धुनलाई पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।
दिनरात नभनी पानी बोकेरै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ । स्वास्थ्य चौकीमा शौंचालयको लागि पनि पानी बोकेरै ल्याउने गरिन्छ । जसले गर्दा धेरै समस्या उत्पन्न भएको स्वास्थ्य चौकीले जनाएको छ ।
काठमाडौं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मोरङको बिराटनगर स्थित न्यूरो कारडियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलले उपचारमा छुट दिने भएको छ ।
अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्तरंग तथा बहिरंग सेवामा ओपिडी टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग लगायतका सेवाहरुमा विशेष छुट दिने भएको हो ।
न्यूरो कारडियो एण्ड मल्टी स्पेसियालिटीका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक शाखा प्रमुख प्रशान्तकुमार झाले दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा हस्पिटलमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंकका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशत सम्मको छुट व्यवस्था गरेको छ ।
काठमाडौं : नबिल बैंकले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन अवसरमा सन्देशमूलक भिडियो निर्माण गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशसहित भिडियो निर्माण गरी बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको हो ।
विशेषगरी भिडियोमा सहर र जागिरमा रहेका महिला आमा बनेपछिको अवस्थालाई औंल्याइएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चाबच्ची र परिवारप्रतिको दायित्व भिडियोमा देखाइएको छ । आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि भिडियोमा देखाइएको छ ।
२ मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । भिडियोले देखाएकोे आमाको दैनिकी अधिकांश नेपालीको घरको कथासँग मेल खाने बैंकको भनाइ छ ।
काठमाडौं : एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।
ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजना गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।
बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो । साथै सोही कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ ।
साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा पहिलो पटक सहभागी भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो । बैंकले मैदान र मैदान बाहिर रहेर प्रगियोगिताभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै अगामी दिनमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies