ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लामा स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा समस्या उत्पन्न भएको छ । स्वास्थ्य चौकीमा बारम्बार पानी चाहिने भएपनि पानीको व्यवस्था नहुँदा गाउँको धारोबाट बाल्टिन र बोतलमा पानी ल्याएर खानेपानी आपूर्ति गरिँदै आएको स्वास्थ्य चौकीका कार्यालय सहयोगी कालू सिंहले बताए ।
सिमकोट गाउँपालिका वडा नं. ७ मा रहेको डाडाँफया स्वास्थ्य चौकीमा दैनिकजसो २० देखि ३० जना बिरामी आउने गर्दछन् । बिरामीलाई पिउने, सरसफाइ गर्ने पानीको अभाव हुने गरेको छ । दैनिक पटक–पटक गाउँको छेउमा रहेको सार्वजनिक धाराबाट पानी ल्याउँदै पानीको पूर्ति गरिँदै आएको कार्यालय सहयोगी सिंहले बताए ।
उनले गाउँको सार्वजनिक धारामा पानीको स्रोत कम हुँदै गएको, त्यसैमा धारो खाली नहुँदा पानी भर्न समस्या हुने गरेको र कहिले काँही धारोमा हुने महिलाबाट गाली खानुपर्ने अवस्था समेत रहेको कार्यालय सहयोगी सिंहले दुखेसो पोखे ।
स्वास्थ्य चौकीमा धारोको व्यवस्था गरिदिनु पर्यो भन्दा कसैले पनि वास्ता नगरेको र जसोतसो बोकेरै भएपनि पानीको व्यवस्था गरिँदै आइएको स्वास्थ्य चौकी इन्चार्ज सन्तोष बोहराले बताए ।
इन्चार्ज बोहराले स्वास्थ्य चौकीमा पानी अति आवश्यक हुने भएकाले पटक–पटक जनसमुदायलाई भन्दा पनि कसैले नसुनेको बताए । उक्त स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको पनि व्यवस्था छ । सुत्केरीको लागि सरसफाइ, लुगा धुनलाई पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।
दिनरात नभनी पानी बोकेरै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ । स्वास्थ्य चौकीमा शौंचालयको लागि पनि पानी बोकेरै ल्याउने गरिन्छ । जसले गर्दा धेरै समस्या उत्पन्न भएको स्वास्थ्य चौकीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies