–मोहम्मद जाकिर हुसैन
अवधकी रानी बेगम हजरत महल (मुहम्मदी खानम) भारतले औपचारिक घोषणा नगरेको राष्ट्रिय विभूति हुन् । सन् १८५७ मा मेरठमा मङ्गल पाण्डेले शुर फुकेको सिपाही विद्रोहसँगै इस्ट इन्डिया कम्पनी सरकारले अवधका नवाब वाजिद अली शाहलाई बन्दी बनाई अवधमाथि आधिपत्य जमाएपछि बेगम हजरत महलले अवधको सिपाही विद्रोहको नेतृत्व गर्दै अङ्ग्रेज फौजसँग लडिन् । सुरुमा लखनउलाई स्वतन्त्र गर्न सफल भइन् र छोरा बिरजिस कद्रलाई गद्दीमा बसाएर विद्रोहलाई अगाडि बढाउँदै लडिरहिन् । विद्रोहमा नेपालबाट जङ्गबहादुर राणाको फौज अङ्ग्रेजलाई सहायता गर्न लखनउ पुगेको थियो । गोरखाली फौजको सहयोगमा सिपाही विद्रोह दबाउन अङ्ग्रेज सफल भयो र अन्ततः बेगम हजरत महललाई पराजयको स्वाद चाख्नै पर्यो । बेगम लखनउबाट समर्थकहरूका साथ भागेर बहराइच आई संघर्ष जारी राखिन्; अझ हिम्मत हारिनन् । बहराइचबाट अङ्ग्रेजी फौजले बेगमको फौजलाई लखेटेर नेपालको दक्षिणी सिमानासम्म पुर्यायो । बुटवल, दाङ–देउखुरीका इलाकाहरूबाट बेगम हजरत महलका समर्थकहरू नेपालको जङ्गल र बस्तीहरूमा आएर लुके । जङ्गबहादुरको अनुमतिले अङ्ग्रेज फौजले बुटवलको जंगलसम्म आई बेगमलाई दुःख दियो । दोहोरो भिडन्तमा बेगमका धेरै समर्थक मारिए; कतिपय तितरबितर भई ज्यान जोगाउँदै भागे; कतिपयलाई समातेर भारत लगेर कैद गरे र कतिपयलाई मारियो । पछि जङ्गबहादुरको फौज पनि त्यस जङ्गलमा पुगेर बेगमको फौजमाथि आक्रमण गर्दा दोहोरो भिडन्त भयो । भनिन्छ ३० देखि ३५ हजार बेगमका समर्थक त्यस जङ्गलमा थिए ।
बेगम त्यस जंगलको सुखौरा भन्ने ठाउँमा गढ बनाएर सबै बन्दोबस्तीसाथ बसेकी थिइन् । उनले सम्भवतः त्यहीँबाट शक्ति आर्जन गरी अङ्ग्रेजसँग लड्ने योजनासमेत बनाएकी थिइन् । उनी महत्वकांक्षी वीराँगना योद्धा थिइन् । सुखौरा गढमाथि पटक–पटकको फौजी आक्रमणले गर्दा धेरै मानिसहरू यत्रतत्र भागे; कोही तराईका विभिन्न बस्तीहरूमा गएर लुके र त्यहीँका बासिन्दा भए; कोही ज्यान जोगाउन सकिएला भनेर पहाडतिर उक्ले, उतै बसे । भनिन्छ उनीहरूमध्ये कतिपय त हिमाली इलाकाबाट तिब्बत पनि छिरे ।
जङ्गबहादुरको फौजले बुटवलको जङ्गलभित्र बेगमले निर्माण गरेको सुखौरा गढमाथि गरेको आक्रमण र ब्रिटिस–भारतीय दबाबले बेगमसँग आत्मसमर्पण गरी शरण माग्नुको विकल्प बाँकी रहेन । जङ्गबहादुरले खरखजाना, जवाहारातको लोभमा उनलाई काठमाडौंको थापाथली दरबारस्थित बरफ बागमा शरण दिए । तर, यथार्थमा त्यो शरण थिएन । बेगम हजरत महल, नाना साहेब, बिरजिस कद्र, मुन्सी मुहम्मद हुसेन, काशी बाईलगायत एउटा ठूलो समूहलाई बन्दी बनाई काठमाडौं ल्याइपुर्याइएको थियो । अङ्ग्रेजसँगको राम्रो सम्बन्ध बिग्रन नदिन जङ्गबहादुर राणाले उनीहरूलाई काठमाडौं उपत्यकाबाट बाहिर जान नदिने सर्तमा अङ्ग्रेजलाई सुपुर्द नगरेको सहजै अनुमान गर्न सकिन्छ ।
‘जङ्गबहादुरले शरणमा आएकालाई मरण नदिएको’ इतिहासको विवरण आफैँमा हास्यास्पद छ । शरण दिएको भए जागिर–भत्ता दिएर राजकीय सम्मानसाथ राखिनु पर्थ्यो । बेगम हजरत महलको जीवनका अन्तिम दिनहरू निकै कष्टमय अवस्थामा बितेको थियो । साथमा ल्याएका अमूल्य जवाहरात र गरगहना सस्तोमा बेच्दै जीवन धानेकी थिइन् उनले । खरिद गर्ने जङ्गबहादुर र उनका भारदार नै थिए ।
जङ्गबहादुरमा अङ्ग्रेजविरुद्ध गई यी विद्रोहीहरूलाई सुपुर्द नगर्ने हुती थिएन । जङ्गबहादुर अङ्ग्रेजका खास मान्छे थिए । अङ्ग्रेजलाई खुसी पार्न नै सिपाही विद्रोह दबाउन उनले फौज सहयोग गर्ने प्रस्ताव पठाएका थिए । युद्धमा सहयोग गरेबापत अङ्ग्रेजबाट उनले निकै दक्षिणा र सम्मान पनि पाएका थिए । तर, नकारात्मकभित्र सकारात्मकको उत्खनन तथा पहिचान पनि हुनुपर्छ । कुटनीतिकरूपबाट विश्लेषण गर्ने हो भने जङ्गबहादुर राणाको अङ्ग्रेज चाकरीले गर्दा नै बाँकेदेखि कञ्चनपुरसम्मको भूभाग नेपालले अङ्ग्रेजबाट उपहारस्वरूप फिर्ता पाएको थियो जसलाई आज पनि ‘नयाँ नेपाल’ भन्ने गरिन्छ । जे–जस्तो अवस्था र परिवेशमा भए पनि बेगम हजरत महलले काठमाडौंमा बस्ने अवसर प्राप्त गरिन् । जङ्गबहादुर राणाले उनीहरूबाट बहुमूल्य जवाहरातहरू हात पारे । ग्वालियरका पेशवा नाना साहेबको श्रीपेचसमेत उनकै भयो । तर, बेगम हजरत महल, बिरजिस कद्र, नाना साहेब, मुन्शी मोहम्मद हुसेन, काशी बाई कसैको बसाइ काठमाडौंमा सुखद रहेन । नाना साहेब भेष बदलेर कहिले कता कहिले कता हिँडिरहे । काशी बाईलाई जङ्गबहादुरले कोठरीमा पुर्याए । धेरै सुन्दर महिलाहरू सिकार भए ।
बेगम हजरत महल र उनका पुत्र तथा अवधका अन्तिम नवाब बिरजिस कर्दलगायत ठूलो संख्यामा भारतको प्रथम स्वतन्त्रता सङ्ग्रामका सिपाही र योद्धाहरू काठमाडौंमा बन्दी जीवन बताउन बाध्य थिए । अरू कुनै उपाय पनि थिएन उनीहरूसँग । काठमाडौंमा बन्दीको रूपमा शरणमा रहेको यस समूहमा अन्तिम मुगल बादशाह बहादुर शाह जफरका एकजना भारदार पनि थिए । नवाब शेख वाजिद अली शाहका कैयौँ नातेदार र भारदारहरू यस समूहमा थिए । यिनमा कतिपय उच्च कोटीका उर्दू र फारसीका शायरहरू पनि थिए । त्यस बखत काठमाडौंमा हुने उर्दू र फारसीका मुशायराहरूमा प्रस्तुत गजलहरूलाई ख्वाजा नईमुद्दीन बदख्शी भन्ने शायरले संकलन गरी आफ्नो डायरीमा किताब (छाप्ने शैलीमा हुने हस्तलेखन) गरेर राखे । प्रा. डा. अब्दुर रऊफ कौसरको नेतृत्वमा भएको ‘नेपालमा उर्दू शायरी’ विषयक शोधमा नेपालगन्जका उर्दू शायर आदिल सरवर र यो पङ्क्तिकार अनुसन्धाता सहयोगीको रूपमा काम गरेका थियौँ ।
२०५७ मा त्रिविको उर्दू चेयरले यो पुस्तक प्रकाशित गरेको थियो । ती मुशायराहरूमा नवाब बिरजिस कद्रका पनि गजलहरू समावेश भएका छन् । त्यस शोधमा बदख्शीको पाण्डुलिपिबाट त्यस कालका केही शायरहरूका गजलहरूलाई समेटिएका छन् । ती शायरहरू हुन्– बिरजिस कद्र, ख्वाजा नईमुद्दीन बदख्शी, नशरुल्लाह कश्मिरी ‘हरीफ’, गुलाम मुहम्मद खानकाही, मियाँ महीउद्दीन, अहमद पहलवान, बदर, मुन्शी मोहम्मद हुसेन, मुन्शी बहादुर सिंह ‘अहकर’ र भोलानाथ फलक । योे डायरी काठमाडौंका वरिष्ठ उर्दू शायर ख्वाजा मोअज्जम शाह रजा नियाजीसँग सुरक्षित छ । उनले पुस्तैनी यसको संरक्षण गरेका छन् । उनीसँग यस्तै अरू पनि डायरी उपलब्ध छन् जसले बेगम हजरत महललगायतको इतिहास खोतल्न सहज बनाउन सक्दछ ।
बेगम हजरत महल सन् १८५९ तिर तीन सय बढी मानिसहरूको क्याराभानसाथ काठमाडौं उपत्यका आउँछिन् । जङ्गबहादुर राणा बस्ने दरबार नजिकै उनलाई बरफ बागमा राखिन्छ । किशोर छोरा नवाब बिरजिस कर्दलगायत उनका साथ आउनेहरू काठमाडौंमा के–कसरी जीवन व्यतीत गरे, त्यसको अन्वेषण हुन अझ बाँकी नै छ ।
बिरजिस कद्र र उनका साथ रहेका उर्दू, फारसीका शायरहरूले नेपाली समाजमा उर्दू र फारसी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । उनीहरूले नेपालमा मुस्लिम सभ्यताको विकासमा नै अतुलनीय योगदान गरेको देखिन्छ । घण्टाघरमा उनीहरूले एउटा एमामबरा पनि बनाएका थिए । एमामबरामा मुस्लिमहरूको जमघट हुनेगर्थ्यो र मुस्लिमहरूले दैनिक पाँच समयको सलात (नमाज) पनि अदा गर्थे । यस एमामबराको वर्णन कमलमणि दीक्षितले पनि एक लेखमा गरेका थिए ।
बेगम हजरत महलको नेपाली जामे मस्जिद परिसरमा रहेको ऐतिहासिक मकबरा, बुटवलको जंगलभित्र सुखौरा नामक स्थानमा बेगमले निर्माण गरेको गढ जसको उत्खनन हुन बाँकी छ, जङ्गबहादुर राणाले जफत गरेको नौलखा हार, अन्य बहुमूल्य हार र जबाहरात, घण्टाघरको एमामबरा, बदख्शीको डायरी आदिको अध्ययन, अनुसन्धान र उत्खनन गर्न सकियो भने यसले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने आधार छ । नेपाल–भारतको अटुट सम्बन्धको दृष्टिकोणले पनि बेगम हजरत महलको गौरवमय इतिहासको उत्खननमा नेपालले नै चासो देखाउन सके, यो हाम्रो सम्पत्ति बन्न सक्छ । हिजो तिब्बत–चीनले हाम्रो भृकुटीको अन्वेषण र सम्मान गर्यो जबकि भृकुटी त हाम्रो थियो । बेगम हजरत महलको अपनत्व नेपालले लिनुपर्छ ।
बेगम हजरत महलले ७ अप्रिल, १८७९ मा यस संसारलाई छोडिन् । घण्टाघरस्थित तत्कालीन नेपाली जामे मस्जिदको परिसरमा उनलाई दफन गरियो । उनको मकबरा (चिहान) आज पनि सुरक्षित छ । नेपालमा रञ्जित रे राजदूत हुँदा प्रत्येक वर्ष उनको मकबरामा पुष्प गुच्छा चढाएर उनको स्मरण गर्दै सम्मान गर्ने परिपाटी सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारी र यो पङ्क्तिकार राजदूत रेका साथ पहिलो पटक बेगम हजरत महलको स्मरण दिवस मनाउन मकबरा पुगेका थिए । यसलाई सकारात्मक पहलको रूपमा लिनुपर्छ । भारत सरकारले बेगमको सम्मानमा लखनउको विक्टोरिया पार्कको नाम बदलेर बेगम हजरत महल पार्क बनायो र उनको स्मरणमा डाक टिकट जारी गर्यो । आमाको मृत्युपछि छोरा बिरजिस कद्र महारानी भिक्टोरियाले क्षमा दिएपछि कलकत्ता गए । तर, त्यहाँ उनीसमेत धेरैलाई विष खुवाएर मारियो ।
जसरी भारतको पहिलो स्वतन्त्रता सङ्ग्रामको हिरोको रूपमा इतिहासमा छाएकी छिन् बेगम हजरत महल, नेपालको इतिहासमा पनि उत्तिकै महत्वपूर्ण छिन् उनी । अझ नेपाली मुस्लिम समुदायको इतिहासमा उनको गाथा स्वर्णिम अक्षरले लेखिन्छ । उनको जीवनी, उनले बुटवलको जंगलभित्र सुखौरामा निर्माण गरेको गढ, घण्टाघरमा स्थापना गरेको एमाबरा, बदख्शीको डायरी, उनको ऐतिहासिक तथा पुरातात्त्विक मकबरा र सिपाही विद्रोहपछि काठमाडौं छिरेका मुस्लिम समुदाय जसलाई हिन्दुस्तानी मुसलमानको पहिचान पनि प्राप्त भयो; जस्ता ऐतिहासिक तत्वहरूले थप गहिरो अनुसन्धान चाहेका छन् ।
(लेखक हुसैन, पूर्वमन्त्री हुन् ।)
–श्याम रिमाल
राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज÷ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ । तथापि, इतिहास लेखन तथा अध्ययन अध्यापनका दौरान ती दुईलाई बाबुछोरीकै रूपमा मानिन्छ र दुवै नेपालका राष्ट्रिय विभूतिमा पनि दरिएका छन् ।
‘भृकुटी’ हाम्रा काव्य, निबन्ध, नाटक आदिमा आइरहने नाम हो । ‘भृकुटी’ आख्यानमा कम आएकी छन्, जसको पूर्ति पूर्वप्रशासक गोविन्दप्रसाद कुसुमले उपन्यासमार्फत गरेका छन् । राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् ।
नेपालको स्वर्णकाल मानिएको लिच्छविकालकी नेपालकी राजकुमारी ‘भृकुटी’ नेपालको अस्तित्व जोगाउन र बौद्धधर्मको प्रचारप्रसार गर्न दिएको योगदानका कारण नेपाली इतिहास, धर्मसंस्कृति, दर्शन, शिल्प एवं वास्तुकला तथा साहित्यमा सधैं स्मरणीय छन् । उनीमाथि लिखित समीक्ष्य उपन्यासले पनि सोही तथ्यलाई इतिहास, काल्पनिक घटना विवरण, जनश्रुति, कथा र संवादमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
इतिहासमा अंशुवर्माले हाँडीगाउँ, विशालनगर क्षेत्र (देवपत्तन ?) स्थित कैलाशकूट दरबारबाट शासन चलाएको उल्लेख भए पनि कृतिमा पाटनबाट देखाइएको छ जसबाट पाठक सुरुमै अलमलमा पर्न सक्छन् । देवपत्तन सहर जीर्ण बनेपछि पाटन सरेको देखाइएको छ । जनताको अभिमतानुसार उनकै कल्याणमा समर्पित राजा अंशुवर्मा तिरहुत, सिम्रौनगढ आदि ससाना राज्यबाट हुन सक्ने विरोधप्रति पनि सचेत थिए । त्यसैले व्यापार व्यवसाय बढाउन र एकार्काप्रति उत्तर र दक्षिण राज्यबाट आक्रमण भएमा रोक्नका सहयोग गर्ने उपाय खोजिरहेका थिए ।
दक्षिण मगध र उत्तर तिब्बत राज्यसँग सम्बन्ध बढाउने उपायका सिलसिलामा उनले छोरी भृकुटीको विवाह तिब्बती सम्राट् स्रङ चङ गम्पोसँग विवाह गराइदिए । सम्राट्ले सपनामा देखेका भनिएकी राजकुमारी भृकुटीलाई माग्न आफ्ना दुई मन्त्री र सहयोगी पठाइदिएको र तिनैका साथमा बौद्ध गुरु पद्मसम्भवलगायत आवश्यक मानिस हात्ती–घोडामा चढाएर पठाइएको थियो ।
बौद्ध धर्मसंस्कृति र राजपाट सञ्चालन तथा संस्कृत र पाली भाषाको जानकार मानिएकी भृकुटीले चन्दनका काठ, कस्तुरी, नेपाली हस्तकलाका सामान, हिरा, भोजपत्र, घरबुनुवा कपडाका अतिरिक्त सुन र पित्तलले बनाइएका बुद्ध तथा ध्यानी बुद्ध र ताराका मूर्ति पनि तिब्बत लगेकी थिइन् ।
यसले नेपाली संस्कृति चिनाउन र दुई देशबिच व्यापार प्रवद्र्धनमा सहयोग गरेको थियो । उनकै कारणबाट बाह्य आक्रमणको सम्भावित खतरा ट¥यो र नेपालको राष्ट्रिय सार्वभौमिकता जस्तो संवेदनशील विषय अक्षुण्ण रहन गयो । आफ्नो बुद्धि, ज्ञान र विवेकबाट उनले असभ्य मानिएको तिब्बती समाजमा सुधार र मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकेकी थिइन् भने सातौँ शताब्दीमा नेपालमा प्रचलित संस्कृत र पाली भाषाको प्रशिक्षण पनि गराएकी थिइन् ।
राष्ट्रिय विभूति भनेर मानिएकी भृकुटीको खास योगदान र नेपाली खासगरी अझ महिलाहरूमा उत्प्रेरणा जगाएकी उनको योगदान उजागर गरिएको प्रस्तुत कृति नेपाली भाषा, धर्म, संस्कृति तथा आदर्श नारीको अध्ययन अनुसन्धानका लागि उपयोगी देखिएको छ ।
साङ्ग्रिला मिडिया ग्रुप प्रालि (साङ्ग्रिला बुक्स)द्वारा प्रकाशित कृतिमा शासकले जनतालाई गर्ने माया, अनुशासन, दण्डसजाय, जनजीवन, रहनसहन, नेपाली नारीहरुको अवस्था, खेतीपाती, वास्तु र शिल्पकला तथा सती प्रथाका अनेक प्रसङ्ग छन् ।
“यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति आफ्नो कर्तव्य पालनामा उनले देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ । भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र मात्र कैद गरेर राखिएको छ । यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कञ्जुस्याइँ गर्नु हो । त्यसबेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन् । यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ”, उपन्यासकारले ‘मेरा कुरा’ मा कृति लेख्नाको तात्पर्य स्पष्ट गरेका छन् ।
कृतिमा राजा वा शासकमा हुनुपर्ने स्वभाव र कर्तव्य उल्लेख गरेर लेखकले आधुनिक राजनीतिज्ञ वा शासकलाई पनि शिक्षा दिन खोजेका छन् । “विद्वानहरू भनेका राजा–महाराजाभन्दा उच्चकोटिका व्यक्ति हुन् । जुन राजाले विद्वान्हरूको कदर गर्छ, जुन शासकले राजपाट चलाउने सवालमा विद्वान्हरूको सल्लाह लिएर निर्णय गर्छ, त्यो शासक सफल शासक हो । त्यो राजा असल राजा हो”, भृकुटीले राजालाई बताएको यो कुरा नेपालका वा जुनसुकै देशका कार्यकारी प्रमुखका हकमा पनि ग्रहणयोग्य छ ।
सातौँ शताब्दीको वरपरको नेपाल, तिब्बत र मगध राज्यका पालाको समय भए पनि कृतिमा रहेका संवादहरू आधुनिक भाषामै लेखिएकाले पाठकलाई निकै अप्ठ्यारो महसुस हुन्छ । त्यतिबेला नेपालमा पाली र संस्कृत भएका प्रचलन भएकाले सोही भाषा कृतिमा प्रस्तुत गर्न नसकिएका लेखकले स्पष्टीकरण दिएकाले यसबारे धेरै भन्नु परेन । ऐतिहासिक उपन्यास भए पनि कृतिलाई रोचक बनाउन लेखकले निकै काल्पनिक कुराहरू प्रसङ्गका क्रममा ल्याएका छन् । त्यसले पाठकलाई एक छिन मनोरञ्जन त देला तर ऐतिहासिक तथ्य सम्बद्र्धनमा केही काम लाग्दैन ।
कतिपय घटना, रतिरागात्मक प्रसङ्ग, भृकुटीको विवाहका भोजका क्रममा रक्सी खाएर घरसम्म जान नसकेको एक नागरिकको अवस्था आदि अनावश्यक विषयले कृतिको मोटाइ बढ्न गएको छ । कुनै कुनै शब्दचयन जस्तो ‘सैनिक’ हुनुपर्नेमा ‘सेना’ (पूरै बल), ‘छ्याकटे जुँगा’, ‘अभीर’ नै गल्ती छ भने वर्णविन्यास र वाक्य संरचनामा थुप्रै अशुद्धि भेटिन्छ । ‘भृकुटी’ नामको अर्थ र उनले सम्बोधन गरिने ‘हरित तारा’ को पनि अर्थ भेटिन्न । तथापि एउटा राष्ट्रिय विभूतिलाई भीमकाय कृतिमा ल्याएर लेखकले इतिहासमा अलपत्र परिरहेका अन्य राष्ट्रिय व्यक्तित्वहरूबारे पनि खोजीनिधी गर्न भने अनुसन्धाताहरूलाई पनि प्रेरणा भने मिल्ने छ ।
–राजन केसी
देश पनि उही
जन्म पनि उही
राज्यको संरचनामा फरक ।।
मानिस उही
समाज उही
संस्कृतिमा फरक–फरक ।।
कान पनि उही
नाक पनि उही
साहुका ध्वनीमा फरक ।।
मुख पनि उ उही
जिब्रो नी उही
खानाको स्वादमा फरक ।।
खुट्टा नी उही
घुँडा नि उही
हिँड्ने साधनमा फरक ।।
कलेजो उही
मुटु पनि उही
मन र चित्तमा फरक ।।
धर्ती पनि उही
आकाश पनि उही
शासनमा फरक ।।
सास पनि उही
आस पनि उही
गरिबको बासमा फरक ।।
रगत उही
जवानी पनि उही
जात व्यवस्थाको ठूलो र सानो फरक ।।
घाट पनि उही
जल्ने चिता उही
बाँचुन्जेल धनी र गरिबको चिन्तनमा फरक ।।
राज्य उही
पुर्खाको भूगोल पनि उही
राष्ट्र राज्यको पहिचानमा फरक ।।
श्रम उही
पौरख पनि उही
श्रमको ज्यालामा धेरै फरक ।।
– अनन्तप्रसाद घिमिरे
धमिराले काठ खाए
धमिराले अन्न खाए
धमिराले वस्त्र खाए
आखिर धमिराले सबथोक खाए ।।
धमिरा कालो भए पनि
धमिरा सेतो भए पनि
धमिरा छ्यासमिसे भए पनि
आखिर धमिराले सबथोक खाए ।।
घरको भित्तामा धमिरा
खेतको गह्रामा धमिरा
किताब राख्ने दराजमा धमिरा
आखिर धमिराले सबथोक खाए ।।
केन्द्रको भव्य महलमा धमिरा
प्रदेशको चौतारोमा धमिरा
गाउँको कटेरोमा धमिरा
आखिर धमिराले सबथोक खाए ।।
देख्दा मायालु छ धमिरा
हेर्दा दयालु छ धमिरा
लुसुक्क, भुसुक्क, मुसुक्क
आखिर धमिराले सबथोक खाए ।।
काठमाडौं : शिवपुरी सन्देशको ३०औं र शिवपुरी साहित्य समाजको १६औं वार्षिकोत्सवको अवसरमा 'गुन्द्रुक, मकै, भटमास' कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्रष्टा सम्मान तथा शिवपुरी सन्देशको १०३औं पूर्णांकको लोकार्पण पनि गरिएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिनुका साथै रचना वाचन पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मासहित विष्णुबहादुर सिंहलगायतले शिवपुरी सन्देशको १०३औं पूर्णांक विमोचन गरेका थिए ।
सो अवसरमा शिवपुरी सन्देशका विशिष्ट सदस्यहरू रामप्रसाद पन्त, पवन आलोक, नवराज पुडासैनी ज्योत्सना, बुद्धिराज पाण्डे, तुल्सीराम पुडासैनीलगायतलाई विशिष्ट सदस्यको प्रमाणपत्र र सम्मानित स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ र किरण पन्थीलाई सम्मानपत्र र नगदले सम्मान गरिएको समाजले जानकारी दिएको छ ।
कार्यक्रममा वाचन गरिएको ३६ वटा रचनाबाट प्रा.डा गोविन्दमान सिंह कार्कीको एकल निर्णायकबाट छनोट पार्वती अधिकारीको कविता उत्कृष्ट घोषणा भएपछि वियोगी बुढाथोकीले अधिकारीलाई एक हजार नगद र शिवपुरी सन्देश प्रदान गरेका थिए ।
वियोगी बुढाथोकीको स्वागत, शंकर भारतीको धन्यवाद तथा नगेन्द्रराज शर्मा र विष्णुबहादुर सिंहको मन्तव्य रहेको कार्यक्रममा रामेश्वर के. सी, रोमा लम्साल, वासुदेव ठकुरी, आंचलकुमार शर्मा, रामबहादुर पहाडी, सरस्वती अर्याल, रूद्र अधिकारी, विष्णु थापा, गंगा खड्का, मन्जु अधिकारी, मुकुन्द शर्मा चालिसे, माया देवी शर्मा, अमर अधिकारी, प्रमोद नेपाल, अरूण खत्री, कमला देवकोटा, रचना अधिकारी, केशवप्रसाद रूपाखेती, राजु शर्मा, प्रमिला ज्ञवाली, प्रशंसा के . सी, मनु शर्मा, उमेश पाण्डे, मायादेवी वस्नेत थापा, विकल त्यागी, पार्वती अधिकारी, मोहन के . सी, होमशंकर बांस्तोला, नारायण भण्डारी, अनुराधा शर्मा, रामराजा महर्जन, राजेन्द्र के. सी, एन. वी जनकपुरी, विजन बज्राचार्य, ममता कार्की, रीता खत्री, युवराज नयांघरे, बद्री उप्रेती र गोपीकृष्ण थापाको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा विक्रमभक्त जोशी, राजु अधिकारी, उत्तम विचार, शम्भुप्रसाद गजुरेल, नम्रता उप्रेती, विजयध्वज थापा, नवराज पुडासैनी, बुध्दिराज पाण्डे, रूपक वनवासी, दीपक लोहनी, तुल्सीराम पुडासैनी, इश्वर दवाडी, महेशप्रसाद पाण्डे, डा. चेत परियार, लव खड्का, रन्जुश्री पराजुली, रूपा रिसाल चालिसे, शंकर भारती, पवन आलोक, रामप्रसाद पन्त, सुभाषचन्द्र पौडेल, जीत कार्की, विसु के. सी, सुदर्शन आचार्य, केशवराज पाठक, वसन्त गौतम, शितल लामा, गुप्तबहादुर श्रेष्ठ, तारादेवी श्रेष्ठ, अच्युत घिमिरे, अर्सु घिमिरे, उमेश पान्डे, पौडेल वीमुन्स, गोकर्ण अर्याल, सुरेश भट्ट, निर्मल अर्याल, ज्ञानेन्द्र क्षेत्री, प्रकाश घायल, चेतनपथ माधव, प्रज्ज्वल अधिकारी, कात्यायान, कुमारबहादुर केसीलगायत एक सय तीन जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गीतकार हरिकृष्ण धिताल र कवि प्रज्ज्वल अधिकारीले गरेका थिए । कार्यक्रम सफल पार्न खटिएका सम्पूर्णलाई समाजले धन्यवाद ज्ञापन गरेको छ ।
–अच्युतप्रसाद पौडेल चिन्तन
पटक–पटक तीर्थाटन गर्ने क्रममा पंक्तिकार हालै प्यूठानको स्वर्गद्वारी पुगेको थियो । बाटो त्यति सहज त थिएन तर, नेपालका तीर्थ र धाम धेरै छन्, पुग्नै पर्ने खालका । जलको महत्वमा तीर्थ हुन्छ भने स्थलको महत्व धाम हुन्छ, यस अर्थमा स्वर्गद्वारी एक धाम हो, जहाँबाट पाण्डवहरू स्वर्गारोहण गरेका थिए । अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति । तीर्थक्षेत्र कृतं पापं बज्रलेपो भविष्यति, यसको अर्थ हुन्छ, अन्य क्षेत्रमा गरिएको पाप तीर्थक्षेत्रमा गएर धुन सकिन्छ, तीर्थक्षेत्रमा गरिएको पाप बज्र समान हुन्छ र धुन सकिन्न । भागवतको विश्राम श्लोकले ‘नाम संकिर्तनं यस्य सर्व पाप प्रणाशनम् प्रणामो दुःख शमनं तं नमामि हरिं परम्’ भनेको छ । भागवतको आद्य श्लोक भनेको ‘सच्चिदानन्दरुपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः’ हो । अर्थात् सृष्टि, स्थिति र संहारका प्रतीक, मानिसका तीन किसिमका ताप आध्यात्मिक, आदिदैविक र आधिभौतिक ताप शमन गर्ने श्रीकृष्णलाई नमन र भगवत् नामले जीवका सबै पापहरू नाश हुन्छन् भन्ने यी बाक्यहरूको मर्म हो । त्यसैले महाकविले आर्यघाटमा अन्तिम विश्राम लिँदा भनेः ‘आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक’ । पाइलैपिच्छे देशमा तीर्थ र धामहरू छन् देश भने धर्म निरपेक्ष भएको छ, सुनको थाल लिएर भिक्षा मागिरहेको छ । मोदीले वसन्त पन्चमीको अवसर पारेर मुस्लिम देश युएइमा हिन्दु मन्रिको उद्घाटन गरेपछि अहिले त्यहाँ घुम्न जाने पर्यटकको संख्या दैनिक सात लाख छ । हाम्रो पर्यटनलाई के भन्ने यतिबेला ।
जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिन्न, त्यसैले स्कन्द पुराणले भनेको छ ‘सत्यतीर्थं क्षमा तीर्थं तीर्थमिन्द्रियनिग्रहः सर्वभूत दया तीर्थं तीर्थंच प्रियवादिता, ज्ञान तीथं तपस्तीर्थं कथितं तीर्थ सप्तकम्’ । अर्थात् मानिसको विधि व्यवहार सत्यवादिता, अरुप्रतिको क्षमाभाव, आफ्ना इन्द्रियहरूलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मिठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी सात प्रकारका तीर्थ सेवन जरुरी छ । महाभारतमा भगवन् श्रीकृष्ण युधिष्ठिरलाई भन्नु हुन्छ ‘आत्मा नदी संयमपुण्यतीर्थाः सत्योदकाः शीलतटा दयोर्भिः तत्रावगाहं कुरु पाण्डुपुत्र न वारिणा शुद्ध्यति चान्तरात्मा’ । अर्थात् आत्मा नदी हो, संयम तीर्थ हो, सत्य जल हो, दया नदीका किनारा हुन्, पानीले मात्र शुद्ध हुने होइन । अन्तरआत्मामा डुबुल्की मार्नु पर्छ, जसरी गोताखोरहरूले समुद्रको मणि लिन सक्छन्, पानीले मात्र शुद्ध हुने भए त जलचरहरूले ठूलो पुण्य कमाउँथे ।
त्यसो त गृहस्थ जीवन आफैं तीर्थक्षेत्र हो र त हाम्रा महाकविले भने ‘हाडहरूका सुन्दर खम्बा माँश पिण्डका दिवार नसा नदीका तरल तरँग मन्दिर आफैं अपार’ । माता तीर्थ, पिता तीर्थ, गुरु तीर्थ, भक्त तीर्थ, पति तीर्थ, पत्नी तीर्थ यी सबै तीर्थमा गोता लाउँदा गृहस्थ जीवन आफैूमा तीर्थ बन्छ अर्थात् बुबा आमाको सेवा, गुरुप्रतिको श्रद्धा, भक्तजनको सेवा, पति पत्नी बीचको सामान्जस्यता यी तीर्थ सेवा नै हुन् । त्यसैले स्थावर वा जंगम जुन तीर्थमा पुगे पनि हात, खुट्टाको संयम, मन, बुद्धिको संयम, विद्या र तपको संयम, सन्तोष र उपकार, दम्भ र आहारको संयम, जितेन्द्रियको भाव र व्यवहार, कुभाषण नगर्ने, खराब संगतबाट टाढा रहने, क्रोधको अभाव, मतिले गति निर्धारण गरी सत्यवादी, दृढ निश्चयी भई हर प्राणीप्रतिको दयाले ईश्वरको याद हुने हुन्छ, ईश्वरको याद भनेको गृहस्थको तीर्थको जीवन यापन हो, भनेको घरै तीर्थ हो ।
नीतिले भनेको छ ‘तीर्थानि सर्वाणि बसन्ति तत्र यत्राच्युतोद्दार कथा प्रसँग’ । अर्थात् कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीला अवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारहरूले यसैलाई जंगम तीर्थ भनेका हुन् । हजारौँ योजन (एक योजन बराबर ४ कोश) टाढाबाट गंगाको नाम लिए पनि सबै किसिमका पाप, कल्मषहरू हट्ने छन् भनिएको छ ‘गंगा गंगेति यो ब्रुयात् योजनानां शतैरपि मुच्यते सर्व पापेभ्यः विष्णुलोकं स गच्छिति’ । मूल कुरा शास्त्रको भनाइ इन्द्रिय निग्रह हो, नीतिले भनेको छ ‘आपदां कथित मार्गमिद्रियाणांमशंयम तज्जयं सुकृतं मार्गं येनेष्टं तेन गम्यताम्’ अर्थात् इन्द्रिय अशंयमी हुनु भनेको कुमार्ग र त्यसमाथिको विजय भनेको सुमार्ग हो जुन मन लाग्छ त्यही अप्नाऊ किनभने शास्त्र शस्त्र भएर आउँदैन बाटो मात्रै देखाउँछ ।
पानी ट्याँकी युवा समाज बौद्ध र कामनपा ६ नं वडाको सहकार्यमा पंक्तिकारसहित दर्जनौँ तीर्थयात्रुसहित पंक्तिकार त्यहाँ पुगेको थियो । यसअघि पनि पंक्तिकार धेरैपल्ट पुगेको क्षेत्र हो स्वर्गद्वारी । केही माथिसम्म सवारीको सुविधा छ त्यहाँ । प्राकृतिक छटामा परेको स्वर्गद्वारी महाभारतको डाँडोमा पर्छ र सूर्योदयको दुश्य देखिने गरी हामी त्यहाँ पुगेका हौँ, अघिल्लो रात्रि भिँग्रीमा बास बसेर । साविकमा पानीको असुविधा थियो, अहिले पानीलगायत राम्रो संरचना त्यहाँ पुगिसकेको छ । तीन सय बढी गाईहरू संरक्षित छन् र नित्य हवनादि, रुद्री एवम् सत्संग कार्य भइरहन्छ । भारतीयलगायत धेरै तीर्थयात्रुहरू पुग्ने गरेका छन् । स्थानीय गौतम थरका एक व्यक्तिले साधनास्थल बनाएपछि चर्चामा आएको यो स्थलको महत्व भने आदिम पुराण एवम् धर्मशास्त्रहरूले नै गरेका हुन् ।
सप्तर्षि, अष्ट चिरन्जीविलगायत महभारत कालमा पाण्डवहरूको विशेष तपस्थली रहेको यो स्वर्गद्वारी निकै पावन मानिन्छ र धर्मभीरूहरू जीवनमा एकपल्ट भए पनि त्यहाँ पुग्ने प्रण गर्छन् । पूर्व पश्चिम राजमार्ग नारायणघाट बुटवल सडक अहिले निकै खराब अवस्थामा छ । यसलाई जसोतसो छिचोल्दै बीच–बीचमा बास बस्दै राप्तीको भालुवाँगबाट झण्डै ६५ किलोमिटर रोल्पा रोड हुँदै उत्तर लागेर हामी भिँग्री पुगेका हौँ र भिग्रीबाट १५ किलोमिटर जति उकाली चढ्दै स्वर्गद्वारीको शिखरमा पुग्न सकिन्छ । डेढ किलोमिटर जति दायाँ–बायाँ भक्तजनहरू, दाताहरूबाट बनाइएको स्टिल बार समाउँदै, सिँढी चढ्दै बूढाबूढीहरू पनि शिखर पुगेको पंक्तिकारले देखेको थियो । लालिगुराँसले हामीलाई पनि स्वागत गरेको थियो ।
–धनराज गिरी
परिवर्तन विकासको सोपान होे । मानिसमा आमूल परिवर्तन आउँछ, आएको छ, अनुभूत तथ्य । परिवर्तन भइरहन्छ । सत्य भन्ने कुरा पनि त्यस्तै त्यस्तै हो । भर्खरै उही भारी बिसाउने चौतारो, “उसको म, मेरो ऊ” उसको लागि त म मात्र, उसकै भाषामा, सत्य हो, मायालु भानुप्रसाद उपाध्यायसित गफ भयो, बोलियो, उसको र मेरो गफमा समानुपातिक बोली हुन्छ, कहिले ऊ धेरै बोल्छ, म सुन्छु, कहिले म धेरै बोल्छु, ऊ सुन्छ, हिसाब मिल्छ, किन कि कुरा मिल्छ, कुरा मिल्छ, किन कि मन मिलेको छ । मनको कुरा मनले बुझ्छ ।
आज म बोले, “हेर भानु, मलाई लाग्थ्यो म अलि कडा हुँ, कडा रहेछु, मलाई लाग्थ्यो म सही छु, मेरो अडान सही छ । मलाई लाग्थ्यो, अझै पनि लाग्छ, यो देशमा ९० प्रतिशत मान्छेहरू, हरेक क्षेत्रमा, अयोग्य छन् । सत्य हो । तर यही सत्यभित्र अर्को सत्य पनि छ । भानु, लौ भन तिमी र म योग्य गुरू, ल दुनियाँले पनि मानेकै हो, अरू सबै अयोग्य हुन् त ? होइनन् । आफ्नो लागि सबै योग्य हुन् । मैले पढाएर यो पनि गलत सोच, अब आएर तत्वबोध भएजस्तै लाग्यो, नदीलाई बग्न कसले सिकाउँछ ? मौरीलाई मह खोज्न कसले तालिम दिन्छ ? कोइलीले सारेगामा कहाँबाट सिकिन् ? भानु, आँखा खोल भित्री, कसैले कसैलाई पनि पढाउँदैन, वास्तवमा सास आफैंले फेर्ने हो । पढ्ने पनि आफैंले हो । परीक्षामा अब्बल हुनेहरू जीवनमा पनि अब्बल हुन्छन् । यसको कुनै ग्यारेन्टी छैन । यसबाट के निचोड निकाल्न सकिन्छ भने टिके ? टिक्न दिएर टिके । जय नेपाल र लाल सलाम भनेर बिके । उनीहरूले जागीर खाए वा जागीरले उनीहरूलाई खायो, थाहा छैन । यो यस्तै हो” भानुसित विदा भएँ ।
आज बोल्ने कोटा मेरो मात्र । यसपछि म भवानी खतिवडा, अशोक थापा, लक्ष्मणप्रसाद गौतम र महेश पौडेलतिर तानिएँ । डोल्पो र गायत्री माताको समीक्षाले पनि ध्यान तान्यो । एम. फिल., पिएचडी र अनुजा हिमसुन्दरीको भनाइले मन तान्यो । मैले ठट्टामा एउटा छोटकरी रूप बनाएको छु ‘खो.प्रा.डा.’ यसमा सहयोग गरेका हुन् आदरणीय कमरेड मृदुभाषी ओलीज्यूले, ‘खोस्टो’ मलाई मन परेको शब्द त्यहींबाट ‘खोस्टे प्राध्यापक डाक्टर’ यो मजाक हो, र होइन पनि ।
भवानी बैनीको कुरा अशोकको पोस्टमा सही थियो । वास्तवमा ‘प्रज्ञा’ विशुद्ध ‘प्रतिभा’ हो । खोस्टाहरूसित यसको गोरू बेचेको पनि साइनो हुन्न । सक्कली विद्यावारिधिलाई म पनि मान्छु ‘मतिप्रसाद ढकाल’ मेरो निजी विम्व, प्रमाण–पत्र र योग्यता उही होइनन् ।
एउटा साथीले अर्को साथीका बारेमा भने, एक दिन, “उहाँ डबल एम.ए.” हो । मभित्र भित्र हाँसे, त्यसो भए ती बन्धुले खोस्टाहरू थुपारेछन् । “हिज्जे” यसैले मापन गर्छ सबैको प्राज्ञिक हैसियत । ‘डबल एम.ए.’हरू एम.फिल. र पी.एच.डीहरूलाई नजीकबाट छामेको हुँदा म यति लेख्न सक्ने भएको हुँ । सर्पयज्ञ गरेको होइन । सक्कली प्राज्ञहरूलाई हृदयतः मान्दछु, जस्तै “प्रा.डा. माधवप्रसाद पोखरेल” गुरूदेव, महागुरू हुनुहुन्छ । मैले सत्य लेखेको मात्र हुँ, यी सबै कुराहरू असत्य भए हुन्थ्यो । कसैको धज्जी उडाउनु, उपहास गर्नु, खुइल्याउनु, बकम्फुस, झूर भन्नु मेरो धर्म होइन । यथार्थ लेख्नु, आफूलाई लागेको कुरा व्यक्त गर्नु मेरो धर्म हो । अयोग्यहरू छन्, चाहिन्छन्, नत्र योग्यहरू कसरी चिनिने ? गरीबहरू नभए धनीको के अर्थ ? अब ध्यान तानेको शब्द ‘झूर’ क्या, झूर गजल, क्या झूर रचना, क्या झूर कार्यक्रम, क्या झूर किताब, क्या झूर मन्तव्य, क्या झूर नाटक, क्या झूर गीत, क्या झूर संवाद... यस्तै यस्तै ।
मनमा कुरा खेल्यो, के अनिता, कविता र आरजू, सीताजी र मेरा लागि झूर सन्तान हुन् ? पक्कै पनि होइनन् । नसरूद्दीन शाहले ‘शोले’ सिनेमालाई सिनेमा नै मानेनन्, के फरक प¥यो । संगीतकार शलील चौधरीले किशोर कुमार ‘मल्टी पत्नी लिमिटेड’ लाई गायक नै मानेनन्, के फरक पर्यो । यो दुनियाँ हो । झूर मान्न पनि पाइन्छ । झूर भन्नेहरूको धज्जी उडाउन खोजेको होइन । कसैको पक्षधरता पनि होइन । तर झूर मान्न पनि पाइन्छ ।
झूर शब्दभित्र जुन नकारात्मक भावनाको पहाड छ त्यसले प्रेमरस, सद्भाव उत्पादन गर्दैन । समस्या यत्ति हो– घृणाको कारोबार नगरौं । मान्छेले गर्ने हरेक सिर्जना उसको सन्तान, आफ्नो सन्तानको माया कसलाई हुन्न । किताब पनि सन्तान हो, हरेक गजल सन्तान, र चलचित्र त धेरै मातापिताको सन्तान, विचार गरौं त एउटा सिनेमा बनाउन कति जनाले पसिना बगाएका हुन्छन् ? राणाहरूको न्यानो स्नेहमा हुर्केको पात्र र मुसहर र चेपाङहरूको संगतमा हुर्केको पात्रको बीचमा तुलना हुन्छ ? नेपाली गायक र गायिकाहरू, कलाकारहरू भारतीय कलाकारहरूसित तुलना गर्ने नै होइन । मुम्बई लामो इतिहास बोकेको फिल्म नगरी, कहाँ पहलवान कहाँ शिशु, हाम्रा कलाकारहरूलाई प्रोत्साहन गर्ने हो, झूर भनेर हतोत्साही बनाउनु मानवता होइन ।
हाम्रो लागि राजेन्द्र थापा नै साहिर हुन्, शैलेन्द्र हुन् । हाम्रो लागि राजेश हमाल र दीपकराज गिरी नै दिलिप कुमार, राज कपूर, राजेश खन्ना र अमीताभ बच्चन हुन् । हाम्रो लागि नेपाल नै स्वर्ग हो । आफूसित भएको कुरामा गर्व गर्न सिकौं । हाम्रो लागि नीर शाह नै पृथ्वीराज कपूर हुन् । त्यहाँ राम्रो के छ ?
झूर शब्द जीवनमा कतै पनि प्रयोग नगरौं । मलाई मेरा अग्रजहरूले दिनुभएको दीक्षा यही हो, अरूलाई सम्मान गर्ने, अपमान नगर्ने, सकिन्छ कृतज्ञ हुने, कृतघ्न नहुने, सकिन्छ सकारात्मक प्रेरणा दिने, नकरात्मक कुराले सरल र सज्जनहरूको चित्त दुखेमा अनर्थ हुन्छ ।
सबैले सबैको अस्तित्व स्वीकारेमा सबैलाई सास फेर्न सहज हुन्छ । अतिवाद कसैको पक्षमा पनि हुन्न । ट्याग मेरो अति थियो, त्यागियो । अब अति पोस्टको अतिलाई नयाँ सालबाट त्याग्ने छु । सामाजिक संजालको मोह पनि एक कोरोना नै हो । २०८१ साल मेरो लागि साँच्ची नै नयाँ साल हुनेछ । प्रोफेसर जगमोहन आजाद सबैको कुरा सुन्छ, मनमा गुन्छ र सही मार्ग चुन्छ । मलाई आफ्ना कमजोरीहरू थाहा छ । प्राकृतिक रूपमा माया गर्नेहरूलाई राम्रोसित चिनेको छु । मान्छे चिन्छु, जति मलाई चाहिन्छ । धेरै किन चिन्ने ? र भोलि, चितवनको पर्व, चितवनको गर्व, मामाश्री गोर्खे साहिलाको पल्लव पर्वलाई सघाउनु छ । साहित्य जीवनामृत हो । यसमा पनि विवेक चाहिन्छ । साहित्यकारहरू भावुक मात्र हुने होइन । झूर केही पनि हुन्न । जीवनमा मानवता सर्वोपरी हो । हृदयमा मानवता भएको मान्छेको मनमा विवेक हुन्छ ।
–गणेश लोहनी
१.
नयनको बाटो पस्यौ भन्यौ मुस्कुराइरहेँ
मन मन्दिरमा बस्यौ भन्यौ मुस्कुराइरहेँ
बदलिएकी त तिमी हौ म होइन प्रिया
मेरो दृष्टिबाट खस्यौ भन्यौ मुस्कुराइरहेँ ।।
२.
ढुँग्रो भित्र राखिएको पुच्छर समान माने हुन्छ
सँधैभरि हातालाग्यो सुन्य भन्ने जाने हुन्छ
हिँस्रक जन्तु सदाएर कजाउन सकिन्छ बरु
विवेकहीनलाई सदाउनु असम्भव नै ठाने हुन्छ ।।
३.
जन्मेको युगको के कुरा बन्छन् सर्वकालिक पनि
सम्मानका लायकहरूको बनाउँछन् शालिक पनि
कुख्यातहरू मृत्युसँगै हराउँछन् विस्मृतिको गर्भमा
सच्चा लोकनायक सगर्व बन्छन् मनका मालिक पनि ।।
४.
कोइलीसँग भाका चोरी गीत गाएँ मैले
जुनीभरलाई दीगो ठानि मित लाएँ मैले
आफुले मुढो ताकेँ बन्चराले घुँडो ताक्यो
जूनेलीको साथ खोज्दा शीत पाएँ मैले ।।
–रामहरि पौडेल
तिमीलाई हजार प्रहार गरेँ
क्षत विक्षत पारेँ
हे मेरी माता
मलाई अझैं वात्सल्य दिई रहेकी छौ
वायुमण्डल बिशाक्त पारेँ
गंगा हत्या गरें
तरपनि मलाई बचाइ रहेकी छौ
माटोमा लहलहाउँदा मुनाहरू
निमठेर फ्याकेँ
र खडा गरेँ
सिमेन्टको जंगल र पिच सडकहरू
पानीबा खोला,काल्थुम्के
सरकाली पाखा र चम्पादेवी डाँडा
मैले टेकेको छैन
हरिया स्याउला र घाँस देखेको छैन
तरपनि प्रत्येक बिहान
मेरो घरमा
दूध पठाइदिइ रहेकी छौ
दशकौं अघि
डोल्लू मूलमा
गोगन रोप्ने अभियान चलाएकै कारण होला
बलधारा र तिरतिरे धारा
धाउनु परेको छैन
चोटा वुँइगेलमा
पानी पठाइँरहेकी छ्यौं
थापचिनीयाँ, पोख्रेली, मार्सी
फलामे र ताइचिन
कसकहाँ साट्ने ?
कुन बीऊ छर्ने ?
अहिले, मेरो मटानको बहस छैन
तर, हे धर्ती माता
मलाई
भरपेट भात खुवाइरहेकी छौ
आनन्दसाथ बचाइरहेकी छौ ।।
काठमाडौं : पञ्चकोट साहित्य सम्मेलनको लागि कार्यसमिति गठन गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन् ।
यसैगरी महासचिवमा सुभाष चन्द्र पौडेल ‘भीमफेदीया’, सचिवमा कमला रिसाल र कोषाध्यक्षमा नीता श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरूमा प्रा.डा. जगन्नाथ रेग्मी, दुर्गा दृशी अधिकारी, विक्रमभक्त जोशी, मुरारी सिग्देल, रूद्र अधिकारी, हरिश कल्पित र पारू तिमिल्सिना रहेका छन् । संस्थाको प्रधान संरक्षकमा स्वामी कमलनयनाचार्य रहेका छन् भने संरक्षकमा बागलुङ नगरपालिका प्रमुख बसन्त श्रेष्ठ रहेका छन् ।
यसैगरी सल्लाहकारहरुमा वरिष्ठ साहित्यकारहरु प्रा.डा. वासुदेव त्रिपाठी, प्राज्ञ जगमान गुरुङ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरु पद्मावती सिंह, प्राज्ञ उन्नती बोहरा शीला, तीर्थ श्रेष्ठ, प्रा.डा. कुसुमाकर न्यौपाने र प्रा.डा. लक्ष्मणप्रसाद गौतम रहेका छन् ।
कार्यसमितिको बुधबार बसेको बैठकबाट सांस्कृतिक समिति र कार्यक्रम संयोजन समिति समेत गठन गरिएको छ । गठित सांस्कृतिक समितिको संयोजकमा सङ्गीतकार नरहरि प्रेमी रहेका छन् भने सदस्य सचिवमा गायक ऋतु कँडेल तथा अन्य सदस्यहरूमा नायक हरिश कल्पित र सर्जक कमला रिसाल रहेका छन् ।
त्यसैगरी,कार्यक्रम संयोजन समितिका संयोजकमा मुरारि सिग्देल रहेका छन् भने सदस्य सचिवमा नीता श्रेष्ठ रहेकी छिन् । संस्थाले पञ्चकोटमा स्रष्टाघर निर्माणका लागि पहल गर्ने, बागलुङ नगरपालिकामा स्रष्टा पार्क निर्माणका लागि पहल गर्ने, वार्षिक रूपमा सम्मेलन गर्न स्थानीय निकायसँग पहल गर्ने तथा पञ्चकोट साहित्य सम्मेलनको आजीवन सदस्य बन्न इच्छुक स्रष्टाहरूलाई स्वागत गर्नुका साथै गत फागुन २० गते सम्पन्न पहिल्लो सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा गत २०८० साल फागुन २० गते पञ्चकोट,बागलुङमा गएका स्रष्टाहरूको टोलीद्वारा भाषा, साहित्य तथा संस्कृतिको संरक्षणका लागि साहित्यका माध्यमबाट भव्य कार्यक्रमको आयोजना सम्पन्न गरे पश्चात् उक्त सम्मेलनलाई निरन्तरता दिँदै अन्य विविध सिर्जनात्मक कार्य गर्ने उद्देश्यले पञ्चकोट भाषा, साहित्य, संस्कृति संरक्षणका लागि उक्त कार्यसमिति गठन गरिएको महासचिव सुभाष चन्द्र पौडेल ’भीमफेदीया’ले जानकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies