–दुर्गाकुमारी गुरुङ
मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवम् नकारात्मक पक्ष छन् । नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ । आगामी दिनमा सुधार्दै अघि बढ्नुपर्छ । राजनीतिलाई स्थायित्व प्रदान गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई सुदृढ गर्दै देशलाई समृद्धितर्फको यात्रामा लैजानुपर्ने विषयमा केही ढिलासुस्ती र कमीकमजोरी भएको छ । राजनीतिक परिवर्तनपछि पनि जनअपेक्षाअनुरुप सुशासन कायम हुन भएको छैन । जनताले राज्यबाट प्रदान गरिने सेवासुविधा सहजरूपमा प्राप्त गर्न कठिनाइ अनुभव गरिरहेका छन् ।
कानुन निर्माणका निम्ति सरकार, संसद् र सांसदहरूको जति सक्रियता हुनुपथ्र्याे त्यो नभएको हो कि भन्ने महसुस धेरैलाई भएको छ । सबै पक्षका सहमति र विश्वासमा अघि बढाउनुपर्ने हुँदा गति कमजोर छ । गुणस्तरीय कानुन निर्माणमा ढिलाइ भएकै कारण विगतको द्वन्द्वका पीडित हुन् वा पछि बलात्कारबाट ज्यान गुमाउनुपरेकी निर्मला पन्तका परिवारले पनि न्याय पाउन सकेका छैनन् । दूरदराजबाट आएका विधायकलाई ऐन बनाउनुअघि कानुनी पाटो–पक्षमा जति प्रशिक्षण र जानकारी गराउनुपर्ने थियो, त्यो नभएको जस्तो पनि लागेको छ । बनाइएका कानुन गुणस्तरीय भएन भने त्यसले कहाँ र कसरी असर पु¥याउन सक्छ भनी सांसदहरूलाई नियमित प्रशिक्षण दिन आवश्यक छ ।
मुलुकको राजनीतिक वृत्तमा देखिएको गठबन्धनको शैलीले दल विशेषको आदर्श र सिद्धान्तलाई कमजोर बनाएको छ । गठबन्धन गर्नेभन्दा समाजमा राम्रो काम गरी चुनावमा जनताको मन जित्ने काम गर्न आवश्यक छ ।
अहिले देशमा भ्रष्टाचार मौलाउनुमा उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको दोष छ । भ्रष्टाचारकै कारण व्यक्ति मोटाउने, देश दुब्लाउने जस्तो विषम परिस्थिति छ । सामान्य जनताले पैसा नखुवाई काम बन्दैन । पहुँच र प्रभावका आधारमा निर्णय र अवसर प्राप्त गर्ने परिस्थिति छ । लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई सुदृढ तुल्याउन कानुन कार्यान्वयनमा जोड दिनुपर्छ । राजनीतिक नेताले नहुने र नसक्ने कुरामा पनि आश्वासन बाँड्ने कार्य बन्द गर्नुपर्छ ।
चुनाव जितेपछि पनि दलहरूले मतदाताका बीचमा पुग्ने र समस्या बुझ्ने काम गर्नुपर्छ । जनतालाई सेवासुविधा घरदैलोबाटै सहज र सुलभ ढङ्गबाट प्रदान गर्न सक्नुपर्छ । जनताले न्याय, सुशासनको अनुभूति गर्न पाउनुपर्छ । अहिले पार्टीमा योगदान दिने निष्ठावानभन्दा चुनावमा खर्च गर्ने मानिसलाई प्राथमिकता दिने जस्तो देखिएको छ । एउटा व्यक्ति जीवनभर पार्टीमा लागेर सर्वस्व गुमाउने अनि अवसर भने कहिल्यै नपाउने हुनुहुन्न । चुनावमा पैसा खर्च गर्नेले पछि खर्च उठाउन खोज्दा भ्रष्टाचार बढ्न जान्छ । कतिपय साथीकोे चुनावको ऋण अझै थुप्रै रहेको र तिर्न नसकेको गुनासो सुन्न परिरहेको छ ।
युवा, विद्यार्थीको दैनिक रूपमा भइरहेको विदेश पलायन रोक्न प्रमुख दलका शीर्ष नेतृत्वले सोच्नुपर्छ । स्वदेशमै बस्ने र रमाउने वातावरण बनाउनुपर्छ । राजनीतिक अस्थिरता रोक्नुपर्छ । रोजगारी दिलाउने उद्योग, कलकारखाना खोल्न र विकास निर्माणका आयोजना अघि बढाउनुपर्छ । शिक्षा गुणस्तरीय र रोजगारीसँग जोड्ने हुनुपर्छ । छोराछोरीले रोजगारी पाएर आफ्नै घरआँगनमा बस्ने अवस्था भइदिएको भए कति आनन्द हुन्थ्यो ? राजनीति सत्तास्वार्थमा रुमल्लिएका कारण देश र जनताले दुःख पाइरहेका छन् । जनता पनि विदेश जानुभन्दा आफ्नो घरआँगनमा सानोतिनो भए पनि रोजगारीमा लाग्नुपर्छ । गरिब तथा सीमान्तकृत वर्गलाई सहयोग गर्नुको साटो उनीहरूले दुःख गरेर कमाएको पैसा सहकारीले नाममा खाइदिने प्रवृत्ति बढेको दुःखद हो । यसले धेरैलाई पिरोलेको छ । राज्य संयन्त्रले त्यस्ता कर्ममा लागेकालाई कानुनको कठघरामा ल्याउनुपर्छ । अनिमात्र राज्यप्रति जनविश्वास बढ्छ ।
(लेख कुराकानीमा आधारित छ ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies