सुरेश भट्ट आश्रिन/मध्यान्ह
दोहा, कतार : नेपाली भाषा, साहित्य र कृति लोकार्पणजस्ता कार्यक्रम आजभोलि अन्तर्राष्ट्रिय डायसपोरामा पनि हुने गरेका छन् । नेपालीहरु जहाँ पुग्दछन् उनीहरुसँगै हाम्रा साहित्य सिर्जनाहरु पनि त्यहीँ पुग्ने गरेको पाइन्छ । साहित्य आफैंमा विश्व नियाल्ने आँखिझ्याल भएकाले पनि समयक्रमसँगै डायस्पोरिक लेखकहरू संसारभरि फैलँदै गएका छन् । यसक्रम सँगै साहित्यिक संस्थाको आवश्यकता र महत्व पनि बढ्दै गएको छ ।
नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय नेपालमा साहित्यकारका रूपमा स्थापित भएका साहित्यकारहरु मात्र नेपाली डायस्पोरामा हुने कार्यक्रमका लागि आउने जुन रीत बसेको थियो, त्यो अहिले तोडिएको मुक्तकार सोतन्त्र नेपाल बताउँछन् ।
नेपालमा पनि साहित्यको क्षेत्रमा हजारौं व्यक्तिहरूले कलम चलाउँछन्, तर सबैको स्तरीय हुँदैनन् । यद्यपि स्तरीय भएपनि ओझेलमा पारिएका/परेका नव सर्जकलाई रमेश स्मृति कोषले प्रोत्साहन गर्दै आएको कवि संयोजक दीप मिलन बताउँछन् । यसपटक रमेश स्मृति कोषले प्रदान गर्दै आइरहेको "रमेश स्मृति पुरस्कार -२०८०" समर्पण कार्यक्रम तथा गजलकार "केबि धुँवाले"को एकल रचना वाचन कार्यक्रम दोहामा हुने उनले जानकारी दिए ।
रमेश स्मृति कोष नेपाल र समाज सेवा अभियान रूपन्देही कतारको संयुक्त आयोजना तथा उज्यालो लाल्टिन प्रतिष्ठन रूपन्देही र विशाल अनलाइन सोलुशन बुटवलको सहकार्यमा उक्त कार्यक्रम गरिने भएको हो । कोषले उक्त सम्मान "भत्किएको पर्खाल" कृतिका लेखक "सरस्वती बस्याल"लाई प्रदान गर्ने घोषणा गरेको छ।
कतारको नज्मामा अवस्थित एसियन स्टार रेष्टुरेण्टमा यही मे १७ तारिक शुक्रबार हुने उक्त कार्यक्रममा लेखक पूर्ण बिसीको "आमा" उपन्यास तथा सरस्वती बस्याल र समीम गैरेको संयुक्त मुक्तक संग्रह "भत्किएको पर्खाल"को लोकार्पण कार्यक्रम पनि गरिने भएको छ ।
कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाइरहेका साहित्यकार, पत्रकार, समाजसेवीलगायत सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि आयोजक संस्थाले अपिल गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies