काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परनिर्भर रहेको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र उच्च अंकको आर्थिक वृद्धि हासिल गर्दै दिगो विकासका लागि स्वदेशी उद्योगको प्रवर्द्धन अति आवश्यक रहेको बताएका छन् । मंगलबारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न पनि आग्रह गरेका छन् । उनले चालु आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महंगो भएपनि नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएको भएपनि आजसम्म उक्त व्यवस्था लागू हुन नसकेको बताए ।
उनले सरकारले स्वदेशी वस्तुको पहिचानको लागि एक वेब पोर्टलको निर्माण गरी नेपाल उद्योग परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पूरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरुसमेत सो पोर्टलमा समावेश गर्ने व्यवस्था कायम गर्नुपर्ने बताए ।
नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक किसिमका करहरूलाई एकीकृत गर्दै सीमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर) मात्र रहने व्यवस्था कायम गर्न उनले आग्रह गरे ।
उनले मूल्य अभिवृद्धि करलाई बहुदरको (०, ५, १३ तथा १८) बनाइ यस करमा आवद्ध हुनुपर्ने न्यूनतम कारोबारको सीमालाई समेत कम गरी सबै करदातालाई यसै करमा आवद्ध गरिनुपर्ने बताए । यसबाट नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मूल्यसँग प्रतिस्पर्धी बनाउन र अनधिकृत व्यापार नियन्त्रण गर्न समेत सहयोग पुग्ने परिसंघले विश्वास लिएको उनले बताए ।
अध्यक्ष अग्रवालले स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिसहरुसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुको गुणस्तरयुक्त हुन आवश्यक रहेको बताए । उनले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न आग्रह गरे । उनले लगानी प्रोत्साहन गर्न विद्यमान कानूनहरुमा सुधार गर्न आवश्यक रहेको पनि बताए ।
स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै अध्यक्ष अग्रवालले आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies