लेखनाथ सिकारु/मध्यान्ह
काठमाडौं : आज ९४औं समाज सुधार दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । विभिन्न कुरीति, अन्धविश्वास र बेथितिमा रहेको किरात समुदायलाई ‘सत्य धर्म मुचुल्का’ मार्फत महागुरु फाल्गुनन्द लिङ्देनले शुरु गरेको समाज सुधार अभियानको सम्झनामा वैशाख २४ गते समाज सुधार दिवस मनाइँदै आएको छ ।
नेपालका १६औं राष्ट्रिय विभूति तथा किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनले विक्रम सम्वत् १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको फिदिमस्थित सिलौटीमा १० लिम्बूवान र १७ थुमका अगुवा बुद्धिजीवीको भेला गराएर समाज सुधारका लागि जारी गरेको १० बुँदे सत्यधर्म मुचुल्काको स्मरणमा यो दिवस मनाइँदै आएको हो ।
विक्रम सम्वत १९४२ कात्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका नरध्वज लिङ्देन सिकिस्त बिरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइदिएपछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ । १६ वर्षमा बर्मामा ब्रिटिश सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानवको हत्याहिंसा देखेपछि उनी मानव-मानव बीचको लडाइँ मारामारबाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर समेत छाडेर नेपाल फर्किएका थिए ।
पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागुलगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगती र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा उनी लागेका थिए । उतिबेला किरात समुदायमा व्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनन्दले चुम्लुङ (सभा) डाके । सभा उनले विकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे । उनले लिम्बूहरूको जन्म, विवाह, मृत्यु संस्कारलाई समायानुकूल परिवर्तनका लागि कार्य गरे ।
८ वर्षकै उमेरबाट उनले हत्याहिंसा गर्न नहुने, झुटो बोल्न नहुने, नारीहरू सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पूजा आराधना गर्नुपर्ने , मासु मांस तथा मदिरापान गर्न नहुने साथै देवी देवतालाई मासु मांस र मदिरा चढाउन नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए । तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगती र कुरीतिहरुलाई संशोधन गरी राम्रा रीतिरिवाजको संरक्षण र खराब कुराहरुलाई सच्याउनुपर्ने भन्दै उनले विक्रम सम्वत् १९८८ वैशाख २४ गते तत्कालीन १० लिम्बूवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथरको फिदिमस्थित लब्रेकुटीमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागू गरेका थिए ।
उनले ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिम श्रृंखलालाई किरातीिहरुको पवित्र धार्मिक स्थल तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए । सोही अनुरूप अहिले समेत किरातहरूले कुम्भकर्णलाई पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यस बेलामा समेत आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ । किरातीहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गर्दै भारत, भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देश द्रोहीको आरोपसमेत खेप्नु परेको थियो । लिङ्देनको विक्रम सम्वत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २) हाङयक भन्ने स्थानमा मृत्यु भयो ।
उनको मृत्युपछि किरात धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाई मान्ने संघ संस्थाले कात्तिक २५ गते जन्म जयन्ती र वैशाख २४ गते समाज सुधार दिवसको रुपमा मनाउँदै आएका छन् । लिङ्देनको समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेर उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ । सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ भने नेपाल सरकारको कक्षागत पाठ्यक्रममा उनको जीवनी समेत समावेश गरिएको छ ।
यस्तै उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ भने दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । यसका अलवा पूर्वी नेपालमा फाल्गुन्दको नाममा थुप्रै सामाजिक संघ संस्थाहरु स्थापना भइ कार्यरत रहेका छन् ।
समाजको आर्थिक, समाजिक तथा सांस्कृतिक सुधारमा लागेका फाल्गुनन्दको पापले सकिन्छ धर्मले बढिन्छ, बोलेन भने झगडा हुँदैन, हजारौं तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ, खराब धेरै छोरा भएर के हुन्छ एउटा असल सन्तानले घर सुहाउँछजस्ता समाज सुधारका उपदेशहरु अहिले समेत उपयोगी र समयसापेक्ष छन् । आफ्नो मौलिकतालाई बिर्सेर पथ भ्रष्ट हुनु हुन्न, धर्म संस्कार र संस्कृतिका नाममा तडकभडक गर्नु हुन्न, आफ्नो गच्छेअनुसार धर्म संस्कार र संस्कृति मनाउनुपर्छ, मदिरा सेवन गरी आर्थिक र समाजिकरुपले भ्रष्ट हुनु हुन्न, अरुलाई खुसी तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु बलि गर्नु हुन्न, भगवानको पूजा आराधना त नैवेद्य तथा फलफूल चढाएर गर्नुपर्छजस्ता सामाजिक चेतना फैलाएर समाज सुधारमा लागेका फाल्गुनन्दको समाज सुधारको नीति विश्वसामु अनुकरणीय छ । राष्ट्रिय विभूति, किरात धर्मका पथ प्रदर्शक, अहिंसाका पूजारी, मानव कल्याण र शान्तिका पक्षधर साधक तथा दार्शनिक फाल्गुनन्दको कर्मभूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी समाधिस्थल रहेको छ । यसलाई किरात धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् ।
नेपाल सरकारले राजा जनक, सीता, गौतम बुद्ध, अंशु वर्मा, राम शाह, पृथ्वी नारायण शाह, भीमसेन थापा, अमरसिं थापा, बलभद्र कुंवर, भक्ति थापा, त्रिभुवन, कलाकार अरनिको, युवाकवि मोतिराम भट्ट, आदिकवि भानुभक्त आचार्य, समाज सुधारक शंखधर साख्वा, महिला पर्वतारोही पासाङ ल्हामु शेर्पा पछि समाज सुधारक फाल्गुनन्दलाई १६औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको थियो ।
फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किरात समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालीन अवस्थामा सबैभन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान र धार्मिक तथा सामाजिक अगुवाहरुलाई वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथरको फिदिममा भेला गराइ फाल्गुनन्दको अगुवाइमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।
सत्यधर्म मुचुल्कामा छोरी चेलीको विवाह गर्दा सोत–रीत (पैसा) लिनु नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक तथा सांस्कृतिक पक्षहरु समेटिएका छन् । सत्यधर्म मुचुल्काले किरात समुदायको धार्मिक, सांस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किरात समुदायका अगुवाहरुको भनाइ छ । यसअघि किरात समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा भएपछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत-रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।
लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नुपर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । साकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मदिरा सेवनले सामाजिक र आर्थिकरुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ । सत्यधर्म मुचुल्का लागू भएपछि किरात समुदायको जीवनस्तर उकास्न योगदान पुगेको विश्वास गरिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies