उपचुनावको मौन अवधि सुरु भएको छ । शनिबार हुने मतदानका लागि निर्वाचन आयोगले दिएको प्रचारको अवधि सकिएसँगै मौन अवधि सुरु भएको हो । यो अवधिलाई मतदाताको समय मानिन्छ । प्रचारका क्रममा उम्मेद्वारहरुले गरेको प्रतिबद्धतालाई अध्ययन गर्न मतदाताले मत दिने भएकाले मौन अवधि खाँचो पर्छ । त्यसैले मतदान हुनुअघिको यो समय मतदाताका निम्ति हुन् । यो उपचुनावबारे अनेक आकलन भइरहेको छ । आमचुनाव सकिएको डेढ वर्ष भएकाले दलहरुको मूल्यांकनको अध्यावधिक पनि यो उपचुनाव हुनेछ । दलहरुले पनि उपचुनावलाई प्रतिष्ठाकै विषय मानेका छन् । विशेषगरी इलाम–२ मा हुने उपचुनावलाई बढी चासोका साथ हेरिएको छ । यो क्षेत्रमा नेकपा एमालेले बिगतमा पकड जमाउँदै आएको छ । नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धीका रुपमा रहँदै आएको छ ।
संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधन भएकाले हुन लागेको यो उपचुनावमा एमाले र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि गत आमचुनावमा अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचान पक्षधरहरुका साझा उम्मेद्वार लगायत शक्तिले पनि सशक्त दावी गरिरहेका छन् । उपप्रधानमन्त्री एव् गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहित नेताहरु प्रचारको अवधिभर यही क्षेत्र केन्द्रीत भएका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली सहित एमाले र कांग्रेसका पदाधिकारीहरु समेत त्यहाँ पुगेर सशक्त प्रचार गरे । पहिचान पक्षधर शक्तिहरुले कोशी प्रदेशमा चलेको पहिचानको एजेण्डाबारे केन्द्रलाई सन्देश दिने रुपमा समेत यो उपचुनावलाई लिएको देखिन्छ ।
यद्यपि अब प्रचार र प्रतिबद्धताको समय सकिएको छ । त्यसैले मतदाताको विवेकले राष्ट्रिय राजनीतिलाई एउटा सन्देश जानेछ । यो डेढ वर्षे अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेपनि सबै दल सत्तारुढ बनेका छन् । कांग्रेस र एमाले पालैपालो प्रतिपक्षमा बसेका छन् । साना दलहरुले लगातार सत्ताको चाहना राखेको देखिन्छ । इलामकै एजेण्डालाई लिएर भने दलहरुले कुनै ठोस् काम गरेको छैन । यद्यपि दलहरुले इलाम र प्रदेशसभाको चुनाव हुने बझाङको निर्विकल्प शक्ति भनेर प्रचार गरेका छन् । निर्वाचन आयोगको आचारसंहिता बिपरीत मौन अवधिको समेत उम्मेद्वारहरुले दुरुपयोग गर्न सक्ने आशंका गरिदैछ । तर मतदाताले यस्ता प्रभावहरुबाट मुक्त रहेर राष्ट्रिय राजनीतिलाई सन्देश दिनुपर्नेछ । उक्त दायित्वबारे मतदाता सचेत हुनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies