छबि सापकोटा/मध्यान्ह
काठमाडौं : पाटन उच्च अदालतले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न बुधबार अल्पकालीन अन्तरिम आदेश दिएसँगै पर्यटन बोर्डको सीईओ चयनमा थप ढिलाइ हुने भएको छ । कार्यकारी प्रमुख छनौट समिति र प्रक्रिया नमिलेको भन्दै परेको रिटमा उच्च अदालत पाटनले प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो । अधिवक्ता रमेश बडाल, रमेशप्रसाद धिताल र हरिप्रसाद मैनालीले रिटमाथि सुनुवाइ गर्दै कार्यकारी छनौट प्रक्रिया रोक्न अल्पकालीन आदेश आएको दिएका हुन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी समितिका सदस्यहरु मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन समेत गैरकानुनी भएको भन्दै रिट दायर गरिएको थियो । बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, नेपाल पर्यटन बोर्ड ऐन विपरीत भएको भन्दै सीईओ छनोट प्रक्रियाविरुद्ध बोर्डकै कर्मचारीले रिट दायर गरेका थिए । उच्च अदालतको आदेशसँगै तीन महिनादेखि नेतृत्वविहीन बनेको बोर्डमा फेरि थप अन्योलता देखिएको छ ।
बोर्डको सीईओका लागि पदपूर्ति समितिले १६ जनाको नाम सर्ट लिस्ट गरेको थियो । सीईओ बन्न २० जनाले आवेदन दिएकामध्ये चार जनालाई समितिले सर्ट लिस्टबाट हटाएर १६ जनाको नाम सार्वजनिक गरेको थियो । सर्ट लिस्टमा परेकाहरुले बोर्डमा बैशाख १० गते आफनो प्रस्तुतिकरण समेत दिइसकेका थिए । अदालतको आदेशसँगै सबै प्रक्रिया रोकिएको छ । सीईओ डा. धनञ्जय रेग्मीको माघ १४ गते पदावधी सकिएपछि बोर्ड नेतृत्वविहीन छ ।
यतिबेला कार्यविधि नहुँदा बोर्डले गर्ने देश बाहिरका कार्यक्रम समेत रोकिएका छन् । अहिले स–साना कार्यक्रममा मात्रै बोर्ड सीमित बन्न पुगेको छ । बोर्ड नेतृत्वविहीन हुँदा बाह्य कार्यक्रम पूरै प्रभावित भएका छन् । सीईओविहीन हुँदा पर्यटकको मुख्य सिजनमा बोर्डले पर्यटन प्रवद्र्धनको काम गर्न सकेको छैन । सुस्ताएको पर्यटन क्षेत्रलाई गतिमा लैजानुपर्ने बेलामा पदपूर्ति समस्याका कारण बोर्ड निष्क्रिय बन्न पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies