पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अडान राष्ट्रिय राजनीतिमा फेरि चासोका साथ हेरिने परिस्थिति सिर्जना भएको छ । भर्खरै सुदूरपश्चिम प्रदेशको सरकार निर्माणका क्रममा त माधव नेपालको अडान निर्णायक नै बन्यो । उनको अडानका सामू प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गल्न बाध्य भए । माधवको माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठलाई मनाउनु परेको थियो । तर माधवको माग पूरा गराउन सुदूरपश्चिम प्रदेशको सरकार थप अस्थिर र संकटतर्फ धकेलिएको छ । किनकि एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिदा नाउपा विभाजन नजिक पुगेको छ । नाउपाको विभाजनले सुदूरपश्चिममा संवैधानिक संकट निम्तने खतरा छ ।
माधव नेपालको अडानमा प्रचण्ड र ओली गल्न बाध्य हुनुपर्ने कारण चाहिँ सत्ता जोगाउनुपर्ने दायित्व थियो । यदि एकीकृत समाजवादीले समीकरण परिवर्तन गरे अहिलेको सरकार नै संकटमा पर्ने आधार तयार हुन सक्थ्यो । उक्त जोखिम टार्न सुदूरपश्चिम सरकारलाई संवैधानिक जटिलतातिर धकेल्न एमाले र माओवादी तयार भएको छ । सुदूरपश्चिममा मात्रै नभएर बागमती, कोशी लगायत प्रदेशमा पनि माधव नेपालले अड्को थापिरहेका छन् । सुदूरपश्चिम सरकारको नेतृत्व लिइसकेको एकीकृत समाजवादीले बागमती र कोशीमा पनि आलोपालोको अड्को थापेका छन् । जबकी २०७९ को आमचुनावमा यो पार्टीले राष्ट्रिय दलको मान्यता समेत पाएको थिएन ।
तर हङ पार्लियमेन्टको लाभ उठाउँदै माधव नेपालले आलोपालो प्रधानमन्त्रीको अडान लिइरहेका छन् । ओली र प्रचण्डसँग आलोपालो प्रधानमन्त्री प्रष्ट अडानका साथ समीकरणमा नयाँनयाँ माग एकीकृत समाजवादीले थपिरहेको छ । हुनत अरु दलहरुमा पनि सत्ता मोह लुकेको छैन । दलहरुको सत्ता मोहकै कारणले राजनीतिक अस्थिरता बढेर गएको हो । यद्यपि सत्ता निर्माणको अभिभारा फेरि पनि कांग्रेस–एमालेकै हो । तर यी दुई दलबीचको अस्वस्थ्य प्रतिस्पर्धाको लाभ साना शक्तिहरुले उठाउँदै आएका छन् । जसको पछिल्लो उदाहरण माधव नेपालको अडान हो । जबकी माधव नेपाल अहिलेको व्यवस्था र संविधान कार्यान्वयनमा महत्वपूर्ण पात्र हुन् । उनीसँग अरु नेताहरु भन्दा लामो राजनीतिक पृष्ठभूमि छ । तर तिनै जिम्मेवार नेताले लिएको पछिल्ला अडान अनुचित मात्रै नभएर आलोचना योग्य समेत हो । किनकि मुलुक र जनताको हित भन्दा माथि कुनै नेताको सत्ता स्वार्थ होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies