तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : स्याङ्जा सहयोग समाज कतारले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर राम्दीघाट वृद्धाश्रम सहयोगार्थ आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुले तहल्का मच्चाएका छन् । शुक्रबार दोहाको अल लक्तामा रहेको ट्युनिसियन स्कुलको विशाल सभा हलमा लोक तथा दोहोरी गायक खुमन अधिकारीसहित लोक तथा दोहोरी गायिका कमला गैह्रे र नृत्यंगना अस्मिता रनपालले तहल्का मच्चाएका हुन् ।
पुकार थापाले प्रस्तुति राख्दै सांस्कृतिक कार्यक्रमको ढोका उघारेसँगै गायिका गैह्रे स्टेज चढेकी थिइन् । उनले आफूलाई पहिलो पटक कतार आउने अवसर समाजले मिलाइदिएकोमा खुसी व्यक्त गर्दै आँधी खोलाको, मायाले जाम मात्रै भन्छ, माली गाइलाई बाटेको दाम्ला, डाँडा घरे साइँलीलगायतका गीतहरू गाइन् ।
रनपालको नृत्यले हलमा फरक जोस पैदा गर्यो भने अधिकारीले करिब दर्जनभन्दा बढी आफ्ना गीत प्रस्तुत गरे । उनले दर्शकहरूलाई नचाउन कुनै कसुर बाँकी राखेनन् । खुमनको प्रस्तुतिको पर्खाइमा बसेका दर्शक साँझसम्म पर्खेर पसिनाले निथ्रुक्क भिजेर नाचिरहेका थिए भने दर्शकहरूबाट वान्स मोर पाइरहे ।
समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष वीरेन्द्रजंग केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सांस्कृतिक कार्यक्रममा बाल कलाकार जिया हमालले स्वागत नृत्य पेस गरेकी थिइन् । कलाकारहरू जीवन खालिङ राई, निरु श्रेष्ठ, रुस्तम तामाङ, अमित राईले आफना प्रस्तुति राखेका थिए ।
कतारमा स्थापित नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्तालगायतको उपस्थिति रहेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि केसीले स्याङ्जा अन्तर्राष्ट्रिय समिति जन्माएको ठाउँमा आएर प्रमुख अतिथिको भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्दै परियारले कार्यक्रमको बिट मारेका थिए । नेपालबाट आमन्त्रित कलाकारहरू र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारका कलाकारहरूबीचको लाइभ दोहोरीले माहोललाई दोहोरीमय बनाएको थियो ।
तमु (गुरुङ) समाज कतारले कार्यक्रमका सभापति परियारलाई फेटा (क्रेगी)द्वारा सम्मान गरेको थियो । आयोजकसहित दलित एकता सञ्जाल, परियार मित्रता समाज कतारले स्टेजमै दोसल्ला, मायाको चिनो र सम्मान पत्रले अधिकारी, रनपाल र गैह्रैलाई सम्मान गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा करिब–करिब एक हजार दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रम समाजका महासचिव टेक गैह्रे, अर्जुन पौडेल र रोशन अर्यालले मिलेर सहजीकरण गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies