–निष्णु थिङ
केही महिना अगाडि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वजनिक कार्यक्रममा आफू ‘लास्ट बेन्चर’ भएपनि मुख्यमन्त्री बनेको र फस्ट बेन्चर उही खरिदार र सुब्बा भएको बद्ख्वाँइँ गरे । उनले थप्दै राम्रो अंक ल्याएर मात्रै केही नहुने ठोकुवा गरे । उनी त्यतिमा मात्रै रोकिएन, चाणक्यले कहाँ पढेका थिए ? के उनले पिएचडी गरेका थिए ? तर, कौटिल्यको अर्थशास्त्र नपढीकन अर्थशास्त्रमा स्नातकोत्तर हुँदैन समेत भने । लास्ट बेन्चरले मुलुकको बागडोर चलाएको आत्ममुग्धता प्रदर्शन गरे ।
शिक्षाप्रति समग्र हाम्रा राजनीतिक दलका नेतृत्व, पूर्व प्रधानमन्त्री र राजनीतिक समाज नै सकारात्मक धारणा राख्दैनन् । केपी ओलीले पनि पिएचडी केही होइन भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । बिबिसीको साझा सवाल कार्यक्रममा नेपालले उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, हावर्ड विश्वविद्यालयबाट उत्पादित जनशक्तिको नेतृत्व कहिले पाउने ? यो सवाल शेरबहादुर देउवालाई सोध्दा उनले त्यो प्रश्न गर्ने युवालाई झपारेका थिए, ‘बढ्ता बोल्छस्’ समेत भने । बढ्ता बोलेको भनेर धम्कीको भाषा प्रयोग गरे । देउवा, ओली र केदार कार्कीसम्म आउँदा राजनीतिक समाजमा मुलुकको स्टेरिङ लास्ट बेन्चरले हाँकिरहेको र त्यसमा उनीहरूका अहंकार झल्किन्छ । व्यक्त वा अव्यक्त रूपमा राजनीति गर्ने प्राणीहरूले अरूलाई हेयको दृष्टिले हेर्ने र विश्वको सर्वज्ञानी आफैलाई ठान्दै आएका छन् । संसारमा मैले जति कसैले जानेको र बुझेको छैन भन्ने विभ्रममा बाँचिरहेका छन् ।
लास्ट बेन्चरले कस्तो बनाए देश ?
गुगलका अनुसार नेपाल संसारको १६५ औं गरिब देशको सूचीमा पर्छ । त्यसैगरी, भोकमरीको विश्व सूचीमा ६९औं स्थानमा पर्दछ । (ग्लोबल हगंर इन्डेक्स, २०२३) नेपाल विश्वका विभिन्न सूचकांकहरूमा निकै पुछारमा देखिन्छ । चाहे त्यो मानव विकास सूचकांक होस् या विकास पूर्वाधारको सूचीमा । हाम्रा विश्वविद्यालयहरू विश्व सूचीको पुछारमा पर्छन् । यहाँका अन्य संघसंस्थाहरूका पनि उस्तै हविगत छ । हामीसित भएका संस्थाहरू विश्वस्तरका छैनन् । सुशासनको दृष्टिकोणले पनि साह्रै पछाडि छन् । विश्व प्रदुषणको मापनले काठमाडौं विश्वकै प्रदुषित शहरमा पर्दछ ।
हाम्रो राजस्व संकलन घाटामा छ । अर्धवार्षिक बजेट समीक्षामा व्यक्त भएको तथ्यांकअनुसार आम्दानीको तुलनामा साधारण खर्च बढी छ । पुँजीगत खर्चको स्थिति अति कमजोर अवस्थामा छ । हाम्रो राज्यको विकास बजेट खर्च गर्न सक्ने क्षमतामै प्रश्न उठ्ने स्थिति छ । कुनै गतिला संस्थाहरू छैनन् । सबै संस्थाहरू दलीयकरणको कुशासनको चक्रमा उठ्नै नसक्ने गरी फसेका छन् । सार्वजनिक ऋण २३ खर्बबाट उकालो चढ्दो छ ।
प्रतिदिन हजारौं युवाहरू देश छाडेर गइरहेका छन् । हाम्रा युवाहरूले यो माटोमा सपना देख्नै छाडिसके । यहाँ केही हुन्छ, गर्न सकिन्छ भन्ने विश्वास नै छैन । कसले चाँडो यो मुलुक छाड्ने प्रतिस्पर्धा चलिरहेको छ । विदेश जानुलाई सामाजिक र सांस्कृतिक प्रतिष्ठाको विषय ठान्न थालेका छन् । लास्ट बेन्चरहरूले यो देशलाई मरूभूमि (डेथभ्याली) बनाए । यो डेथभ्यालीमा कुनै युवाले जीवनको सम्भावना देख्दैनन् । युवाहरूका सपना यो माटोमा अंकुराउन सकेन । केही गर्छु भन्ने युवाहरू, प्रेम आचार्य बन्छन् र बनाउँछन् । आचार्यले मृत्युको घोषणापत्र लेखेर आत्मदाह गरेको यति महिना भइसके उनले उठान गरेका मुद्दाहरूप्रति सरकारले कानमा तेल हालेर बसेको छ । लास्ट बेन्चरवालाले यो देशलाई यस्तो बनाएछ कि म राज्यलाई राजश्व तिर्छु भन्नेले पनि घुस ख्वाउनै पर्ने बनायो । जुन देशमा राजस्व तिर्नलाई पनि घुस नदिई हुन्न, त्यस्तो देश कसरी उँभो लाग्छ ?
हाम्रा राज्यका निकायहरू यस्ता छन् कि यही माटोमै केही गरौं भन्ने सोच राख्नेलाई अनावश्यक दुःख दिइन्छ । यसरी पाइला पाइलामा ह्यार्यासमेन्ट गर्छ कि उ केही उद्यम वा व्यवसाय गर्न चाहँदैन । उत्पादनमूलक केही व्यवसाय गर्नु भन्दा ब्याज खाने सोच बनाउन बाध्य पार्छन् । सानोतिनो केही उद्यम गर्न चाह्यो भने वडाबाटै झन्झट शुरू हुन्छ । यता उद्यम शुरु भएको छैन, तर सानोतिनो सिफारिसकै चाहिनेभन्दा बढी कर तिर्न पर्छ । उद्यम गर्नुभन्दा कागजी प्रक्रिया पु¥याउन कष्टकर छ । सरकारी कार्यालयहरू यही देशमै केही गर्न चाहना राख्नेहरूलाई सहजीकरण गर्ने भन्दा जटिल बनाउने र ह्यार्यासमेन्ट गर्ने नियतका छन् । सबै सरकारी झमेला र व्यावहारिक उल्झन व्यहोर्दै कुनै उद्यमीले वस्तु उत्पादन ग¥यो भने उसले राज्यको संरक्षण पाउँदैन । बिचौलिया बजार व्यवस्थामा उत्पादकभन्दा बिचौलिया मोटाउने तर उद्यमी पीडित हुने थितिबाट उ पिल्सिन थाल्छ । वस्तु उत्पादनको पहिलो चरणदेखि अन्तिमसम्मका सबै प्रक्रियाहरू पार गर्दा एउटा उद्यमीको समय, पैसा र सीपको धेरै लगानी भइसक्छ । तर केही लगानी नभएको बिचौलियाले सजिलै नाफा कुम्ल्याउँछन् र उत्पादक भने बजार व्यवस्थाको शोषणमा पर्छ ।
हाम्रा सबैजसो सरकारी कार्यालयहरूमा सेवा प्रवाह सास्ती दिने खालका छन् । एकै दिनमा कुनै सरकारी कार्यालयमा सेवा पाउन मुस्किल छ । करदाताले सामान्य सेवा लिनलाई पनि कुनै दल र नेताको सिफारिस लिन पर्ने परिस्थिति छ । राज्यका संयन्त्रहरूले निष्पक्ष र पारदर्शी ढगंले कामै गर्दैनन् । मालपोत कार्यालय, यातायात कार्यालय वा अन्य सरकारी निकायमा सानो काम गराउनलाई पनि सेटिङमार्फत् जानु पर्ने अन्यथा काम नहुने वा अनावश्यक विलम्ब गरिदिने प्रवृत्ति मौलाएको छ । न्याय दिने अदालतसमेत सेटिङमा चल्ने बनायो ।
युवाहरू यो देशमा केही सपनै देख्दैनन् । रूस र युक्रेनको युद्ध जारी भएको थाहा भएर पनि रूसी सेनामा भर्ती हुन जान्छन् । मृत्युलाई हत्केलामा राखेर आफ्नो परिवार चलाउन युवाहरू युद्ध क्षेत्रमा जाने जोखिम समेत लिन्छन् । नेपाली राज्यले युवाहरूलाई बेचेरै सरकार चलाउने, सरकारी सत्तामा बसेर स्रोतसाधनको फुर्मास गर्ने, मोजमस्ती गर्ने पुरानै संस्कार हो । रणबहादुर शाहले बनारसमा बसेर मोजमस्ती गरेको ऋण सरकारी खजानाबाट तिर्ने शासनव्यवस्थामा अहिले पनि तात्त्विक भिन्नता आएको छैन ।
लास्ट बेन्चरले नेपाली राज्यलाई धेरै कमजोर र कंगाल बनाए । मुठ्ठीभर नेताहरूलाई मात्रै स्वर्ग हुने देश बनाए । राजनीतिक नेता कार्यकर्ताको रजगज चल्ने हुने देश बनाए । बाँकी आम नागरिकलाई उकुसमुकुस हुने देश बनाए । यहाँ आम नागरिकलाई सास फेर्न पनि मुस्किल छ । हरेक क्षेत्रमा दलतन्त्रको नंग्रा गाड्यो, दलविनाको मान्छे बाँच्न नसक्ने गरी समाजलाई दलीयकरण गरे ।
लास्ट बेन्चरले यस्तो देश बनाए कि पूर्व गृहमन्त्री आफ्नो बुहारीको प्रसुती गराउन अमेरिका जान्छ । स्थापित कलाकारहरू बच्चा जन्माउनै उतै जान्छन् । जेएनयुबाट विद्यावारिधि गरेका उत्कृष्ट प्रतिभाहरू अमेरिकामा डिभी भरेर जान्छन् । बहालवाला मुख्यसचिव एडीबीको जागिर खान राजीनामा दिएर जान्छन् । देश त गज्जबै बनाएको हो, हाम्रा लास्ट बेन्चरहरूले जहाँ उनका आफ्नै सन्तति बस्न चाहदैनन् । कुनै सपना यहाँ फुल्न र फक्रिन सक्छन् भन्ने अलिकति विश्वास राख्दैनन् । यहाँका नागरिकहरूमा जतिसक्दो यो देश छाड्न तयार हुने मानसिकता निर्माण गरायो ।
आत्म–स्वीकृति
लास्ट बेन्चरहरू नै यो देशको अहिलेसम्मको हर्ताकर्ता हुन् । राजनीतिक दल, सरकारदेखि विभिन्न संघसंस्थाहरू सबै यिनैका हातमा छन् । यिनीहरू सबैतिर छन् र शक्तिशाली छन् । यिनको अनुमति र मतिबिना यहाँ केही हुँदैन । यिनको कृपाबिना त यहाँ सास फेर्न पनि गाह्रो छ । केदार कार्कीले बोलिरहँदा उनमा केही खेद थिएन, बरू आत्मुग्धताले भरिपूर्ण थिए । ती कलिला नानीहरूका माझमा शिक्षाको धज्जी उडाएर कार्कीले शिक्षाप्रति ती नानीहरूको वितृष्णा नै हुनेगरी बोले । अव ती नानीहरूले शिक्षालाई कति महत्व देलान् ? मुख्यमन्त्रीले नै निरूत्साहित र शिक्षाको मानमर्दन गरेपछि । अहिलेको नेताहरूले यस्तो बोल्नुमा उनीहरूले आफू पढ्न नसकेकोमा कुण्ठा पालेको देखिन्छ । राजनीतिमा पढेलेखेका शिक्षित युवाहरूले चासो राखेर हस्तक्षेप गर्न थालेदेखि आफ्नो स्वर्ग गुम्ने त्रासले पनि शिक्षित जमातप्रति नकारात्मक भाष्य सृजना गर्न थालेका छन् । चाणक्यले आजभन्दा तेइस सय वर्ष अगाडि तक्षशिला विश्वविद्यालयबाट राजनीतिशास्त्रमा आचार्य गरेका थिए । उनी सोही विश्वविद्यालयमै राजनीतिशास्त्रको प्राचार्य भएका थिए ।
तक्षशीला यस्तो विश्वविद्यालय जहाँ संसारभरिबाट उत्कृष्ट विद्यार्थीहरू पढ्न आउँथे । अहिलेका हार्भार्ड, क्याम्ब्रिज, अक्सफोर्डजस्तै उतिबेला तक्षशिला, नालन्दा र विक्रमशिला विश्वविद्यालयहरू थिए । तक्षशिलामा विश्वका उत्कृष्ट विद्यार्थीहरू पढ्न आउँथे । पश्चिमा दार्शनिकहरू पनि तक्षशिलाबाटै दीक्षित भएका थिए । तक्षशीलामा पश्चिमा दार्शनिक एरिस्टोटल पढ्न आएका थिए । व्याकरणविद् पाणिनी, चन्द्रगुप्त मौर्य पनि त्यहीँबाटै शिक्षित र दीक्षित भएका थिए । चिनियाँ तीर्थयात्री फासियनले इशाको ४०० तिर तक्षशिला भ्रमण गरेका थिए । चाणक्यको शिक्षाबारेमा सामान्य जानकारी नराख्ने कार्कीले भीडको उत्पादन गर्ने सार्वजनिक सम्बोधन गर्नु नेपाली राजनीतिकै दुःखद अवस्था हो । लास्ट बेन्चरहरूले देश अहिलेसम्म चलाएको हुनाले हाम्रो देश यस्तो बन्यो । अन्यथा, फस्ट बेन्चर वा उत्कृष्ट प्रतिभाले चलाउन पाएको भए, हाम्रो देश यो भन्दा कैयन् राम्रो, सबल र विकसित हुने थियो । अहिले देशको हालत लास्ट बेन्चरले जितेर देशले हारेको अवस्था हो । लास्ट बेन्चरले आफूजस्तै देशलाई पनि लास्ट नै बनाइ सक्यो । अब त लास्ट बेन्चरले मेरो अक्षमताको कारणले यो देशले दुःख पायो भनेर कहिले स्वीकार गर्ने हो ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies