सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कुख्यात अपराधी ठहरिएका शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय आइतबार आयोजित पत्रकार सम्मेलनमा ५२ वर्षीय नुरुल्लाहलाई सार्वजनिक गरिएको छ ।
अपराध क्षेत्रको मास्टर माइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका शेखलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मीपुर बेलविछवा चोक नजिक रहेको नेपाल–भारत सीमावर्ती क्षेत्र भएर भारततर्फ जानेक्रममा आइतबार बिहान १२ बजे पक्राउ गर्न सफल भएको प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको निर्देशनमा सोही स्थानका शेख शेराज, शेख शद्दाम भन्ने खलिउल्लाह तथा भारतीय नागरिक राकेश कुमारले गोली हानी हत्या गरेका थिए । तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी ज्यान सम्बन्धी मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह तथा निजको भाइ खलिउल्लाह फरार रहँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
वृद्ध तैयवको हत्या गराउनमा मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
मुख्य योजनाकार एवं अपराधिक कार्यका कुख्यात पेशेवर अपराधी शेखसहितका व्यक्तिहरु सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घरसम्म ओहोरदोहोर गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएको थियो । सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डीएसपी गिरीले जानकारी दिइन् ।
पक्राउ परेका शेख नुरुल्लाहलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको तथा अदालतबाट ज्यान सम्बन्धी कसुर मुद्दामा न्यायिक हिरासतमा राख्ने अनुमती लिएर थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिइन् । तर खलिउल्लाह भने अझै फरार रहेको हुँदा निजको पनि खोजी कार्य जारी रहेको उनले बताइन् ।
पत्रकारमा प्रहरी उपरीक्षकको रुपमा कार्यभार सम्हालेका दिलिप घिमिरेले जिल्लाबाट अपराधिक कार्यलाई पूर्ण रुपमा निस्तेज बनाइ यहाँको जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने प्रमुख प्राथमिकता रहेको बताए ।
यसैक्रममा कुख्यात अपराधी भनिएका शेख नुरुल्लाहलाई समातिनु पनि एउटा चुनौतीको विषय बनेको थियो, तर उक्त चुनौतीहरु सकिएको हुँदा अपराध गर्नेलाई कानूनी कारबाही गरिने पपिन उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies