काठमाडौं : नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत इस्टविकलाई बलिङ कन्सलट्यान्ट नियुक्त गरिएको जानकारी दिएको हो ।
क्यानले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपलाई लक्षित गरेर इस्टविकलाई बलिङ कन्सलट्यान्टमा नियुक्त गरेको हो ।
६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् । उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन् ।
प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका छन् भने १४१ विकेट लिएका छन् । लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका छन् ।
इस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।
इस्टविकले नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्वको अनुभव गरेको बताए । नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए ।
काठमाडौं : गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।
गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५/१५ रन बनाए ।
नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।
त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए ।
कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे । गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १-१ विकेट लिए ।
काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई नयाँ आर्थिक वर्ष ०८१।८२ को बजेटमा समावेश गर्नका लागि ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन नेतृत्वको टोलीले सदस्यसचिव घिसिङलाई नेपाली राजनीतिमा योगदान गर्ने विभिन्न नेताहरुको सम्झनामा आयोजना गरिने खेलकुद प्रतियोगिताहरुका लागि बजेट विनियोजन गराइदिन माग गरेका हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले गणेशमान सिंह बक्सिङ, कृष्ण प्रसाद भट्टराई कराते, किसुनजी हाफ म्याराथन, सुवर्ण शमसेर क्रिकेट, मैयादेवी क्रिकेट, बिपी कोइराला भलिबल, भीमबहादुर तामाङ उसु, शैलजा आचार्य चेस, महेन्द्र नारायण निधि क्रिकेट र योगेन्द्रमान शेरचन साइकल प्रतियोगिताका लागि बजेट माग गरेको छ ।
ज्ञापनपत्र बुझेपछि सदस्य सचिव घिसिङले अहिले पनि विभिन्न प्रतियोगितामा सहकार्य भइरहेको बताउँदै नयाँ कार्यक्रमका लागि बजेट थप गर्ने पहल गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौं : भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरी र आकाश जिसीले समान दुई/दुई रन बनाए भने अनिल साह र गुलशन झाले समान एक-एक रन बनाए ।
बरोडाको जितमा ध्रुव पटेलले चार विकेट लिए भने लक्षित टोक्सियाले तीन र जय आभालेले दुई विकेट लिए । साथै हेमन्त पुण्डेले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनाएको थियो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए । नेपालका लागि करन केसी र गुलशन झाले दुई/दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि फाइनलमा पुगिसकेका छन् । नेपाले गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको एक खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुनेछ ।
काठमाडौं : आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै एकदिवसीय क्रिकेट सिरिजमाथि कब्जा जमाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा कब्जा जमाएको हो । आयरल्याण्ड वुल्भ्स पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।
आयरल्याण्ड वुल्भ्सले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरुले उल्लेख्य रन बनाउन सकेनन् । नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाँच ब्याटरहरु देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए । नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए । आयरल्याण्ड वुल्भ्सका लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई-दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड वुल्भ्सले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । प्रतियोगिताको अन्तिम खेल आइतबार हुनेछ ।
शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नाइट टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा तेस्रो पटक कृष्णनगर नगरपालिका–२ को रानी खेल मैदानमा नाइट टी–२० क्रिकेट प्रतियोगिताको शुरु भएकोे हो । प्रतियोगिता मंगलबार राति साढे ९ बजे उद्घाटन गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका छन् । नाइट टी–२० क्रिकेट खेलमा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगदसहित ८१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोस्रो स्थान हासिल गर्ने टिमलाई नगदसहित ४१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
क्रिकेट खेल उद्घाटनपश्चात पहिले चरणमा आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०÷१० ओभरको खेलमा झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा युवा क्रिकेट क्लब विजयनगरले ७८ रनको लक्ष्य पूरा गर्दै ६ विकेटले खेल जितेको छ । उक्त खेलमा म्यान अफ द म्याच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताए ।
उद्घाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्जा राशिद बेगले क्रिकेटप्रति युवाहरुको आकर्षण बढेको बताए । उनले क्रिकेट खेलमा तीनै तहका सरकारको लगानी आवश्यक देखिएको बताए ।
यस्तै राप्रपाका लुम्बिनी प्रदेश समिति सदस्य दीपक रजौरियाले क्रिकेट खेलले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । उनले व्यावसायिकरुपमा खेलकुदलाई अगाडि बढाउनुपर्ने बताउँदै खेल स्टेडियमको अभावलाई सम्बन्धित निकायले समयमै ध्यान दिइ आवश्यक कदम चाल्नुपर्ने बताए ।
यसैगरी युवाहरुमा नेकपा (एमाले)का नेता तथा समाजसेवी शिव प्रसाद जायसवाल, मित्र राष्ट्र भारतका नगर पञ्चायत बढनीका चेयरम्यान सुनील अग्रहरी, नेकपा माओवादी केन्द्रका कृष्णानगर अध्यक्ष जावेद आलम खाँ, क्रिकेट प्रेमी पूर्वएम्पायर विनय शर्मालगायतले खेलमा सबै सरोकारवालाले चाँसो देखाउनुको साथै सरकारले आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्नुपर्नेमा सुझाव दिएका थिए ।
जय स्पोर्ट्स क्लब कपिलवस्तुले कृष्णनगरमा तेस्रो पटक नाइट टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको र आउने दिनमा पनि क्रिकेट प्रेमी युवाहरुका लागि लगातार क्रिकेट प्रतियोगिता आयोजना गर्दै जाने आयोजक समितिका अध्यक्ष सुहेल खानले प्रतिबद्धता जनाए ।
काठमाडौं : नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार गुजरात क्रिकेट एशोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो ।
नेपालले तीन खेलबाट ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले बरोडा क्रिकेट एशोसिएसनलाई २७ रनले हराएको थियो ।
१८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो । गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनाएको थियो । नेपालका शुरुवात उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । शुरुवात राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके ।
पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे ।
तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई रनमात्रै बनाए । कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए । अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे । गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ र ध्रुशान्त सोनीले २-२ विकेट लिए ।
काठमाडौं : नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्याण्ड वुल्भ्सले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल 'ए'लाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्याण्ड वुल्भ्सले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
आयरल्याण्डका केड कार्माइकलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले ७७ बल खेल्दै ४ चौका प्रहार गरे । कप्तान निल रक ३९,पिटर मूर २१, जेम्स म्याकमुलम १२ र स्टेफिन डोहेनी १२ रनमा आएट हुँदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ६.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित २१ रन खर्चिएर ४ विकेट लिँदा ह्याट्रिक पनि गरे । साहब आलम र श्याम ढकालले २/२ विकेट लिँदा रिजन ढकालले १ विकेट लिए ।
काठमाडौं : भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो
गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ राज्यो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो । एक सय ५७ रनको विजयी लक्ष्य पछयाउने क्रममा भारतको बरोडाले सवै विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो ।
बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए । उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए । बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले एक एक विकेट लिए ।
यसैगरी बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए । बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई दुई तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको गौरमा जारी पालिका कप टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा यमुनामाई गाँउपालिकाले गौर नगरपालिकालाई पराजित गरेको छ । गौर नगरपालिकालाई यमुनामाई गाँउपालिकाले ८ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको यमुनामाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यमुनामाईका लागि डब्बलु आनन्द मलिकले ४३ तथा आयन मुखियाले २९ रन बनाए ।
१३९ रनको लक्ष्य पछ्याएको गौर १३० रन बनाउँदै अलआउट भयो । गौरका लागि राज पटेलले ४२ रन बनाए ।
यसैगरी लिग चरणअन्तर्गत भएको अन्तिम खेलमा माधव नारायण नगरपालिका गढीमाई नगरपालिकालाई १७ रनले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो ब्याटिङ गरेको माधव नारायणले ११५ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको गढीमाईले ९८ रनमात्र बनाउन सक्यो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies