काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार ओमानमा भएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।
कतारका कप्तान मोहम्मद तनवीरले अर्धशतकीय इनिङ खेले । उनले ३३ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६३ रन बनाए । यस्तै मोहम्मद अनफले १८ बलमा ४ चौकाको सहयोगमा २३ रन बनाए भने कमरन खानले १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । अदनन् मिर्जाले ८ बलमा ४ चौकाको सहयोगमा १९ रन बनाउँदा हिमान्शु राठोड १८ बलमा २२ रन बनाउँदै अविजित रहे ।
यसबाहेक कतारका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान २-२ विकेट लिए भने अभिनाष बोहोरा र कुशल मल्लले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको विस्फोट ब्याटिङमा निर्धारित २० ओभरमा विकेट ७ गुमाएर २१० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६४ रनमा अविजित रहे । दीपेन्द्रले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यस्तै आसिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेले उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरे । कुशल मल्ले १८ बलको सामना गर्दै ३ छक्का र २ चौकाको सहयोगमा ३५ रन बनाएर आउट भए ।
कुशल भुर्तेलले ११ बलको सामना गर्दै २ चौकाको सहयोगमा १२ रन बनाएर आउट भए । कप्तान रोहित कुमार पौडेल १८ बनाउँदा सन्दीप जोरा ७ र गुलसन झाले ५ रनमा आउट भए । कतारका लागि हिमान्शु राठोड र मुसावर शाहले समान ३-३ विकेट लिँदा अमिर फारुकले १ विकेट हात पारे ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : कर्णालीबाट राष्ट्रियस्तरको फुटबल खेलमा उदाएका जुम्लाका खेलाडी यौद्धा शाहीको प्रोत्साहनका लागि परिवारले एक करोड १५ लाखको लगानीमा फुटसल ग्राउण्डसहित फुटबल एकेडेमी स्थापना गरिदिएको छ । कर्णालीको राजधानी सुर्खेतमा नयाँ वर्षको अवसरमा एक औपचारिक कार्यक्रम गरी ‘यौद्धा फुटबल एकेडेमी‘ उद्घाटन गरिएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका निवासी यौद्धा शाही नेपाली सेनाका जमदारा पदमा छन् । उनी नेपाली सेनामा छिरेपछि फुटबल क्षेत्रमा अग्रसर भएका थिए । उनमा उत्साह थप्न परिवारले एक करोड १५ लाखको लगानीमा फुटसल मैदान नै स्थापना गरी स–साना बालबालिकालाई खेल क्षेत्रमा सीप सिकाउने उद्देश्य राखेको छ । त्रिभुवन आर्मी क्लबका सिनियर खेलाडी यौद्धाको प्रोत्साहनमा सुर्खेतमा स्थापना गरिएको फुटसल मैदानको उद्घटन शाहीका बुबा पृथ्वीबहादुर शाही र आमा मुक्ति शाही तथा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले संयुक्तरुपमा गरे ।
उद्घाटन कार्यक्रमा बोल्दै उपाध्यक्ष हमालले कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन गइरहेको अवसरमा स्थापना भएको फुटसल मैदानले थप सजिलो हुने बताए । उनले यस मैदानसँग निरन्तर खेलका लागि सहकार्य गर्ने बताए ।
यौद्धाका बुबा पृथ्वीबहादुर शाहीले छोराको खेलमा प्रगति हेर्दा खुशी लागेको बताए । उनले भने, ‘यसमा सबैको सहयोग आवश्यक छ ।’ योद्धाका दाजु द्धोन्द बहादुर शाहीले भाइको खेलप्रतिको लगाब हेरेर पश्चिम नेपालमा खेल शिक्षा र सीप दिने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताए ।
फुटबल एकेडेमीको सञ्चालक भने यौद्धाका दिदी उगुना शाही हुन् । उगुनाले भाइको खेलप्रतिको प्रगति र लगाब हेरेर परिवार सबै मिलेर फुटबल एकाडेमी स्थापना गरिएको बताइन् । उनले अहिले भने सिनियर राष्ट्रिय खेलाडी धवाञ्जरले कोचको रुपमा काम गर्ने बताइन् । सञ्चालक उगुनाले कर्णाली प्रदेश उद्योग परिषद परिसंघमा रहेर पनि काम गरिसकेकी छन् । सो फुटसल मैदानमा भर्खरै १३ वर्ष मुनिका खेलाड छनोटसमेत गरिएको छ ।
को हुन् यौद्धा शाही ?
यौद्धा शाही वि.सं २०६० सालमा नेपाली सेनाको सैन्य पदमा प्रवेश गरेका थिए । त्यसपछि शाही त्यसभित्रको त्रिभुवन आर्मी क्लबमा छनोट फुटबल खेल्नका लागि छनोट भएका थिए । तत्कालीन मेजर बिमल बिष्टको थप प्रोत्साहनमा २०६५ सालमा आहा रारा गोल्डकपमा उनले डेब्यू गर्ने अवसर पाए । शाहीले त्रिभुवन आर्मीबाट खेल्दा २०७१ सालमा माई भ्याली गोल्डकप र झापा गोल्डकपमा बेष्ट डिफेन्डर घोषित भएका थिए ।
नेपाल आर्मीको लिग खेल्दै गर्दा खेल राम्रो भएपछि उनलाई फष्ट सुपर लिग धनगढी एफसीले ७५ हजार रुपैयाँमा हायर गरेर खेलायो । यस्तै उनलाई सेकेण्ड लुम्बिनी खेलमा एक लाख २० हजार पारिश्रमिकमा हायर गरिएको थियो ।
यौद्धाले भारतको इन्दिरा गान्धी रंगशालामा नेपाल इन्डियन डुडान कप पनि खलेले । आफ्नो रिटायर्ड जीवन कर्णालीका खेलाडी उत्पादनमा ध्यान दिने उनी बताउँछन् ।
वीरेन्द्र नगरपालिकाभित्र १३ कठ्ठा आठ धुर जग्गामा उक्त खेल मैदान लिजमा लिइ बनाइएको हो । कर्णालीमा वीरेन्द्रनगरमा स्थापना गरिएको उक्त फुटसल मैदानमा चाइनिज म्याट, जाली, कार्यालय कोेठा, हल, चेन्जिङ कोठा स्थापना गरिएको छ ।
काठमाडौं : दीपेन्द्र सिंह ऐरीको विस्फोट ब्याटिङमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा विकेट ७ गुमाएर २१० रन बनायो ।
नेपालका लागि दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६४ रनमा अविजित रहे । दीपेन्द्रले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
यस्तै आसिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेले उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरे । कुशल मल्ले १८ बलको सामना गर्दै ३ छक्का र २ चौकाको सहयोगमा ३५ रन बनाएर आउट भए ।
कुशल भुर्तेलले ११ बलको सामना गर्दै २ चौकाको सहयोगमा १२ रन बनाएर आउट भए । कप्तान रोहित कुमार पौडेल १८ बनाउँदा सन्दीप जोरा ७ र गुलसन झाले ५ रनमा आउट भए । कतारका लागि हिमांशु राठोड र मुसावर शाहले समान ३३ विकेट लिदाँअमिर फारुकले १ विकेट हात पारे ।
काठमाडौं : एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । ओमानमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २४ बलमा एक छक्काको सहयोगमा २८ रन बनाए । यस्तै कुशल भुर्तेलले २४ बलमा ३ चौकाको सहयोगमा २४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र एक छक्काको सहयोगमा २० रन बनाए ।
गुल्शनकुमार झा ७ बलमा एक चौका र २ छक्काको सहयोगमा १९ रनमा अविजित रहे भने सन्दीप जोरा १२ रनमा अविजित रहे । कुशल मल्ल ६ बलमा ७ रन बनाएर आउट भए । मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद वाफिक र पवनदीप सिंहले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो ।
नेपालको समूहमा मलेसिया, साउदी अरब, हंगकंग र कतार रहेका छन् । नेपालले शनिबार दोस्रो खेलमा कतारको सामना गर्नेछ । समूह बी मा यूएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र यूएईले शुक्रबार नै भएको खेलमा जित हासिल गर्दै विजयी शुरुवात गरिसकेका छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
काठमाडौं : एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।
मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो ।
काठमाडौं : एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ ।
ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टी–२० अन्तर्राष्ट्रिय खेल दशौं पटकको हो । यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको छ ।
टी–२० ढाँचामा हुने एसीसी प्रिमियर कपमा १० टोलीको सहभागी हुनेछन् । तिनलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरब छन् ।
समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
खेल तालिकाअनुसार आजै अपराह्न हुने समूह ‘ए’अन्तर्गतको अर्को खेल हङकङ र कतारबीच हुनेछ । नेपाल भोलि कतारसँग र वैशाख ३ गते हङकङसँग भिड्नेछ । समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ । प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।
काठमाडौं : ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपालको अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । तर भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
नेपालले पहिलो खेल मलेसियासँग चैत ३० गते खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल वैशाख ७ गते हुनेछ भने फाइनल खेल वैशाख ९ गते हुनेछ ।
यस प्रतियोगितामा विजेता हुने टिमले सन् २०२५ मा हुने एसिया कप खेल्ने पाउनेछ । यसपटकको एसिया कप टी-२० फर्म्याटमा हुने भएकाले प्रिमियर कप पनि टी-२० फर्म्याटमा नै हुनेछ । यस्तै यस प्रतियोगिताको शीर्ष ३ टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।
नेपालको टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेका छन् ।
काठमाडौं : आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले टेस्ट टोली वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज ‘ए’ पाँच टी–२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ ।
एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज आयोजना हुनेछ । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।
आईसीसी टी–२० विश्वकप र एसीसी प्रिमियर कपको तयारीका लागि हाल नेपाली क्रिकेट टोली भारतमा रहेको छ । भारतमा नेपालले गुजरात र बरोडासँग फ्रेन्डसिप कप खेलेको थियो । नेपाल उतैबाट ओमान प्रस्थान गर्ने छ । ओमानमा नेपालले प्रिमियर कप खेल्ने छ ।
काठमाडौं : आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।
सार्वजनिक जर्सी रातो, निलो, हलुका सेतो र पहेँलो रंगको रहेको छ । जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ । सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ । बीचको भाग निलो रंगको रहेको छ । सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ । बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रंङ रातो रहेको छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ ।
क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलामै प्रयोगमा आउने छ । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् ।
नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।
धनकृष्ण बिक/मध्यान्ह
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा २ करोड बढी लगानीमा बहुउदेश्यीय कभर्डहल निर्माण भएकाे छ । बढीमालिका नगरपालिकाले ८ वर्ष अगाडि निर्माण कार्यकाे थालनी भएकाे हलकाे निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ ।
२०७३ सालमा निर्माण कार्य शुरु गरिएको बहुउदेश्यीय कभर्डहल अलपत्र परेपछि बडीमालिका नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको हो । कभर्डहल निर्माण अलपत्र परेपछि बडीमालिका नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सम्पन्न गरिएको नगर प्रमुख अमर बहादुर खड्काले बताए ।
२०७३ वैशाख ११ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलले कभर्डहलको शिलान्यास गरेका थिए । संविधानसभा सदस्य तथा तत्कालीन उद्योग मन्त्री कर्ण बहादुर थापाको संसद विकास कोषबाट बजेट विनियोजन गरी निर्माण कार्य थालनी गरिएको थियो । थापाको संसद विकास कोषबाट ५० लाख विनियोजन भएपनि निर्माण कम्पनीले सम्झौताअनुसारको काम नगरेको जिल्ला खेलकुद समितिको तथ्याकंमा उल्लेख छ ।
२०७४ सालमा खेलकुद परिषदबाट ४० लाख, २०७५ सालमा खेलकुद परिषदबाट पुनः ४० लाख गरी ८० लाख र २०७५ सालमा सांसद लालबहादुर थापाको संसद विकास कोषबाट ४५ लाख विनियोजन भएको भए पनि ठेकदारको लापरबाहीका कारण काम हुन नसकेको खेलकुद विकास समितिले जनाएको छ ।
त्यसैगरी २०७६ सालमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदबाट ५० लाख रुपैयाँ विनियोजन भएपछि निर्माण व्यवसायी रामप्रसाद रेग्मीले निर्माण कार्यको जिम्मा लिएका थिए । त्यतिबेला सबै रकम निकासा भएपनि काम भने पूरा नभएको खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बताए ।
कभर्डहल निर्माणमा तीनै तहका सरकारले बेवास्ताका कारण निर्माण पूरा नहुँदै अलपत्र परेपछि बडीमालिका नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेर हाल निर्माण कार्य सम्पन्न गरेको हो । बाजुराको खेल क्षेत्रको विकास र यहाँका युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गराउने उद्देश्यका साथ उक्त कभर्डहल निर्माणको थालनी गरिएको थियो ।
सदरमुकाममा सामान्य खालको खेल मैदानसमेत नहुँदा यहाँका खेलाडीहरुले सरकारी विद्यालयसँग मैदानका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies