काठमाडौं : एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो ।
नेपालका सन्दीप जोरा बाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । गुल्शन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए भने करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।
यस्तै आसिफ शेखले ११ बलमा ८ रन, दीपेन्द्र सिंह एरीले ८ बलमा ५ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा ३ रन, सोमपाल कामीले ३ बलमा २ रन, ललित राजवंशीले ३ बलमा २ रन तथा अभिनाश बोहोराले ३ बलमा १ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए ।
यूएईका लागि जुनइद सिद्धिकी, अली नासीर र बासिल हमीदले २-२ विकेट लिए ।
काठमाडौं : लागुऔषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् ।
लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा बिहीबार छुटेका हुन् । उच्च अदालतको फैसलाविरुद्ध उनी सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले बुधबार लामालाई पक्राउ गरेको थियो । उपाध्यक्ष लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका थिएनन् ।
काठमाडौं : एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
नेपाल एक खेलअगावै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यसअघि नेपालले समूह चरणमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।
८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि गुल्सन झाले अविजित ३२ रन बनाए । उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १६ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए भने नेपालका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए । कुशल मल्ल २ रनमै आउट भएका थिए । साउदीका इश्तियाक अहमदले सर्वाधिक २ विकेट लिए । उस्मान नजिब र वाजी उल हसनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ बनाएको थियो । साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए । ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो ।
काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।
साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए। ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो ।
काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं : नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । अल अमेरत मैदानमा जितका लागि ११५ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १२.२ ओभरमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रमक शुरुवात दिलाएका थिए । नेपालका लागि आसिफले सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका उनले ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै कुशलले १९ बलमा ३२ रन बनाए । सोक्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेल २० बलमा ३ चौकको सहयोगमा २५ रन तथा सन्दीप जोरा १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाउँदै नटआउट रहे । हङकङका लागि यासिम मुर्तजा र एहसान खानले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा ११४ रनमा अलआउट भएको थियो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । २६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । ओपनर मार्टिन कोट्जी ८ रनमा आउट भए ।
नेपालका लागि अभिनाष बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।
यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । ३ खेलमा २ अंक जोडेको हङकङ भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
काठमाडौं : एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । सोमबार ओमानको अल अमेरत मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हङकङ १७.५ ओभरमा ११४ रनमा अलआउट भयो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । २६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । ओपनर मार्टिन कोट्जी ८ रनमा आउट भए ।
नेपालका लागि अभिनाष बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्ला रारा अल्ट्रा म्याराथनको महिलातर्फको उपाधि खोटाङकी प्रिया राईले जितेकी छन् । जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दुरी प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । राईले अन्य देशहरूमा नेपालको प्रतिनिधित्व गर्दै पदक समेत दिलाउँदै आएकी छन् ।
महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भएकी छन् । त्यस्तै तिला गाउँपालिका जुम्लाकी अनिता बुढा ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएकी छन् ।
त्यस्तै पूरुषतर्फको उपाधि जुम्लाका धिरबहादुर बुढाले जितेका छन् । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दुरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेरका हुन् । त्यस्तै पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान ल्याएको कर्णाली स्पार्ट्से क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्डको टाइमिङ निकाले भने शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दुरी पार गरेका थिए ।
आयोजकका अनुसार म्याराथनमा ४ विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए । कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए । म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोकका र जुम्लाका धावकले भाग लिएको कर्णाली स्पार्ट्से क्लब जुम्लाले जनाएको छ ।
म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ । म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको थियो ।
शिव विक/मध्यान्ह
काठमाडौं एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ । नेपाललाई जित दिलाउने क्रममा दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । टल जितेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो, क्रिजमा थिए दीपेन्द्र र सोमपाल कामी । २०औं ओभरमा स्ट्राइकमा रहेका दीपेन्द्रले ओभरका सबै ६ बलमा ६ छक्का प्रहार गरे । योसँगै उनले एकै ओभरमा ६ छक्का हान्ने विश्व कीर्तिमान बनाएका छन् ।
दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत बने । यसअघि दीपेन्द्रले सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए । सो खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए ।
तर विश्व क्रिकेटमा भने दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पाँचौं खेलाडी बने । दीपेन्द्रअघि दक्षिण अफ्रिकाका हर्सल गिब्स, भारतका युवराज सिंह, वेस्ट इन्डिजका काइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले एकै ओभरमा ६ छक्का हान्ने विश्व रेकर्ड राखिसकेका छन् ।
हर्सलले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए । पोलार्डले श्रीलंकाविरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए । मल्होत्राले पनि पपुवा न्युगिनीविरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान बनाएका थिए ।
रामबहादुर थापा/रासस
गण्डकी : नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौंमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ ।
भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बंगलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि वैदेशिक रोजगारीका लागि जापान पुगेका हुन् ।
तीन वर्षअघि ‘एनभिए भलिबल च्याम्पिएनसिप’ खेल्दै राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका प्रभावशाली ओपन स्पाइकर रविले भलिबल करिअरलाई बिट मार्दै विदेशिएका हुन् । राष्ट्रिय टिमबाट भलिबल खेल्ने सपना पूरा नभएपछि भविष्य सोचेर नयाँ बाटो तय गरेको उनले सुनाए । “भलिबलमा राम्रै भइरहेको थियो, प्रतियोगिता पनि खेलिरहेको थिएँ”, २४ वर्षीय रविले भने, “राष्ट्रिय टिमबाट खेल्न पाएको भए अझै केही वर्षसम्म भलिबल खेलिन्थ्यो होला, त्यो अवस्था नभएपछि भविष्य सोचेर विदेश जाने निर्णय लिएँ ।”
उनले राष्ट्रिय टिममा पर्न सके पुनः भलिबलमा फर्कने सोच बनाएको बताए । “केही महिनामा राष्ट्रिय टिमको छनोट हुन्छ, हेरौँ खेलाडीको सूची कसरी आउँछ”, रविले भने । गत वर्ष भलिबलको क्लोज क्याम्पमा परे पनि उनी राष्ट्रिय टिममा छनोट हुनसकेका थिएनन् । छोटो अवधिमै भलिबलमा चम्मेका रवि फेरि कोर्टमा फर्केलान्, नफर्केलान् तर खेलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् ।
बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि कुनै औपचारिक प्रशिक्षणबिनै भलिबलमा उदाएका प्रतिभा हुन् । चौध–पन्ध्र वर्षको उमेरदेखि गाउँका कुनाकन्दरामा भलिबल खेल्दै, सिक्दै अगाडि बढेका रविले देशको जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए । गाउँठाउँमा लोकप्रिय पनि रहेको र सानैदेखि अरुले खलेको देख्दा भलिबलतिर रुचि जागेको उनले सुनाए ।
दुई वर्षअघि बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का खेल्न पाउनुलाई उनले करिअरकै महत्त्वपूर्ण अवसरका रुपमा सम्झन्छन् । त्यो उनले देशका लागि खेलेको एकमात्र प्रतियोगिता हो । अन्य प्रतियोगिताका सिलसिलामा भने रवि मलेसिया र हङकङ पनि पुगेका थिए । “राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुनसकेन, क्लोज क्याम्पमा परेर पनि छनोटमा परिनँ”, उनले भने, “नेपाल भलिबल सङ्घले नयाँ खेलाडीलाई पनि स्थान दिनुपर्छ ।”
रविले नेपालमा हुने राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए । अधिकांश खेलमा उनी उत्कृष्ट खेलाडी घोषित हुन्थे । गत वर्ष पोखरामा भएको तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रुपमा उनले रु २५ हजार र ट्रफी हात पारेका थिए । त्यसयताका प्रतियोगितामा पनि उनले सफलता जारी राखे ।
यसै वर्ष वीरगञ्ज स्मृति कप, लामाचौर कप र प्रदेशी हातेमालो सोसाइटीले हङकङमा आयोजना गरेको प्रतियोगितामा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए । रविले हालै सुर्खेतमा भएको ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता र पोखरामा आयोजित चौँथो टाइगर कपमा गण्डकी प्रदेश टिमबाट खेलेका थिए । उनले गलकोट भलिबल टिमबाट पनि दर्जनौँ प्रतियोगिता खेल्दै टिमलाई जित दिलाएका थिए ।
गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसीले हरेक प्रतियोगितामा रविले उत्कृष्ट प्रदर्शन गर्ने गरेको स्मरण गरे । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले शक्तिबाली स्पाइक गर्न सक्छन्, उनको बलियो पक्ष भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो”, केसीले भने । रवि राष्ट्रिय टिममा पर्न योग्य खेलाडी रहेको उनको भनाइ छ ।
छोटो समयमै रविले भलिबलमा आफूलाई प्रमाणित गरेका थिए । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए । “नेपालको अवस्था पनि यस्तै छ, खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेर मैले बिदेसिनुपरेको हो”, उनले भने ।
अवसर पाएमा जापानमा पनि भलिबललाई निरन्तरता दिने सोचमा उनी छन् । खेल कौशल सँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । भलिबलमा चम्किएका रविको बर्हिगमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरुले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् । खेल टिप्पणीकार हेमराज हमालले उत्कृष्ट स्पाइकर रविलाई देशमा टिकाउन नसकिएकामा दुःख व्यक्त गरे । “रवि नेपालकै लागि लामो समय उत्कृष्ट स्पाइकर बन्न सक्थे, बिडम्वना राम्रा खेलाडी प्रतिभाहरु नै विदेश पलायन हुनुपर्ने अवस्था छ”, उनले भने ।
जिल्ला भलिबल सङ्घ, बागलुङका अध्यक्ष योगेश भण्डारीले रवि नेपाली भलिबलको प्रतिभावान खेलाडी रहेको बताए । भलिबलमा करिअर बनाएका धेरै नेपाली खेलाडीहरु विदेश पलायन भइरहेको उनको भनाइ छ । “विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ”, उनले भने “राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।” राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने अध्यक्ष भण्डारीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies