काठमाडौं : राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।
जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् ।
त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे । नेदरल्याण्ड्ससका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्याण्ड्ससले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।
नेदरल्याण्ड्ससका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी टिम भान डेर गुग्टेनले २४ रन जोडदा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई/दुई विकेट लिए । तेस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
सिरिजको एक खेल बाँकी रहँदा नेदरल्याण्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्याण्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ ।
नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा आइतबार नेदरल्याण्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : प्रथम कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । जुम्लामा गत फागुन १६ गतेदेखि भएको प्रदेशस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा हुम्लालाई ४-० गोल अन्तरले पराजित गर्दै जुम्ला विजयी भएको हो ।
हुम्ला र जुम्लाबीचको फाइनल खेल निर्माणाधीन रंगशालामा भएको थयो । जुम्लाका रुविन भण्डारीले ३ गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै महेन्द्र शाहीले पेनाल्टीबाट गोल गरेका थिए । हुम्लाले भने खेल अवधिभर गोल फर्काउन सकेन । उपाधि जितेको जुम्लाले कप, मेडल तथा प्रमाण पत्र पाएको छ । जुम्लाका खेलाडीले घरेलु मैदानमा उपाधि जित्दा खुसी व्यक्त गरेका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देवेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरे ।
प्रतियोगितामा जुम्ला, मुगु, हुम्ला, कालीकोट, सुर्खेत र जाजरकोट गरी ६ जिल्लाको सहभागिता रहेको थियो । जसमा जाजरकोट र मुगु नकाउटचरणबाट बाहिरिएका थिए भने सुर्खेत र कालीकोट सेमिफाइनलबाट बाहिरिएका थिए ।
आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको टिम छनोटका गर्न प्रतियोगिता आयोजना गरिएको फुटबल संघका अध्यक्ष भरत बहादुर बुढथापाले बताए । उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा हुने भनिएको छ । यो प्रतियोगिताबाट सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडी विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।
काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० आई सिरिजअन्तर्गत नेपालले तेस्रो खेलमा नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना पनि कायम राखेको छ ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएर ८ रन मात्र दिए ।
नामिबियाका लागि जेजे स्मितले अर्धशतकीय इनिङ खेले । उनले २६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । यस्तै जेन फ्रिलिंकले २९ बलमा ३७ रन बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ३७ बलमा ४ छक्का र १ चौकको सहयोगमा ५५ रन बनाएर नट आउट रहे ।
यस्तै आरिफ शेखले २४ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । गुलशन झाले १६ बलमा २६ रन बनाउँदा अनिल साहले १७ बलमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । त्यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नामिबियाका लागि बेन शिकोंगोले ३ विकेट लिए भने ज्याक ब्रसेलले २ विकेट लिए ।
काठमाडौं : नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालको शुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा नै नेपालले एक विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख १ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र अनिल साह रहेका छन् ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : जिल्लाको इशनाथ नगरपालिकामा बिहीबार भएको टी–२० क्रिकेट मैत्रीपूर्ण खेलमा सञ्चारकर्मी टिमलाई कर्मचारी टिमले २७ रनले पराजित गरेको छ ।
इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए । निर्धारित २० ओभरको खेलमा कर्मचारी टिमले १४ ओभरमा अलआउट हुँदै १०२ रन बनाएर १०३ रनको लक्ष्य सञ्चारकर्मी टिमलाई दिएको थियो । तर सञ्चारकर्मीको टिमले १९.४ ओभरमा अलआउट हुँदै मात्रै ७५ रन बनाउन सकक्यो ।
इशनाथ नगरपालिकामा क्रिकेट खेललाई अझै लोकप्रिय बनाउन मैत्रीपूर्ण खेलको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए ।
इशनाथ नगरपालिकामा सञ्चालित मेयर कप २०८० को उपलक्ष्यमा मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । शुक्रबार उक्त खेलको फाइनल हुने भएको हुँदा खाली दिनको सदुपयोग गर्दै मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि हुम्ला र जुम्लाबीच प्रतिस्पर्धा हुने भएको छ । पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा पुगेको हो भने कालीकोटलाई पराजित गर्दै हुम्ला फाइनलमा पुगेको हो ।
जुम्ला र सुर्खेतबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा आयोजक जुम्लाले सुर्खेतलाई ६–५ गोलअन्तरले पराजित गरेको हो । हुम्ला कलीकोटलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
हुम्ला र जुम्लाबीचको फाइनल खेल शुक्रबार हुँदैछ । जुम्लालाई हराउँदै इतिहास रच्ने दाउमा हुम्ला रहेको छ भने यता जुम्ला घरेलु मैदानमा उपाधि रक्षा गर्ने पक्षमा रहेको छ ।
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
काठमाडौं : ह्वा राङ वारियर्स आईटीएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया गएको छ ।
फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको ५२ केजीमुनि वीरेन्द्र कुँवर, ६२ केजीमुनि कैलाश अर्याल र ७५ केजीमुनि देवेन्द्र सुनार रहेका छन् । महिला ५२ केजीमुनि सजिना तामाङले खेल्ने छिन् ।
प्रशिक्षकमा विक्रम बाँठा मगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : दोलखामा आगामी फागुन २१ गतेदेखि प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ “प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” हुने भएको हो ।
रित बहादुर खड्का 'प्रताप' को व्यक्तित्व र कृतित्व र स्मृतिको निरन्तरताका लागि सर्वाधिक पुरस्कार राशिको खेल हुन लागेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए ।
त्यस्तै प्रतियोगिताको विषयमा सञ्जालले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानाकारी गराउने छ । प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा हुनेछ ।
काठमाडौं : भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो । बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।
रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा सञ्चालित कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको पहिलो दिन दुई वटा खेल भएका छन् । जसमा सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्लाबीच भएको थियो भने दोस्रो खेल जाजरकोट र हुम्लाबीच भएको थियो ।
सुर्खेतले मुगुलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आयोजक जुम्ला फुटबल संघका अनुसार सुर्खेतका नविन वलीले ३१औं मिनेटमा पहिलो गोल, ५७औं मिनेटमा दोस्रो गोल हानेका थिए । यसैगरी दोस्रो हाफमा सुर्खेतका भरत नगलले ६०औं मिनेटमा एक गोल र ६८औं मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । मुगुका लागि मिसी शाहीले ४८औं मिनेटमा एक गोल गरेका थिए ।
त्यस्तै हुम्लाले जाजरकोटलाई २–० गोलले विजयी भएको छ । खेल अवधिमा गोल हान्न निकै प्रयास गरेको जाजरकोटले गोल गर्न सकेन । खेल शुरु भएको ३३औं मिनेटमा हुम्लाका सागर शर्माले पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए । दोस्रो गोल हुम्लाका सुनिल शाहीले ५३औं मिनेटमा गरेका थिए ।
जुल्ला जिल्ला फुटबल संघकाका महासचिव दिपेन्द्र विक्रम हमालका अनुसार खेल नकाउट भएकाले विजेता जिल्लाले मात्रै अब अर्को खेल खेल्ने भएका छन् । जुम्ला र कालिकोट बाई परेकाले अब सुर्खेत, जुम्ला र हुम्ला, कालिकोट यही फागुन १७ गते सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलबाट विजयी भएका दुई टिम १८ गते फाइनलका लागि भिड्ने छन् ।
फागुन १५ गते उद्घाटन गरिएको प्रदेशस्तरीय पुरुष फुटवल खेल प्रतियोगिता हिउँ परेकाले मंगलबार स्थगित गरी बुधबारबाट खेल शुरु गरिएको हो । कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडीलाई बल हस्तान्तरण गरेर खेल शुरु गरिएको थियो । उनले बल हस्तारण गर्दै ६ वटै जिल्लाबाट खेलमा सहभागी भएका खेलाडीलाई शुभकामना दिएका थिए । प्रतियोगितामा जुम्ला, सुर्खेत, कालीकोट, हुम्ला, मुगु र जाजरकोट सहभागी भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies