काठमाडौं : राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदानको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो ।
डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । उनीहरूका अनुसार पानी परेको दशदेखि बाह्र मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ । डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान दुवै रहेका छन् । स्टेडियममा तीन तल्लाको अन्डर ग्राउन्ड पार्किङ, पुरूष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थल लगायतका संरचना रहेका छन् । हालको माथिल्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रूपमा रहनेछ ।
खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मूलपानी क्रिकेट मैदानको प्रस्तुत गरिएको डिजाइन अनुसारको सुविधा सम्पन्न अत्याधुनिक स्टेडियम निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ ।
गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो । सोहीअनुरूप कलेजले डिजाइन प्रस्तुत गरेको हो ।
खेलकुदमन्त्री श्रेष्ठले यो वर्ष नै यो मैदानका लागि ५० करोडदेखि १ अर्ब सम्मको बजेट निकाशा हुने सम्भावना रहेको बताए । उनले स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए । यो डिजाइनमा अझै काम गर्न पनि उनले निर्देशन दिएका छन् ।
सदस्य सचिव घिसिङले यो प्रोजेक्टलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाएको भन्दै आगामी बजेटमा यही प्रोजेक्टलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिए । गत कात्तिक २३ गते सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।
काठमाडौं : नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज 'ए'लाई ६ विकेटले पराजित गरेको छ । पाँच खेलको सिरिज भने वेष्टइन्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ खेले । आसिफ शेख ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेललाई १३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।
यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।
हेटौंडा : राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा मदनकुमार श्रेष्ठ चयन भएका छन् । बिहीबार भएको संघको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ७ की सदस्य राधिका वि.क.को विशेष आतिथ्यता, हेटौंडा नगर खेलकुद विकास समितिकी सदस्य संगीता केसीको आतिथ्यता तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सदस्य नारायणसिंह थिङको उपस्थिति रहेको थियो ।
भेलाले उपाध्यक्षमा केशवबहादुर कार्की, राजकुमार थापा र भोजराज पराजुली, सचिवमा रवीन्द्र राई, सहसचिवमा रावण किष्म राई, कोषाध्यक्षमा दीपेन्द्र नेपाली तथा सदस्यहरूमा अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनक राईलाई चयन गरेको छ ।
साथै भेलाले सन्देश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौंडा नगर समितिसमेत गठन गरेको छ । जसको उपाध्यक्षमा अन्तेश्वर कापर, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा अभिषेक बानियाँ तथा सदस्यहरुमा रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे रहेका छन् ।
काठमाडौं : वेस्ट इन्डिज ‘ए’ले एक खेलअगावै घरेलु टोली नेपालसँगको ५ खेलको टी-२० सिरिजको उपाधि जितेको छ । बिहीबार भएको चौथो खेलमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितेको हो ।
वेस्ट इन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले । रोहितले ४७ बलमा ८२ रन बनाए । सोक्रममा उनले ७ वटा चौका र ५ वटा छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले १४ बलमा २ चौकाको सहयोगमा १९, दीपेन्द्रसिंह ऐरीले १४ बलमा २ चौकाको सहयोगमा १९ र गुल्सन झाले १४ बलमा ३ चौकाको सहयोगमा १९ रनको योगदान दिए । यस्तै अभिनाष बोहराले ८ बलमा १७ रन बनाए भने सोमपाल कामीले १० बलमा १० रन बनाए ।
त्यस्तै कुशल मल्ल ४ रनमा आउट हुँदा कुशल भुर्तेल १ रनमा आउट भए भने आसिफ शेख शून्य रनमा आउट भए । वेस्ट इन्डिज ‘ए’का लागि म्याथ्यु फोर्ड र हेडल वाल्सले समान ३-३ विकेट लिए भने फबिएन एलेनले २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय इनिङ खेले । फ्लेचरले ५४ बलमा ८४ रन बनाए । सोक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै चार्ल्सले ३० बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ५८ रन बनाए ।
यस्तै फबिएन एलेनले १९ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ३३ रन बनाए भने एलिक एथानाजेले ७ बलमा १ चौकाको सहयोगमा ५ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।
काठमाडौं : चौथो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय इनिङ खेले । फ्लेचरले ५४ बलमा ८४ रन बनाए । सोक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै चार्ल्सले ३० बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ५८ रन बनाए ।
यस्तै फबिएन एलेनले १९ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ३३ रन बनाए भने एलिक एथानाजेले ७ बलमा १ चौकाको सहयोगमा ५ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।
काठमाडौं : टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ः१५ बजे शुरु हुँदैछ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।
यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो ।
यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन गर्यो । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अर्धशतक प्रहार गरे । पाँच खेलको जारी शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ आजको खेलमा बिनादबाब मैदानमा उत्रने छ । नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ ।
काठमाडौं : आगामी जुन १ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिम घोषणा गरेको हो ।
टिममा स्पिनर सागर ढकाल र तीव्र गतिका बलर कमल सिंह ऐरीलाई समेटिएको छ भने आरिफ शेखले टिममा स्थान बनाउन सकेनन् ।
विश्वकपमा जम्मा २० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् भने २० वटा टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् । यस्तै समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान, समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी रहेका छन् ।
नेपालले दुई खेल अमेरिकामा खेल्दा दुई खेल वेस्ट इन्डिजमा खेल्ने छ । आईसीसीले सार्वजानिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग ४ जुनमा अमेरिकाको डालसमा पहिलो खेल खेल्ने छ । त्यस्तै ११ जुनमा नेपाल र श्रीलंकाबीच अमेरिकाको फ्लोरिडामा दोस्रो खेल हुँदा १४ जुनमा सेन्ट भिन्सेन्ट (वेस्टइन्डिज)मा नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने छ । समूहचरणको अन्तिम खेलमा नेपालले १६ जुनमा सेन्ट भिन्सेन्ट (वेस्टइन्डिज)मा प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको उद्घाटन खेल १ जुनमा अमेरिका र क्यानडाबीच डालसमा हुँदा प्रतियोगिताको फाइनल खेल २९ जुनमा बार्वाडोसमा हुने छ ।
नेपाली टिम :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
काठमाडौं : तेस्रो टी-२० खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । बुधबार भएको खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । यससँगै सिरिजमा वेस्ट इन्डिज ‘ए’ले २-१ को अग्रता लिएको छ ।
नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडे । नेपालका ओपनर लोशेक बमले २९ बलमा १ चौका र २ छक्काको मद्दतमा २८ रन जोडे । कुशल मल्लले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।
गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए । कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके । यस्तै करण केसीले २८ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिज ‘ए’का हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।
यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट लिए ।
काठमाडौं : तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज 'ए'ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए'ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।
वेस्ट इन्डिज 'ए'का लागि जोनसन चार्ल्सले शतकीय इनिङ खेले । उनले ६१ बलमा अविजित ११९ रन बनाए । सोक्रममा उनले १३ वटा चौका र ७ वटा छक्का प्रहार गरे । यस्तै एन्ड्रे फ्लेचरले अर्धशतकीय इनिङ खेले । उनले ३३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
नेपालका लागि करण केसी र सागर ढकालले समान एक-एक विकेट लिए ।
काठमाडौं : नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज 'ए'विरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
यस खेलमा दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्ने छन् । नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएका कारण दीपेन्द्रले कप्तानी सम्हाल्न लागेका हुन् ।
नेपालको प्लेइङ ११
लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies