काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा भएको उपचुनावमा पार्टीले व्यहोरेको पराजयको गहन समीक्षा गर्ने बताएको छ । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गरिने जनाएका छन् ।
महामन्त्री ढकालले इलाम–२ को मत परिणामले पार्टीका प्रयासहरूमा कमी कमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । साथै रास्वपाले आफ्नो पार्टीका उम्मेदवारलाई दिएको मतका लागि कृतज्ञता जनाएको छ । आफ्नो पक्षमा नतिजा नआए पनि लोकतान्त्रिक प्रक्रियामा जनताद्वारा व्यक्त मतको सम्मान गर्ने रास्वपाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भइ जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।’
इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए । इलाम- २ मा रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको थियो । तर उपनिर्वाचनमा उनको जमानत जफत भएको छ । उनले ५ हजार ५० मत पाएका थिए ।
काठमाडौं : प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।
एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।
उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने चाहना रहेको बताएका छन् । तर, आफू र आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्न नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागि परेको उनको गूनासो छ ।
सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पार्टीका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।
‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ’ अध्यक्ष नेपालले भने, ‘परिस्थितिलाई हामीले आफ्नो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालको आलोचना गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकार निर्माणका बेला मुख्यमन्त्री नपाए कांग्रेससँग गठबन्धन गर्ने एकीकृत समाजवादीको तयारी थियो । त्यसलाई रोक्न ओली एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिन तयार भए । तर, एकीकृत समाजवादीले उठाएको उम्मेदवारमा असहमति जनाए ।
एकीकृत समाजवादीले दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन तयार नभए कांग्रेससँग गठबन्धन गर्ने भन्यो । त्यसपछि एमाले सोडारीलाई नै मुख्यमन्त्री मान्न तयार भयो तर, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन ।
माधव नेपालले गठबन्धनको सबैभन्दा ठूलो दललाई समेत दबाबमा राखेपछि एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै एकीकृत समाजवादीको आलोचना गरेका थिए । पछिल्लो समय अोली पनि सांकेतिक रुपमा नेपालको आलोचना गर्दछन् । ओली र नेपालको सम्बन्धमा रहेको चिसोपनाका कारण कतिपयले सत्ता गठबन्धनमाथि नै समेत आशंका गर्ने गरेका छन् ।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० फागुन २०८० विश्वासको मत लिँदा १५७ मत ल्याएका थिए ।
१० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा तीन पटक विश्वासको मत लिइसके । २५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यतिबेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
२०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबला उनले १७२ मत पाएका थिए ।
तेस्रो पटक विश्वासको मत लिँदा समेत प्रचण्ड नेतृत्वको सरकारको भविष्यमाथि अनेकन कोणबाट प्रश्न उठाउने गरिएको छ । यस्तोमा एमाले र एकीकृत समाजवादीको सम्बन्धको विषयले प्रतिपक्षी दलहरुलाई उतसाहित र सत्तारुढ दलहरुलाई झस्काउने गरेको छ ।
संघीय संसदमा एमालेको ७९ र नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् । ३२ सिट रहेको माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री छन् । सत्तारुढ गठबन्धनमा यी तीन वटा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), र नागरिक उन्मुक्ति पार्टी छ । केही स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन दिएका छन् ।
तर, एमाले र एकीकृत समाजवादीको सम्बन्ध कसिलो हुँदा नयाँ सत्ता समीकरणको सम्भावना कम हुन्छ । यी दुई दल नमिल्दा नयाँ समीकरण बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका लागि ठाउँ मिल्छ । यसकारण ओली र नेपालको सम्बन्धमा सरकारको भविष्य समेत जोडिएको छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : बझाङ– १ (क) प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । ४ मंसिर २०७९ मा सम्पन्न चुनावमा यो क्षेत्रबाट पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । एमालेका भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २६७ मतान्तरले पराजित गरे ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका सिंहको गत असार ५ गते दुर्घटनामा परी निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा एमालेले अघिल्लो चुनावको नतिजा उल्ट्याएको हो ।
गत चुनावमा कांग्रेसका सिंह नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका आ–आफ्नै उम्मेदवार थिए । परिणाममा कांग्रेस उम्मेदवार पराजित भए ।
गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाए । त्यसपछि ठूला दलहरु एक्लाएक्लै चुनाव लडेका हुन् । चुनावी परिणामले गत चुनावमा कांग्रेले गठबन्धन गर्दा चुनाव जितेको देखाउँछ ।
एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाए । माओवादीका केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत पाए । एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ५१४ मत पाउँदा राप्रापाका किशोरकुमार खड्काले २४२ मत पाए ।
यो क्षेत्रमा कांग्रेसले नेता एनपी साउदलाई चुनावी कमान्डर बनाएको थियो । साउदले चुनाव हार्नुको एउटा कारण गठबन्धन बन्न नसक्नु रहेको बताए ।
उनले पत्रकारहरुसित भनेका छन्, ‘गएको चुनावमा हाम्रो भन्दा बढी एमालेको समानुपातिक मत थियो । हामीले यो क्षेत्रमा माओवादी र एकीकृत समाजवादीको संयुक्त मतले जितेका थियौैं । अहिले एक्ला एक्लै लड्यौं त्यसको असर परेको हुनसक्छ ।’
बझाङ–१ मा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा उपविजेता भएर गत चुनावमा जितेको सिट गुमाउन पुगेको कांग्रेस इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको नतिजामा पनि दोस्रो स्थानका लागि स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धामा रहन पुगेको छ । उपनिर्वाचनमा इलाम–२ मा एमालेका सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले समर्थन गरेको थियो ।
गत आम चुनावमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो । त्यसबेला जम्म ११४ मत बढी ल्याउर एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । यसपटक माओवादी केन्द्र समेतको साथ पाएका एमालेका उम्मेदवारले मतान्तर निकै बढाए ।
उपनिर्वाचन हुनु भन्दा केही समय अगाडि सम्पन्न कांग्रेसको महासमितिको बैठकमा चुनावी गठबन्धन गर्ने वा नगर्ने विषयमा बहस भएको थियो । कांग्रेसका महामन्त्री गगन थापाले चुनावी गठबन्धन नगर्ने प्रतिवेदनमै लेखेका थिए । चुनाव आउन चार वर्ष बाँकी रहँदै चुनावी गठबन्धनको विषयमा बहस चलाएर माओवादी केन्द्रलाई चिढाएको आरोप कतिपय कांग्रेसकै नेताहरुले लगाएका थिए ।
महासमिति बैठक सकिएको केही समयपछि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार दुवै क्षेत्र गुमाउने अवस्था बनेको हो । गठबन्धन नहुँदा बझाङ– १ मा चुनावमा हार खान पुगेको कांग्रेस नेता एनपी साउदले स्वीकार नै गरेका हुन् ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औं अधिवेशनको तयारी पूरा भएको छ । बर्दियाको गुलरियामा मंगलबारदेखि शुरु हुने भनिएको अधिवेशनको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरीे जानकारी गराइएको हो ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएकोे नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
वैशाख १८ र १९ गते हुने अधिवेशनमा जिल्लाभरीबाट ३ सय ६४ जना प्रतिनिधि रहेको अधिवेशनमा करिब ३ हजार पाँच सय को हाराहारीमा नेता तथा कार्यकर्ता सहभागी हुने आँकलन गरिएको श्रेष्ठले वताए ।
नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ । उद्घाटन सत्रको समापन पश्चात बुधबार जिल्ला कमिटी निर्वाचन प्रकृयामा जाने बताइएको छ ।
गुलरियाको कृष्णसार रिसोर्टमा हुने कार्यक्रममा हलमा मञ्च व्यवस्थापन गरिएको छ भने हलमा नअटाएका सहभागीहरुलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।
अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष लालबहादुर थापा र वर्तमान उपाध्यक्ष शालिकराम अधिकारी दुवैको दावी रहेको छ । श्रेष्ठ बढैयाताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अधिकारी बाँसगढी नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।
हेटौँडा : बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेश सभामा रहेको विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिए ।
संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उनले बताएका छन् । उनले संसदको आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिए । प्रदेश सभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ प्रदेश सभाको चालु १३औं अधिवेशन अन्त्य गरिएको थियो ।
इलाम : प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।
हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणामअनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार सात सय १३ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले दुई सय ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले दुई सय ८५ मत प्राप्त गरेका छन् ।
कूल छ वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा अहिले देउमाई नगरपालिका–१, २ र ३ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।
काठमाडौं : बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
आफ्ना निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । एमालेका भण्डारीले ११ हजार ६ सय १२ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत ल्याए ।
माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पार्टीको तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट प्रतिनिधि निर्वाचन गर्ने निर्देशिका पारित गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार निर्देशिकाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित गर्दा कम्तीमा एक तिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी विभिन्न जातीय/सामाजिक समूहबाट समावेशी हुने गरी निर्वाचन गर्ने प्रावधान राखेको छ ।
यसैगरी स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढंगले प्रतिनिधि निर्वाचन गराउन आवश्यकता अनुसार केन्द्रीय निर्वाचन तदर्थ समिति र प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिने भएको सो पार्टीले जनाएको छ ।
प्रतिनिधि छनोट भएपछि आगामी जेठ १५ गतेसम्म संगठन विभागले अभिलेखीकरण गर्ने र केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सूची प्रकाशन गर्ने बस्नेतले बताए । सो पार्टीको महाधिवेशन आउँदो जेठ २० देखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
काठमाडौं- चर्चित निर्वाचन क्षेत्र इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेमा सुहाङ नेम्वाङ अत्यधिक मतान्तर अगाडि छन् ।
प्रतिनिधि सभा सदस्यका भएको उपनिर्वाचनमा एमालेका नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३३५७ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ४१९ मत पाएका छन् भने नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ७५३ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४५१ मत पाएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । नेम्वाङकै छोरा सुहाङलाई एमालले टिकट दिएपछि धेरै चर्चाको विषय बनेको थियो । सुहाङसहित उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies