मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कन्ट्री रेटिङ सम्पन्न गर्ने जनाएको छ । नीति तथा कार्यक्रमको बुँदा नं. २३ मा आन्तरिक तथा बाह्य लगानीको वातावरण सुधार र क्षेत्र विस्तार तथा विदेशी लगानी भित्राउन सहजीकरण गर्ने उद्देश्यसहित सरकारले ‘आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिनेछ’ भनी उल्लेख छ ।
यसअघि गत वैशाख १६ र १७ मा तेस्रो सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन तयारीको क्रममा कन्ट्री रेट्रिङको चर्चा भएको थियो । किनभने चालू आर्थिक वर्षको वार्षिक बजेटमा पनि कन्ट्री रेटिङ हुने उल्लेख थियो ।
यसै आधारमा चालू आर्थिक वर्षमा पनि जुनसुकै हालत लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङ गर्ने घोषणा यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले गरेका थिए । बजेट र नीति कार्यक्रममा कन्ट्री रेटिङको विषय नयाँ होइन । लगानी सहजीकरणका लागि नेपालले कन्ट्री रेटिङ गर्ने प्रतिबद्धता विगत पाँच वर्षदेखि सरकारले बजेट मार्फत नै गर्दै आएको छ ।
आर्थिक वर्ष २०७५–७६ को बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि मुलुकको कन्ट्री रेटिङ अर्थात् क्रेडिट रेटिङ गराउने विषय समावेश गरेका थिए । त्यसपछिका हरेक वर्षको वार्षिक कार्यक्रममा यो विषय लेखिदै आएको छ । तर रेटिङ भने हुन सकेको छैन ।
उसोत गत असोजमा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंक समूहको मोरोक्कोको माराकेसमा आयोजना भएको वार्षिक बैठकको क्रममा क्रेडिट रेटिङ गर्ने एक अन्तर्राष्ट्रिय संस्था फिचका प्रतिनिधिसँग वार्ता गरेका थिए ।
त्यसअघि २०७६ साउन अन्तिम साता ‘रेटिङ ओभर साइट कमिटी’ गठन भएपछि कन्ट्री रेटिङ गर्ने कम्पनीहरु स्ट्यान्डर्ड एन्ड पुअर्स (एस एन्ड पी), मुड्डिज र फिचका बारेमा अध्ययन गरेको थियो । सोही समितिले नेपालको कन्ट्री रेटिङका लागि फिचलाई छनोट गरेपछि अर्थ मन्त्रीस्तरीय बैठकबाट २०७६ मै अनुमोदन पनि भइसकेको छ । तर त्यतिबेलै विश्वबजारमा आएको कारोना महामारीका कारण कन्ट्री रेटिङको विषय सेललाएको थियो । महामारीका कारण अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने र रेटिङ कमजोर हुने देखिएपछि त्यतिखेर स्थगित गरिएको थियो ।
फिचमार्फत रेटिङ गराउने भए पनि रेटिङ कार्यका लागि सरकारले अन्तर्राष्ट्रिय संस्थालाई तिर्ने शुल्कको आन्तरिक तयारी समेत गरेको छैन । सार्वजनिक खरिद ऐनअनुसार एक करोड भन्दा माथिको रकम तिर्न बोलपत्र आह्वान गरी रेटिङका लागि कम र विश्वसनीय बोल गर्ने संस्थालाई छनोट गर्नुपर्ने हुन्छ । तर यस्तो केही तयारी नगरी आन्तरिक छलफल मात्रैमा रुमलिँदा सार्वभौम क्रेडिट रेटिङ फेरि पनि चर्चामै सीमित भएको छ ।
अन्तर्राष्ट्रिय रूपमा लगानी गर्ने र ऋण दिने संस्थाहरूले आफ्नो लगानीको जोखिम सहज मूल्यांकनका लागि कन्ट्री रेटिङ खोज्ने गर्छन् । तर नेपालमा अन्तर्राष्ट्रिय लगानीका कयौं सम्भावना भएपनि लगानीकर्ताले चासो देखाउने, तर जोखिम मूल्यांकन हुन नसक्दा ‘ब्याक’ भइरहेका छन् । यो यथार्थबीच प्रतिबद्धता भएको लगानी कार्यान्वयनका लागि नेपाल कन्ट्री रेटिङ गर्नैपर्ने दबाबमा रहेको विज्ञहरू बताउँछन् ।
अर्थविद् दीपेन्द्रबहादुर क्षत्री भन्छन्, ‘आवश्यक प्रक्रिया अपनाएर रेटिङ गर्नैपर्छ । सार्वभौम क्रेडिट रेटिङले देशको यथार्थ अवस्था देखाउँछ । अन्तर्राष्ट्रिय बजारको नजरमा नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक यथार्थ देखिने हुँदा लगानी गर्दा प्रतिफल कस्तो आउँछ भन्ने लगानीकर्तालाई विश्लेषण गर्न सहज हुन्छ । तर रेटिङ नहुनु भन्दा, कमजोर नै भए पनि लगानीकर्ताले जोखिम मूल्याकन गर्न सहज हुनेछ ।’ अर्का अर्थशास्त्री डा. डिल्ली खनाल पनि रेटिङ गनैपर्ने बताउँछन् । उनी भन्छन्, ‘रेटिङ राम्रो आउनु गज्जब हो । तर, कमजोर रेटिङ आउँछ भनेर डराउने भन्दा पनि तत्काल रेट्रि गराउनु उचित हुन्छ ।’
अन्तर्राष्ट्रिय अभ्यास अनुसार रेटिङका आधारमा लगानीका लागि जोखिमको सम्भावना अत्यन्तै कम भएको देश वा निकायलाई ट्रिपल ए र सबैभन्दा उच्च जोखिम भएकोमा सी, एडीडी र आरडीडी रेटिङ गर्ने गरिन्छ । यसमध्ये बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो र बी माइनससम्मको रेटिङलाई भने उच्च जोखिम मानिन्छ । अर्थात् जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने विश्लेषण गरिन्छ । रेटिङका लागि चालू खाताको अवस्था, एक्चेन्ज रेट, आयातको अवस्था, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, राष्ट्रिय आम्दानीलाई प्रमुख सूचक मानिन्छ ।
यस्तै जीडीपीको तुलनामा सार्वजनिक ऋण, सरकारी खर्च, खाता र सरकारी प्राइमरी ब्यालेन्स, प्रतिव्यक्ति आय, राजस्वको तुलनामा निर्यात दर, सार्वजनिक ऋण, अन्तराष्ट्रिय लगानी कार्यान्वयनको अवस्था, वार्षिक जीडीपीको अन्तर, आन्तरिक उत्पादनको अवस्था, रोजगारी, उच्च मध्यम तथा निम्न आय भएको जनसंख्याको अवस्था लगायतका विषयले कन्ट्री रेटिङको अवस्था तय गर्छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट सदरमुकाम गौरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । ५५÷६० वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त व्यक्तिको आधार कार्डले मृतक भारतीय नागरिक रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । आधार कार्डमा भारतको रघुनाथपुर पोस्ट मीरपुर चिरैया पूर्वीचम्पारनका भोलानाथ सिंह रहेको उल्लेख छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । शव परीक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : भू तथा जलाधार व्यवस्था कार्यालय अर्घाखाँचीले अर्घाखाँचीसहित गुल्मी, कपिलवस्तु गरी तीन जिल्लामा विकास निर्माणसँग साझेदारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि काम गर्दै आएको छ ।
अर्घाखाँची डिभिजन कार्यालय रहेको कार्यालयले गुल्मी जिल्लाका दुई महत्वपूर्ण स्थानमा पहिरो संरक्षण, दुई स्थानमा खोला तटबन्धन गरी घरबस्ती खेत, सामुदायिक बन, बाटो संरक्षण गर्दै विभिन्न प्रजातिका डालेघाँसका बिरुवा वितरण गर्ने गरेको कार्यालय प्रमुख शम्भुशंकर झाले बताए ।
अर्घाखाँची, गुल्मी र कपिलवस्तुका विभिन्न तीन ठाउँमा खोला किनार संरक्षण, तटबन्धन गरी खेतबस्ती, घर गोठ, कुलोको समेत संरक्षण गर्नुको साथै नर्सरीमा आफैँले उत्पादन गरेका हजारौं डालेघाँसका बिरुवाहरु किसानको माग अनुसार वितरण गरिएको प्रमुख झाले बताए ।
डालेघाँसको बिरुवा वितरणले किसानहरुका लागि पशुपालनलाई सहज हुने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्ने, पहिरो नियन्त्रण हुने भएकोले पनि डालेघाँसलाई प्राथमिकता दिने गरिएको भएपनि अहिले यो कार्यक्रम भू तथा जलाधार कार्यालयमा नभएको प्रमुख झाको भनाइ छ ।
भू तथा जलाधार कार्यालका कारण यी तीन जिल्लामा पहिरो नियन्त्रण गर्दा धेरै ठाउँहरुमा बस्ती जोगिनुको साथै विद्यालय खेलमैदानहरु समेत जोगिने र अन्य भौतिक क्षतिबाट बचाउनका लागि ठूलो मद्दत पुगेको सितगंगा नगरपालिका वडा नम्बर १० निवासी हिम्मत पोख्रेलले बताए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय अर्घाखाँचीले यस वर्ष भू–क्षय न्यूनीकरणसँगै कृषकहरुको आयआर्जनमा समेत टेवा पुर्याउने उद्देश्यले केही डालेघाँसका विरुवा वितरण गर्नुको साथै गुल्मी जिल्लामा ८० मिटर कुलो सरक्षण गरी ४० रोपनी खेतमा सिँचाइ समेत पुर्याएको, दुई स्थानमा सिँचाइका लागि किसानहरुको माग अनुसार पोखरी निर्माण गरिएको तथा कुलो संरक्षण पार्क संरक्षण, खानेपानी मुहान संरक्षण जस्ता महत्वपूर्ण विकास निर्माणका कामहरु भइरहेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय अर्घाखाँचीका वरिष्ठ भू–संरक्षण अधिकृत राकेश कुँवरले बताए ।
कार्यालयले विगतका वर्षहरुमा ३/४ लाख रुपैयाँ भन्दा बढीको लागतमा विरुवाहरु तयार पारेर गाउँका किसानहरुलाई माग फारमको आधारमा वितरण गर्ने गरेकोमा यस वर्ष यो कार्यक्रम नहुँदा किसान कार्यालयमा आएपनि रित्तो हात फर्कन बाध्य छन् ।
कर्मचारीको अभाव बजेटको समस्या, कर्मचारीलाई फिल्ड हिँड्नका लागि गाडिको समेत उपयुुक्त सुविधा नहुँदा नहुँदै पनि कार्यालयका प्रमुख झासहितका कर्मचारीहरु गाउँमा जाने किसानका कुरा सुन्ने, पिरमर्का बुझ्ने गरेको कपिलवस्तुकी किसान सीता बेल्वासेले बताइन् ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : जिल्ला अस्पताल डोल्पाको नवनिर्मित १५ शय्याको भवन उद्घाटन गरिएको छ । बिहीबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री बीरबहादुर शाहीले भवनको उद्घाटन गरेका हुन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कुल २६ करोडको लागतमा भवन निर्माण गरिएको हो । खानी क्याराभान बुद्व हिमाली जेभिले भवन निर्माणको जिम्मा लिएको थियो । तीन वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएता पनि १८ महिनाभित्रै निर्माण गरी हस्तान्तरण गरिएको हो ।
निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सकेको भएतापनि भवन उद्घाटन हुन सकेको थिएन । विसं २०६१ सालदेखि १५ शय्याको क्षमतामा सञ्चालन गरेको जिल्ला अस्पताल डोल्पा अत्याधुनिक प्रविधिको भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आइरहेको थियो । डोल्पाका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायत स्वास्थ्य सेवा कार्यालयको विशेष पहलमा भवन निर्माण कार्य सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी जनाएको छ ।
भवन निर्माण कार्य सकिए लगत्तै गत असोजमा नै भवनको उद्घाटन गर्ने भने महिनौ धकेलिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख रतनबीर सुनारले बताए ।
कार्यालय प्रमुख सुनारका अनुसार विश्व स्वास्थ्य संघठनको मापदण्ड अनुसार भवन निर्माण भएको छ । अस्पतालको यस्तो अत्याधुनिक प्रविधिको भवन निर्माण भएसँगै डोल्पाका नागरिकलाई सेवा लिन सहज भएको छ ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी जिल्ला संयोजक धर्मजित बोहोराले भवन समयमै राम्रो बनेको र यसको लागि पहल कर्ता सबैलाई धन्यवाद व्यक्त गरे ।
भवन उद्घाटन गरेर मात्र नहुने र यसमा चाहिने आवश्यक सम्पूर्ण सामग्रीसहित दक्ष जनशक्ति व्यवस्थापनसहित नागरिकलाई राम्रो सेवा प्रवाह गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटीका सचिव लंक रोकायाले बताए ।
२०७४ सालको चुनावपछि डोल्पादेखि निर्वाचित सबै सांसद मन्त्री बने । मन्त्री बनेपनि जनताको अपेक्षा अनुसारको काम नभएको नेपाली कांग्रेस डोल्पाका पार्टी सचिव हिक्मत शाहीले बताए । हिमाली जिल्ला त्यसैमाथि विकट क्षेत्र भएकाले अस्पताल सञ्चालनमा चुनौती पनि उत्तिकै छ । जिल्लाभित्र हरेक क्षेत्रमा नागरिकले समस्या भोग्दै आइरहेको छन् । सबैले जिम्मेवारी ढंगले सोच्नुपर्ने ठूलीभेरी नगरपालिका नगरप्रमुख श्रबर्ण कुमार बुढाले बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायले समयमै भवन निर्माण भएको प्रति खुसी व्यक्त गरे ।
आफूले आफ्नो कार्यालयमा चाहना हुँदा हुँदै पनि राजनीतिक उथलपुथलका कारण सोचे जस्तो काम गर्न नसकेको स्वीकार गर्दै कर्णाली प्रदेश सरकार ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयकी निवर्तमान मन्त्री उर्मिला विश्वकर्माले अब प्रत्येक सदनमा डोल्पाका समस्यालाई मध्यनजर गर्दै आवाज उठाइरहने बताइन् ।
प्रमुख अतिथि समेत रहेका शाहीले आगामी २०८१/८२ को बजेटमा कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले भने ‘आगामी नयाँ बजेटमा कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदलाई पहिलो प्राथमिकता राखेर बजेट विनियोजन हुनेछ, जिल्ला अस्पताल डोल्पालाई आवश्यक सामग्री पुर्याउन आफूले सक्दो प्रयास गर्ने र कर्णालीका अरु जिल्लामा गाडी भएको हुम्ला र डोल्पामा मात्र नभएकाले पहिला दुईवटै जिल्ला अस्पताललाई गाडी पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
अहिले अस्पतालसम्म पुग्ने पक्की पुल नहुँदा यहाँका नागरिक दैनिकी समस्या झेलिरहेका कारण पहिलो प्रयास पुल बनाउन रहेको उनको भनाइ थियो । भवन उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री शाही, सांसद विश्वकर्मा, जिल्ला समन्वय समिति डोल्पाका प्रमुख रोकाया, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल, जिल्लास्थित राजनीतिक दलका पार्टी प्रतिनिधि,सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज पोख्रेल, स्थानीय बासिन्दा, सुरक्षाकर्मीका प्रमुख, जिल्लास्थित सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लामा प्रजनन स्वास्थ्य समन्वय सम्बन्धित गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा गोष्ठी सञ्चालन भएको हो ।
दुर्गम त्यसैमा स्वास्थ्य क्षेत्रमा नफस्टाएको हुनले गर्भपतन गर्दा धेरै महिलाको ज्यान जाने हुँदा सुरक्षित स्वास्थ्य सेवा कार्यालयमै गर्भपतन गराउने लक्ष्य लिएर यो गोष्ठी सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए ।
प्रमुख सिंहले जिल्लामा अझै परम्परागत रुपले धामीझाँक्री र स्थानीय जडिबुटी प्रयोग गरेर गर्भपतन गराउने हुँदा त्यसलाई न्यूनीकरण गर्न गोष्ठी सञ्चालन गरेको जनाए ।
स्थानीय प्रविधिबाट गर्भपतन गर्दा आमाको ज्यान जाने, आमा कमजोर हुने, पाठेघर क्यान्सर हुने जस्ता समस्या उत्पन्न हुँदा ग्रामिण बस्तीमा प्रजनन गोष्ठी सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सारिता बोहराले बताइन् ।
२०८० फागुनसम्म सुरक्षित गर्भपतन गराउने जिल्लाका १ सय एक महिला पुगेको अनमी सारिता बोहराले बताइन् । त्यसमध्ये पाँच जनाको औजार हालेर सफा गरिएको थियो भने ९६ जनाको औषधिको प्रयोगबाट गर्भपतन गराइएको थियो । गर्भपतन गराउनेमध्ये ५ प्रतिशत १८ वर्ष मुनिका रहेका छन् ।
स्वास्थ्य सेवा कार्यलयमा गर्भपतन गराउन चाहने महिलाको सुरक्षा हुने स्वास्थ्य सेवा कार्यालय स्रोतले जनाएको छ । स्वास्थ्य सेवा कार्यालयले जिल्लामा मात्र नभएर गाउँ, गाउँ गएर सुरक्षित गर्भपतन गराउने जनचेतना सन्देश प्रवाह गर्ने, जिल्लाका विद्यालयमा यो सन्देश दिने, गाउँटोलमा महिलाहरुलाई यो विषयमा सडक नाटक देखाउनुमा जोड दिनुपर्नेसहभागीले सुझाव दिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोख्रेल, समन्वय कार्यबाहक प्रमुख सरिता रावत, सिमकोट गाउँपालिका योजना अधिकृत ममता महत, पत्रकार महासंघ अध्यक्ष राजन रावत, विभिन्न महिला सम्बन्धित काम गर्ने संस्थाका प्रमुख स्वास्थ्यकर्मीको सहभागी रहेको थियो ।
काठमाडौ : नेपालमा पहिलो पटक न्युरोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपलिज एकाडेमी अफ न्युरोलोजीको आयोजनामा जेठ ५ र ६ गते (मार्च १८ र १९) अन्तर्राष्ट्रिय सम्मेलन हुने लागेको हो ।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका नसा रोग विशेषज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनको पूर्व सन्ध्यामा शुक्रबार विशेषज्ञ चिकित्सकहरुले सिपमूलक तालिम प्रदान गर्ने आयोजकले जनाएको छ । सम्मेलनको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नसा रोगसम्बन्धी समस्या, उपचार र अभ्यासलगायतको विषयमा छलफल हुनेछ ।
यस्तै नसा रोगको जटिल समस्याको पहिचान, परीक्षणको नयाँ प्रविधि, लक्षण र उपचारका बारेमा वैज्ञानिकहरुबीच समेत छलफल हुनेछ । सम्मेलनको निष्कर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सिफारिस गरिने नेपलिज एकाडेमी अफ न्युरोलोजीका अध्यक्ष प्रा.डा. कृष्ण कुमार ओलीले जानकारी दिए । नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, अमेरिका, स्पेन, होल्याण्ड, श्रीलंकालगायत देशका तीन सयभन्दा बढी चिकीत्सकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
सरु भुसाल/मध्यान्ह
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन् । बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताए ।
लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी भएको भन्दै उनले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा खुसी प्रकट गरे । ‘मुख्य समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा बुटवलले आफैं जे जसरी अगाडि सर्यो यो एकदमै राम्रो कुरा हो,’ उनले भने, ‘बुटवललाई हामीले आगामी आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारलाई सपोर्ट गर्ने गरी बजेटको व्यवस्था गर्छौं ।’
उनले स्थानीय सरकारहरुलाई प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा विशेष साथ दिने र समस्या समाधान गर्ने बताए ।
मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनमा चुनौती रहेको र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताए ।
प्रमुख पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेशस्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरुलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताए । बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको गौशालामा नगरभित्रका ५ सयभन्दा बढी छाडा गाई, गोरु व्यवस्थापन गरिरहेको छ ।
झापा : झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी शुरु गरेको छ । जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी शुरु गरेको हो । दुर्व्यसनी बढ्ने क्रम परिवार, समाज र राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रियरूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी शुरु गरिएको गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले बताए । दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउन निबन्ध प्रतियोगिता, स्कुलमा गएर सचेतना फैल्याउने, वक्तृत्वकला प्रतियोगिता तथा नाटक प्रदर्शनमध्ये नाटक प्रदर्शन रोजेर सोहीअनुसार अघि बढिएको अध्यक्ष थापाले बताए ।
दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउने र गौरादहमा साहित्य कला तथा नाटकको विकास गर्ने मुख्य उद्देश्य रहेको उनले प्रष्ट पारे । नाट्य कार्यशालामा विभिन्न ठाउँ, विभिन्न क्षेत्रका मानिसहरू, शिक्षक, विद्यार्थी , जेसीजकर्मी, सामाजिक संघसस्थामा आवद्ध व्यक्तित्वहरू सहभागी भएको अध्यक्ष थापाले बताए । यो नाट्य कार्यशालाले समाजमा नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे ।
२२ जना सहभागी रहेको नाट्य कार्यशाला ८ गतेसम्म चल्ने र ९ गतेदेखि विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई लक्षित गरेर प्रदर्शनी गरिने अध्यक्ष थापाले जानकारी दिए । २०२४ को पहिलो महिना जनवरीमा गौरादह जेसीजको कार्यभार सम्हालेका अध्यक्ष थापाले समाजमा विभिन्न सचेतनामूलक कार्यहरू गर्दै आइरहेका छन् ।
थापा अध्यक्ष पदमा निर्वाचित भएयता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलको प्रमुख आतिथ्यतामा जेसीज दशक स्मारिका अङ्कुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रममा गजलकार प्रदीप रोदन, रङ्गकर्मी तथा कवि भरत बर्बरिक, कवि खगेन्द्र न्यौपाने, कवि रिता पोख्रेलको रचना वाचन, गौरीगञ्ज बहुमुखी क्याम्पस, गौरीगञ्जमा हात्तीपाइले रोगविरुद्ध विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम, गौरादह नगरपालिका वडा नं २ मा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । साथै २०२४ मा लागुऔषध दुर्व्यसनी अभियानअन्तर्गत राय, सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम, समुदाय केन्द्रित सचेतना कार्यक्रम पनि गरिएको छ ।
काठमाडौं : प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो ।
सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका थिए ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ ।
लेखनाथ सिकारू/मध्यान्ह
झापा : विश्व हिन्दु महासंघ राष्ट्रिय समिति कोशी प्रदेशकाे अध्यक्षमा धनकुटाका आनन्द सन्तोषी राई सर्वसम्मत चयन भएका छन् । झापाको बिराटपाेखरमा सम्पन्न भएकाे प्रदेश अधिवेशनले राईलाई सर्वसम्मरुपमा अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले १७ सदस्यीय कोशी प्रदेश कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा माधवप्रसाद भट्टराई (इलाम), महिला उपाध्यक्षमा रिता खनाल (ताप्लेजुङ), सचिवमा राजकुमार खड्का(पाँचथर), सहसचिवमा भक्तिप्रसाद तिवारी ‘बिदुर’ (झापा) र यशकुमार चापागाईं (धनकुटा), कोषाध्यक्षमा इन्द्रनारायण प्रसाई (झापा), सहकोषाध्यक्षमा तुलसा पौडेल (झापा) तथा सदस्यहरुमा खड्गबहादुर घिमिरे, राधा खड्का र राजकुमार घिमिरे (संखुवासभा), मदन अधिकारी, गोमा सिटौला, सरिता ओली, सन्तोष ओली (झापा), झिवा तिमाले तामाङ (पाँचथर), विष्णुप्रसाद चालिसे (मोरङ) सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य कुमार प्रसाद ओझाले जानकारी दिए ।
सोही अधिवेशनबाट चार सदस्यीय कोशी प्रदेश सल्लाहकार समितिसमेत चयन भएको छ । जसमा आचार्य छन्दुराम भण्डारी, आचार्य दामोदर न्यौपाने, पं. नरेन्द्र भट्टराई र १०८ स्वामी कृष्णा नन्द रहेका छन् । समिति चयन गर्नका लागि विश्व हिन्दु महासंघ केन्द्रीय महासचिव रामचन्द्र तिवारीको संयोजकत्वमा केन्द्रीय सदस्य तथा अधिवक्ता रामप्रसाद घिमिरे र केन्द्रीय सदस्य कुमारप्रसाद ओझा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । संयोजक तिवारीले आगामी तीन वर्षे कार्यकाल रहनेगरी निर्वाचित समितिलाई शपथ ग्रहण गराएका छन् ।
यसअघि विश्व हिन्दु महासंघ झापाका अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, विभिन्न स्थानमा गुरुकुल स्थापनाकर्ता धर्मानुरागी किशोर गौतम, मुन्धुमविद् डा. चन्द्रकुमार शेर्मा, वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरे, उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयाेजक ऋषिकेशजंग शाह, कन्काई कोटीहोमका अध्यक्ष शेरबहादुर थापा, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओली, सुनसरी जिल्ला अध्यक्ष आनन्द आचार्य, झापाका कोषाध्यक्ष कृष्ण उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विश्व हिन्दु महासंघ झापा शाखाको भवन बिराटपोखरमा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गरेको कार्यक्रमको सञ्चालन झापाका सचिव गणेश कार्की र स्वागत मन्तव्य झापाका उपाध्यक्ष डिल्लीराम उप्रेतीले गरेका थिए । यसैबीच नवनिर्वाचित समितिको बैठकले सुनसरीको धरानमा प्रदेश समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies