तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : नियमित भन्दा फरक शैलीको कार्यक्रमको आयोजना गर्दै पत्रकार महासंघ कतार शाखाले आफ्नो १८औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
नेपाली दूतावासको हलमा शुक्रबार सम्पन्न कार्यक्रम निर्धारित समयमा शुरु भएर निर्धारित समयमै सकिएको थियो । शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठको सभापतित्व तथा कतारस्थित नेपाली कूटनीतिक नियोगका महामहिम राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
केक काट्दै खुसीयाली साटेर अगाडि बढेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । आफ्नो मन्तव्यका क्रममा शाखाका भूतपूर्व सचिव मोहमद अजिज अलिले आफू अनुकूलका समाचार नलेख्दा होस् या अन्य अवस्थामा कतारमा रहेका पत्रकारहरूलाई विभिन्न समयमा कानूनी उल्झनमा पार्ने गरेको तितो अनुभव सुनाए । नेपालीहरू कतारमा पत्रकारिता गर्न नआए पनि समाजलाई सुसूचित गर्न चुक्न नहुने वक्ताहरूको भनाइ थियो ।
प्रमुख अतिथि ढकालले पत्रकार पेसा आफैमा चुनौतीपूर्ण रहेको र आफ्नो धर्म निर्वाह गर्ने क्रममा थुप्रै पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे । देशमा प्रजातन्त्र होस् या लोकतन्त्र प्राप्तिका लागि पत्रकारको विशेष भूमिका रहेको उनले बताए । नेपालको संविधानले पत्रकारलाई राष्ट्रको चौथो अंगमा सम्बोधन गरेको हुँदा समाचार सम्प्रेषणमा निष्पक्षता हुनुपर्नेमा उनले जोड दिए । उनले महासंघले शुरु गरेको पोडकाष्ट केही फरक कार्य रहेको हुँदा त्यसलाई गतिशिल बनाउँदै तीव्रता दिन सुझाव दिँदै पत्रकारिता पेसालाई मर्यादित बनाउन आग्रह गरे ।
गुरुनारायण रानाभाटलाई सम्मान
यस्तै प्रवासी भूमिमा रहेर राष्ट्र र समाजका लागि बृहत्तर हितमा सेवामूलक र परोपकारी कार्य गर्नुका साथै कतारमा रहेको नेपाली समाजको खातिर पु¥याएको योगदानको कदर गर्दै फेदी खाला गाउँपालिका ३ स्याङ्जाका गुरुनारायण रानाभाटलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै उनले आफूले दूतावाससँग सन २०१३÷१६ मा समीपमा रहेर कार्यसम्पादन गरेको स्मरण गरे । सामाजिक कार्य गर्दै गर्दा सम्मानको कसैले अपेक्षा गरेको हुँदैन तर कहीँ कतै कसैले मुल्याकंन गरेको हुने रहेछ भन्ने महासंघको सम्मानले प्रमाणित गरेको बताए ।
कतारमा सूचना तथा सामुदायिक पत्रकारिता गरी रहेका नेपाली समुदायका पत्रकार मध्यबाट रेडियो ओलीभमा कार्यरत सोम थापा मगरलाई प्रोत्साहन पत्रद्वारा सम्मान गरेको हो । त्यस्तै संघलाई विशेष सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरू सम्मानित भएका छन् ।
महासंघको पोडकाष्ट शुरु
स्थापना दिवसको अवसर पारेर शाखा कतारले ‘पत्रकारिता समुदायका लागि’ भन्ने नारासहित पोडकाष्टको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालसँग गरिएको कुराकानीको प्रोमो सार्वजनिक गर्दै आधिकारिक रूपमा सुचारु गरिएको हो । पोडकाष्टको लक्ष्य कतारमा रहेका श्रमिकको हक हित र कतार प्रवेश गर्न चाहाने नेपाली नागरिकलाई सुसूचित गर्ने लक्ष्य लिएको छ ।
संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव दिलीप पराजुलीले सहजीकरण थिए । कार्यक्रमको समापन गर्दै सभापति श्रेष्ठले कतारमा रहेका नेपाली पत्रकारहरू मजदुर पत्रकार रहेको बताए । उनले मजदुर पत्रकारलाई रोजगारी प्यारो हुने हुँदा खोज अनुसन्धान तथा श्रमिकका पक्षमा खुलेर लेख्न नसकिएको प्रस्ट पारे । महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित सबै प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
बुटवल : बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाइबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए । उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन् ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ ।
सरु भुसाल/मध्यान्ह
सन्धिखर्क : अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा कपडा (क्लोथ) बैंक सञ्चालनमा आएको छ । शुकबार सन्धिखर्क नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी क्लोथ बैंकको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईराला, नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्यले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कोईरालाले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुखी र विपन्न वर्गहरुलाई न्यानो प्रदान गर्न सकिने बताए । उनले अर्घाखाँची जिल्लामा सबै नागरिकहरु सचेत भएको बताउँदै क्लोथ बैंक सञ्चालनपछि विपन्न र गरिव वर्गका लागि सहज हुने विश्वास व्यक्त गरे ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले क्लोथ बैंक स्थापना जस्तो परोपकारी कार्यमा जोडिन जिल्लाबासी, नगरबासी तथा सबै क्षेत्रमा रहेका सम्पूर्ण संघसंस्थालाई अनुरोध समेत गरे ।
नगरप्रमुख श्रेष्ठले मानवताको सेवामा समर्पित यस्ता सामाजिक काम गर्दा राजनीतिक स्वार्थ भन्दामाथि रहेर गर्नुपर्ने बताउँदै विपन्न र गरिव वर्गको हितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा नगरपालिका उपप्रमुख मिश्रा आचार्यले केही दिनअघि मात्र सन्धिखर्क नगरपालिका अर्घाखाँची र क्लोथ एण्ड फूड बैंक नेपालबीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको जानकारी दिइन् । सम्झौतापछि शुक्रबार मात्रै औपचारिक रुपमा सन्धिखर्कमा क्लोथ बैंक सञ्चालनमा आएको उनले बताइन् ।
कार्यक्रममा क्लोथ बैंकका सञ्चालक राजीव गौतमले समाज परिर्वतनका लागि सबै मिलेर काम गर्नुपर्ने बताउँदै उक्त कार्यमा सन्धिखर्क नगरपालिकाले सहयोग गरेकोमा खुसी लागेको बताए ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियान लुम्बिनी प्रदेसका २० स्थानीय तहमा लागू भएको बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले परोपकारी कार्य सधैं मानव विकासका लागि हुने भन्दै उक्त कार्यक्रमा जोडिन सबै नगरबासीलाई आग्रह गरे ।
क्लोथ एण्ड फूड बैंक नेपाल अर्घाखाँचीका संयोजक सहयोगी बिसीले पुराना कपडा ल्याइ शान्ति बगैँचामा राखिएको बक्समा राखिदिन अनुरोध गरे ।
पत्रकार महासघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले यो अभियानलाई सार्थक बनाउन सबैले हातेमालो गरी अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, नागरिक समाज नगरपालिकाका राजश्व शाखा अधिकृत मुक्तिराम खनाल, योजना अधिकृत दिलिप केसी लगायतका कर्मचारीहरुको समेत उपस्थिति रहेको सामाजिक अभियन्ता गोमा सापकोटा रेग्मीले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन आविस्कार खनालले गरेका थिए ।
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पाको लिबाङ्मा आयोजित एक अभिमुखीकरण गोष्ठीमा सहभागीहरुले जलवायु परिवर्तनबारे चिन्ता व्यक्त गरेका छन् ।
जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी आयोजित दुई दिने अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले अहिले नेपालमा जलवायु परिवर्तनले गर्दा ठूलो धनजनको क्षति भोगिरहेको बताए ।
लुम्बिनी प्रदेश वातावरण मन्त्रालयको आयोजनामा शुरु भएको गोष्ठीमा पछिल्लो समय नेपालमा बाढी,पहिरो,डढेलो र भूकम्पले गर्दा धेरै मानव तथा भौतिक संरचनालाई असर पार्दै आएको उनले बताए ।
विश्व नै अहिले जलवायु परिवर्तनको चपेट्टामा परेको बताउँदै उनले विश्वका ठूला–ठूला हिमाल पग्लिएर हेर्दा कालो दृश्यमा देखा पर्दै गएको बताए ।
अहिले नदीनालाहरु सुकेर सुख्खा भूमिमा परिणत हँुदै गएको र नेपालमा पनि जलवायु परिवर्तनले गर्दा खाद्यान्न उत्पादनमा कमी आएको उनले बताए ।
नेपाल लगायत विश्वमा पछिल्लो समय हेर्ने हो भने समयमा पानी नपर्ने र परेपनि आवश्यकता भन्दा बढी पर्ने गरेको उनले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका निमित्त प्रमुख पदम डाँगीले अहिले जलवायु परिवर्तनले गर्दा वातावरण सन्तुलित नभएको बताउँदै रोल्पामा आगलागी, बाढी, पहिरो, भूकम्पले गर्दा मानव तथा भौतिक संरचनामा क्षति पुग्दै गएको बताए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका प्रमुख रोबर्ट महराले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्नु सबैको दायित्व र जिम्मेवारी भएको बताउँदै सबै पक्षले आ–आफ्नो ठाउँ र क्षेत्रबाट वकालत गर्नुपर्ने बताए ।
गोष्ठीमा वन डढेलो तथा यसका असर न्यूनीकरणमा समुदायको भूमिका र जलवायु परिवर्तन विषयमा जलवायु सम्बन्धी खोज अनुसन्धान तथा लेखक युवराज कंडेलले प्रस्तुती दिएका थिए । कंडेलका अनुसार २०१० देखि २०१९ सम्मको जम्मा १० वर्षको डढेलोको अवस्था हेर्दा कहिले बढेको कहिले घटेको पाइएको छ । बढी डढेलो लाग्नेमा लुम्बिनी प्रदेशमा बर्दिया र बाँके जिल्ला रहेको छ भने कम डढेलो लाग्नेमा रोल्पा र रुकुम पूर्व जिल्ला रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले लुम्बिनी प्रदेशमा जलवायु परिवर्तन सम्बन्धी नीति,योजना र प्रयासहरु बारेमा जानकारी गराएका थिए ।
पाँच वर्षको अवधीमा रोल्पा जिल्लाका स्थानीय तहमा सबैभन्दा बढी ठूलो डढेलो लाग्ने संख्या त्रिवेणी गाउँपालिकामा ६० रहेको छ । सुनिल स्मृति गाउँपालिकामा २८, रुन्टिगढी गाउँपालिकामा १८ औं नम्बरमा रहेको छ भने रोल्पा नगरपालिकामा १० रहेको छ ।
माडी गाउँपालिकामा २ औं स्थानमा रहेको छ । थबाङ गाउँपालिकामा पहिलो नम्बरमा रहेको छ भने लुङ्ग्री गाउँपालिकामा पनि पहिलो नम्बरमै रहेको छ । परिवर्तन गाउँपालिका,सुनछहरी गाउँपालिका र गंगादेव गाउँपालिकामा अहिलेसम्म ठूला डढेलो नभएको तथ्यांकमा उल्लेख छ ।
गोष्ठीमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख धनेश्वर न्यौपाने,लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका लेखापाल अजय मिश्र, वन डिभिजन कार्यालय रोल्पाका प्रमुख प्रेम शंकर चौधरी,जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक अमरसिंह खड्का नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द र नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
गोष्ठीको सञ्चालन लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत केशव खड्काले गरेका थिए । जिल्लाभित्र रहेका जनप्रतिनिधि, वन समूहका अध्यक्ष तथा प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारहरुको सहभागीता रहेको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
गोरुसिङ्गे : पूर्व पश्चिम राजमार्गअन्तर्गत सुरइखोला–धानखोला सडकखण्डको सडक ढलान, नाली निर्माण र सडक मर्मतको कामलाई तीव्रता दिइएको छ ।
सडक डिभिजन कार्यालय कपिलवस्तुका अनुसार सुरइ खोला–धानखोला सडकमा ठूला–ठूला खाल्डाखुल्डी रहेको, सडक नाली बिग्रिएको तथा भत्किएको, विभिन्न मोडहरुमा समेत सडक जीर्ण भएकोले सडक मर्मत गर्न थालिएको हो । उक्त सडक निर्माण भएपछि यात्रु तथा सवारी चालकहरुलाई सहजता हुने भएको छ ।
सो सडक मर्मत नहुँदा बर्खायाममा पहिरो जाने र सडक अवरुद्ध हुने, गर्मी लागेपछि हिँड्न नै नसकिने गरी धुलो उड्ने हुँदा यात्रु र सवारी चालकहरुलाई सास्ती हुँदै आएको थियो । राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सात सय मिटर दुई लेन सडक ढलान तथा ३५ सय मिटर नालि निर्माण गर्ने काम अहिले द्रुर्त गतिमा अगाडि बढेको सडक डिभिजन प्रमुख विवश बाबु सदादेवले बताए ।
उनका अनुसार हाल यो सडकको कामको भौतिक प्रगति ७० प्रतिशत रहेको र निर्माण प्रगती सन्तोषजनक रहेको बताएका छन् । सुरइ खोला–धानखोला सडकखण्डमध्ये जतिबेला पनि बिग्रिरहने झण्डै ५ सय मिटर १ लेनको सडक ढलानको काम समेत सम्पन्न भइ अर्को लेनको काम र नाली निर्माणको काम निरन्तर जारी रहेको सदादेवले बताए ।
सडक डिभिजनका अनुसार चोरखोला, ठाडे खोला र पैरा खोलामा पनि अहिले सडक स्तरोन्नती गर्ने काम शुरु भएको छ ।
यो सडकको जिम्मा मंगलादेवी शुभास–अल्कापुरी जे.भी.ले असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम गरिरहेकोमा हाल कामको प्रगति पनि निकै अगाडि बढेको छ । सो सडक निर्माण गर्दा वैकल्पिक सडक नभएको कारणले पनि ट्राफिक समस्या हुने र सडकमा जताततैका गाडिहरुको प्रेसर हुने कारण निर्माण कार्यमा प्रभाव पारेको निर्माण व्यवसायी बताउँछन् । दोवाटादेखि धानखोलासम्मको सडकको पटहोल्स मर्मत सम्पन्न भइसकेको छ ।
त्यसैगरी शिवपुर सडक डिभिजन कार्यालयले गोरुसिङ्गेदेखि सन्धिखर्क जोड्ने मुख्य सडक को ६८ किलोमिटर सडक मध्येका विभिन्न भागहरुमा अहिले धमाधम कालोपत्रे, दुई लेनको सडक बनाउने कामको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।
कपिलवस्तुको पथरकोट बजारबाटमाथि पर्ने बसेरी जंगल ठाडा एरिया सीतापुर नरपानी, घुम्ती नरपानी, जगत फुदवाङ आटिकापाटा लगायतका ठाउँहरुमा सडकको काम धमाधम भइरहेको डिभिजन प्रमुख विवशबाबु सदादेवले बताए ।
डिभिजन प्रमुख सदादेवका अनुसार यतिबेला सडक चौडाइ पार्ने, कटिङ गर्ने, टेवा(पर्खाल) उठाउने नाली निर्माण गर्ने, डबल कटिङ गर्ने, ग्राभेल गर्ने, कालोपत्रे गर्ने काम लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको सदादेवले बताए । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको सदादेवको भनाइ छ । सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका इन्जिनियर अर्जुन पाण्डेको बताए ।
निर्धारित समयमा काम सम्पन्न नहुने हो कि भन्ने चिन्ताले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउन कार्यालयका कर्मचारी र निर्माण पक्ष लागि रहेको डिभिजन प्रमुख सदादेवले बताए ।
जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्वपूर्ण गोरुसिङ्गे–सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म झण्डै दुई सय मिटर कडा चट्टान र ठूलो भिर भएको कारण साँघुरो भइ यातायात आवागमनमा समस्या भएपछि सडक विस्तारको काम शुरु गर्न सडकले टेण्डर आह्वान गरी साघुँरो सडक, खाल्डा खुल्डीका कारण र पुरानो कालोपत्रे भएका कारण जीर्ण बनेकोले गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने कामलाई अगाडि बढाइएको हो । शिवपुर सडकले कपिलवस्तु जिल्लामा पनि एक दर्जन संघीय सडकहरुलाई द्रुत गतिमा अगाडि बढाएको छ ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : खानेपानीको अभाव झेल्दै आएका कालीकोटको सदरमुकामवासीहरुलाई खानेपानीको पहुँचमा पुर्याउन शुक्रबार चुलीको पानी सदुरमुकाम मान्ममा झारिएको छ । २०७८ सालबाट निर्माण शुरु गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी शुक्रबार सदरमुकाम मान्ममा झारिएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २८ करोडमा टेण्डर आह्वान गरेको थियो । तर निर्माण कम्पनीले भने घटेर १३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण कार्य शुरु गरेको थियो ।
आयोजनाको मुख्य पाइपलाइनको लम्बाइ साढे १० किलोमिटरभन्दा बढी रहेको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रा.लि.का साइट सुपरभाइजर मानबहादुर थापाले बताए । खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगे पनि घरघरमा पुर्याउन अझै केही समय लाग्ने थापाको भनाइ छ ।
चुली खानेपानी आयोजना निर्माणका लागि खाँडाचक्र नगरपालिकाका तत्कालीन प्रमुख जसीप्रसाद पाण्डेको विशेष पहलमा खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । चुलीमालिका बृहत् आयोजनाले वडा नम्बर १ देखि ४ सम्मका १३ सय घरमा ‘एक घर एक घारा’को लक्ष्य राखेको छ ।
सदरमुकाम मान्ममा १ लाख २५ हजार लिटरका २ वटा, ५० हजार लिटरका २ वटा, ४० हजार लिटरको १ वटा र २५ हजार लिटरको १ वटा गरी जम्मा ६ वटा ट्यांकी रहेका छन् । बजारदेखि गाउँसम्मको लाइन पनि व्यवस्थापन गरिएको छ ।
जहिले पनि खानेपानीको अभाव रहने मान्ममा चुलीमालिका बृहत् खानेपानी आयोजना नियमितरुपमा सञ्चालन भए यहाँका नागरिकलाई धेरै राहत हुने विश्वास लिइएको स्थानीय रविन्द्र विश्वकर्माको भनाइ छ ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले बजार अनुगमन गरेको छ । शुक्रबार त्रिपुरासुन्दरी नगरपालिकाकी उप-प्रमुख देवी घर्तीको नेतृत्वमा त्रिपुरासुन्दरी-१ मा पर्ने त्रिपुराकोट बगर बजार अनुगमन गरिएको हो ।
डोल्पाका सम्पूर्ण यार्सा पाटनहरु जेठ १० गतेदेखि खुल्दै छन् । यार्सा पाटनमा लग्ने सामग्री खरिद गर्न डोल्पाका बजार क्षेत्र अहिले निकै व्यस्त देखिन थालेका छन् । यार्सा सिजन नजिकिएसँगै व्यापारीले म्याद गुज्रेका समान बिक्री वितरण गरेको भन्ने स्थानीयको जनगुनासोलाई मध्यनजर गरेर बजार अनुगमनलाई तीव्र पारिएको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले जानकरी दिए ।
बजार अनुगमनका क्रममा त्रिपुराकोट बगर बजारभित्र सञ्चालित पसल तथा होटलहरुबाट म्याद गुज्रेका करिब २९ हजार २ सय रुपैयाँ बराबरको समान बरामद गरिएको छ । अनुगमनका क्रममा बरामद गरिएका २ दर्जनभन्दा बढी सामग्रीहरू त्रिपुराकोट प्रहरी चौकीमा आवश्यक मुचुल्का उठाइ जलाएर नष्ट गरिएको हो । म्याद गुज्रेका चाउचाउ, बिस्कुट, पेय पदार्थ अन्तर्गत फ्रुटी, कोकोकोला, फ्यान्टा, धुलो खुर्सानी, अजिना मोटोलगायतका दुई दर्जन बढी सामग्रीहरु जलाएर नष्ट गरिएको नगर उपप्रमुख घर्तीले जानकारी दिइन् ।
अनुगमनका क्रममा पहिलाको तुलनामा म्याद गुज्रेका सामानहरु कम पाइएको उनले बताइन् । सोक्रममा व्यवसायीहरुलाई मूल्यसहितको दर रेट राख्न तथा नगरपालिकामा दर्ता नगराइ सञ्चालित व्यवसायहरुलाई ७ दिने समय दिएर दर्ता गर्न सुझाव दिइएको उनले बताइन् ।
बजार अनुगमनमा उपप्रमुख घर्ती, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिसहित त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज रमेश बहादुर सिंह, सञ्चारकर्मीलागयतको सहभागिता रहेको थियो ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनःसंरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे । “न्यायपालिकाको पुनःसंरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।”
लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानूनी शासनको रक्षा गर्नैपर्छ भने । नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रियरूपमा महत्वका साथ हेरिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एसोसियसनले खेलेको भूमिका स्मरणीय रहेको बताएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “संविधानको मूलभूत मर्म र मान्यताको रक्षाका निम्ति बारले महत्वपूर्ण भूमिका खेको छ ।”
संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारले साहस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका विधिको शासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणका लागि नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : बागमती प्रदेशको संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया शुरु भएको छ । बिहीबार निर्वाचन कार्यतालिका प्रकाशनसँगै आज शुक्रबार मनोनयन प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
मनोनयन दर्ता समय दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्धारण गरिएको सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची- ३ बमोजिम समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनि सम्बन्धित समितिकै अर्का सदस्यको समर्थनमा मनोनयन प्रस्ताव दर्ता गराउने व्यवस्था रहेको छ ।
बिहीबार प्रकाशन भएको मतदाताको अन्तिम नामावलीमाथि दाबी विरोध, उम्मेदवारमाथिको दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन प्रक्रियाको समय समितिअनुसार फरक-फरक निर्धारण गरिएको गुप्ताले बताए । सर्वसम्मतरुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि सभापति चयन निर्वाचनमार्फत हुने गरी प्रक्रिया अघि बढेको हो । निर्वाचन कार्यतालिकाअनुसार भोलि शनिबार मतदान हुनेछ ।
प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन् । निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण कार्यक्रम जेठ ६ गते बिहान साढे १० बजेलाई निर्धारण गरिएको छ । उक्त समितिहरुको बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।
हेटौंडा : नेपालको व्यवस्था बदल्नको लागि जनक्रान्तिद्वारा जनकलाकारहरुको अहम् भूमिका रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य प्रह्लाद लामिछानेले बताएका छन् ।
बिहीबार हेटौंडामा भएको अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत जनकलाकार संघ मकवानपुरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले अझै जागरणको गीत नेपालको राजनीतिक सामाजिक परिस्थितिले मागिरहेको बताए ।
राजेश मग्रातीको अध्यक्षतामा भएको सम्मेलनले दिलकुमार लामाको अध्यक्षतामा ३३ सदस्यीय जनकलाकार संघ मकवानपुर जिल्ला कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा कुसुम माझी, बाबुराम माझी, सचिवमा कृष्ण बहादुर स्याङतान, कोषाध्यक्षमा साजनी माझी, सहसचिवमा सुजना थापा मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कविता सुनार, रविन गोले, रन्जिता घिसिङ, युकेश स्याङ्तान, शरण सेन्चुरी लगायत चयन भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies