तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए ।
अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।
सुनसरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छिन् । नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताइन् ।
अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उनले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैँ भन्दै आएको बताइन् । त्यसअनुसार संघ तथा प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री, मन्त्रीहरूले काम गर्नुपर्ने समेत मन्त्री चौधरीले बताइन् । ‘पूर्व प्रधानमन्त्री एवं हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभएको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई सार्थक बनाउनका निम्ति अहिले पनि हामी लागिरहेको छौँ । हामी संघ तथा प्रदेश सरकारमा विभिन्न भूमिकामा रहेका मुख्यमन्त्री, मन्त्रीहरूले पनि त्यसअनुसार भूमिका खेल्न आवश्यक छ’, उनले भनिन् ।
सुनसरी जिल्ला विविधताले भरिएको जिल्ला भएको भन्दै मन्त्री चौधरीले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन लाग्नुपर्ने बताइन् । उनले निर्वाचन हुँदा कुनै न कुनै रूपमा असन्तुष्टि बढ्ने भएकाले त्यसको अन्त्यका लागि पनि सर्व सहमतिमा जोड दिइन् । ‘हामी सम्पूर्ण एक ढिक्का भएर एउटा टिम भएर अगाडि बढ्यौँ भने मलाई लाग्छ हामीले १२ वटै पालिकामा प्रमुख, उपप्रमुख सहित विजय हासिल गर्न सक्छौँ । यदि हामीभित्रै घात र अन्तर्घातलाई अन्त्य गर्न सक्यौँ भने’, उनले भनिन्, ‘हामी सँगै बसेको हुन्छौ । तर कताबाट हो घात, अन्तर्घात पनि भइरहेको हुन्छ । त्यसकारण यसलाई अन्त्य गर्नका निम्ति हामी एकजुट हुन आवश्यक छ । हामी एउटै पार्टी हौँ । एउटै पार्टीका व्यक्ति हौँ । यही पार्टीलाई अगाडि बढाउन चाहन्छौँ ।’
२०८४ सालमा पहिलो पार्टी बनाउने अभियान पार्टीले लिएको भन्दै मिसन ग्रासरूट हुँदै, झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी केन्द्रित अभियान सम्पन्न गर्दै अहिले हामी मिसन ८४ को अभियानमा रहेको बताइन् । उनले भनिन्, ‘यो अभियान तब मात्रै सफल हुन्छ । जब हाम्रो जिल्लाले १२ वटै पालिका जिताएर देखाउन सक्छौँ ।’
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को प्रगति विवरण प्रस्तुति तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको सहकार्यमा शनिबार रोल्पा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
"रोल्पा नगरपालिकाको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार" भन्ने मूल नाराका साथ आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्षता रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले गरेका थिए भने जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्य, रोल्पा नगरपालिकाका १० वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, रोल्पा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, रोल्पा नगरपालिकाभित्रका क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु, शिक्षक, व्यापारी, नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।
रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको स्वागत मन्तव्यबाट शुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले रोल्पा नगरपालिकाले अरु पालिकाभन्दा राम्रो काम गर्न सफल भएको बताए । संघ तथा प्रदेशको कार्यसम्पादन र मूल्यांकनमा पनि अन्य स्थानीय तहभन्दा रोल्पा नगरपालिका अग्रस्थानमा आउने गरेको उनले बताए ।
कार्यक्रममा रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले प्रगति विवरण प्रस्तुत गरेका थिए । थापाले पेस गरेको प्रगति विवरणमा आर्थिक वर्ष २०७९/०८० मा कूल बजेट ८५ करोड ७५ लाख ६ हजार ९ सय ३ रुपैयाँ २५ पैसा विनियोजन भएकोमा कूल खर्च ८० करोड ७५ लाख ८१ हजार १ सय २० रुपैयाँ २९ पैसा भएको उल्लेख छ । जसअन्तर्गत चालु खर्च ५६ करोड ७८ लाख ५८ हजार १ सय १९ रुपैयाँ २९ पैसा रहेको छ भने पुँजीगत खर्च २३ करोड ९७ लाख २ हजार ३ सय १ रुपैयाँ रहेको छ ।
आ.व.२०८०/०८१ को हालसम्मको प्रगति प्रतिवेदनअनुसार कूल विनियोजित बजेट ७४ करोड ९६ लाख १६ हजारमध्ये ४५ करोड ३० लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । कूल खर्चमध्ये चालुतर्फ ३७ करोड ३ लाख ८३ हजार र पुँजीगततर्फ ८ करोड २६ लाख ४९ हजार रुपैयाँ रहेको प्रगति विवरणमा उल्लेख छ । जसअनुसार कूल बजेटको ६०.४४ प्रतिशत खर्च भएको छ । यस्तै प्रशासनिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट ३ करोड ५० लाख रुपैयाँ रहेकोमा ३ करोड ४६ लाख ७० हजार रुपैयाँ खर्च भएको प्रगति विवरणमा उल्लेख छ । चालु आ.व.मा सातदोबाटो भ्यु टावर तथा पक्की नालासहित सडक पिचका लागि १ करोड २० लाख रुपैयाँ विनियोजना भएकोमा ७४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ ।
भौतिक पूर्वाधार विशेष कोषमा ११ लाख रुपैयाँ विनियोजन भएकोमा १० लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । चिस्यान गृह निर्माण, जग्गा व्यवस्थापनमा १ करोड रुपैयाँ विनियोजन भएकोमा ९० लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । खरको छाना विस्थापन कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन भएकोमा ७१ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले गरेका थिए भने सहभागीहरुले जनप्रतिनिधिहरुसमक्ष जिज्ञासा राख्दै सुझावसमेत दिएका थिए । कार्यक्रममा उठेका जिज्ञासा, प्रश्नको जवाफ सम्बन्धित वडाका अध्यक्ष तथा उपमेयर र मेयरले दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिकाका प्रशासन प्रमुख सुदीप डाँगीले गरेका थिए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको धारापानीका आगलागी पीडितलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान गरेको छ । गत वैशाख ८ गते जंगलमा लागेको डढेलो बस्तीमा पस्दा भूमिकास्थान–३ र ४ मा १५ घर र १५ वटा गोठ जलेर नष्ट भएपछि घरबास गुमाएकाहरुलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सहयोग रकम हस्तान्तरण गरेको हो ।
सिंगो बस्ती नै सखाप पार्ने गरी लागेको आगोले करोडौंको क्षति पुर्याउनुका साथै दर्जनौं पशुचौपाय समेत जलेर खरानी भएका थिए । विपत्तिसँग सामना गर्न सबैको हातेमालो जरुरी रहेको भन्दै अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आयोजनामा आर्थिक संकलन गरिएको र सोही रकम राहतस्वरुप वितरण गरिएको मञ्चका अध्यक्ष रुद्र पौडेलले जानकारी दिए ।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले पठाएको ४ लाख २ हजार रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको स्थानीय यज्ञप्रसाद भुसालले बताए । भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, भूमिकास्थान-३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, भूमिकास्थान नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापा, भूमिकास्थान-३ का वडा सदस्य डाँसिराम भुसाललगायत स्थानीय सरोकारवालाको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।
कृष्णा ओली, रामु भुसाल, राजु भुसाल र बसन्ता मल्लले राहतस्वरुप समान ३५/३५ हजार रुपैयाँ बुझेका छन् । यस्तै मनिराम भुसाल, देवी थापा (आले) र वडास्तरीय राहत कोषमा समान ३०/३० हजार रुपैयाँ प्रदान गरिएको दक्षिण कोरियाबाट सन्तोष भुसालले बताए । त्यस्तै पीडित विष्णु जि.एम.लाई २५ हजार, रिखिराम भुसाल र रेसम परियारलाई समान २०/२० हजार, तिलक भुसाल र गंगा बहादुर वि.क.लाई समान १५/१५ हजार, पदम भुसाल, खिमप्रसाद भुसाल, गंगा बहादुर भुसाल, नरिश्वर भुसाल र खुम प्रसाद भुसाललाई १०/१० हजार रुपैयाँ प्रदान गरिएको छ । दुर्गाबहादुर वि.क., गंगा भुसाल र शोभाखर बन्जाडेलाई समान ७/७ हजार रुपैयाँ र भुपलाल भुसाललाई ६ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।
आगलागीले बास गुमेपछि छिमेकी र आफन्तको शरणमा बस्दै आएका आगलागी पीडितहरुलाई सहयोग गर्ने दाताहरुलाई भूमिकास्थानका नगरप्रमुख झविलाल थापा र पीडित परिवारले धन्यावाद ज्ञापन गरेका छन् ।
जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । २४सै घण्टा नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ भएमात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भन्दै एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
प्रहरीहरुको स्वास्थ्य चेकजाँचका लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना, कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । उनले भने, ‘कुनै पनि रोगलाई शुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने भएकाले शिविर आयोजना गरिएको हो ।'
शिविरमा निःशुल्क हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोगसहित विभिन्न रोगसम्बन्धी परीक्षण गरिएको प्रतिष्ठानका डा. राकेश कुमार यादवले बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउँदै रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधान गर्न जरुरी रहेको बताए । उनले प्रहरी नागरिकको सुरक्षाका लागि खटिने हुँदा दुई–तीन महिनामा स्वास्थ्य शिविर आयोजना गर्न जरुरी रहेको पनि बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्याले स्वास्थ्य नै पहिलो धन भएकाले व्यस्ततामा रहेका प्रहरीका लागि समयमा स्वास्थ्य चेकजाँच गर्न अवश्यक रहको बताए । नेपाल पत्रकार महासंघ जुम्ला शाखाकी उपाध्यक्ष दिलमाया शाहीले जिल्ला प्रहरी कार्यालय जुम्ला मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताइन् । उनले प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्ने र कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने अवथालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा आयोजक टिमप्रति आभार व्यक्त गरिन् । उनले प्रहरीका लागि स्वास्थ्य परीक्षण मात्र नभइ बिटअनुसारको क्षमता अभिवृद्धिका कार्यक्रम पनि गर्न जरुरी रहेको बताइन् । शिविरमा झण्डै एक सय ५० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।
काठमाडौं : गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिनसक्ने गरी पहिलो पटक मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो ।
शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रत्यायोजित अधिकारबाट निर्णय प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउनाका साथै विभागलाई थप जिम्मेवार बनाउने विश्वास लिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार अध्यागमन ऐन २०४९ तथा सोको नियमावली २०५१ र कार्यविधि २०६५ ले व्यवस्था गरेबमोजिम मन्त्रालय (सीमा तथा अध्यागमन शाखा)बाट सम्पादन भइरहेका कार्यहरुमध्ये फाइल पेस भई मन्त्रालयबाट विभिन्न तह हुँदै निर्णय हुने झन्झटिलो प्रक्रियाले काममा ढिलासुस्ती र अनावश्यक प्रक्रियाको अवलम्बन हुने भएकाले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागका महानिर्देशकबाटै टुङ्गिने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।
महानिर्देशकले गृहमन्त्रीस्तरबाट २०६६ असोज १६ मा निर्णय भएबमोजिम ११ निषेधित देश (इराक, प्यालेष्टाइन, अफगानिस्तान, इथियोपिया, लाइबेरिया, सोमालिया, नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड र क्यामरुन) बाट नेपाल आउने नागरिकलाई प्रचलित कानुनबमोजिम आगमन विन्दुमा भिसा (अन अराइभल भिसा) जारी गर्न सक्नेछन् ।
अध्यागमन नियमावली २०५१ को नियम १० (क) को कार्यका लागि अध्यागमन नियमावली २०५१ को नियम १२ को उपनियम (१) को खण्ड (झ) बमोजिमका विषयमा अध्ययन भिसा जारी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो ।
अध्यागमन नियमावली २०५१ को नियम ३१ को खण्ड (ग) सँगको सम्बन्धित भिसा दस्तुर छुट दिन सकिने छभने विदेशी नागरिकलाई कार्य सहमति प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७७ बमोजिम कार्य सहमति प्रदान गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।
प्रत्यायोजन भएका विषयको कार्य फछ्र्यौट प्रतिवेदन साप्ताहिक÷मासिक रुपमा मन्त्रालयमा पेस गर्ने गरी गरिएको अधिकार प्रत्यायोजनले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउने गृह सचिव एकनारायण अर्यालले बताए । उनले भने, “सेवा प्रवाहलाई जतिसक्दो कम झन्झटिलो र चाँडो बनाउने मुख्य उद्देश्य हो, जति धेरै तह भयो त्यति नै धेरै समय र जनशक्ति लाग्ने भएकाले महानिर्देशकबाटै टुङ्गिने विषयलाई मन्त्रालयसम्म किन पुर्याइराख्नु भनेर प्रक्रिया नै छोट्याइएको हो ।”
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : आत्मविश्वास बलियो हुँदा काम गर्न कुनै कुरा पनि बाधक हुँदैन । यसको बलियो उदाहरण हुन्, हरिकृष्ण चापागाईं । सेतै दाह्री, अनुहारमा बुढ्यौली रेखा स्पष्ट देखिने ५४ वर्षीया चापागाईं एकाबिहानै काठमाडौंबासीका ढोका ढोकामा दुध पु¥याउँछन् । आफैले उत्पादन गरेको दुध घरघर पुर्याउने चापागाईंले दैनिक ५० लिटर दुध बेच्ने गरेको बताउँछन् ।
पिपुल्स क्याम्पसमा बीकमसम्मको पढाइ पुरा गरेका चापागाईंलाई बच्चैबेलादेखि जागिरभन्दा कृषि पेशा नै राम्रो लाग्थ्यो । स्कुले उमेरदेखि नै आमाबुवालाई सघाउन दुध बेच्ने गरेका चापागाईंलाई बीकम गर्दासम्म यही पेशको ‘लत’ लागिसकेको थियो । कृषिप्रति यही मायाले उनका बुवाले जागिर खान पटक पटक सुझाव दिदा पनि उनले कृषिलाई नै निरन्तरता दिए ।
पहिला पहिला प्रभावकारी सडक र सवारीसाधन अभावमा काम गर्न असहज भए पनि अहिले सजिलो हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘म सानो हुँदा काँधमा दुधको भाँडो बोकेर हिड्थें । बाटो राम्रो नहुँदा कतिपटक त लगेको दुध सबै बेच्न पनि सकिन्थेन । पछि साइकलमा दुध बेचे । अहिले त सडक राम्रो छ मोटरसाइकलमा दुध लैजान्छु नि ।’
चापागाईंले दुध बेच्न डुल्न शुरुवात गर्दा शहरमा थोरै मानिस बस्थे । अहिलेकोजस्तो घना बस्ती नहुँदा दुध बेच्न निकै टाढासम्म पुग्नुपरेको उनको अनुभव सुनाउँछन् । २०३४/०३५ सालदेखि नै दुध बेच्न शुरु गरेका चापागाईं त्यतिबेला दैनिक एक सय लिटरभन्दा बढी दुध बेच्थे । निरन्तर एउटै कर्ममा रहेका चापागाईं उमेरले बुढ्यौली लागिसक्दा उस्तै सक्रिय छन् ।
निरन्तर चलिरहेको चापागार्ईंको कर्म देख्दा उनका आफन्त भने अब बिश्राम लिन सुझाउँछन् । चापागाईं भने ओछ्यानमा बस्नुपर्ने बेला नआउन्जेलसम्म निरन्तर कर्म गर्नुपर्ने बताउँछन् । ‘शरिरले थेगुन्जेल निरन्तर काम गर्नुपर्छ । ओछ्यानमा बस्नुपर्ने बेलामा हो आराम गर्ने त’ चापागाईं भन्छन् ।
करिब ३ सय वर्ष पुरानो पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेका चापागाईंलाई आगामी पुस्तालाई पेशा हस्तान्तरण गर्न नपाउने हो कि भन्ने चिन्ता छ । ‘मैले पुरानो पेशा धानिरहेको छु । तर अब त टुंगिनेछ । किन कि मेरा बच्चाहरूले यसमा खासै ध्यान दिएका छैनन्’ उनी भन्छन् ।
सानै उमेरदेखि नै पशुपालन र दुध व्यवसायमा लगेका चापागाईंलाई यो पेशाको औधि माया लाग्छ । नयाँ पुस्ता निराश भएर थोरै कमाउन पनि विदेश गएको देख्दा उनलाई दुःख लाग्छ । नेपालमा कामको सम्मान नभएकाले यस्तो समस्या भइरहेको उनको बुझाइ छ । समयक्रमसँगै भइरहने परिवर्तनमा बसाइँसराइँ स्वभाविक भए पनि कसै न कसैले कृषि पेशा पनि धान्नुपर्ने उनको बुझाइ छ ।
‘नेपालमा नै मिहेनेत गरे सुन फल्छ नि । तर, यहाँ काम गर्ने मान्छे, समार र सरकार सबैले कामप्रतिको दृष्टिकोण फेर्नुपर्ने देखिन्छ । काम गर्ने मान्छेले कसैको कुरा नसुनी परिश्रम गर्नुप¥यो । समाजले पनि कामको सम्मान गर्ने गर्नुपर्छ भने सरकारले गरेको कामका लागि सहजिकरण गर्नुपर्छ ।’
अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने कृषिलाई व्यवसायिक हिसाबले स्तरोन्नति गर्न नसक्दा किसानहरू समस्यामा परेकोमा उनी दुःखी छन् । सरकारले वर्षेनी करोडौं रकम कृषिका नाममा खर्च गर्दा पनि लक्षित वर्गसम्म पुग्न नसकेको बताउँदै हरिदाइ सरकारी कार्यक्रम र अनुदानको सदुपयोग हुनुपर्ने बताउँछन् ।
हरि दाइ भनेर चिनिने चापागाईं काठमाडौंका रैथाने हुन् । तारकेश्वरको लोलाङ हाइट रहेको पुर्ख्यौली घर छेउमा चापागाईंको गाई गोठ छ । यसबाहेक उनको झोरमा पनि गाई गोठ रहेको छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बारबर्दिया नगरपालिकाकामा शिक्षकहरुलाई शिक्षण आपुरण तथा द्रुत सिकाइ सहयोग सम्बन्धी तालिम प्रदान गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन आधारभूत तहका शिक्षकहरुलाई क्षमता विकास तालिम प्रदान गरिएको हो ।
सशक्त बालिका परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा तालिमको आयोजना गरिएको हो ।
विद्यालयमा कोभिड १९ महामारी तथा विविध कारणले विद्यार्थीहरुमा भएको सिकाइ क्षतिलाई परिपूर्ती गर्नका लागि आपुरण तथा द्रुत सिकाइ योजना निर्माणमा सहयोग पु¥याउन तालिमको आयोजना गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले बताए ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा योजना निर्माणका लागि विश्व र नेपालमा सिकाइ क्षतिको अवस्था, सिकाइ स्तर पहिचान गर्ने तरिका, साधनको परिचय र प्रयोग, सिकाइ स्तर पहिचान गर्न साधनको प्रयोग विधि, साधानको प्रयोग गरी विद्यार्थीको सिकाइ परीक्षण अभ्यास, साधनको प्रयोग गरी विद्यार्थीको सिकाइ स्तर परीक्षण अभ्यास, विद्यार्थी सिकाइ स्तरको अभिलेखीकरण र रिपोर्टिङ, नतिजा विश्लेषण र वर्गीकरण नतिजा विश्लेषण र विषयबस्तुको छनौट, सिकाइ आवश्यकता आधारमा क्रियाकलाप छनोट र प्रयोग, योजना निर्माण र कार्यान्वयन, द्रुत सिकाइको परिचय, रणनीतिहरुको पहिचान र प्रयोग तथा कार्ययोजना निर्माणको विषयमा सहजीकरण गरी योजना निर्माण समेत गरिएको थियो ।
तालिम समापनका अवसरमा बारबर्दिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्दे विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि उर्जावान भएर लाग्न शिक्षकहरुलाई आग्रह गरे ।
बारबर्दिया ६ जयनगरको श्रोत केन्द्रको सभाहलमा बुधबारदेखि सञ्चालन भएको तालिममा ४० वटा सामुदायिक विद्यालयका ४० जना शिक्षकहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईंले गरेका थिए । तालिमको समापन सत्रमा राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत संजय चौधरी लगायतको उपस्थिति रहेको सशक्त बालिका परियोजना कार्यक्रम अधिकृत सीमा वलीले जानकारी दिइन् ।
क्षितिज किरण/मध्यान्ह
कपिलवस्तु : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेसनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताइन् ।
उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिइन् । ‘तापक्रम निरन्तर बढिरहेको छ। बिहीबार देशका आठ स्टेसनमा ४० डिग्री तापक्रम पुगेको थियो। अहिले पनि तीन÷चार स्टेसनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ,’ उनले भनिन् ।
मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । उनले भनिन्, ‘पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ ।’ मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौंमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६.६ डिग्री पुगेको थियो ।
तीन दिनयता काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौंमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ । गर्मीले तराइका विभिन्न जनजीवन प्रभावित भएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : नियमित भन्दा फरक शैलीको कार्यक्रमको आयोजना गर्दै पत्रकार महासंघ कतार शाखाले आफ्नो १८औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
नेपाली दूतावासको हलमा शुक्रबार सम्पन्न कार्यक्रम निर्धारित समयमा शुरु भएर निर्धारित समयमै सकिएको थियो । शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठको सभापतित्व तथा कतारस्थित नेपाली कूटनीतिक नियोगका महामहिम राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
केक काट्दै खुसीयाली साटेर अगाडि बढेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । आफ्नो मन्तव्यका क्रममा शाखाका भूतपूर्व सचिव मोहमद अजिज अलिले आफू अनुकूलका समाचार नलेख्दा होस् या अन्य अवस्थामा कतारमा रहेका पत्रकारहरूलाई विभिन्न समयमा कानूनी उल्झनमा पार्ने गरेको तितो अनुभव सुनाए । नेपालीहरू कतारमा पत्रकारिता गर्न नआए पनि समाजलाई सुसूचित गर्न चुक्न नहुने वक्ताहरूको भनाइ थियो ।
प्रमुख अतिथि ढकालले पत्रकार पेसा आफैमा चुनौतीपूर्ण रहेको र आफ्नो धर्म निर्वाह गर्ने क्रममा थुप्रै पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे । देशमा प्रजातन्त्र होस् या लोकतन्त्र प्राप्तिका लागि पत्रकारको विशेष भूमिका रहेको उनले बताए । नेपालको संविधानले पत्रकारलाई राष्ट्रको चौथो अंगमा सम्बोधन गरेको हुँदा समाचार सम्प्रेषणमा निष्पक्षता हुनुपर्नेमा उनले जोड दिए । उनले महासंघले शुरु गरेको पोडकाष्ट केही फरक कार्य रहेको हुँदा त्यसलाई गतिशिल बनाउँदै तीव्रता दिन सुझाव दिँदै पत्रकारिता पेसालाई मर्यादित बनाउन आग्रह गरे ।
गुरुनारायण रानाभाटलाई सम्मान
यस्तै प्रवासी भूमिमा रहेर राष्ट्र र समाजका लागि बृहत्तर हितमा सेवामूलक र परोपकारी कार्य गर्नुका साथै कतारमा रहेको नेपाली समाजको खातिर पु¥याएको योगदानको कदर गर्दै फेदी खाला गाउँपालिका ३ स्याङ्जाका गुरुनारायण रानाभाटलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै उनले आफूले दूतावाससँग सन २०१३÷१६ मा समीपमा रहेर कार्यसम्पादन गरेको स्मरण गरे । सामाजिक कार्य गर्दै गर्दा सम्मानको कसैले अपेक्षा गरेको हुँदैन तर कहीँ कतै कसैले मुल्याकंन गरेको हुने रहेछ भन्ने महासंघको सम्मानले प्रमाणित गरेको बताए ।
कतारमा सूचना तथा सामुदायिक पत्रकारिता गरी रहेका नेपाली समुदायका पत्रकार मध्यबाट रेडियो ओलीभमा कार्यरत सोम थापा मगरलाई प्रोत्साहन पत्रद्वारा सम्मान गरेको हो । त्यस्तै संघलाई विशेष सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरू सम्मानित भएका छन् ।
महासंघको पोडकाष्ट शुरु
स्थापना दिवसको अवसर पारेर शाखा कतारले ‘पत्रकारिता समुदायका लागि’ भन्ने नारासहित पोडकाष्टको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालसँग गरिएको कुराकानीको प्रोमो सार्वजनिक गर्दै आधिकारिक रूपमा सुचारु गरिएको हो । पोडकाष्टको लक्ष्य कतारमा रहेका श्रमिकको हक हित र कतार प्रवेश गर्न चाहाने नेपाली नागरिकलाई सुसूचित गर्ने लक्ष्य लिएको छ ।
संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव दिलीप पराजुलीले सहजीकरण थिए । कार्यक्रमको समापन गर्दै सभापति श्रेष्ठले कतारमा रहेका नेपाली पत्रकारहरू मजदुर पत्रकार रहेको बताए । उनले मजदुर पत्रकारलाई रोजगारी प्यारो हुने हुँदा खोज अनुसन्धान तथा श्रमिकका पक्षमा खुलेर लेख्न नसकिएको प्रस्ट पारे । महासंघको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित सबै प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies