कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोटको रास्कोट नगरपालिकास्थित रास्कोट अस्पतालमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत रास्कोट नगरपालिकाको समन्वयमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
हुरेन्डेक नेपाल कालीकोटका महासचिव दानबहादुर बिकको सभापतित्वमा सञ्चालन भएको शिविरमा रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमको प्रमुख आतिथ्याता रहेको थियो । शिविरमा रास्कोट नगरपालिकाका सम्पूर्ण वडाबाट यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकहरुले सेवा लिएका छन् ।
शिबिरबाट १७० महिला र ७ पुरुष गरी जम्मा १७७ जनाले सेवा लिएका छन् । जिल्ला अस्पताल कालीकोटका मेडिकल अधिकृत प्रतिमा भण्डारी, रास्कोट अस्पतालका मेडिकल अधिकृत सुमन कुसहावा र रास्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुले बिरामीहरुको चेकजाँचका साथै उपचार गरेका थिए ।
शिविर उद्घाटनका क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बमले नगरपालिकाले गर्नुपर्ने काम हुरेन्डेकले गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । ग्रामिण भेगमा किशोर किशोरी तथा युवाहरुले आफ्ना यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरु खुलेर भन्न नसक्दा थप समस्या आउने गरेको बताउँदै यस्ता समस्याहरु खुलेर स्वास्थ्यकर्मीहरुसमक्ष राख्न सबैलाई कार्यक्रम संयोजक डम्बर बोहराले आग्रह गरेका थिए ।
शिविरमा धेरैजसो महिनावारीको समयमा पेट दुखाइ, पिसाबमा खराबी, महिनावारी गडबडी र पाठेघरसम्बन्धी बिरामीहरुले सेवा लिएको डाक्टर प्रतिमा भण्डारीले जानकारी दिइन् । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई शिविर एकदमै प्रभावकारी भएको स्थानीय टिकाराज उपाध्यायले बताए ।
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारसहित सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । काठमाडौंमा फोहोर बोक्ने चार जना चालकलाई प्रहरीले समातेको भन्दै मेयर बालेनले उक्त चेतावनी दिएका हुन् । उनले भ्रष्टलाई समाउन नसक्ने सरकारले चालकलाई समातेको भन्दै आक्रोश पोखेका छन् ।
उनले फेसबुकमा स्टाटस लेखेका छन्, 'भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले । जबसम्म स-सम्मान चालकहरु रिहा हुन्नन, सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन !'
सुर्खेत : दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भइ हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनले गाडीमा सवार अन्य २१ जना घाइते भएकोमा एक जना गम्भीर घाइते र अन्य २० जनाको अवस्था सामान्य रहेको बताए ।
घाइते हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका-१३ बस्ने जगत थापा, दुल्लु नगरपालिका-११ की कमला सुनार, डुङ्गेश्वर गाउँपालिका-७ बस्ने मोहन थापा, दुल्लु नगरपालिका-११ बस्ने माया खत्री, दुल्लु नगरपालिका-१० बस्ने प्रदीप थापा, दुल्लु नगरपालिका-१० बस्ने दुर्गा शाही, दुल्लु नगरपालिका-११ बस्ने रेजिना कार्की, दुल्लु नगरपालिका-११ बस्ने थिरबहादुर थापा, दुल्लु नगरपालिका-१० बस्ने निर्मला खड्का, दुल्लु नगरपालिका-१० बस्ने साहिमल खड्का, डुङ्गेश्वर गाउँपालिका-३ बस्ने पदम राना, डुङ्गेश्वर गाउँपालिका-६ बस्ने खगेन्द्र थापा, डुङ्गेश्वर गाउँपालिका-६ नै बस्ने अर्का खगेन्द्र थापा, डुङ्गेश्वर गाउँपालिका-६ बस्ने लोकेन्द्र रोकाय मगर, डुङ्गेश्वर गाउँपालिका-६ बस्ने नविन राना, दुल्लु नगरपालिका-११ बस्ने तलसी कार्की, डुङ्गेश्वर गाउँपालिका-६ बस्ने खगेन्द्र राना, दुल्लु नगरपालिका-१० बस्ने प्रेम खड्का, दुल्लु नगरपालिका-११ बस्ने बलबहादुर खत्री, दुल्लु नगरपालिका-११ बस्ने निशान्त खत्री र बर्दियाको ठाकुरबाबा नगरपालिका-३ बस्ने खजुरा खड्का रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रेमचन्द्र झा/मध्यान्ह
राैतहट : पूर्वाधार विकास कार्यालय गाैर राैतहटको कार्यालय प्रमुखमा सन्दीप साहले जिम्मेवारी पाएका छन् । साहले सोमबार कार्यालयमा हाजिर भइ जिम्मेवारी सम्हालेका छन् ।
जिम्मेवारी सम्हाल्दै कार्यालय प्रमुख साहले सरोकारवालाको सहयोग पाए आफूले जिल्लामा उत्कृष्ट कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले तीनै तहका सरकारको काम गराइ करिब-करिब एकै किसिमको रहेको बताउँदै संघीय र प्रदेश सरकारको काम हेरेर अनुसरणीय काम गर्नुपर्नेमा जोड दिए ।
मधेश प्रदेशका जिल्लाहरु पूर्वाधार विकास, समाजिक विकासका साथै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमासमेत देशका अन्य जिल्लाकाे तुलनामा निकै पछाडि रहेकाे बताए । पूर्वाधार विकास कार्यालयकाे काम कारबाहीमा कुनै कमीकमजाेरी हुन नदिन आफू प्रयत्नशील रहने उनले प्रतिबद्धता जनाए ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : आइ.पि.भी खोप अभियान २०८१ सम्बन्धी जिल्ला खोप समन्वय समतिका पदाधिकारी तथा सञ्चारकर्मी र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
स्वास्थ्य तथा निर्देशनालय जनस्वास्थ्य कार्यालय कालिकोटले जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुसँग एक दिने अभिमुखीकरण सम्पन्न गरेको हो । कार्यक्रममा जिल्लाको अवस्था र अभियानका बारेमा जानकारी सहितको बैठकमा खोप अभियानबारे जानकारी दिइएको थियो ।
आइपीभी खोप अभियानको औचित्यबारे बुझाउने र कालिकोट जिल्लालाई पूर्ण खोप सुनश्चितता लागि चालिएका कदमबारे सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर संकेत विश्वकर्माले बताए ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आइ.पि.भी खोप अभियान २०८१ यहि जेठ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने भएको छ ।
पोलियो रोग उन्मुलनका लागि देशव्यापी रुपमा आइ.पि.भी खोप अभियान २०८१ संचालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजित बहादुर शाहीको अध्यक्षतामा अभिमूखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, कालिकोट प्रहरी प्रमुख अर्जुन केसी, अस्पताल विकास सतिका अध्यक्ष गोगन बहादुर मल्ल तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिलगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । आगामी जेठ २३ गतेदेखि २६ गतेसम्म कालीकोट जिल्लाका नौ वटै पालिकामा आइ.पि.भी खोप अभियान शुरु हुने समेत बताइएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विकास र समृद्धिको बाटोमा नेपाली पत्रिका चल्नुपर्ने बताएका छन् ।
रौतहटको चन्द्रपुरबाट प्रकाशित हुँदै आएको ‘हाइवे’न्यूज दैनिकको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले समाचारको कन्टेन, त्यसको सुधार, खोजमुलक समाचार पाठकलाई दिनुपर्ने बताए । सूचना र प्रविधिको युगमा अघि बढेको आजको युग अनुरुप सञ्चार माध्यम चल्न सकेमा मात्रै छापा माध्यमले निरन्तरता पाउने उनले स्पष्ट पारे । पत्रपत्रिकालाई जोगाउन राज्यको भूमिका रहनुपर्ने भन्दै उनले व्यक्तिको नाममा दर्ता भए पनि राज्यकै लागि काम गर्ने भएकाले पत्रपत्रिकालाई राज्यले जोगाउनुपर्ने बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्ले, गरुडा नगरपालिकाका नगरप्रमुख कन्ठमुणी प्रसाद जयसवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईं, केन्द्रीय सदस्य शिवबहादुर पुरी, पत्रकार संजय कार्की, प्रभातकुमार झा, उत्तम उपाध्याय, फणीदेव महत, लगायतका सञ्चारकर्मीहरुले मन्तव्य राख्दै हाइवे न्यूज दैनिकको उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाइ दिएका थिए ।
हाईवे न्यूज दैनिकका प्रकाशक मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बालबिक्रम कार्कीले सञ्चालन गरेका थिए भने । सोही कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरुलाई र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
क्षितिज किरण/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा तीन दिने रेडियो उद्घोषण आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । सामुदायिक रेडियो विजयनगरको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा तीन दिने पत्रकारिता तालिम शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बाहादुर थापाले तालिमले नयाँ कुरा सिक्न र सिकाउने विश्वास व्यक्त गरे । साथै सिकाइ कहिल्यै पनि पूरा हुन नसक्ने उनले बताए । जीवन एउटा सिकाइ भएको र पत्रकारिता जीवनको सिक्ने अवसर भएको पनि उनले जानकारी दिए । आफू अब्बल दर्जाको बन्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । तालिमले आफु मात्र नभएर अरुलाई पनि सिकाउने अवसर मिल्ने साथै असल नागरिक स्थापित गर्न सहयोग पुग्ने उनले बताए ।
साथै पत्रकारका हक अधिकार, समस्या समाधान, पत्रकारिताको व्यवस्था र मर्यादितको लागि जिम्मेवारी पदमा नरहेपनि आवाज उठाउने उनको प्रतिबद्धता रहेको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले पत्रकारिता पेसामा लाग्नुपूर्व सबैले पत्रकारिताका बारेमा जानकारी लिन आवश्यक रहेको बताए । उनले पत्रकारले चलाउने कलम समाजमा हुने राम्रा कामहरुको प्रशंसा र नराम्रा कामहरुमा सदैव खवरदारी आवश्यक रहेको भन्दै त्यसले समाजलाई सही ढंगले अघि बढ्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै रेडियो विजयनगरका स्टेशन म्यानेजर राम प्रकट कोरीले स्थानीय सरकारलाई जनताको पक्षमा काम गर्नका लागि अघि बढाउने गरी सञ्चारको क्षेत्रबाट निरन्तर रुपमा खवरदारी आवश्यक रहेको बताए ।
सामुदायिक रेडियो विजयनगरका कोषाध्यक्ष गोकर्ण सापकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रेडियोका कार्यसमिति सदस्य थर्कबहादुर खन्गाहा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा सहजीकरण रेडियोका सचिव दिपक भण्डारीले गरेका थिए ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारी संस्थाको अनुगमनमा कडाइ गरिने बताएका छन् ।
सहकारी प्रशिक्षालय बाँकेको आयोजना र जिल्ला सहकारी संघ अर्घाखाँचीको समन्वयमा सन्धिखर्कमा सञ्चालन भएको ५ दिने सहकारी व्यवस्थापन तालिमको उद्घाटन गर्दै श्रेष्ठले सहकारीहरु सुशासन, प्रविधिमैत्री हुनुपर्ने बताए । उनले सहकारी संस्थाको संख्या धेरै भएका कारण अब ठूला अब्बल संस्था बनाइ एकीकरण गर्नेतर्फ लाग्न सहकारी संघसंस्थाहरुलाई आग्रह गरे ।
अर्घाखाँचीमा रहेका सहकारी संस्थाहरुका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकासका लागि जिल्ला सहकारी संघको पहलमा सन्धिखर्कमा भएको तालिमले २५ सहकारी संस्थाबाट सहभागी भइ सिकेको सीप जिल्लाका सबै संघसंस्थामा परिचालन गर्न सकिने अध्यक्ष भुसालले बताए ।
तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्नका लागि आग्रह गरिएको छ । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष द्रोणप्रसाद भुसाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहकारी प्रशिक्षालय बाँकेले अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन गरेको तालिमको उद्घाटन समारोह सहकारी प्रशिक्षालय बाँकेका प्राचार्य लोकबहादुर सुनारको अध्यक्षता, सहकारी प्रशिक्षक आलोककुमार ओझाको स्वागत र भोजलाल थारुको सञ्चालनमा सम्पन्न भएको हो ।
जिल्लामा रहेका २ सय १६ सहकारी संस्थामध्ये २५ सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहकारी संस्थाको व्यवस्थापनसँगै सुशासन, प्रविधिमैत्री बनाउन तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ । तालिम १० गतेसम्म सञ्चालन हुने जिल्ला सहकारी संघका सचिव घनश्याम पौडेलले जानकारी दिए ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको जगरनाथपुर गाउँपालिका– ५ धर्मपुर मसिहानीमा सोमबारबाट विष्णु महायज्ञ हुने भनेको छ । महायज्ञको अवसरमा आइतबार बाजागाँजासहित कलश यात्रा निकालिएको छ । सोमबारदेखि ९ दिवासीय श्री विष्णु महायज्ञ शुभारम्भ हुने आयोजकले जनाएको छ । आगामी जेठ १४ गतेसम्म चल्ने महायज्ञको पहिलो दिन आइतबार भव्य कलशसहितको शोभायात्रा निकालिएको हो ।
कलशसहितको शोभायात्रा चिलझपटी, झाखर, मसिहानी, मधुवाहन, धर्मपुर गाउँ हुँदै मधुवाहा नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर जगरनाथपुर गाउँको परिक्रमा गर्दै पुनः महयज्ञ मण्डपमा पुगेर समापन भएको थियो ।
कलश तथा शोभायात्रामा ७ सय ५१ जना कुमारी कन्याका साथै करिब ४ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक लालबाबु पटेलले बताए । शोभायात्राले विभिन्न गाउँको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाउँ–ठाउँमा विभिन्न व्यक्ति र संस्थाले चिसो सर्वत पानी, फ्रुटी, फलफूलहरु बाँडेका थिए ।
शोभायात्रामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य, पर्सा क्षेत्र न.४ को संघीय सांसद एवं पूर्व मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए । सो अवसरमा विशिष्ट अतिथि मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सासंद शंकर चौधरी, रमेश पाण्डे, नवीन सिंह, वशिष्ठनारायण कुर्मी, प्रमुख प्रशासकीय कृष्ण नन्दन यादव, वडा अध्यक्ष बिहारी नुनिया, शुभाष यादव, लक्ष्मी साह तेली, नेपाली कुशवाहा लगायत स्थानीय अगुवा नेता कार्यकर्ता एवं गाउँबासीको उपस्थिति रहेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ७ चिदिचौरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । सो शिविरमा ४ सय भन्दा बढी आँखाका बिरामीले आँखा जाँच गराएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव जगदिश चन्द्र नेपालीले जानकारी दिए ।
भूमिकास्थान नगरपालिकाको आयोजना नेपाल नेत्रज्योति संघ जिल्ला शाखा अर्घाखाँची प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराउन पाउँदा स्थानीय सरकार भएको महसुस गरेको बताए । शिविरमा ३७ जनामा मोतियाविन्दु समस्या देखा परेको नेपाल नेत्रज्योति संघ अर्घाखाँची शाखा प्रमुख सागर घिमिरेले जानकारी दिए ।
जिल्लाको एक नगरपालिकामा आँखाका बिरामी जाँच गर्दा यति धेरैमा मोतिया विन्दु देखा पर्नाले अर्घाखाँची जिल्लामा मोतियाविन्दुको भयावह स्थिति देखिएको बताउँदै घिमिरेले भने, ‘आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशत बिरामीमा मोतियाविन्दु देखा परेको छ ।’ बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण भएको धेरैमा यो समस्या देखिएकोले मोतिया बिन्दु देखिएका बिरामीहरुलाई १४ गते सन्धिखर्क आँखा उपचार केन्द्रमा शल्यक्रिया गरिने शाखा प्रमुख घिमिरेले बताए ।
मोतियाविन्दु रोगको उपचार शल्यक्रिया ग्रामीण भेगमा नहुने कारण उनीहरुलाई जिल्लामा बोलाएर उपचार गरिने समेत घिमिरेको भनाइ छ । आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा ग्रामीण भेगमा मोतियाविन्दुका बिरामी बढेका हुन् । अहिले भेटिएका उपचार गराउन नपाएका मोतियाविन्दुका बिरामीलाई अर्को शिविर राखेर जिल्लामा निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख झबिलाल थापाले बताए ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख थापाले नगरपालिकाभित्र यस पटक दुई ठाउँमा शिविर सञ्चालन गरी नगरवासीलाई आँखा सम्बन्धी स्वास्थ्य परीक्षण गर्न लागिएको बताए ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले नगरबासीको चाहना अनुसार शिक्षा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय फड्को मार्ने गरी काम गर्न जनप्रतिनिधिहरु लागि परेको बताए ।
नगरपालिकामा रहेका दृष्टिविहीन तथा आखाको अपाङ्गता भएका असाहय गरिबी तथा अशक्त आँखाका बिरामीहरुलाई नगरपालिकाले अब निःशुल्क आँखा उपचार गर्ने योजना अनुसार अगाडि बढेकाले जनप्रतिनिधिहरुलाई कर्मचारीले सहयोग गरी अभियान सफल बनाउने प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies