शिव विक/मध्यान्ह
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडिया उद्योग बचाउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । मूलधारका व्यावसायिक मिडियाहरूको छाता संगठन मिडिया एलायन्स नेपालको प्रतिनिधि–मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मिडिया उद्योग बचाउनेगरी बजेटमा आवश्यक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।
नेपाली मिडिया जगतले कहिल्यैपनि कसैसँग सम्झौता नगरेको इतिहास स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले अहिलेपनि सशक्त भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले भनेका छन्, ‘मिडियाले आफ्नो धर्म सही तवरले निर्वाह गरेको छ । कसैसँग सम्झौता नगर्नुहोस । म तपाईंहरुको साथमा छु, साथ दिन्छु । मिडियाको समग्र समस्या समाधान गर्न बजेटमा विशेष व्यवस्था गर्छु ।’
मिडिया एलायन्स नेपालले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको पत्रमा मिडिया हाउसहरूले सामना गरिरहेको आर्थिक संकटको अवस्थाबारे जानकारी गराइएको छ । मिडिया उद्योगलाई बचाउन सरकारसँग केही सहुलियतको व्यवस्था गर्न माग राखिएको छ ।
सुस्त अर्थतन्त्रका कारण मिडिया उद्योगले संकट भोगिरहेका छन् । यस्तो समस्या समाधान गर्न सरकारको सहयोग नहुने हो भने मूल प्रवाहका व्यावसायिक मिडिया बन्द हुने अवस्थामा पुग्ने चिन्ता पत्रमार्फत गरिएको छ ।
मूलप्रवाहका सञ्चारमाध्यम कमजोर हुँदा समाजमा गलत सूचना प्रवाह हुने, नागरिकहरू दिग्भ्रमित हुने र त्यसको प्रत्यक्ष असर राजनीतिदेखि सबै क्षेत्रमा पर्ने स्मरण गरिएको छ । यसकारण सरकारले मिडियाका लागि तत्काल राहत र संरक्षणको पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञापन, सहुलियतपूर्ण कर्जा र नियमन सम्बन्धमा सरकारलाई तत्काल केही व्यवस्था गर्न आग्रह गरिएको छ । बिमा कम्पनी, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रबाट हुने विज्ञापनको सीमा निर्धारण गरी निश्चित रकम भन्दा बढीको विज्ञापन गर्न नपाउने हालको व्यवस्था परिवर्तन गरी सञ्चार क्षेत्रमा जाने विज्ञापनमा सीमा हटाउने व्यवस्था गर्न माग राखिएको छ । आमसञ्चार माध्यममा मदिराजन्य पदार्थको विज्ञापन गर्न अहिले रोक लगाएकोमा यसलाई पनि खुला गर्न माग गरिएको छ ।
सम्पूर्ण सरकारी विज्ञापन विज्ञापन बोर्डबाट विज्ञापन एजेन्सीमार्फत् जाने र विज्ञापनदाताले विज्ञापनको रकम भुक्तानी गर्दा सम्बन्धित सञ्चार माध्यमको बिल अनिवार्य रूपमा संलग्न हुनुपर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।
नेपालमा व्यापार, व्यावसाय तथा सेवासम्बन्धी कार्य गर्ने नेपाली कम्पनीले सम्पूर्ण कारोबारको कम्तीमा १ प्रतिशत र विदेशी कम्पनीले सम्पूर्ण कारोबारको कम्तीमा ३ प्रतिशत रकम विज्ञापनमा खर्च गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारसँग माग राखिएको छ ।
टोलीले बुझाएको पत्रमा सञ्चार उद्योगलाई अन्य कुनै धितो नराखी सम्बन्धित मिडिया कम्पनी नै धितो राखेर बढीमा ३ प्रतिशत ब्याजदरमा १० करोडसम्म थप सहुलियत ऋण दिने व्यवस्था गर्न पनि माग राखिएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) समयमै नबुझाएका कारण लाग्ने ब्याज तथा जरिवानालाई मिनाह गरी बुझाउन बाँकी भ्याट किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गर्न पनि पत्रमा भनिएको छ । रेडियो तथा टेलिभिजनको नवीकरणमा लाग्दै आएको २ प्रतिशत रोयल्टी शुल्क मिनाह गर्ने माग पनि राखिएको छ ।
पत्रपत्रिका छपाइका लागि प्रयोग हुने न्युज प्रिन्टमा लाग्दै आएको १ प्रतिशत भन्सार शुल्क मिनाहाको सुविधा पनि माग गरिएको छ ।
नेपालगञ्ज : हास्य क्लब नेपालको प्रायोजनमा बुधबार नेपालगञ्जको महेन्द्र पुस्तकालयमा हास्य गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रमका आयोजक कृष्ण प्रसाद भट्टले एक प्रश्नको जवाफमा भने्,‘हाँसो स्वास्थ्यको लागि श्वास फेरे जतिनै आवश्यक छ । प्रसन्न चित्तले नै स्वस्थ्य शरीरको वातावरण सृजना गर्दछ । हामी आफ्नो दैनिक दिनचर्या, जिम्मेवारीहरु र पारिवारिक तथा सामाजिक दायित्वहरुको निर्वाह गर्दा गर्दा आफ्नो लागि सोच्ने समय नै छुट्टयाउँदैनौं । जसको विपरीत असर हाम्रो स्वास्थ्यमा पर्दछ ।’
कार्यक्रमको अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले गरेका थिए । महेन्द्र पुस्तकालयका सञ्चालक समितिका अध्यक्ष बलराम यादव तथा व्यापार संघ बाँकेका पूर्व अध्यक्ष नन्दलाल वैश्य प्रमुख अतिथि रहेका थिए । नन्दलाल वैश्यले आफ्नो वक्तव्यमा भने, ‘शारीरिक स्वास्थ्यको लागि मासिक स्वास्थ अति आवश्यक रहेको छ । नेपाल अधिराज्यभरि हास्य क्लबको विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ । प्रसन्न चित्त र स्वस्थ्य नागरिकले देशको विकासमा बढी योगदान दिन सक्छन् ।’
कार्यक्रममा बाल कृष्ण भट्ट, अयोध्या प्रसाद पासी, राम शंकर द्विवेदी, रामचन्द्र पण्डित, सर्वर नेपाली, प्रदिप प्याकुरेल, ध्रुव कुमार वैश्य, दिनेश कुमार वैश्य, ओम प्रकाश नेपाली तथा कन्हैया लाल जस्ता प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : प्रभावकारी रूपमा भण्डारण हुन नसक्दा उपभोक्ताले गुणस्तरहीन औषधि उपभोग गर्नुपरेको छ । औषधि बिक्रेताहरूले औषधिको प्रकृतिअनुसार भण्डारणमा ध्यान दिन नसक्दा यस्तो समस्या बढेको हो । औषधि बिक्री बितरण गरिने स्थानका अधिकांश स्थानमा सिधा टिनको छाना मुनी भण्डारण गरेको उपभोक्ताहरू बताउँछन् । जसका कारण औषधिको वास्तविक गुण नष्ट भएर प्रभावकारी काम नगरेको जानकारहरू बताउँछन् ।
उपभोक्ता अधिकारकर्मी ज्योति बाँनियाले सरकारले औषधिको गुणस्तरमा ख्याल नगर्दा बजारमा गुणस्तरहीन औषधिको बढ्दै गएको बताए । मध्यान्ह दैनिकसँग कुरा गर्दै उनले भने, ‘सरकार उद्योग प्र्रवद्र्धना बढी केन्द्रित देन्छि । बजार अनुगमन र नियमनमा ख्याल नै छैन । त्यसमाथि गुणस्तरमा त कत्ति पनि ध्यान छैन ।’
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना पनि सरकारले औषधिको गुणस्तरमा ध्यान नदिदा जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको बताए । उनले भने, ‘यो कुरा आम सर्वसाधारण बुझ्न सक्ने कुरा होइन । सिधै घाम पर्ने गरी, तातेको टिनको छानामुनी भण्डारण गरिएको हुन्छ । यसले गुणस्तरमा कति ह्रास आयो भनेर हेर्न त बाहिरबाट हेरेर थाहा हुँदैन ।’
यति मात्रै होइन नेपाली औषधि बजारमा व्यापक कालाबजारी छ । शून्य भन्सारबाट आयात हुने औषधिमा आयातकर्ताले आफ्नो तरिकाको मूल्य निर्धारण गर्दा उपभोक्ताहरूले चर्को मूल्य तिर्नुपरेको हो । विदेशबाट आयात हुने औषधिमा आयातकर्ताहरुले मनपरी तरिकाले मूल्य निर्धारण गर्दै शत प्रतिभन्दा बढी नाफासहित औषधि बिक्री बितरण गर्ने गरेको अधिकारकर्मीहरू बताउँछन् ।
उपभोक्ता अधिकारकर्मी तिमिल्सेना भन्छन्, ‘विभिन्न औषधिमा उच्च नाफा राखेर बिक्री हुने गर्छन । औषधिमा लेखिएको एमआरपीमा त आयतकर्ताले उच्च छुट पाउँछन् । तर, उपभोत्तलाई कहिल्यै छुट दिइदैन । छुट माग्नेले किचकिच सहनुपर्छ । यस्तो अवस्थामा सरकारी संयन्त्रले त अनुगमन मात्रै गर्ने गर्छ प्रभावकारी नियमन र कारबाही गर्दैन नि !’
औषधि बिक्रेता कम्पनीहरुबीच हुने अस्वस्थ्य प्रतिस्पर्धाका कारण बढी भन्दा बढी औषधि बिक्री गराउने शर्तमा कमिसनको खेल चल्ने गरेको उपभोक्ता अधिकारकर्मी बाँनिया बताउँछन् । उनले भने, ‘बिक्रेताहरु मनपरी मूल्य निर्धारण गर्छन, शून्य भन्सारमा आयात गरेको औषधिमा उपभोक्ताका लागि चर्को मूल्य निर्धारण गर्ने गर्छन् ।’ उनी थप्छन्, ‘सरकार पनि मौन बस्छ, मूल्य र गुणस्तरको अनुगमन गर्नुपर्ने तर गुणस्तरको अनुगमन तथा जाँचमा विभिन्न बाहना देखाउने, मूल्य निर्धारणमा तिमीहरु आफै गर भन्छ ।’
खुला बजार नीतिअनुसार आयातकर्ताले आफूले आयात गरेको सामान मुल्य आफै निर्धारण गर्न पाउने बताउँदै उनले औषधि आयातकर्ताहरुले पनि त्यसैअनुसार उपभोक्तामुखी व्यापार गरिरहेको औषधि बिक्रेताहरू बताउँछन् । व्यवसायीहरू भन्छन्, ‘हामी व्यवसायी हो, सरकारको मापदण्डभित्र रहेर आफ्नो व्यवसायिक सम्बृद्धि गर्नु खोज्नु त स्वभाविक हो, शंका लागेमा सरकारले अनुगमन र नियन्त्रण त गर्न सक्छ नि ।’
सरकारले भने निरन्तर बजार अनुगमन गरिरहेको बताउँछन् औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कानूनले दिएको सीमाअनुसार विभागले सक्नेजति काम गरिरहेको बताउँदै अहिले भर्खरै जारी गरिएको औषधि बिक्री बितरण संहिताले अझैं सहज बनाउने दाबी गरे । मध्यान्ह दैनिकसँगको कुराकानीमा ढकालले भने, ‘विभागले सक्ने काम गरिरहेको छ । केही कमीकमजोरी बजारमा देखिएकाले नै भर्खरै औषधि बिक्रीबितरण संहिता पनि ल्याइएको छ । संहिताले बजार व्यवस्थापनमा केही सहजता ल्याउँछ भन्ने विश्वास छ ।’ विभागका अनुसार नेपालमा सरकारले तोकेका औषधिहरु आयातकर्ताले सरकारकै अनुमतिमा आयात गर्ने गर्छन् ।
औषधिमा शुन्यभन्सार नीति भएकाले ढुवानी खर्चपछि अधिकतम खुद्रा मूल्य निर्धारण गरिन्छ । तर अहिले भने नेपालमा नै धेरै औषधि उत्पादन हुने गरेको छ । बजारमा खपत हुने औषधिको करिब ४० प्रतिशत हिस्सा नेपाली उत्पादनको रहेको बिक्रेताहरू बताउँछन् ।
काठमाडौं : कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ८ वटा कृतिहरूको एकसाथ विमोचन गरेका थिए ।
प्रमुख अतिथि राईले बाछिटा कविताले प्रकृतिको दर्शनलाई आत्मसात् गर्दै प्रकृतिलाई मानवीकरण गरिने सैद्धान्तिक स्वरूपका बाछिटा तीक्ष्ण अभिव्यक्ति हुने भएकाले लेखकहरूको आकर्षण बढेको पनि बताएका थिए ।
उनले बाछिटा सिद्धान्तका प्रवर्तक अमर त्यागी नेपाली साहित्यको प्रयोगवादी धारका निष्ठावान् सर्जक रहेको उल्लेख गर्दै विमोचित सबै बाछिटाकृति नवीनतम सिर्जनात्मक प्रयोगका नमूना रहेको पनि बताए ।
यसैगरी कार्यक्रममा बाछिटा कविताका सिद्धान्त प्रवर्तक अमर त्यागीद्वारा रचित अव्यक्त बाछिटा संग्रहलगायत दीपक गौतमद्वारा लिखित समालोचनाकृति ‘अमर त्यागीका कवितामा वस्तुविधान’, डा.घनश्याम परिश्रमीको अनन्य, हरिभक्त सिग्देल’ महेश’को अनित्य, भगवती दवाडी अधिकारीको अमूर्त, सिर्जना खनालको अन्तर्य र यज्ञलाल सुवेदीको अमूल्य र जानुका गुरागाईंको अज्ञात बाछिटा कृतिको विमोचन समारोह सम्पन्न भएको थियो । त्यसरी नै प्रत्येक बाछिटाकारहरूले आ–आफ्ना बाछिटा वाचन गरेका थिए ।
कार्यक्रममा बर्दघाट प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. घनश्याम परिश्रमी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला र बाछिटा सर्जक खगेन्द्र बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी बाछिटा सिद्धान्तका प्रवर्तक अमर त्यागीले प्रकृति बिम्बसहित जीवन ,जगत् र भोगाइका विविधाङ्गी संवेगहरूलाई प्रतीकात्मक रूपमा अभिव्यञ्जित गर्नु नै बाछिटालेखनको मूल मान्यता हो ।
विषयवस्तुलाई संकेतका रूपमा व्यक्त गर्दै एउटा मार्मिक भाव संवाहन गर्नु बाछिटा लेखनको मूल अभि लक्षण भएको बताएका थिए ।
कार्यक्रममा बाछिटा सिद्धान्तका प्रवर्द्धक अमर त्यागीलाई सुभाना मिडिया प्रा.लि.द्वारा राष्ट्रिय मिडिया सम्मान र बाछिटा कृतिकारलाई कौशिकी बाछिटा सवद्र्धन सम्मानद्वारा सम्मानित गरिएको थियो ।
भुँडी पुराण प्रकाशनका सञ्चालक केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण कवयित्री सुशीला शर्मा धमलाले गरेकी थिइन् ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : ‘स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान’ भन्ने मूल नाराका साथ उत्पादित बस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
गोष्ठीमा २ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । प्रमुख उद्योग अधिकृत सन्तोष खनालले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता हित संरक्षणमा संवैधानिक तथा कानूनी व्यवस्था, उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था, बस्तु लेवलिङ, गुणस्तरको परिचय, प्याकेजिङ भनेको के हो ?, उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम उत्पादकको दायित्व, उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम उत्पादकले लेवलमा खुलाउनुपर्ने विषयमा जानकारी गराएका थिए ।
गोष्ठीमा खाध्य प्रविधिक सरोज खनालले खाध्य बस्तुको गुणस्तर, खाध्य गुणस्तर सम्बन्धी भेटिएका केही घटनाहरु, खाध्य स्वाच्छतता, खाध्य स्वच्छताका जोखिमहरु, रासायनिक जोखिम, लेवलमा दिने परिचयका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्बासे, प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, खाध्य तथा गुणस्तर प्राविधिक कार्यालयका प्रमुख रमेश दाहाल, खाध्य प्राविधि प्राविधिक सरोज खनाल, सन्धिखर्क नगरपालिका वडा नं.१० का वडा अध्यक्ष मोहन सिंह ठकुरी, अर्घाखाँची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामु भुसाल, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, नेपाल व्यापार संघका अध्यक्ष योगेन्द्र खड्का, होटल व्यवसायी संघका अध्यक्ष खेतुलाल पाध्य, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि उद्योगी व्यवसायीहरुको उपस्थित रहेको थियो । गोष्ठी घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख उद्योग अधिकृत सन्तोष खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लक्ष्मी दाहालले गरेकी थिइन् ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले अपांग भएका नागरिकहरूलाई पहिचान गर्दै घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिकामा भएका अपाङ्गता भएका तर हालसम्म परिचय पत्र नपाएका व्यक्तिहरुलाई वडास्तरमा टोली पुगेर नयाँ परिचय पत्र दिएको हो ।
अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर सञ्चालन गरेर गाउँपालिकाको पाँच वटा वडाका ६१ जनालाई वर्ग छुट्याएर अपांगता भएका नागरिकलाई परिचय पत्र वितरण गरिएको हो । गाउँपालिका वडा नं. १ हेक्पामा ११ जना, जसमा ‘ख’ वर्ग चार जना र ‘घ’ वर्ग छ जनालाई अपाङ्गता कार्ड वितरण गरिएको छ ।
त्यस्तै वडा नं.२ मा जम्मा ११ जना, जसमा ‘ख’ वर्ग ३, ‘ग’ वर्ग २ जना र ‘घ’ वर्ग ६ जनालाई कार्ड उपलब्ध गरेको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताए ।
उपाध्यक्ष लामाले वडा नम्बर ३ खगालगाउँमा १८ जनालाई कार्ड दिइएको छ, जसमा ‘ख’ वर्गमा ९ जना, ‘घ’ वर्गका ८ जना र ‘क’ वर्गको १ जनालाई कार्ड दिएको जनाए ।
हालसम्म परिचय पत्र पाउनबाट बञ्चित भएर सदरमुकाम सिमकोटसम्म आउन नसक्ने त्यस्ता नागरिकका लागि शिविर सञ्चालन गरिएको हो । वडा नं. ४ याग्गारमा १६ जना विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र प्रदान गरिएको हो । जसमा ‘ख’ वर्गमा ६ जना, ‘ग’ वर्गका १ जना र ‘घ’ वर्गका ९ जनालाई परिचयपत्र प्रदान गरिएको गाउँपालिकाका तक्दिर स्वास्थ्य संयोजक ग्याचु लामाले बताए । संयोजक लामाले वडा नं. ५ यारीमा जम्मा ५ जना अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गरिएको जनाए । जसमा ‘ख’ वर्ग एक जनाको पुरानो ‘ख’ वर्गको कार्ड रिनु गरिएको छ, भने ‘ग’ वर्ग २ जना र ‘घ’ वर्ग १ जनालाई कार्ड दिइएको छ ।
गाउँपालिकामा ६ वटा वडा भएपनि ५ वटा वडामा शिविर सञ्चालन भएको थियो । वडा ६ लिमीका तीन गाउँ तिल, हल्जी र जाँग गाउँ जाने बाटो हिमपातका कारण बन्द हुँदा शिविर सञ्चालन हुन सकेको छैन ।
शिविर गाउँपालिकाको आयोजना र हिमाली शिक्षा र विकास हेड नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।
वैशाख २८ गते सञ्चालन भएर शिविर जेठ १ गते सम्पन्न भएको थियो । शिविरमा जिल्ला डाक्टरहरु गाउँपालिका स्वास्थ्यकर्मी, गाउँपालिका जनप्रतिनिधि लगायतको टोली गाउँघरमा खटिएको थियो ।
प्रकाश मिश्र/मध्यान्ह
कैलाली : कैलाली घोडाघोडी नगरपालिका–१ स्थित विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालसँगै जोडिएको ओजुवा तालमा घडियाल गोही हुँदाहुँदै डुंगा सञ्चालन गरेको पाइएको छ । उक्त तालमा गोहीहरू रहँदा रहँदै डुंगा सवारी हुनु जोखिमपूर्ण रहेको स्थानीयको भनाइ छ । ओजुवा ताल क्षेत्रमा डुंगा सञ्चालनको जिम्मेवारी व्यवसायी डवल शाहले पाएका छन् ।
उनलाई स्थानीय घोडाघोडी सामुदायिक वनले माछा पालन तथा डुंगा सञ्चालनका लागि भनेर सामुदायिक वन क्षेत्रभित्र पर्ने ताल भाडामा दिएको हो ।
तर व्यवसायी डबल शाहले तालमा हिंस्रक घडियाल गोही छ भन्ने जानकारी रहँदा रहँदै मानव जीवन जोखिममा पारेर डुंगा सञ्चालन गरिरहेको पाइएपछि पर्यटक तथा स्थानीय चिन्तित बनेका हुन् ।
घोडाघोडी ताल क्षेत्र अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरू जलयात्रा गर्न रुचाउँछन्, तर उनीहरूको ज्यान जोखिममा छ ।घोडाघोडीका युवा अगुवा राजु बमले समयमै ध्यान नदिए पछुताउनु बाहेकको विकल्प नरहने बताए ।
पर्यटकीय क्षेत्रमा पर्यटकलाई आकर्षित बनाउनु राम्रो पक्ष हो, तर उनीहरूको जीवनलाई जोखिममा रहेर गरिने क्रियाकलाप एकदमै गलत भएको बमको भनाइ छ । जीवहरूको वासस्थानमा गएर जिस्काउनु जोखिमपूर्ण कार्य हुने हुँदा समयमै सचेत नभए समस्या हुने बमले बताए ।
घोडाघोडी नगरपालिका–१ का टेकराज आचार्य पर्यटकहरू धेरै आउने साथमा बालबालिकादेखि वृद्धवृद्धाहरु पनि आउने हुँदा कुनै घटना भइहाले जवाफदेहिता कसले लिने भन्दै प्रश्न गर्छन् ।
गोहीले केही वर्ष अगाडि स्थानीय बालकको ज्यान लिएको घटना नदोहोरियोस् भन्नका लागि समयमै सचेतना आवश्यकता देखिएको आचार्यको बुझाइ छ ।
गोही भएकै तालमा डुंगा सञ्चालन अत्यन्तै खतरनाक रहने भएकोले तत्काल समाधान खोजिनुपर्ने स्थानीय युवा जनक जोशीको धारणा छ । पानीमा रहने खतरनाक जीवसँग खेलबाड गर्नु दुखद हुने जोशीले बताए । यस विषयमा स्थानीय सरकार तथा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने जोशीको भनाइ छ ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले गोही भएकै तालमा डुंगा सञ्चालन गर्नु उचित नभएको बताए । पर्यटकका लागि जुन तालमा डुंगा सञ्चालन गरिएको छ, त्यहाँ गोही छ भन्ने थाहा पाउने वित्तिकै डुंगा सञ्चालन रोकेर त्यसको व्यवस्थापन गर्नुपरे बुद्धिमानी हुने नगरप्रमुख रावतले बताए । नगरप्रमुख रावतले गोहीको व्यवस्थापन गरेर मात्र डुंगा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्ला सिमकोट विमानस्थलको सरसफाइ गरिएको छ । विमानस्थलको रन वे र पार्किङमा बजारको ढलबाट फोहोर गएर निकै जम्मा भएपछि त्यसलाई हटाउन बुधबार सरसफाइ गरिएको हो ।
विमानस्थल निकै दुर्गन्धित र फोहोर जमेका कारण त्यसलाई सरसफाइ गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।
गाउँपालिकाको अगुवाइमा सरसफाइ गरिएको हो । विमानस्थलको रन वे को छेउछाउ र एप्रोनभरी फोहोर जम्मा भएपछि त्यसलाई हटाउने कार्य शुरु भएको छ । गाउँपालिका वडा नं. ६ को तीन धारादेखि आउने फोहोर, त्यस्तै बजारका ढलबाट पानीसँग आउने फोहोर सिमकोट विमानस्थलको एप्रोन छेउमा निर्माण गरिएको ढलमा आएर दुर्गन्धित भएपछि गाउँपालिकाको आयोजनामा फोहोर हटाइएको हो ।
ढल ओरालो भएका कारण एयरपोर्ट चोक क्षेत्रको फोहोर सिधैँ विमानस्थलमा जाने गर्दछ । विमानस्थलमा जम्मा भएको पाँच क्विन्टल फोहोर बोरामा जम्मा पारेर ट्याक्टरमा फोहोर डम्पिङमा लिएको छ । सरसफाइ अभियानपछि विमानस्थल सफा देखिएको छ । विमानस्थलभित्रको ढलमा बजारबाट विभिन्न फोहोर, मासुका हड्डि जाने हुँदा गिद्ध, स्याल, काग आउने हुँदा जहाजलाई समस्या हुने हुँदा यो अभियान थालनी गरिएको हो ।
सरसफाइ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, विमानस्थल कर्मचारी, एयरलाइन्सका कर्मचारी, सिमकोट गाउँपालिकाका कर्मचारी, व्यापारी सञ्चारकर्मी, राजनीति दल लगायतको सहभागीता थियो ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बताएका छन् ।
बुधबार सहकारी सञ्चालन सम्बन्धी समसामयिक विषयमा जिल्लास्तरीय अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बज्राचार्यले सहकारी सदस्यहरुको आर्थिक विकासको लागि महत्वपूर्ण रहेको बताए । सहकारीको सकारात्मक कुरालाई पनि प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।
केही खराब कार्य गरेका सहकारीका सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याइ सदस्यहरुको बचत सुरक्षणको लागि सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री बज्राचार्यले बताए ।
बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको गेष्ठीमा देवकोटाले सहकारीको विकास, प्रवद्र्धन र सुदृढीकरणमा सहकारीका सञ्चालकहरु अगाडि बढ्न जरुरी भएको बताए । उनले सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रीत गर्न सबै तहका सरकारले जोड दिनुपर्ने समेत बताए । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौडामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले सहकारीमा उत्पन्न समस्या समाधानको लागि सहकारी महाशाखा सक्रिय रहेको बताए ।
गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले ‘मकवानपुरमा सहकारीको अवस्था, सम्भावना र चुनौती’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा मकवानपुर जिल्ला सहकारी संघका लेखा समिति संयोजक खेमराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, नेफ्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख बिदुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर जिल्लामा रहेका सहकारी संघसंस्थाका सञ्चालक समिति, लेखा समिति पदाधिकारीहरु र व्यवस्थापकहरुको सहभागिता रहेको मकवानपुर जिल्लामा सहकारी संघका व्यवस्थापक गोबिन्द दाहालले जानकारी दिए ।
रौतहट : पटक–पटक मूर्ति सेलाउने क्रममा झडप हुँदै आएको रौतहट इशनाथ नगरपालिका अन्तर्गत घिउराको विवाद अन्ततः साम्य भएको छ ।
गएको २ महिना अगाडि दुबै समुदायबीच द्वन्द्वले हिंसाको रुप लिएको थियो ।
उक्त घटनालाई समाधान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेल जनतालाई धन्यवाद दिन रौतहट आएका छन् ।
सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा सो स्थानका हिन्दु र मुस्लिम समुदायका स्थानीयहरु बीच झडप हुँदा स्थानीय प्रशासनले चार दिन कर्फ्यु लगाउँदा समेत परिस्थिति नियन्त्रणमा नआएपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल आफैं घटनास्थलमा उपस्थित भएका थिए । उनले दुवै समुदायबीच सहमति गराइ समस्या समाधान गराउन लिखित सहमति गराएका थिए ।
रौतहट प्रहरी प्रमुख भएर पहिले नै काम गरेको अनुभव र स्थानीयहरुसँगको मैत्री सम्बन्धका कारण डीआईजी पोखरेललाई दुबै समुदायबीच सहजीकरण गर्न सहज भएको थियो । सोही क्रममा उनले त्यहाँका दुबै समुदायका जनतालाई समस्या समाधान भएपछि धन्यवाद ज्ञापन गर्न आफैँ आउने वाचा गरेर फर्किएका थिए ।
सोही वाचा पूरा गर्न उनी रौतहट आएका हुन् । रौतहट आएका डीआईजी बुधबार दुबै समुदायमा पुगेर स्थानीयहरुसँग अन्तरक्रिया समेत गरेका थिए । सो क्रममा स्थानीयले सिमानाकामा रहेको यातायात आवत जावतमा कठिनाइ र मलखाद ल्याउन हुने झन्झटबारे गुनासो गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डीआईजी पोखरेलले रौतहटको जनता मात्र होइन, रौतहटको माटोले समेत आफुलाई माया गर्ने गरेको बताए । भारत र नेपालबीच रोटी, बेटीको सम्बन्ध रहेकोले घरायसी प्रयोजनको लागि ल्याइने वैधानिक सामग्रीमा दुःख नदिन मातहतका प्रहरी एकाइहरुलाई आफूले निर्देशन दिइसकेको तर व्यापारीक प्रयोजनका लागि तस्करी गरी ल्याइने सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसकिने प्रष्ट पारे ।
उनीसँगै राष्ट्रिय अनुसन्धानका डीआईजी संजय यादव, सशस्त्र प्रहरी बलका डीआईजी दिपेन्द्र शाहसमेत रौतहट आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies