दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सरकार नीति तथा कार्यक्रम विपक्षी दलहरुको विरोधकाबीच संघीय संसदबाट पारित हुने विश्वासमा पुगेको छ । तर, आगामी आर्थिक बर्षको बजेट नाराबाजीका बीचमा अघि बढाउन सकिने विश्वासमा सत्तारुढ दलहरु एकमत छैनन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमाले नीति तथा कार्यक्रम संसदबाट पारित हुने वातावरण बनेको बताउँछन् ।
संघीय संसदको प्रतिनिधि सभाको बैठक यही जेठ ११ गते बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको बैठक सोही दिन दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । त्यसदिन दुवै सभामा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । सोही दिन नीति तथा कार्यक्रम दुवै हाउसबाट पारित गर्ने सरकारको तयारी छ ।
तर, विपक्षी दलहरुसँग सहमति हुन नसके विरोध र अवरोधका बीच बजेट ल्याउन, छलफल चलाउन र पास गर्न गाह्रो हुने नेताहरु बताउँछन् । यस विषयमा सरकारमा रहेका दलहरुका बीचमा विस्तृत छलफल हुन बाँकी छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल विपक्षी दलहरुसँग संवाद चलिरहेको बताउँछन् ।
‘सकेसम्म अझै पनि संवाद, सहमति र सहकार्यको प्रक्रियाद्धारा सदन चलाउने प्रयत्न हुँदैछ’ मंगलबारको प्रतिनिधि सभाको बैठकपछि सचिव पौडेलले भने ।
संसदमा रहेका दलहरुका बीचमा सहमति भएर नै मंगलबारका बैठकमा कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आफ्नो राखेको उनले बताए ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सुरुमा कांग्रेसका तर्फबाट बद्रीप्रसाद पाण्डेले बोलेका थिए । त्यसक्रममा उनले सहकारीको रकमप अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाए । उनीमाथि संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिनेमा आफूहरु अडिग रहेको बताए ।
त्यसपछि कांग्रेसका सांसदहरुले वेल घेराउ र नाराबाजी गरेका थिए । विपक्षी दलहरुको नाराबाजी र विरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक संचालन गरेका थिए ।
बजेटसम्म पुग्दा संसद सौहार्द हुने नेता पौडेलेको विश्वास छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यस अगाडि सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने बाध्यकारी प्रावधान छ । यो बाध्यकारी प्रावधानमा विपक्षी दलहरु लचिलो हुनुपर्ने उनको आग्रह छ ।
‘... किस्ता किस्तामा सहमति गर्ने प्रयत्न गर्छौं’ माओवादी सचिव पौडेलले अगाडि भनेका छन्, ‘प्रतिपक्षबाट नीति तथा कार्यक्रम र बजेटलाई सहयोग रह्यो भने सरकारपक्ष लचिलो हुन तयार छ ।’
कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे आफूहरुले उठाएको मागमा सत्तापक्ष सहमत नभएसम्म संसदमा जारी अवरोध नखुल्ने बताउँछन् । कांग्रेसले २४ फागुन २०८० देखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन हुनुपर्ने उसको माग छ ।
‘यस्ते अवस्थामा टिओआरमा सहमति नभएर संसदीय छानबिन समिति नबनेसम्म यो सदन चल्दैन्’ मंगलबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर कांग्रेसका तर्फबाट सांसद पाण्डेले भने ।
तथापि, मंगलबार प्रतिनिधि सभाबाट विपक्षी दलहरुको विरोध र नाराबाजीकाबीच नीति तथा कायक्रम बाचन गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेले पेश गरेको राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक फिर्ता लिने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सभामुख देवराज घिमिरेका अनुसार अब बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । जेठ १ गत राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि जेठ ३,४,६,७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल गर्ने तालिका तय भएको थियो । जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो ।
तालिका प्रभावित भएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि यही जेठ ११ गते छलफल हुने तय गरेका हुन् ।
नीति तथा कार्यक्रममा सहभागी हुने सांसदलाई एक घण्टा अगावै नाम टिपाउन सभामुख घिमिरेले सांसदहरुलाई आग्रह गरेका छन् । नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिनका लागि जेठ ९ गतेसम्मको समय तय गरिएको छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको सम्पति विवरणमा अर्थमन्त्री वर्षमान वर्षमान पुन र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बाहेक सबैसँग सुन र सेभिङ देखिन्छ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आफ्नो सम्पति विवरणमा ७ वटा गाई र ६३ वटा बाख्रा देखाउनुबाहेक अन्य कसैसँग कृषि र पशुपालन देखिन्न ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उसभापति डोलप्रसाद अर्यालले आफूसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको खुलासा गरेका छन् । उनले यी सम्पति व्यापारबाट जोडेको दाबी गरेका छन् ।
मन्त्री अर्याल र उनको परिवारको नाममा विभिन्न बैंक खातामा दुई करोड १८ लाख रुपैयाँ नगद छ । मन्त्री अर्याल र उनको परिवारको सदस्यको नाममा विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर छ ।
गृहमन्त्री रवि लामिछानेले सम्पति विवरणमा करिब ८० तोला सुन र १५–२० केजी चाँदी रहेको खुलाएका छन् ।
सुन र चाँदीको स्रोत अधिकांश बुबाआमाबाट प्राप्त र केही खरिद गरेको उनले उल्लेख गरेका छन् । सुन र चाँदी श्रीमतीको सम्पत्ति भएको उनले जनाएका छन् ।
गृहमन्त्री लामिछानेले विभिन्न बैंकमा रहेको आफ्नो र श्रीमतीको खातामा नगद ६ लाख ६४ हजार ११ रुपैयाँ बचत रहेको जनाएका छन् ।
उनले आफ्नो श्रीमती निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा आठ करोड ७५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत सेयर रहेको समेत उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्पत्ति विवरणमा आफूसँग ४३ तोला सुन रहेको खुलाएका छन् । उनले उक्त सुन र चाँदी पैतृक तथा उपहारबाट प्राप्त गरेको जनाएका छन् ।
सम्पत्ति विवरणमा मन्त्री महासेठले विभिन्न बैंकमा दुई करोड २५ लाख रुपैयाँ नगद बचत रहेको समेत उल्लेख गरेका छन् । उनले श्रीमती जुली कुमारी महत्तोको नाममा विभिन्न कम्पनीमा साढे ८ करोड रुपैयाँको सेयर रहेको जनाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सम्पति विवरणमा आफूसँग ११ तोला सुन, एउटा हिराको सेट र एक सेटा हिराको टप रहेको खुलाएकी छन् । उनले सुन, चाँदी र हिरा उपहार तथा पैतृकरूपमा प्राप्त गरेको बताएकी छन् ।
मन्त्री श्रेष्ठले विभिन्न बैंकमा रहेको आफ्नो नामको खातामा एक करोड ५२ लाख रुपैयाँ नगद बचत रहेको जनाएकी छन् ।
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले आफ्नो श्रीमती, छोरा र बुहारीसँग १५८ तोल सुन रहेको सम्पत्ति विविरणमा उल्लेख गरेका छन् ।
उनको पत्नी सावित्रीदेवी साह सुडीसँग ५६ तोला, छोरा सुमित कुमारसँग ३५ तोला, बुहारी माधवी भारतीसँग २२ तोला, बुहारी शालिनी देवीसँग १७ तोला र बुहारी मन्जु साहसँग २८ तोल सुन रहेको छ ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सम्पति विवरणमा आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । मन्त्री श्रेष्ठले विभिन्न बैंकमा आफ्नो र श्रीमती सृष्टि सिंहको नाममा रहेको खातामा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ नगद बचत रहेको उल्लेख गरेका छन् ।
सहरीमन्त्री धनबहादुर बुढाले सम्पति विवरणमा आफूसँग १५) तोला सुन र ३)) तोला चाँदी रहेको खुलाएका छन् । सुन र चाँदीको स्रोत पैतृक र व्यापार रहेको दाबी उनको छ ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पति विवरणमा आफूसँग २५ तोला सुन रहेको खुलाएका छन् । उक्त सुन पुख्र्यौली सम्पत्ति भएको दाबी उनको छ ।
खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सम्पति विवरणमा आफूसँग १० तोला सुन र १०० तोला चाँदी रहेको खुलाएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग सुन ७५ तोला र चाँदी २५ केजी रहेको छ । उनले सुन र चाँदीको स्रोत खुलाएकी छैनन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सम्पत्ति विवरणमा आफूसँग १० तोला सुन रहेको खुलाएका छन् । उनले आफू नाममा विभिन बैंकमा १५ लाख रुपैयाँ नगद बचत रहेको जनाएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पति विवरणमा आफूसँग २३ तोला सुन रहेको खुलाएका छन् ।
काठमाडौं : कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ । नागरिकताको विषयमा परेको उजुरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएकै दिन प्रहरीले सिरोहियालाई नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहान जिल्ला अदालत धनुषाले उनी बिरुद्द पक्राउ आदेश जारी गरेको थियो । लगत्तै प्रतिनिधि सभामा समेत यो विषय उठेको थियो । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय उठाएको हो ।
बैठकमा सुरुमै समय लिएर पार्टीको तर्फबाट बोल्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनिएको बताए । कांग्रेस सांसद पाण्डेले भनेका छन्, ‘...कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’
संसद बैठकपछि कांग्रेसका नेता र सांसदहरु सिरोहिया भेट्न उनको कार्यालयमा समेत पुगेका थिए । साँझ सिरोहिया थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ परे । बुबा घासीराम अंगिकृत नागरिकता भए पनि कैलाशले नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको र नागरिकता लिँदाको कागजपत्र खुलेको उजुरी परेको छ । यस विषयमा अनुसन्धान चलिरहेको छ ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकता प्रयोग गरेको आरोप लगाइएको छ ।
सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।
सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् ।
सिरोहियालाई पक्राउ गरेको विषयमा नेताहरुको अभिव्यक्ति पनि सार्वजनिक हुन थालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि नै प्रश्न गरेका छन् । डा.भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न गरेका हुन् ।
‘माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालिन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं’ डा.भट्टराईले लेखेका छन्, ‘आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।’
कांग्रेस नेता विमलेन्द्र निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको बताएका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । संचार क्षेत्रमा उनको योगदान अद्वितीय छ’ निधिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल उनको रिहाई होस् ।’
सिरोहियालाई मंगलबार नै धनुषा लगिएको छ । पक्राउ पर्नु अगाडि सिरोहियाले आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले प्रतिशोधका आधारमा कुनै निर्णय नलिएको बताएका छन् । ‘अदालतबाट पक्राउ पूर्जी जारी भएपछि नियन्त्रणमा लिएर अदालतलाई प्रक्रियालाई सहयोग पुर्याउनु कार्यपालिकाको दायित्व हो । जो काम भएको हो’, उनले भनेका छन् ।
ओम प्रकाश यादव/मध्यान्ह
रौतहट : जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा मंगलबार एकैसाथ प्रतिनिधि छनोट गरिएको छ ।
जेठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो ।
जिल्लाको छुट्टाछुट्टै ठाउँमा मंगलबार बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनोट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री एवं जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादव, केन्द्रीय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, विश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम विहारी राय, माधव नारायण नगरपालिकाका पूर्व मेयर विरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलिप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चयन गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पूर्व मेयर राजिव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलिप कुमार पटेल, केन्द्रीय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनोट गरिएको जिल्ला अध्यक्ष यादवले बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकी राष्ट्रियसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनोट गरिएको हो ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिँचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देवीलाई सर्वसम्मतबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
पुर्ण सार्की/मध्यान्ह
डोल्पा : डोल्पामा यार्सा संकलन गर्न विद्यार्थीहरु लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका भरिका २९ सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द गरिएको हो ।
यार्सा संकलनको समय शुरु भएकाले ०८१ जेठ ५ गतेदेखि २५ गतेसम्म नगरपालिका भरिका विद्यालय बन्द गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा संयोजक भीम बहादुर थापाले बताए ।
अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले नगरपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको अन्तरक्रियाबाट वर्षे र हिउँदे बिदामा मिलान हुने गरी कम्तीमा तीन साताका लागि विद्यालय बन्द गर्नुपरेको उनले बताए ।
जडीबुटी संकलन गरिने यो सिजनमा यहाँका हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाभित्रका २९ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् । डोल्पालीको मुख्य आम्दानीको श्रोत यार्सागुम्बा हो । यहाँ अन्न उत्पादन कम हुने स्थानीयले जेठ र असार महिनामा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् ।
त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको कस्तुरी माध्यमिक विद्यालय भूतिङ्ग्रका प्रधानाध्यापक विष्णुलाल केसीले बताए ।
यार्सा सिजन शुरु भएसँगै जिल्लाका त्रिपुरासुन्दरी, ठुलीभेरी नगरपालिका र जगदुल्ला, मुड्केचुला, काइके, शे–फोक्सुण्डो, डोल्पोबुद्ध, छार्काताङ्सोङ गाउँपालिकाका बासिन्दा लेक उक्लिने चटारोमा रहेको त्रिपुराकोटका स्थानीय जुन बहादुर सार्कीले बताए ।
यार्सा संकलनका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरु लेकतिर जाने भएकाले नगरपालिका भित्रका विद्यालय वर्षेनी १ महिना बन्द हुने गर्दछन् ।
जेठको पहिलो साता यार्सा संकलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्रै फर्कने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा संकलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।
यस भेगमा १० वर्ष उमेरका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत यार्सा संकलन गर्न जाने गर्दछन् ।
ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सागुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले बालबालिकालाई आफूसँगै लेकतिर लग्ने गर्दछन् । यार्सागुम्बा संकलनको समय नजिकिए सगै जिल्ला भित्रका बस्तीमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुनेगरेको स्थानिय गंगे सार्कीको भनाइ छ ।
यार्सा संकलनका लागि स्थानीयहरु पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको सार्कीले बताए ।
क्षितिज किरण/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाले ८० प्रतिशत भन्दा बढी छाडा पशुचौपया व्यवस्थापन गर्न सफल भएको छ । छाडा चौपयाको व्यवस्थापन गर्न नसक्दा चौतर्फी आलोचना खेपेको यस नगरपालिकाले छोटो समयमै यसलाई व्यवस्थापनमा सफलता हासिल गरेको हो ।
छाडा पशुचौपया नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले नगरभित्र रहेका ८० प्रतिशत भन्दा धेरै छाडा चौपयाको व्यवस्थापन गरिसकिएको बताए ।
उनले कोठी खोला र बैजलपुर सामुदायिक वन क्षेत्रसभित्र मात्रै ५ सय भन्दा बढी पशुचौपयालाई व्यवस्थापन गरिएको बताए । यस्तै चौवाह, कपिलधाम, भलवाड र रामदत्तीवन क्षेत्रमा गरी सयौंको संख्यामा पशुचौपया व्यवस्थापन गरेको उनले बताए । अहिले छाडा चौपयाको व्यवस्थापनसँगै नगरवासीले धेरै नै राहत महसुस गरेको उनले बताए ।
उनले मुख्यतः कृषकले लगाएका बालीहरु सखाप हुने स्थितिको अन्त्य भएको बताए । विगतको तुलनामा हाल सवारी दुर्घटना हुने दरमा समेत कमी आएको उनको भनाइ छ । उनले बाटोबाटोमा हुल बनाएर दर्जनौं गाईगोरु छरिएर हिँड्ने अवस्थाको अन्त्य भएको बताए ।
नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलले पछिल्ला दिनहरुमा जनस्तरबाट छाडा चौपयाको व्यवस्थापनका लागि पराल अस चापट जस्ता व्यवस्थापनका लागी पराल, भुस, चापट जस्ता पशुका लागि आवश्यक खाद्यान्न सहयोग अवरुप प्राप्त भएको बताए । उनले छाडा पशुचौपयाको समस्या सबैको साँझा समस्या भएकाले सबैको साँझा प्रसासबाट मात्र सम्झव भएको बताए । पौडेलले छाडा चौपयाको व्यवस्थापनमा अहोरात्र खटिएर सफलता हासिल गरेको भन्दै चौतर्फी प्रशंसा बटुलेका छन् ।
पौडेल दैनिक २÷३ पटक सो क्षेत्रमा पुग्ने गरेका छन् । यस्तै छाडाचौपयाको व्यवस्थापनको अनुगमनका लागि नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरी साप्ताहिक रुपमा २÷३ पटक व्यवस्थापन क्षेत्रमा पुग्ने गरेका छन् ।
नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई अनुभूति हुने गरी छाडा पशुचौपया व्यवस्थापन गरिएको बताए । उनले यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको छाडा पशुचौपयालाई नगरले अल्पकालीन व्यवस्थापन गरेको भन्दै यसलाई दिर्घकालीन तवरले समाधानतर्फ नगर उन्मुख रहेको बताए ।
उनले छाडापशुचौपयाको उन्मुख रहेको बताए । उनले छाडा पशुचौपयाको व्यवस्थापनलाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगाले स्थानीय स्तरमै उपलब्ध स्रोत साधानको सदुपयोग गरी छाडा पशुचौपया व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताइन् । उनले तराईका हरेक जसो स्थानीय तहको मूल समस्याको रुपमा रहँदै आएको बताइन् । उनले यो समस्याको अब बाणगंगाले दिर्घकालीन समाधान गरेर देखाउने दाबी गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले छाडा पशुचौपया व्यवस्थापन आफैंमा चुनौतिको विषय भएको भन्दै सबैको सहयोगले मात्र यसको व्यवस्थापकिय पक्ष सुदृढ हुने बताए ।
सरु भुसाल/मध्यान्ह
कपिलवस्तु : लुम्बिनी प्रदेशका वनमन्त्री अर्जुन कुमार केसीले व्यवसायीहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । वन पैदावर उद्योग व्यवसायी कपिलवस्तुले आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले व्यवसायीहरुसँग छलफल गरेर व्यवसायीका समस्या समाधान गरेर अगाडि बढ्ने बताउँदै अबको रणनीति विदेशी सामानलाई विस्थापन गरी स्वदेशी सामानको भरपूर्ण सदुपयोग गर्ने बताए ।
कपिलवस्तु वन पैदावर उद्योग व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री केसीले वन पैदावरसँग जोडिएका व्यवसायीहरूले राज्य र व्यवसायी दुवैलाई फाइदा पुग्ने गरी स्वदेशी काठको खरीद बिक्री र व्यवसायीक अवस्था सुधार्दै विदेशी काठलाई आयातमा कमी हुने अवस्थाको सिर्जना गर्न रचनात्मक सुझाव दिएको वन पैदावर उद्योग संघका नेता पवन अर्यालले बताए ।
मन्त्री केसीले राज्यलाई नोक्सान हुनेगरी आफुबाट कुनैपनि निर्णय नहुने भन्दै असल काष्ठ व्यवसायीलाई व्यवसायीक वातावरण बनाउनुपर्नेमा जोड दिँदै घाटगद्दीमै काठ सड्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा सस्थाका अध्यक्ष युवा व्यवसायी कल्याण टन्डन लगायतले काठ व्यवसायीका समस्याका बारेमा जानकारी गराएका थिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकहरुसँग अन्तरक्रिया गर्दै दशगजामा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटले इशनाथ नगरपालिकाको दशगजा क्षेत्रमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा इशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्या देवी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, वडा नम्वर १ का अध्यक्ष विगु साह बनियाँ, भारतीय सशस्त्र सीमा बल ५५८ को प्रतिनिधि, भारत घोडासहान ब्लक अन्तर्गत ग्राम पञ्चायत बलुआका मुखिया मोहम्मद फारुक आलमसहितका नेपाल भारत दुवैतर्फका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहामा आयोजित अन्तरक्रियामा दशगज्जा क्षेत्रलाई सरसफाइ गरेर सफा राख्नुपर्ने, अब शुरु हुने मनसुनी वर्षातबाट वर्षेनी हुने गरेका बाढी र डुवानबाट उत्पन्न जोखिम तथा त्यसको समाधानका उपायहरू लगायत विपदको समयमा फैलन सक्ने विभिन्न प्रकारका रोग तथा सुरक्षात्मक उपायहरु सन्दर्भमा दुबै देशका सीमा क्षेत्रमा व्यापक रुपमा जनचेतना एवं सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।
सशस्त्र प्रहरीका एसपी हुमागाईंले वर्षातको समयमा वर्षाको पानी र बकैया नदीमा आउने बाढीले गर्दा इशनाथ नपा १ बन्जरहामा वर्षेनी डुवानको समस्या झेल्दै आएको चर्चा गरे । सो को दिर्घकालिन रुपमा निकासको लागि यथोचित कदम चाल्नुपर्ने उनको भनाइ छ ।
सीमा क्षेत्रमा हुने गरेको अवाञ्छित गतिविधिमाथि निगरानी राख्न तथा राजस्व छलेर सहजै नेपाल प्रवेश गर्ने कार्य समेत निरुत्साहित हुने भएको हुँदा सशस्त्र प्रहरी बलले सीमाको नागरिकसँग अन्तरक्रिया कार्यक्रम गर्दै जागरुक बनाउँदै आएको उनले बताए । साथै दशगजा क्षेत्रमा रहेका फोहोरको डुुंगुरलाई सफाइ गरी सधँै सफा राखिने प्रतिबद्धता समेत जनाइएको थियो ।
विओपी औरैयाबाट गरेर ४५ जना सशस्त्र प्रहरी, नेपाल प्रहरीको ३ जना, भारतीय सशस्त्र सीमा बल (५५८) को तर्फबाट १४ जनाको साथै दुबै देशका सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थिति रहेको सशस्त्र प्रहरी बल नेपाल, नम्वर ११ गणले जनाएको छ ।
सीमा स्तम्भ नम्बर २३४६/६ देखि सहायक सीमा स्तम्भ नम्बर ३४६/७ सम्म अन्दाजी ८०० मिटर नेपाल–भारत दशगजा सीमा क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्ला सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका वडा नं. ५ मा रहेको मान्धारा माध्यमिक विद्यालयका विद्यार्थीहरु जोखिमपूर्ण भवनमा बसेर पढ्न बाध्य भएका छन् । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु जीर्ण भवनमा बसेर पढ्न बाध्य भएका हुन् ।
करिव ६ वर्षदेखि जीर्ण भवनमा पढाउँदै आएपनि उक्त विद्यालयको समस्या समाधानका लागि स्थानीय सरकार शिक्षा शाखालाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यालयका निमित्त प्रधानाध्यापक केशर बहादुर शाहीले बताए ।
शाहीका अनुसार विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्मका ७२ जना विद्यार्थी, ६ देखि कक्षा १० सम्मका १ सय २४ जना विद्यार्थी अर्काे विद्यालय पढ्ने भएकाले सेवा सुविधा ६ देखि कक्षा १० अध्ययन गर्ने विद्यालयमा हुने हुँदा उक्त विद्यालय हरेक सेवाबाट बञ्चित हुनु परेको छ ।
प्रा.वि र माध्यमिक विद्यालयको दुरी करिब १० मिनेट लाग्ने दुरीमा अवस्थित छ भने उक्त विद्यालयहरुको नाम एउटै रहेको छ । कक्षा ६ देखि १० सम्मको विद्यालयको भवन र अन्य सेवा सुविधा उपयुक्त भएपनि कक्षा पाँचसम्म अध्ययन हुने विद्यालयको अवस्था विजोग भएको बालविकास शिक्षक अप्सरा शाहीले बताइन् । बाल विकास शिक्षक डाँफु सुनारले भनिन्, ‘पुरानो चारकोठा भएको भवनमा पढाइ हुन्छ, वर्षा भए कोठा चुइन्छन्, कोठा भुइँ सिलिङ छैन्, कोठामा अध्यारो छ, भुइँमा खाल्डा परी दैनिक दिन धुलो मार्न पानी हाल्नुपर्ने समस्या नै समस्याले गुज्रिएको छ ।’
बच्चा बस्ने कोठा धुलाम्मे, त्यस्तै बेन्च, टेक्स, अग्ला भएकोले बच्चा खस्दा चोट लाग्ने उनले बताइन् । साना बालबालिकाका लागि उज्यालो कोठा, हरेक खेलौना, चित्रकला, कार्पेट हालेको कोठा, खेल्ने ठाउँ हरेक सुविधायुक्त विद्यालय बनाउने स्थानीय सरकारले भने पनि त्यो बोलीमा मात्र सिमित भएको स्थानीयहरुले गुनासो गरे ।
विद्यालयको भवन जीर्ण हुँदा पढाउने बेला कति बेला के हुन्छ ?, भन्ने मनमा डर पैदा हुने सोही विद्यालयका शिक्षकले बताए ।
यता दुई वटै विद्यालयका प्रधानध्यापक डिल बहादुर शाहीले विद्यालय व्यवस्थापन समितिबाट निमित्त प्रधानाध्यापक जिम्मेवार दिएको सबै कुरा आफू सामु नआउने र आफुले पनि त्यति चासो नदिएको बताए । उनले भने, ‘दुवै विद्यालय एउटै हो, तर जग्गा नभएर दुई स्थानबाट सञ्चालन भएकाले पनि आफुले प्रावि तहको विद्यालयमा जान नसकेको र समस्याकोबारे थाहा छैन ।’
‘जुन विद्यालयमा कार्यरत शिक्षक छन्, उनले नै परिवर्तन गर्नुपर्छ’ उनले थपे । तर आर्थिक कारोबार उनले नै चलाउने हुँदा प्रावि तहका शिक्षकले केही गर्न नसक्ने र बचेत माग समेत गर्न नसक्ने शिक्षकहरुको भनाइ छ । स्थानीय सरकारबाट अनुगमन जति भएपनि साना बालबालिका पढ्ने विद्यालयको समस्याका बारेमा कुनै कुरानै नगर्ने गरेको पाइएको छ । कक्षाकोठा पानीले हिलाम्मे भएपनि बाध्यताले पढ्दै आएको साना बालबालिकाको आवाज रहेको छ । यसमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको छ ।
काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ४ जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ ।
यस्तै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेल, इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन पनि यस घोटालामा दोषी ठहर भएका छन् । अदालतले उनीहरूलाई ६ महिनाका दरले कैद तथा ५ करोड रुपैयाँ जरिवा हुने फैसला गरेको छ ।
अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies