ओम प्रकाश यादव/मध्यान्ह
रौतहट : पछिलो समय रौतहटमा बालश्रम बढ्दै जान थालेको छ । जिल्लाको विभिन्न होटल तथा निर्माण सेवाको कार्यहरुमा बालबालिकाहरुले श्रम गरिरहेको देख्न सकिन्छ । विशेषगरी बालबालिकाहरु होटेलमा श्रम गरिरहेको पाइन्छ ।
यहाँका अधिकांश होटेलका सञ्चालकहरु गरिब घरपरिवारका ५ वर्षदेखि माथि उमेरका बालबालिकाहरुलाई होटेलमा श्रमिकको रुपमा प्रयोग गरेका छन् ।
गरिबीको फाइदा उठाउँदै होटेल र निर्माण कम्पनीका सञ्चालकहरु पढ्ने उमेरका बालबालिकालाई काममा लगाइ बालश्रम शोषण गरिरहेका छन् ।
सञ्चालकहरुले श्रमिकवापतको तलब र सेवा सुविधा समेत नदिइ आफ्नो मनोमानी बालबालिकालाई श्रम शोषण गर्दा पनि सम्बन्धित निकाय भने मौन देखिन्छ ।
जिल्लाको गरुडा, कटहरिया, समनपुर, चन्द्रपुर गौर लगायतका विभिन्न होटेलमा बालबालिका नै श्रमिक रहेका छन् ।
श्रम गरिरहेका बालबालिकासँग सोधपुछ गर्दा घरको आर्थिक अवस्था कमजोर भएकाले श्रम गर्नु परेको बताएका छन् । जिल्लामा बालश्रम बढ्दै गएपनि सम्बन्धित निकायले कुनै चासो लिएको छैन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पढ्ने उमेरका बालबालिकाहरुलाई श्रम शोषण गर्नेहरुलाई कारबाही गर्ने बताए ।
बालबालिकालाई श्रम गर्न लगाइ उनीहरुको भविश्यसँग खेलवाड गर्ने होटेलका सञ्चालक अथवा जोसुकै व्यक्ति भएपनि कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : सहकारीबाट ऋण लिन सहज हुने र ऋण लिँदा बिना धितो कर्जा पाइने हुँदा पहुँचवालाहरु सहकारीमै निर्भर हुने गरेको पाइन्छ । उसो त अझै केही सहकारीहरुले सहकारीको कार्य क्षेत्रभन्दा बाहिर गएर काम गरेको कारण नै सहकारी क्षेत्र धरापमा परेको विज्ञहरुले औँल्याउँदै आएको पाइन्छ ।
यसरी सहकारीको ऋण लिएर समयमै नतिरी ठग्नेमा कतिपय पार्टीका कार्यकर्ता रहेका छन् । जुम्लामा सञ्चालित केही सहकारी भटाभट डुब्न थालेको गुनासो बेलाबेला सुनिन्छ । अधिकांश सर्वसाधारणहरूबाट सहकारीले बचत फिर्ता नदिएको गुनासो पनि आउन थालेको छ, तर सहकारीको मुख्य समस्या ऋण असुली नहुनु रहको सहकारी सञ्चालनहरुले बताउँदै आएका छन् ।
कतिपय संकलित बचतबाट सहकारीका सञ्चालकहरूले अचल सम्पत्ति खरिद तथा उद्योग धन्दा खोली बैंक तथा वित्तीय संस्थामा राखेको र अस्वभाविक रूपमा ऋण लिएको भन्ने हल्ला पनि सुनिन्छ । जिल्ला सहकारी संघ जुम्लामा आबद्ध ८४ वटा सहकारी छन् भने जिल्लामा रहेको सहकारीको संख्या झण्डै २ सय ३२ भन्दा बढी रहेको देखिन्छ ।
त्यस्तै सहकारीमा समस्या आउनु पूर्व नै नियामक निकायहरूबाट सञ्चालक, व्यवस्थापक, कर्मचारी, ऋणी सदस्य र जमानीकर्ताहरूको चल/अचल सम्पत्ति रोक्का नरहेको र प्रमाणहरू जुटाउन जटिल अवस्था रहेको देखिन्छ । त्यस्तै जिल्ला सहकारी संघ चन्दननाथ नगरपालिका ४, जुम्लाले आवश्यक कारबाहीका लागि भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्र बुझाएको छ । जिल्ला सहकारी संघका अध्यक्ष ऋषिराम पाण्डेसहितको टिमले विभिन्न सहकारीबाट व्यक्तिगत कर्जा लिएर नतिर्नेलाई आवश्यक कारबाही गरिदिन भन्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत उक्त पत्र बुझाइएको हो ।
उक्त पत्रमा भनिएको छ,‘यस जिल्ला सहकारी संघको मिति २०८१।०१।३० गते बसेको कार्यासमितिको बैठकमा विभिन्न सहकारीहरुको गुनासोको आधारमा जुम्ला जिल्लाभित्र क्रियाशिल बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय र कृषि सहकारीहरु र अन्य पेशा गत सहकारीबाट विभिन्न व्यक्तिगत कर्जा लिएर पैसा भएर पनि नतिर्ने गरेका छन् ।’
ती सहकारीहरुबाट कर्जा लिनेमा ठूला राजनीतिक दलका नेता तथा कार्यकर्ता, पदाधिकारीहरु रहेका छन् । उनीहरुले कर्जा माग्न जाँदा उल्टै सहकारीका कर्मचारीहरुलाई धम्काउने, भड्काउने कर्जा नतिर्ने जस्ता क्रियाकलाप गरेको उल्लेख गरिएको छ । सहकारी संघका अध्यक्ष पाण्डेले हस्ताक्षर गरेको पत्रमा पैसा भएर पनि नतिर्ने मनसाय राखेका त्यस्ता ऋणीहरुलाई आवश्यक कारबाही गरिदिन भन्दै अनुरोध गरिएको छ । उनका अनुसार पहिलो चरणमा प्रशासनलाई पत्र बुझाएको छ । यसलाई अटेरी गरेको खण्डमा उनीहरुले लिएको कर्जा सहित व्यक्तिगत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरिनेछ । पहुँचवालाहरुले सहकारीबाट ऋण लिने तर तिर्न नमान्ने अनि सहकारी डुब्न थाल्यो भनेर हल्ला फैलाउने गरेकाले पनि बचतकर्ताहरुमा एक खालको त्रास फैलिएको देखिन्छ ।
ओम प्रकाश यादव/मध्यान्ह
रौतहट : रौतहटको गढीमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि सोमबार आयोजित एक कार्यक्रमबीच पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति रौतहटका संयोजक रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यता तथा नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरेर सोमबार गढिमाई नगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गढिमाई नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिए ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकाको बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको मेयर यादवले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उनले बताए ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगर यादव, उपप्रमुख, वडा अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता थियो । जिल्लाको स्थानीय तहमध्ये गढिमाई पूर्ण खोप सुनिश्चितता पालिका हुनेमा १५ औं पालिका बनेको छ ।
गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार १५ महिनामा ७ पटकसम्म लगाइने हरेक १३ वटा खोपहरु नगरका सम्पूर्ण बालबालिकालाई लगाइ सकिएको छ ।
पूर्ण खोप लगाउनबाट छुटेका बालबालिकाहरूलाई एउटा अभियान सञ्चालन गरी पहिचान गरेर खोप लगाइए पश्चात् पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषण गरिएको प्रशासकीय अधिकृत यादवले बताए ।
पूर्ण खोप घोषणा कार्यविधि अनुरुप निर्देशिकाको सम्पूर्ण प्रक्रिया पूरा गरी सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गढीमाई नगरपालिकाले जनाएको छ ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापती रामअयोध्या प्रसाद यादवले गढीमाई नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै नगरप्रमुख श्याम प्रसाद यादवलाई घोषणापत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख यादवले सबैको साथ र सहयोगले नै गढीमाई नगरपालिकालाई समयमै पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिएको बताए ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरीमा आत्महत्या न्यूनीकरण गर्न अभिमुखीकरण सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिका २ स्थित त्रिपुराकोट माध्यमिक विद्यालयमा जनसंख्या व्यवस्थापन कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
पछिल्लो समय देशैभरी आत्महत्या गर्नुको कारण, यसको समाधान र यसमा विद्यार्थीको भूमिकाबारे कार्यक्रममा प्रस्ट्याइएको थियो । आत्महत्या सम्बन्धी गलत धारणा तथा वास्तविकताहरु यसमा सरोकारवाला निकायहरूको भूमिकाको बारेमा समेत बताइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ)को तथ्यांक अनुसार विश्वभरी वर्षमा ७ लाख जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । प्रत्येक आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर पार्दै आइरहेको छ ।
कर्णाली प्रदेश लगायत देशैभरी आत्महत्याका घटनाहरु वृद्धि भएसँगै डोल्पामा यस्ता घटनाको न्यूनीकरण गर्न यो कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाकी डा.सुष्मिता जोशीले बताइन् ।
विद्यार्थीहरुद्वारा नै समाजमा यस्ता घटनाको न्यूनीकरण गर्न सहज हुने उद्देश्यले यो जिल्लास्तरीय कार्यक्रम त्रिपुराकोट माविमा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा.रत्नवीर सुनारले बताए ।
मस्तिष्कले सिर्जना गरेको नकारात्मक रसायनका कारण आत्महत्या गर्ने गरेको उनको भनाइ छ । अहिले मानिसहरू सकारात्मक भन्दा नकारात्मक कुरामा ध्यान दिने गरेकोले पनि समाजमा आत्महत्याका घटनाहरु वृद्धि हुने गरेका छन् ।
कार्यक्रममा उपस्थित त्रिपुरासुन्दरी नगरपालिका शिक्षा समितिका प्रमुख तथा वडा नं १ का अध्यक्ष रामचन्द्र कुलालले समाजमा जनचेतना फैलाउनको लागि विद्यार्थीहरुको भूमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यक्रम डोल्पाका प्रमुख डा.सुनार, वडा अध्यक्ष कुलाल, त्रिपुराकोट स्वास्थ्य चौकीका प्रहरी नायब निरीक्षक रमेश बहादुर सिंह, विद्यालयका शिक्षक , विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठ, स्वास्थ्य सेवा कार्यालय डोल्पामा कार्यरत स्वास्थ्यकर्मी, लगायत जिल्लास्थित सञ्चारकर्मीको उपस्थित रहेको थियो ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको धोबीनी गाउँपालिकाका नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय प्रसाद यादवले कार्यभार सम्हालेका छन् । सोमबार एक कार्यक्रमकाबीच उनले कार्यभार सम्हालेका हुन् । धोबिनी गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मदन प्रसाद चौहान लगायत जनप्रतिनिधि र कर्मचारीहरुले फुलमाला अबिर लगाइ डायरी कलम दिएर यादवलाई स्वागत गरेका थिए ।
निमित प्रमुख प्रशासकीय अधिकृत यादव विगत ७ वर्षदेखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको पदमा कार्यरत थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले गाउँपालिकाको काम कारबाही नियमसंगत अगाडी बढ्ने तथा विकासले गति पाउनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘यो गाउँपालिकाको अवस्था मैले राम्रोसँग बुझेको छु । यसमा धेरै नै समस्या छ, तर अब पहिलाको जस्तो हुँदैन ।’ जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछि गाउँपालिकाको विकास र जनताहरुको कामकाज सहज र छिटो, छरितो हुने उनले बताए ।
गाउँपालिका अध्यक्ष चौहानले आफूहरुलाई जनताहरुले जिताएर जनप्रतिनिधि बनाएका र जनताको विकासका काममा समर्पित भएको बताए । उनले जनप्रतिनिधिले चुनावको बेला जनतासँग राखेको बाँचा पूरा गर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष मन्जु देवी पटेल,वडा अध्यक्ष बन्धु साह तेली, राजकिशोर पटेल, मनाउर मियाँ, अवास मियाँ, नेपाली कांग्रेसका नेता श्यामकिशोर पटेल, कार्यापालिका दिनेश प्रसाद कलवार, सदस्य मदन सहनी, कमल ठाकुर, प्रअ जितेन्द्र राम, योजना शाखा प्रमुख पपु पटेल,जिन्सी प्रमुख प्रदिप पटेल,पशु शाखा प्रमुख केशराज कुर्मी,कृषि शाखा प्रमुख रविन्द्र शर्मा,इन्जिनियर रविभूषण पटेल, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी लगायत महिला सदस्य,गाउँपालिका सदस्य, कर्मचारी लगायतहरुको सहभागीता रहेको थियो ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : बागमती प्रदेश सभाको १४औं अधिवेशन शुरु भएको छ । वर्षे अधिवेशन अर्थात बजेट अधिवेशनको रुपमा चिनिने अधिवेशन सोमबारदेखि शुरु भएको हो ।
सोमबारको बैठकमा समय लिँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिए । उनले सरकारी सम्पत्ति प्रतिष्ठानको नाममा दिनु आपत्तिजनक रहेको बताए ।
नेकपा एमालेका सचेतक मधुसुदन पौडेलले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि एक भएका दलहरु गणतन्त्रको संस्थागत विकासका लागि पनि एकजुट हुनुपर्ने बताए । उनले अघिल्लो संसदले गरेको निर्णयलाई नमान्ने प्रदेशको कर्मचारी प्रशासनललाई कारबाही गर्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेस सभा सदस्य सरल सहयात्री पौडेलले नेपालमै बसेर रोजगारी सिर्जना गर्ने विकासका दीर्घकालीन मोडल तयार गर्नुपर्ने बताए । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडा अस्पताल गाभ्ने कुरा सम्भव हुन नसक्ने बताए ।
बैठकमा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ सभामा पेश गरेकी छन् ।
यस्तै बैठकमा सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र एवम् मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
बागमती प्रदेश सभाको अर्को बैठक जेठ १ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।
प्रकाश शाही/मध्यान्ह
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् ।
सोमबार चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा नेपालकै पहिलो सिग्नेचर पुलको शिलान्यास गरेका हुन् । प्रचण्डले जग पूजासँगै शिलालेख अनावरण गरेका थिए ।
सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे । चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको सिग्नेचर ब्रिज आकर्षक हुने बताइएको छ ।
अत्याधुनिक प्रविधिमा आधारित यो पुल केबलस्टेड ब्रिज शैलीमा आधारित रहेर बन्नेछ । अहिले रहेको नारायणी नदीको पुल भन्दा उत्तर तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । करिब १ अर्ब ६८ करोड नेपाली रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा श्री तुँदी कन्स्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता गरिएको छ ।
ठेक्का सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने छ । हाल भएको नारायणी नदीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम शुरु हुन लागेको छ । नारायणी नदी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : मकवानपुरको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई साइकल वितरण गरिएको छ । वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत साइकल वितरण गरेको हो ।
तीन किलोमिटर टाढाबाट पैदल विद्यालय आउने विद्यार्थीहरुलाई विद्यालयमा आवतजावत गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले साइकल वितरण गरिएको वडाध्यक्ष आशिष तितुङले जानकारी दिए ।
भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा वडा कार्यालयले विद्यार्थी छनौट गरेको हो । साइकल नजाने टाढाका विद्यार्थीहरुलाई वडाले विद्यालय आसपास होस्टलको व्यवस्था गर्ने योजना रहेको समेत अध्यक्ष तितुङले बताए ।
वडाको एक मात्र माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सुकदेव अधिकारीले बताए ।
विद्यार्थीको नियमित उपस्थितिका लागि टाढाका विद्यार्थीलाई साइकल वितरण प्रभावकारी भएकोले यो कार्यक्रमको लागि वडा कार्यालयलाई प्रधानाध्यापक अधिकारीले धन्यवाद दिए । साइकल वितरण कार्यक्रममा प्रमुख अतिथि बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाले विपन्न र सुविधाबाट वञ्चितमा परेका जनसमुदायलाई प्राथमिकता दिएको बताए ।
कोहीपनि बालबालिका विद्यालयबाट बाहिर हुन नपरोस् भनेर गाउँपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उनले विद्यार्थीलाई मेहनत गरी अध्ययन गर्न आग्रह गरे ।
काठमाडाैं : वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।
लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए ।
त्यस्तै डढेलोका घटनामा परी छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए । आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए ।
त्यस्तै यस अवधिमा चट्याङबाट आठ जना, उचाईमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।
नेपालमा विशेषगरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।
डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले जानकारी दिए ।
कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ ।
प्रकाश शाही/मध्यान्ह
चितवन : चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।
‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो ।
रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताए । प्रतिघर निर्माण गर्न सात लाख ५० हजार रुपैयाँ खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । भिलेजले प्रतिघर सात लाख रुपैयाँ र वडा कार्यालयले प्रतिघर ५० हजार रुपैयाँ लगानी गरेका छन् ।
सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उनको भनाइ छ ।
सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायतका काम भइरहेको छ । इच्छाकामना–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङमा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies