मनु यादव निरज/मध्यान्ह
सिरहा : सिरहाको भगवानपुर गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
भगवानपुर वडा नं.१ सिनुरिया गाउँ बस्ने राजु साहको छोरा २ वर्षीय अंकुश साहको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत बालकलाई पोखरीबाट निकालेपछि स्थानीयले करिब ४ बजे प्रहरीलाई जानकारी गराएका थिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको वनबाट हुने काठ चोरी तस्करीमा भारतीय नम्बर प्लेटका सस्तो र पुराना गाडीको प्रयोग हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय रौतहटले भारतीय नम्बर प्लेटको एक स्कार्पियो भित्र तीन थान गोलिया बरामद गरेको छ ।
यसभन्दा अघि पनि भारतीय नम्बर प्लेटकै स्कार्पियो गाडी र काठ बरामद भएको थियो । रौतहटको राष्ट्रिय वन क्षेत्र तथा सामुदायिक र साझेदारी वनभित्र काठ कटान गरेर तस्करी गर्नका लागि भारतीय नम्बर प्लेटका जिप, भ्यानको प्रयोग हुने गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । गएको १० महिनाको अवधिमा डिभिजन वन कार्यालय रौतहटले वनबाट काठ चोरेर लैजादै गरेको अवस्थामा चारवटा पिकअप भ्यान बरामद गरेको थियो ।
नक्कली नम्बर प्लेट राखेर काठ चोर्न प्रयोग भएका चारवटा पिकअप भ्यान र दुईवटा भारतीय नम्बर प्लेटका स्कर्पियो काठसहित बरामद भएको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले बताए ।
वन कार्यालयले गस्ती तीव्र पारेका कारण काठ चोरी तस्करीमा प्रयोग भएका सवारी साधनहरु बरामद भएको डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्र कुमार मिश्रको भनाइ छ । १० महिनाको अवधिमा डिभिजन वन कार्यालय रौतहटले काठ चोरी तस्करीमा प्रयोग भएका चारवटा पिकअप भ्यान दुईवटा स्कार्पियोे, सातवटा ट्रेक्टर, दुईवटा टायर गाडा र पाँचवटा मोटरसाइकल बरामद गरेको डिएफओ मिश्रले बताए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने जिल्लास्तरीय नागरिक आरोग्य समिति अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रम बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीमा सञ्चालन भइरहेका नागरिक आरोग्य सेवा केन्द्रबाट नागरिकहरुलाई आधारभूत आयुर्वेद स्वास्थ्य सेवा सहज रुपमा प्राप्त भइरहेको बताए ।
यस्तै नागरिक आरोग्य अभियान तथा घरभेट सेवामार्फत घर–घरमा सेवा प्राप्त गरेका र आगामी दिनहरुमा आरोग्य केन्द्रलाई थप स्रोत र साधनले सम्पन्न गराइ यसको विकाश र विस्तारमा लाग्नुपर्ने, जसका लागि आफुले सम्पूर्ण स्थानीय तहहरुसँग आवश्यक छलफल गर्ने र सहयोगमा लागि आफु तयार रहेको बताए ।
जिल्ला नागरिक आरोग्य समितिका संयोजक एवं जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भुसाल, जिल्ला समन्वय समिति सदस्य सीता आचार्य, व्यवस्थापन समिति महिला सदस्य कमला खनाल भण्डारीको आथित्यता रहेको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली,स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत बसन्त प्रसाद पोख्रेल, सन्धिखर्क नगरपालिका स्वास्थ्य, शाखा प्रमुख पूर्ण प्रसाद पराजुली, डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदार, पतंजली योग समिति जिल्ला अध्यक्ष प्रेम नारायण प्रोख्रेल, अभियन्ता मनिराम अर्याल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा समग्र जिल्लाको नागरिक आरोग्य सेवा केन्द्र तथा स्वास्थ्य केन्द्रमार्फत सञ्चालित नागरिक आरोग्य अभियान तथा घरभेट सेवामार्फत घर–घरमा पु¥याएको सेवा तथा आरोग्य सेवा केन्द्रमार्फत सञ्चालन भएका कार्यक्रमहरुको बारेमा कार्यालयका निमित्त प्रमुख कमल प्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम वैद्य निरीक्षक पशुपति पन्थीले सञ्चालन गरेका थिए ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा यहि जेष्ठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । सरकारले २०७३ वैशाख महिनादेखि २०७५असोज महिनासम्म जन्मिएका बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले मंगलबार राष्ट्रिय खोप कार्यक्रम ‘आइपिभी’ खोप अभियान सम्बन्धी, जिल्ला खोप समन्वयको पदाधिकारी तथा सञ्चारकर्मीहरुको लागि अभिमुखीकरण तथा बहस पैरवी कार्यक्रम गरिएको छ ।
यही जेठ १३ गतेदेखि १८ गतेसम्म जुम्लाको चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकामा पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गरिने भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
उनले भने, ‘१८ गतेदेखि २६ गतेसम्म तिला, हिमा, सिजा र कनका सुन्दरी गाउँपालिकामा सञ्चालन हुने छ । यो खोप अभियान १३ देखि २६ गतेसम्म विद्यालयमा र सम्बन्धित वडा कार्यालयमा सञ्चालन हुने छ ।’
यसअघि कुनै खोप छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । प्रमुख सापकोटाकाले जुम्ला ५ हजार ८ सय २८ जना बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए । उनले पोलियो रोगको संक्रमण केही देशमा अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार वि.सं.२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।
सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले देशभरका लागि ३२ करोड बराबरको खोप उपलब्ध गराएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार ‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन’, उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो ।’
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइने गरिन्छ ।
जस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले पोलियोले रोग सबैलाई लाग्ने भएपनि मूलतः पाँच वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने गरेको बताए ।
त्यस्तै जिल्ला समन्व्य समितिका प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष गौरी नन्द आचार्यले बालिबालिकालाई विभिन्न रोग र संक्रमणबाट जोगाउँदै बाल मृत्युदर घटाउन खोप महत्वपूर्ण भएको बताए । उनले सरकारले निःशुल्क रुपमा लगाइँदै आएको खोपको गुणस्तरीय भएको खोप लगाउनुपर्ने बालबालिकालाई अनुरोध गरे । उनले खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सरकारले खोप कार्यक्रममा समावेश भएका खोप निःशुल्क पाउने अधिकार सुनिश्चित गरिएको बताए । कुनै पनि रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गर्नको लागि खोप दिनुपर्ने आवश्यक छ । राज्यले सोही अनुसार खोप कार्यक्रममा किटान गरिएका वर्ग, समुदाय वा क्षेत्रका व्यक्ति अर्थात् ‘लक्षित’ समुदायलाइ निःशुल्क उपलब्ध गराउँदै आएको छ । उनले खोप कार्यक्रम प्रभावकारी बनाउन पत्रकारको ठुलो हात रहको बताए ।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले पोलियो भाइरसका प्रकार, पोलियो रोग उन्मूलनको हालको अवस्था, पोलियो रोगको रोकथाम र उपचार, पोलियो रोग, आ.इ.पि.भी. खोपको परिचय र औचित्य र पोलियो रोगविरुद्ध दिइने खोपहरुको बारेमा अभिमुखी कार्यक्रममा प्रशिक्षण दिइएको थियो । त्यस्तै खनेपालका सम्पूर्ण बालबालिकाहरुलाई विभिन्न सरूवा रोगहरुविरुद्ध सुरक्षा प्रदान गर्दै खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामी दरमा कमी ल्याइ शिशु तथा बाल मृत्युदर घटाउन नियमित रुपमा सञ्चालन गरिँदै आएको खोप सेवा कार्यक्रमलाई राष्ट्रिय खोप कायक्रम भनिन्छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : सिमकोट गाउँपालिकाले गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यदल गठन गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबै क्षेत्रलाई समेट्ने गरी पन्ध्र सदस्यीय कार्यदल गठन गरेको हो ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा कार्यदल गठन गरिएको सुस्वा परियोजनाका फिल्ड संयोजक ध्रुवबहादुर शाहीले बताए । कार्यदलको गठनमा गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायत पन्ध्र सदस्यीय कार्यदल गठन गरिएको छ । यसअघि गाउँपालिका स्तरीय कार्यदल गठन गरिएको थिएन । अब कार्यदल गठन भएको र यसबाट काम गर्न सहज हुने संयोजक शाहीले बताए ।
कार्यदल गठन भएसँगै पहिलो काम सिमकोट विमानस्थल र बजार क्षेत्रको बुधबार बिहान सरसफाइ गरिने भएको छ । यसका लागि कार्यदल, सुरक्षाकर्मी, गाउँपालिका र व्यापारीहरुको सहभागिता रहने भएको छ । सिमकोट विमानस्थल र बजार क्षेत्रको सरसफाइका लागि सदरमुकाममा रहेका होटेल, पसल व्यवसायीलाई सहभागी हुन हुम्ला उद्योग वाणिज्य संघले आग्रह समेत गरेको अध्यक्ष राम बहादुर भण्डारीले बताए ।
यस्तै मंगलबार भएको कार्यदल गठनमा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, प्रहरी निरीक्षक, नरेन्द्र चन्द, हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह लगायतको सहभागीता रहेको थियो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार आएको केही महिनाबाटै उनको शरीरको वजन घट्ने क्रम जारी रह्यो । उनी बिस्तारै दुब्लाउँदै गइन्, सँगै बस्ने साथीहरू उनको शारीरिक अवस्थाको परिवर्तन देखेर चिन्तित बने र अस्पताल जान सुझाए । उनी अस्पताल गइन् र थाहा पाइन क्यान्सरले समातेको छ भनेर । ११ महिना पहिले कतार आएकी रुपन्देहीकी सङ्गीता परियार पाठेघर क्यान्सर रोगसँग लडिरहेकी छिन् ।
त्यस्तै करिब डेढ साल पहिले रोजगारीकै लागि कतार आएकी दाङकी उर्मिला सुलेमानी पनि त्यस्तै अवस्थाबाट गुज्रँदै गइन् । उनी पनी आफ्नो शरीरको अवस्था देखेर जचाउन जाँदा ब्रेष्ट क्यान्सर लागेको थाहा पाइन् । कतारको दोहा शहरमा अलग-अलग स्थानमा रहेका यी दुई युवती अहिले क्यान्सरसँग लडिरहेका छन् । आर्थिक अभावबाट गुज्रिरहेका छन् । कथित आजाद भिसामा रहेका उनीहरूलाई कम्पनीले रेखदेख नगर्ने भएपछि साथीकहाँ आश्रय लिएर यहाँको अस्पतालमा सशुल्क उपचार गराइरहेका छन् ।
उनीहरूलाई उपचारमा आर्थिक अभाव भएको जानकारी एक महिना पहिले गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारको श्रमिक विभागले पाएको थियो । श्रमिक समस्यामा परेको जानकारी पाएलगत्तै श्रमिक विभागका संयोजक कृष्ण पन्थी तथा महिला संयोजक सुष्मा खतिवडाले बिरामीलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए । उनीहरूलाई आर्थिक सहयोगको आवश्यकता रहेको हुँदा एनसीसी कतारको संयोजकत्वमा रकम संकलन गरी हस्तान्तरण गरिएको पन्थीले मध्यान्हसँगको कुराकानीमा बताए । उनले बिरामीद्वयलाई अस्पताल जान आउन निःशुल्क यातायातको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।
कतारमा रहेको नेपाली महिला समाज तथा बिरामीका गृह जिल्लालाई लक्षित गर्दै रकम संकलनका लागि पहल गरेसँगै संकलित रकम आइतबार साँझ बिरामीद्वयलाई हस्तान्तरण गरिएको छ । नेपाली महिला समाज कतारका तर्फबाट संस्थागत ४ सय १०, एनसीसी कतारको तर्फबाट संस्थागत १ हजार, एनसीसीकै महिला संयोजक सुष्मा खतिवडाले संकलन गरेको १ हजार १ सय १९ र लुम्बिनी समन्वय परिषद् कतारले संकलन गरेको १४ सय ४२ गरी कूल ३ हजार ९ सय ७१ कतारी रियाल बिरामी दुबै जनालाई बराबर बाँढेर हस्तान्तरण गरिएको छ । बिरामीलाई रकम हस्तान्तरण गर्न पन्थी र खतिवडाका अलावा एनआरएनए आइसीसी सदस्य तेज कटुवाल, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, महिला समाजकी अध्यक्ष माया केसी र मध्यान्हकर्मी पुगेका थिए । सहयोग प्रति बिरामीद्वयले कृतज्ञता समेत प्रकट गरे ।
बिरामी परियारलाई यसअघि कतारमा रहेका नुवाकोटका सुदर्शन भण्डारीले व्यक्तिगतरूपमा ५ सय कतारी रियाल सहयोग गरिसकेका छन् । क्यान्सरबाट लडिरहेका दुबै जनालाई थप नगद सहयोगको आवश्यकता देखिएको छ । बिरामीलाई थप सहयोग मिल्ने विश्वास समाजकी अध्यक्ष केसीले व्यक्त गरिन् ।
सहयोगका लागि :
ब्रेष्ट क्यान्सरबाट ग्रसित उर्मिला सुलेमानी- +९७४ ३१६३ ८००४
पाठेघरको क्यान्सरबाट ग्रसित संगीता परियार- +९७४ ३०६१ ६९५५
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : लुम्बिनी प्रदेशकी पूर्वसासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । अर्घाखाँची जिल्लामा गत चैत २४ गतेदेखि वैशाख २६ गतेसम्म आगलागीले घरगोठ जलेर नष्ट हुँदा धेरैको बिचल्ली भएको थियो । बिचल्लीमा परेका २६ घरपरिवारलाई कांग्रेसकी नेतासमेत रहेकी पूर्वसांसद क्षेत्रले खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीहरु उनीहरुको घरमै पुगेर वितरण गरेको नेपाली कांग्रेस भूमिकास्थान नगरपालिकाका नगरसभापति खडान्नद बेल्वासेले बताए ।
पीडित परिवारलाई विपद्मा परेका बेला केही राहत होस् भन्ने उद्देश्यले जनप्रतिनिधिहरुको समन्वयमा राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद क्षेत्रीले बताइन् ।
भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ, वडा नम्बर ५ असुरकोट, वडा नम्बर ३ धारापानी, वडा नम्बर ४ तथा मालारानी गाउँपालिका वडा नम्बर ५, बागी शितगंगा नगरपालिका वडा नम्बर ५, जुकेना पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका ४ र ५ तथा सन्धिखर्क नगरपालिका वडा नम्बर २ कुरका आगलागी पीडितको घरमा पुगेर क्षेत्रीले राहत वितरण गरेकी हुन् ।
उनले घरबारविहीन परिवारको दिगोरुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनु पर्ने र राज्यले छिटोभन्दा छिटो बासको व्यवस्थापन गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको र फेरि पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । विपत्तिको अवस्थामा सबै एकै ठाउँमा उभिएर समस्याको समाधान गर्नुको विकल्प नभएको बताउँदै स्थानीय सरकारले पीडितहरुलाई राहात र बासको व्यवस्थापन गर्नुपर्ने बताइन् ।
नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोग तथा जनप्रतिनिधिको समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको समाजसेवी रामकुमार क्षेत्रीले बताए । गत वैशाख १७ गते भूमिकास्थान नगरपालिका वडा नम्बर ५ असुरकोटमा आगलागीमा परी ४ वर्षीया बालिका अप्सरा बिकको मृत्यु भएको थियो ।
राहात वितरणमा कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे, कांग्रेसका नगरसभापति खडानन्द बेल्वासेलगायत पीडितको घरमा पुगेर राहत बाँडेपछि पीडितहरुले नेता क्षेत्रीलगायतको टिमलाई धन्वाद दिए ।
काठमाडौं : सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
शिक्षण पेशामा रहेका शिक्षक प्रध्यापक तथा कर्मचारीले राजनीतीक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्था कार्यान्वयन गरिने जानकारी दिए ।
काठमाडौं : सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न संघ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे ।
साथै, ज्येष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिकासम्बन्धी नीतिगत व्यवस्था गरिने, ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्धको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम् औषधि उपलब्ध गराइने सरकारको नीति छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् ।
नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो । यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनले भने, “हामीले परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ, यस्ता संरचना राजनीतिक आन्दोलनको मारमा पर्न हुँदैन ।”
फल्चा निर्माणमा स्थानीयवासी सहभागी भएकाले यसको संरक्षण गर्न उनीहरुले निगरानी गर्ने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताए । “यसमा नगर प्रहरीले पनि सहयोग गर्नेछ”, उनले भने ।
महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, “सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।”
झण्डै रु ६२ लाखको लागतमा फल्चा निर्माण गरिएका हुन् । यसमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र बत्ती जडान गरिएका छन् । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र प्रतिक्षालयका रुपमा ‘फल्चा’ निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।
महानगरले परम्परागत फल्चा निर्माण गर्न चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा रु पाँच करोड विनियोजन गरेको थियो । काठमाडौं उपत्यकाको पाटन, कीर्तिपुर र भक्तपुरमा बढी मात्रामा फल्ल्चाको प्रयोग भएको पाइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies