ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्ला सिमकोट विमानस्थलको सरसफाइ गरिएको छ । विमानस्थलको रन वे र पार्किङमा बजारको ढलबाट फोहोर गएर निकै जम्मा भएपछि त्यसलाई हटाउन बुधबार सरसफाइ गरिएको हो ।
विमानस्थल निकै दुर्गन्धित र फोहोर जमेका कारण त्यसलाई सरसफाइ गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।
गाउँपालिकाको अगुवाइमा सरसफाइ गरिएको हो । विमानस्थलको रन वे को छेउछाउ र एप्रोनभरी फोहोर जम्मा भएपछि त्यसलाई हटाउने कार्य शुरु भएको छ । गाउँपालिका वडा नं. ६ को तीन धारादेखि आउने फोहोर, त्यस्तै बजारका ढलबाट पानीसँग आउने फोहोर सिमकोट विमानस्थलको एप्रोन छेउमा निर्माण गरिएको ढलमा आएर दुर्गन्धित भएपछि गाउँपालिकाको आयोजनामा फोहोर हटाइएको हो ।
ढल ओरालो भएका कारण एयरपोर्ट चोक क्षेत्रको फोहोर सिधैँ विमानस्थलमा जाने गर्दछ । विमानस्थलमा जम्मा भएको पाँच क्विन्टल फोहोर बोरामा जम्मा पारेर ट्याक्टरमा फोहोर डम्पिङमा लिएको छ । सरसफाइ अभियानपछि विमानस्थल सफा देखिएको छ । विमानस्थलभित्रको ढलमा बजारबाट विभिन्न फोहोर, मासुका हड्डि जाने हुँदा गिद्ध, स्याल, काग आउने हुँदा जहाजलाई समस्या हुने हुँदा यो अभियान थालनी गरिएको हो ।
सरसफाइ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, विमानस्थल कर्मचारी, एयरलाइन्सका कर्मचारी, सिमकोट गाउँपालिकाका कर्मचारी, व्यापारी सञ्चारकर्मी, राजनीति दल लगायतको सहभागीता थियो ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बताएका छन् ।
बुधबार सहकारी सञ्चालन सम्बन्धी समसामयिक विषयमा जिल्लास्तरीय अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बज्राचार्यले सहकारी सदस्यहरुको आर्थिक विकासको लागि महत्वपूर्ण रहेको बताए । सहकारीको सकारात्मक कुरालाई पनि प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।
केही खराब कार्य गरेका सहकारीका सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याइ सदस्यहरुको बचत सुरक्षणको लागि सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री बज्राचार्यले बताए ।
बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको गेष्ठीमा देवकोटाले सहकारीको विकास, प्रवद्र्धन र सुदृढीकरणमा सहकारीका सञ्चालकहरु अगाडि बढ्न जरुरी भएको बताए । उनले सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रीत गर्न सबै तहका सरकारले जोड दिनुपर्ने समेत बताए । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौडामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले सहकारीमा उत्पन्न समस्या समाधानको लागि सहकारी महाशाखा सक्रिय रहेको बताए ।
गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले ‘मकवानपुरमा सहकारीको अवस्था, सम्भावना र चुनौती’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा मकवानपुर जिल्ला सहकारी संघका लेखा समिति संयोजक खेमराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, नेफ्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख बिदुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर जिल्लामा रहेका सहकारी संघसंस्थाका सञ्चालक समिति, लेखा समिति पदाधिकारीहरु र व्यवस्थापकहरुको सहभागिता रहेको मकवानपुर जिल्लामा सहकारी संघका व्यवस्थापक गोबिन्द दाहालले जानकारी दिए ।
रौतहट : पटक–पटक मूर्ति सेलाउने क्रममा झडप हुँदै आएको रौतहट इशनाथ नगरपालिका अन्तर्गत घिउराको विवाद अन्ततः साम्य भएको छ ।
गएको २ महिना अगाडि दुबै समुदायबीच द्वन्द्वले हिंसाको रुप लिएको थियो ।
उक्त घटनालाई समाधान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेल जनतालाई धन्यवाद दिन रौतहट आएका छन् ।
सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा सो स्थानका हिन्दु र मुस्लिम समुदायका स्थानीयहरु बीच झडप हुँदा स्थानीय प्रशासनले चार दिन कर्फ्यु लगाउँदा समेत परिस्थिति नियन्त्रणमा नआएपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल आफैं घटनास्थलमा उपस्थित भएका थिए । उनले दुवै समुदायबीच सहमति गराइ समस्या समाधान गराउन लिखित सहमति गराएका थिए ।
रौतहट प्रहरी प्रमुख भएर पहिले नै काम गरेको अनुभव र स्थानीयहरुसँगको मैत्री सम्बन्धका कारण डीआईजी पोखरेललाई दुबै समुदायबीच सहजीकरण गर्न सहज भएको थियो । सोही क्रममा उनले त्यहाँका दुबै समुदायका जनतालाई समस्या समाधान भएपछि धन्यवाद ज्ञापन गर्न आफैँ आउने वाचा गरेर फर्किएका थिए ।
सोही वाचा पूरा गर्न उनी रौतहट आएका हुन् । रौतहट आएका डीआईजी बुधबार दुबै समुदायमा पुगेर स्थानीयहरुसँग अन्तरक्रिया समेत गरेका थिए । सो क्रममा स्थानीयले सिमानाकामा रहेको यातायात आवत जावतमा कठिनाइ र मलखाद ल्याउन हुने झन्झटबारे गुनासो गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डीआईजी पोखरेलले रौतहटको जनता मात्र होइन, रौतहटको माटोले समेत आफुलाई माया गर्ने गरेको बताए । भारत र नेपालबीच रोटी, बेटीको सम्बन्ध रहेकोले घरायसी प्रयोजनको लागि ल्याइने वैधानिक सामग्रीमा दुःख नदिन मातहतका प्रहरी एकाइहरुलाई आफूले निर्देशन दिइसकेको तर व्यापारीक प्रयोजनका लागि तस्करी गरी ल्याइने सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसकिने प्रष्ट पारे ।
उनीसँगै राष्ट्रिय अनुसन्धानका डीआईजी संजय यादव, सशस्त्र प्रहरी बलका डीआईजी दिपेन्द्र शाहसमेत रौतहट आएका थिए ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयले विद्यार्थीहरुबाट लिने शुल्क निर्धारण गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयले विद्यार्थीहरुबाट शुल्क उठाउँदा मनोमानी र असन्तुलन भएकाले शुल्क निर्धारण गरिएको जानकारी दिएको हो ।
नगरले ४६ वटा विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ अन्तर्गत वर्गीकरण गरी शुल्क निर्धारण गरिएको जनाएको छ । त्रियुगा नगरपालिका जिल्लाको सदरमुकाम रहेपनि ‘क’ वर्गमा एउटा र ‘ख’ वर्गमा दुई वटा विद्यालय परेको नगरपालिकाका प्रवक्ता तिलकबहादुर कटुवालले बताए ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले विद्यालयको वर्गीकरणका लागि विद्यार्थी र शिक्षक संख्याको अनुपात, अनुमतिपत्रसहित प्राप्त शिक्षक, विषयगत शिक्षक तथा शिक्षक वा कर्मचारीलाई नेपाल सरकारले तोकेको पारिश्रमिक, सेवा सुविधाजस्ता मापदण्डहरु तोकिएको बताए ।
तोकिएको मापदण्डविपरीत कार्यहरू गरेमा वा बढी शुल्क लिएमा विद्यालयको वर्गीकरणमा हेरफेर गर्नुका साथै कानूनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालतले सन्दीपलाई सफाइ दिएको हो ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।
गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची जिल्लाको महत्वपूर्ण स्थल मालारानी मन्दिर अर्घाखाँचीकै पर्यटकीय सम्भावना बोकेको तर प्रचारप्रसार नहुँदा ओझेलमा परेको धार्मिकस्थल हो । मालारानी मन्दिर समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइमा रहेको छ ।
वि.सं. १८६२ मा स्थापना गरिएको यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करिब १५ किलोमिटर उत्तरतर्फ मालारानी गाउँपालिकामा रहेको छ । मालारानी गाउँपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा रहेको मालारानी मन्दिरमा पूजाआजा र दर्शन गरेपछि मनोकांक्षा पूरा हुने विश्वासका साथ बोका, राँगा, कुभिन्डो, नरिवल आदिको बलीसमेत चढाउने गरिन्छ ।
प्राचीन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला माला असाध्यै सुन्दर भएकाले उनलाई सबैले रानीको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको धार्मिक मान्यता रहिआएको स्थानीय शोभाखर खनाल बताउँछन् । उनका अनुसार बडादशैंको त्रयोदशीको मध्यरातमा मालारानीको आश्रय स्थलबाट आफैं बाजा बजेको आवाज सुन्न पाइन्छ । मन्दिरमा दशैंको नवदुर्गाभर र चैतेदशैंमा अष्टमी र नवमीमा विशेष मेला लाग्ने गर्छ । मन्दिरमा महाकाली, महादेव र हनुमानका मूर्तिहरू राखिएको छ ।
मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा टोड्कामा पानी रहेको छ । त्यस पानीलाई ‘मनचिन्ते पानी’ भन्ने प्रचलन रहिआएको छ । मालाले आफूलाई शुद्ध पानी पिउनका लागि सृष्टि गरेको भन्ने किम्बदन्ती रहेको छ भने उक्त पानी खडेरीमा समेत सुक्दैन । सो पानी शिरमा लगाउनाले मनमा शान्ति मिल्ने, मनले सोचेका कुरा पुग्ने, राम्रो हुँदै जाने मान्यता रहेको स्थानीय इन्द्र रेग्मीले बताए ।
खासगरी शिवरात्रिको दिन, दशैंको समयमा र नयाँ वर्षमा मालारानीमा धार्मिक भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ भने अन्य बिदाको दिनमा समेत आन्तरिक पर्यटकको चहलपहल हुने गरेको पाइन्छ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मन्दिरबाट हिमालय पर्वतको हिमशृंखला र तराईको सुन्दर फाँट देख्न पाइन्छ । चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवम् स्वच्छ हवाले भरिपूर्ण नजिकैको घेराको भिरमा गिद्धहरूको बासस्थान छ । जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको मालारानीको विकास तथा प्रचारप्रसार भने पर्याप्त हुन सकेको छैन ।
मालारानी मन्दिर वरिपरिको लेकमा टिमुर, पाखनवेद, चिराइतो, सिन्कौलीजस्ता जडीबुटी र महत्वपूर्ण वन्यजन्तुको आश्रयस्थल रहेकाले पनि सांस्कृतिकसँगै जैविक हिसाबले पनि यो क्षेत्र उतिनै महत्वपूर्ण रहेको पाइन्छ ।
जिल्लाको पुनर्संरचना भन्दा पहिला मन्दिरको अवस्था दयनीय रहेको भएता पनि देश संघीयतामा गएपछि विस्तारै मन्दिरको मुहार फेरिन थालेको छ । मन्दिर निर्माणसँगै वरिपरिको परिसर, अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्रवचन हल, खानेपानीलगायतका पूर्वाधार निर्माण गरिएको र अन्य कार्य निरन्तर भइरहेको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए । यस क्षेत्रको समग्र विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेश तथा संघीय सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष भट्टराईले बताए ।
तनहुँ : तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मंगलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।
मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसमेत पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । जोशीका पक्षमा पाँच जना अधिवक्ताले बहस गरेका थिए ।
स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।
मनु यादव निरज/मध्यान्ह
सिरहा : सिरहाको लहान नगरपालिकामा सामाजिक शान्ति सुरक्षा र सतर्कताबारे विद्यार्थीहरुलाई अध्यापन गराउने विषयमा समझदारी भएको छ । लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर भएकाे हो । लहान नगरपालिकाको कार्यालयमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
समझदारीअनुसार सामाजिक शान्ति सुरक्षा र सतर्कतासम्बन्धी विषयहरु समेटिएका पुस्तिका लहान नगरपालिकाअन्तर्गतका विद्यालयहरुका पाठ्यक्रममा प्रविष्ट गराइ विद्यार्थीहरुलाई अध्यापन गराइने प्रहरी उपरीक्षक रमेश पण्डितले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, राष्ट्रिय अनुशन्धान कार्यालय सिरहाका प्रमुख अनुसन्धान उप-निर्देशक टिका प्रसाद पोखरेल, सशस्त्र प्रहरी बल नेपाल गण नं. ७ हे.क्वा सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिव प्रसाद गैरे, इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद सोती, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय कान्त झा, नगर शिक्षा शाखा प्रमुख फिरोज कटुवाललगातय नगरपालिकाका अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् ।
नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।
“सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ”, प्रधानमन्त्रीले भने, “बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ ।”
गत महिना सफलतापूर्वक सम्पन्न लगानी सम्मेलनमा विश्वका ५० भन्दा बढी देशहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको बताए । वैदेशिक लगानी भित्र्याउने नेपालको सत्प्रयासमा युरोपेली संघका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको उनले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यी लक्ष्य पूरा गर्न विदेशी साझेदारहरूबाट पर्याप्त लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याए ।
सरकारले रु ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले यस सुरुआतसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गरे ।
“हामीले स्वचालित मार्गमार्फत प्राप्त लगानीका केही आवेदनहरू र स्वीकृत गरेका छौं”, प्रधानमन्त्री दाहालले भने, “अन्तर्राष्ट्रिय साझेदारमार्फत हाम्रा प्रयासहरूलाई बलियो बनाउन खोजिरहेका छौँ, यसले नेपालमा पुँजीमात्र होइन, प्राविधिक र व्यवस्थापकीय विशेषज्ञता पनि ल्याउनेछ ।”
वातावरणीय दिगोपन र आर्थिक रूपमा व्यावहारिक हुने हरित अर्थव्यवस्थालाई नेपाल सरकारले प्राथमिकता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नवीकरणीय ऊर्जा परियोजनाहरूको प्रवर्द्धन, दिगो कृषि अभ्यास र वातावरणीय लक्ष्य प्राप्तिमा निरन्तर काम गरिरहेको बताए ।
“हाम्रा विकासका गतिविधि राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मिल्दाजुल्दा छन्”, प्रधानमन्त्रीले भने, “नेपाल पेरिस सम्झौताप्रति सधैं प्रतिबद्ध छ, हाम्रा विकास योजना र कार्यक्रमहरूमा जलवायु कार्यलाई सक्रिय रूपमा समावेश गर्दै आएको छौँ ।”
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट : गरुडा नगरपालिकाले वडा नं.२ गेडहिगुठी र वडा नं. ३ मलाही टोलको स्वास्थ्य चौकी तथा वडा कार्यालयमा छड्के अनुगमन गरेको छ । गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमको नेतृत्वमा कर्मचारी हाजिरी छड्के तथा कार्यालय सञ्चालन अनुगमन गरिएका हो ।
मलाही स्वास्थ्य कार्यालयका २ जना कर्मचारी अनुपस्थित रहेकाले स्पष्टीकरणसहित आवश्यक कारबाही हुने प्रशासन प्रमुख धिरेन्द्र यादवले जानकारी दिए । सो अनुगमन कार्यमा वडा नं.२ का अध्यक्ष कृष्णनन्दन सहनी, वडा नं.३ का अध्यक्ष अम्बिका सहनीको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies