काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा आवद्ध व्यवसायीहरूलाई समेटेर वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग गठन गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्रकाश रसाईली ‘स्नेही’ प्रमुख रहेको नेपाली कांग्रेस वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका सदस्यहरूमा हाल यूएईमा कार्यरत रूपन्देहीका चित्रबहादुर केसी, हाल अमेरिकामा रहेका मुस्ताङका नवीन शेरचन, लमजुङका राजेन्द्र अधिकारी, मोरङका जयश बोहोरा, वैदेशिक रोजगार व्यवसायी झापाका सुजित श्रेष्ठ, सिन्धुपाल्चोकका देवकुमार खोखाली, स्याङ्जाका दीपक थापा, उदयपुरका महेश बस्नेत, गोरखाका सञ्जय पनेरू र काठमाडौंकी हिरादेवी बुढाथोकी रहेका छन् । श्रेष्ठ एलाइन्स ह्युमेन, खोखली अलर्ट ओभरसिज, थापा सदिक्षा ओभरसिज, बस्नेत ग्लोबल राइजिङ, पनेरु गुडलक ओभरसिज र बुढोथोकी जेन्युइन प्लेसमेण्टका सञ्चालक हुन् ।
उता नेकपा एमाले वैदेशिक रोजगार इलाका कमिटीको छैटौं अधिवेशनबाट अध्यक्षमा शिवहरि मैनाली निर्वाचित भएका छन् । एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अन्तर्गत वैदेशिक रोजगार इलाका कमिटीको छैटौं अधिवेशन शुक्रबार नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्यता र नेकपा एमाले केन्द्रीय सदस्य तथा उद्योग व्यवसाय विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरीको आतिथ्यतामा सम्पन्न भएको हो ।
कमिटीको उपाध्यक्षमा सरिता घले, सचिवमा विकास बस्नेत, उपसचिवमा लोकमणि लिम्बू, लेखा अध्यक्ष मदन पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन विश्वकर्मा, शिवराम ढकाल, रुद्र बहादुर लिम्बू, विनोद खनाल, धनमाया सिन्जाली, रामसली लामा, चन्द्रमणि अधिकारी, जनक पौडेल र मदन चौलागाईं निर्वाचित भएका छन् । घले नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी कोषाध्यक्ष हुन् ।
काठमाडौं : वैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २१९ जनाबाट २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं मनहरा नगरपालिका बस्ने ३५ वर्षीय नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापाका ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरू दुई जना मिलेर नियोनी एजुकेसन प्रा.लि. खोलेका थिए । त्यसको विज्ञापन गरी जापान पठाइदिने कन्सल्ट्यान्सी भनेर दुई सय १३ जनालाई ठगी गरेको प्रवक्ता रेग्मीले बताए । उनीहरुले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेशन कन्सल्ट्यान्सी दर्ता गरेर जापान पठाउने भन्दै एक जनाबाट ४ देखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । नागरिकता धनी नारायणबहादुर राई भने पठाओ चालक हुन् । उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन् ।
उनीहरुविरुद्ध दिप बहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रुपैयाँ लिएको, सुनिल कुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रुपैयाँ लिएको तथा वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको प्रवक्ता रेग्मीले बताए ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभाको मिति पुनः सारिएको छ । यही वैशाख २८ गते नयाँ नेतृत्व चयन गर्न साधारण सभासहितको निर्वाचन तोकिएकोमा एशोसिएसनले आगामी जेठ ५ गतेका लागि नयाँ मिति तय गरेको महासचिव कमल काफ्लेले जानकारी दिए ।
यसअघि वैशाख १५ गते हुने गरी पहिलोपटक मिति तोकिएको थियो । वैशाख १५ गते इलाम र बझाङमा प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचन हुने भएपछि सो कार्यका लागि मिति वैशाख २८ गते सारिएको थियो ।
वैशाख २८ गते हुने भनिएको निर्वाचनका लागि नेतृत्वका आकांक्षी व्यवसायीहरु आन्तरिकरुपमा तयारीमा लागेका थिए । एशोसिएसनका महासचिव काफ्लेले साधारण सभा भव्यरुपमा सम्पन गर्ने तयारीअनुसार प्रमुख अतिथिका रुपमा आमन्त्रित पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको समय नमिलेका कारणले साधारण सभा र निर्वाचनको मिति सारिएको बताए । महासचिव काफ्लेले जेठ ५ मा तोकिएको मिति कुनैपनि हालतमा नसर्ने दाबी गरे । महासचिव काफ्लेले पार्टीको निर्णयअनुसार नै मिति सारिएको जानकारी दिए ।
एशोसिएसनले बैशाख २८ गते साधारण सभा गर्ने भनेपनि बिहीबारसम्म १ सय ७० व्यवसायीले मात्रै साधारण सभाका लागि सदस्यता नवीकरण गराएका छन् । बिहीबार सदस्यता नवीकरण गर्ने तयारी गरी आएका केही व्यवसायीले साधारण सभा सर्ने सूचना पाएपछि नवीकरण नगराइ फर्केका छन् । एशोसिएसनले आफूलाई वैदेशिक रोजगारका क्षेत्रमा रहेका राजनीतिक दल निकट अन्य चार संगठनभन्दा धेरै सदस्य भएको संगठन रहेको दाबी गर्दै आएको छ ।
एशोसिएसनको दुई वर्षअघिको साधारण सभाका लागि ३ सय २६ व्यवसायीले सदस्यता नवीकरण गराएका थिए । त्यसमध्ये २ सय ६७ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनमा खसेको २ सय ६७ मतमध्ये अध्यक्ष पदमा विजयी कुमुद खनाललाई १ सय ४९ र निकटतम प्रतिस्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाएका थिए । अघिल्लो साधारण सभाको तुलनामा यस पटक सदस्यता नवीकरण गर्ने व्यवसायीको संख्या आधाभन्दा कम देखिएको छ ।
एशोसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि योग्य बन्न निरन्तर आग्रह गरिरहेको छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आबद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन लेखेर इजाजतपत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेवी वैशाख २३ गतेभित्र बुझाउन आग्रह गरेको छ । समयमा लेवी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिइने वर्तमान कार्यसमितिको भनाइ छ ।
एशोसिएसनको विधानमा २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
हालसम्म अध्यक्षका लागि चार जना व्यवसायी आ–आफ्नो क्षेत्रबाट लागिपरेको स्रोतको भनाइ छ । महासचिवलगायतका पदाधिकारीका लागि तीन जना व्यवसायीले आकांक्षा राखेको भएपनि अध्यक्षको टुंगो लागेपछि मात्रै उनीहरु खुल्ने योजनामा रहेको बताइएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियामा ई–७ भिसामा नेपाली कामदार पठाउने कार्यविधि जारी भएपछि एक जनाबाट १७ लाख रूपैयाँ उठाएको आफूसँग जानकारी आएको बताएका छन् । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको कार्यकालमा उक्त कार्यविधि सार्वजनिक भएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले कामदारको माग नै नभएका मुलुकमा निजी क्षेत्रबाट कामदार पठाउने भन्दै रकम असुली गर्ने ‘धन्दा’ चलाउन कार्यविधि बनाएको जानकारी आएपछि कार्यविधि नै रद्द गर्नुपरेको दाबी गरे ।
मन्त्री अर्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि (पहिलो संशोधन), वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णय, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो संशोधन) कार्यविधि २०८०, दक्षिण कोरियामा ई–७ भिसामा कामदार पठाउने कार्यविधिसहित इजरायल तथा जापानमा निजी क्षेत्र अर्थात म्यानपावर कम्पनीले पनि कामदार पठाउन पाउने प्रावधान रहेका कार्यविधि स्थगन गरेका थिए ।
बुधबारको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले ती मुलुकमा नेपाली कामदारका लागि मागपत्र नभएपनि कामदारबाट ठूलो मात्रामा रकम उठाउने योजनाका आधारमा ती कार्यविधि जारी गरेको दाबी पनि गरे ।
उनले भने, ‘दक्षिण कोरिया र इजरायलको मात्रै के कुरा सिसेल्स भन्ने मुलुकबाट १५ हजार नेपाली कामदारको डिमाण्ड बनाएर मागपत्र आइ वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति समेत भएको रहेछ, मैले यो काम कसरी भयो भनेर महानिर्देशकज्यूसँग जवाफ मागिरहेको छु ।’
त्यसैगरी मन्त्री अर्यालले फ्रि भिसा फ्रि टिकटको निर्णय पनि कार्यान्वयन नभएको बताए । मन्त्री अर्यालले भने, ‘१० हजार सेवा शुल्कमा कामदार पठाउने निर्णय भएपछि ४ प्रतिशत कामदार मात्र उक्त निर्णयअनुसार गएको र बाँकी ९६ प्रतिशत कामदार अहिले पनि शुल्क तिरेर गइरहेको देखिन्छ । म्यानपावर कम्पनीले ३ लाख रूपैयाँसम्म लिने गरेको जानकारी मलाई व्यवसायीले नै दिएका छन् ।’
मन्त्री अर्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क गर्ने र फ्रि भिसा फ्रि टिकट निर्णय कार्यान्वयनका लागि नयाँ निर्णय लिन मन्त्रालयमा कार्यदल गठन गरी काम भइरहेको बताए ।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले आफ्नो अघिल्लो कार्यकालमा नै सार्वजनिक गरेको श्रमिकको समस्या समाधानका लागि श्रमाधान योजनाको परिमार्जित स्वरूप घोषणा गरे । उक्त योजनाको घोषणा गर्दे मन्त्री अर्यालले श्रमाधान योजनाले नेपालमा रहेका र वैदेशिक रोजगारीमा गएका कामदारका सबै प्रकारका समस्या एकद्वारा प्रणालीबाट समाधान गर्ने बताए । उनले बृहत् रुपमा श्रमिकको समस्या समाधानदेखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको जानकारी दिए ।
श्रमाधानको पहिलो चरणमा सात वटा क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंहरुसँग मेल खाने गरी प्रत्येक कार्यक्रमहरुलाई एक विशेष रगंसँग जोडिएको भन्दै मन्त्री अर्यालले जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलई प्रतिविम्बित गर्ने लक्ष्य राखेको दाबी गरे ।
सक्रिय रहने उमेर कटेपछि वा अवकास भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने गरी सेकेन्ड इनिङ, रोजगार बैंक, ल, कनेक्ट, साथ, समता र कल सेन्टर नामका कार्यक्रम समेटिएको भन्दै मन्त्री अर्यालले पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने जानकारी दिए ।
उनले कल सेन्टरको प्रचारप्रसार व्यापक बनाउने बताउँदै त्यसका लागि वैदेशिक रोजगार व्यवसायी र सञ्चारकर्मीले सहयोग गर्न आग्रह गरे । मन्त्री अर्यालले मन्त्रालयमा रहेको कल सेन्टरको बारेमा म्यानपावर कम्पनीले आफ्नो वेबसाइटमा अनिवार्यरूपमा कल सेन्टरसम्बन्धी सूचना निःशुल्करुपमा राख्नुपर्ने बताए । त्यसका लागि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई सर्कुलर गर्ने तयारी रहेको उनले जानकारी दिए ।
कल सेन्टरले समस्याको वर्गीकरण, अभिलेखीकरण, सहजीकरण र स्थान्तरण गर्ने भन्दै मन्त्री अर्यालले कल सेन्टरले श्रमिकको समस्याका आधारमा वैदेशिक करोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यावसायिक प्रशिक्षण केन्द्रलगायतका अन्य निकायका फोकल पर्सनसम्म पुर्याउने गरी योजना बनाइएको बताए ।
श्रमाधानको दोस्रो चरणमा विदेशमा आधारित एसआईपी लाइन, आईभीआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेप्लेनर, टाइम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याइने बताइएको छ । मन्त्री अर्यालले अन्य मन्त्रालयहरूसँग समन्वय गरेर आन्तरिक रोजगारी अघि बढाउने जानकारी दिए ।
छुट्टै एक प्रश्नको उत्तरमा मन्त्री अर्यालले घरेलु कामदारका विषयमा र यसअघिको श्रम सम्झौताका प्रावधान भन्दा कतारले कामदारको अधिकारका सम्बन्धमा कमजोर प्रावधानको प्रस्ताव गरेका कारण कतारका अमिरको नेपाल भ्रमणमा श्रम सम्झौता नवीकरण नभएको जानकारी दिए ।
काठमाडौं : वैदेशिक राेजगार व्यवसायीले श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे वैदेशिक रोजगारसहित श्रमसम्बन्धी सबै गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर)काे सूचना नि:शुल्करूपमा राख्नुपर्ने भएको छ ।
बुधबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा श्रममन्त्री डाेलप्रसाद अर्यालले मन्त्रालयमा रहेको कल सेन्टरको बारेमा म्यानपावर कम्पनीले नि:शुल्क सूचना राख्नुपर्ने बताए । त्यसका लागि मन्त्रालयले वैदेशिक राेजगार विभागमार्फत म्यानपावर कम्पनीलाई परिपत्र जारी गर्ने तयारी गरेको उनले बताए ।
कल सेन्टरमा वैदेशिक राेजगारमा जाने कामदारकाे समस्याको सुनुवाइ गर्न सहायता कक्षमा फोनसहित फेसबुक, भाइबर, इमो, ह्वाट्सएपलगायतबाट पनि उजुरी दर्ता गर्न सकिन्छ ।
कल सेन्टरमा फोन वा इमेल, भाइबर, इमो, मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्डलगायत श्रम मन्त्रालय र मातहतका निकायहरूका सेवा एवम् कार्यक्रमहरूबारे जानकारी लिन, सुझाव दिन वा गुनासो गर्न सकिने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले मन्त्रालयले प्रचारप्रसार नभएका कारण कल सेन्टर अपेक्षितरूपमा प्रभावकारी नभएको भन्दै श्रमाधान एप्लिकेसनको नयाँ व्यवस्था गरिएको बताए । वैदेशिक राेजगारमा जाने क्रममा र विदेशमा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको छ । त्यसको ठूलो अपजस म्यानपावर कम्पनीले पाउने गरेका छन् ।
काठमाडौं : वैदेशिक रोजगार पीडितहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका प्रतिवादीहरुलाई वैदेशिक रोजगार विभाग ताहाचल परिसरमा आक्रमण गरेका छन् ।
४ सय २२ जना युवायुवतीलाई वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै ठगी गरेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली पक्राउ परेका थिए । उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि म्याद थप गर्न वैदेशिक रोजगार न्यायाधिकरण लगेर विभागमा ल्याउँदा विभाग परिसरमै पीडितहरुले आक्रमण गरेका हुन् ।
एक प्रत्यक्षदर्शीका अनुसार विभागको गेटमा कुरेर बसेकी एक पीडित महिलाले प्रतिवादीहरुलाई प्रहरीको भ्यानबाट ओर्लिने बेला ‘तैंले मलाई बर्बाद गरिस्, चर्काे ब्याजमा लिएको पैसा लुटेर बर्बाद गरिस्, तेरो कारणले लोग्नेले डिभार्स मागेको छ, मलाई सडकमा पुर्याइस्’ भन्दै झम्टेकी थिइन् ।
अभियुक्तहरुले कुखुरा फार्म सञ्चालन गरेका कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमलाई झुक्याएर उनको नाममा कन्सल्ट्यान्सी दर्ता गराइ बैंक खाता खोलेर सोही खातामा वैदेशिक रोजगारका लागि रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको प्रहरीले बताएको छ । बयलकोटीले गत असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने ललित बमसँग सम्पर्क कायम गरी ठगीको तानाबाना बुनेका थिए ।
बयलकोटीले आफ्नोसमेत गोदावरीमा ३२ रोपनी जग्गा रहेको र फार्म सञ्चालनका लागि मान्छे चाहिएको भन्दै बमसँग सम्पर्क बढाएर फार्म सञ्चालनभन्दा कन्सल्ट्यान्सी दर्ता गर्दा फाइदा धेरै हुने प्रलोभनमा पारेर बमको नाममा भिसा प्लस प्रा.लि. नामको कन्सल्ट्यान्सी दर्ता गराइ ठगी गरेको खुलेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइलसमेत बरामद गरेको थियो ।
विदेश पठाउने भन्दै शुरुमा ५० हजार लिएर अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख रकम माग गरेको पाइएको प्रहरीले बताएको छ । गिरोहमा रहेर ठगी गर्नेहरु केही भारतमा बसेर योजना बनाउने गरेकोसमेत पाइएको प्रहरीको भनाइ छ । उनीहरुले कम्पनीको नामबाट निकालेको सिमकार्डसमेत प्रयोग गरी फेसबुक, ह्वाट्सएप र टिकटकलगायतका सामाजिक सञ्जालहरुमा विदेश जानलाई विज्ञापन गरी रकम उठाएका थिए ।
बमको बैंक खातामा रकम आएपछि चेक काट्न लगाइ लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने र प्रयोग गर्ने गरेको पाइएको पनि प्रहरीले बताएको छ ।
गिरोहले रोमानियाका लागि ७ लाख, क्रोएसियाका लागि १२ लाख, न्युजिल्याण्डका लागि १६ लाख लाग्ने भन्दै रकम उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको पनि प्रहरीले बताएको छ ।
काठमाडौँ : वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-११ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका-२ घर भइ हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भने, “सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रु दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर रु ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।”
उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।
काठमाडौं : आप्रवासी कामदारको ठूलो हिस्सा चर्को गर्मीको मारमा परेका छन् । नेशनल इन्स्टिच्युट अफ अकुपेशनल सेफ्टी एन्ड हेल्थ (एनआईओएसएच)ले विश्वभरका आप्रवासी कामदारहरुमध्ये ७० प्रतिशतभन्दा बढी कामदार चर्को गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको जनाएको छ ।
उक्त संस्थाले गर्मी र जलवायु परिवर्तनका कारण रोगहरुको संख्यामा वृद्धिको जोखिम बढेको बताएको छ । उक्त संस्थाका उपाध्यक्ष मणिवानन गोविनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अध्ययनलाई उद्धृत गर्दै जलवायु परिवर्तनको प्रभावले कामदारहरुलाई गर्मी, अत्यधिक पराबैंगनी (यूभी) विकिरण, वायु प्रदूषण, भेक्टर र रसायनजन्य जस्ता खतराहरुको जोखिम बढेको बताए ।
आईएलओले स्वास्थ्य समस्याका कारण हरेक वर्ष कार्यालयबाहिर खुला क्षेत्रमा काम गर्ने कामदारहरुमध्ये ८ लाख ६० हजारको मृत्यु भएको बताएको छ । प्रतिकूल वातावरणका कारणले क्यान्सर र मुटुसम्बन्धी रोग, श्वास प्रश्वाससम्बन्धी समस्या, मिर्गौला फेल हुने र मानसिक स्वास्थ्यसम्बन्धी समस्या वृद्धि हुने पनि आईएलओले बताएको छ ।
जलवायु परिवर्तनले सिर्जना गरेको तातो मौसममा परेका करिब २ दशमलव ४ बिलियन कामदारहरुलाई असर गरेको पनि आईएलओले उल्लेख गरेको छ । प्रतिवेदनमा आईएलओले १ दशमलव ६ अर्ब कामदारहरु पराबैंगनी किरणहरुको सम्पर्कमा परेको र त्यसले प्रत्येक वर्ष छालाको क्यान्सरका कारण १८ हजार ९ सय ६० जनाको मृत्यु भएको देखिएको छ । यसका कारणले कामदारहरु वायु प्रदूषणको जोखिममा परेको देखिएको बताएको छ । आईएलओले आप्रवासी कामदारको सुरक्षाका लागि १ सय ३९ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको भएपनि आप्रवासी कामदारलाई सुरक्षित गराउन धेरै काम गर्न बाँकी नै रहेको बताएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय उडानको भाडा अस्वभाविकरुपमा बढेपछि वैदेशिक रोजगारीमा जाने कामदारमा चर्को आर्थिक भार थपिएको छ । हवाई भाडा अस्वभाविकरुपम बढेपछि यूएई, कतार र साउदी अरबियालगायतका देशमा जाने नेपाली कामदार आर्थिक भारमा परेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।
टिकटको मूल्य अस्वभाविकरुपमा बढेपछि व्यवसायीले कोरोना संक्रमणपछि वैदेशिक रोजगारमा नेपाली कामदार पठाउँदा लागेको खर्चको स्मरण गराएको टिप्पणी गरेका छन् । त्यतिबेला हवाई टिकट लिँदा क्वारेन्टीनका लागि एक लाखभन्दा बढी र टिकटका लागि ७० हजार र समग्रमा एक लाख ९० हजारको हाराहारीमा टिकट खर्च आउने गरेको थियो । कुनै समय १७ देखि २२ हजार रुपैयाँ पर्ने यूएईको एकतर्फी टिकटका लागि हाल ६२ हजारसम्म लाग्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।
हवाई टिकटको समस्याका कारण कामदार जान नपाएको अवस्थाले उत्पन्न गराएको प्रतिकूल परिस्थितिबारे छलफलका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजनीतिक दल निकट पाँच घटक संस्थाका अध्यक्ष तथा प्रतिनिधिको बैठक राखेको थियोे ।
बैठकले कुनै एजेन्सीको नाममा सिट बुक गरेर ब्लक गर्ने, होल्ड गर्ने र नदिनेबित्तिकै हवाई भाडा स्वतः महँगो भएको निष्कर्ष निकाल्दै सरकारले हस्तक्षेप गरेर सहज बनाउनुपर्ने निष्कर्ष निकालेको संघका महासचिव तथा प्रवक्ता मेघनाथ भुर्तेलले जानकारी दिए । उनले हवाई टिकट अनावश्यकरुपमा महँगो भएपछि शून्य लागतमा कामदार लैजाने रोजगारदाताहरु चिढिएर नेपाली कामदार लैजाने क्रममा सुस्ताता आएको भन्दै समस्याको समाधान नभए नेपालको वैदेशिक रोजगार अन्यत्र डाइभर्ट हुने खतरा रहेको पनि महासचिव भुर्तेलले टिप्पणी गरे । भारतबाट यूएई जान १० हजार भारतीय रुपैयाँ करिब १६ हजार नेपाली रुपैयाँ लाग्ने र नेपालबाट उडान भर्दा सोही टिकटलाई ६२ हजार रुपैयाँसम्म लाग्नु चिन्ताजनक अवस्था भएको पनि उनले बताए ।
यसअघि हवाई भाडा साविकको भन्दा अस्वभाविकरुपमा बढे नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने गरेको थियो, तर यसपटक भाडा तीन गुणा बढी हुँदा पनि त्यसको सम्बोधनका लागि छानबिन अघि नबढाइएको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ ।
अन्तर्राष्ट्रिय उडानमा बजारको माग र आपूर्तिको अवस्थाले भाडदर निश्चित हुने भएपनि जिएसए लिएकाहरुले एकतर्फीरुपमा भाडा बढाएको व्यवसायीहरुको निष्कर्ष छ । महासचिव भुर्तेलले तत्कालै समस्याको समाधान नभए सरकारलाई दबाब दिन सडकमा ओर्लिनुपर्ने विषयमा पाँच वटै घटकको एकमत रहेको दाबी गरे ।
छलफलमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई मधेश वैदेशिक रोजगार संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूका आन्तरिक तयारीले तीव्रता पाएको छ । आगामी वैशाख २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्ष तथा पदाधिकारीका आकांक्षी व्यवसायी आन्तरिक छलफलमा लागिरहेका छन् ।
साधारण सभाको मिति आउन करिब डेढ हप्ताभन्दा कम समय बाँकी छ । व्यवसायीहरूले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले समेत कनिष्ठ र नेतृत्व क्षमताका दृष्टिकोणले कमजोर रहेको प्रचार गर्दै मतदातालाई आफूतर्फ तान्ने क्रम शुरु गरेका छन् । कतिपय ब्यबलासीहरु आफूले नजिते पनि हराउने अभियानमा भित्र भित्रै खटिएका पाइन्छन् ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
एशोसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएको छ । एशोसिएसनलाई नेपाली कांग्रेसले महाधिवेशनमा तीन जना महाधिवेशन प्रतिनिधि पठाउन कोटा प्रदान गर्ने गरेको छ, तर आगामी कार्यसमितिको कार्यकाल अवधिमा नेपाली कांग्रेसको महाधिवेशन नहुने भएकाले महाधिवेशन प्रतिनिधि तोक्ने अवसर भने निर्वाचित कार्यसमितिले पाउने छैन ।
हालसम्म अध्यक्षका लागि चार जना व्यवसायी आ–आफ्नो क्षेत्रबाट लागिपरेको स्रोतको भनाइ छ । महासचिवलगायतका पदाधिकारीका लागि तीन जना व्यवसायीले आकांक्षा राखेको भएपनि अध्यक्षको टुंगो लागेपछि मात्रै उनीहरू खुल्ने योजनामा देखिन्छन् । अहिले नेतृत्व लिन भित्र भित्रै जोड घटाउ तिब्र रुपमा चलिरहेको बुझिएको छ । चुनावी प्रतिश्पर्धामा भने दुई प्यानल खडा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दावी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
२०६३ सालमा स्थापना भएको एशोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमितिमा निर्विरोध निवाचित भएका थिए । पछिल्ला केही वर्षयता सहमति हुन नसकेपछि हंशराज वाग्ले, नरेन्द्र प्रसाद ढकाल र खनाल निर्वाचनको माध्यमबाट अध्यक्ष चयन भएका हुन् ।
उता एशोसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि योग्य बन्न निरन्तर आग्रह गरिरहेको छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आवद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन, इजाजत पत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेवी समयमै बुझाउन आग्रह गरेको छ । समयमा लेवी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिने वर्तमान कार्यसमितिको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies