काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूको आन्तरिक तयारी तीव्र बनेको छ । पटक–पटक मिति सर्दै आएको साधारण सभाको मिति जेठ ५ गते शनिबार तोकिएको छ ।
नेपाली कांग्रेसले सकेसम्म सहमतिमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका लोकतान्त्रिक व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्नु पर्ने भन्दै अध्यक्ष तथा पदाधिकारीका लागि आन्तरिक छलफलमा लागिरहेका छन् ।
अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष रमेश राई, तृतीय उपाध्यक्ष दीपक थापा, भुवनसिंह गुरूङ, तारानाथ अर्याल, भवानी निरौलाले समूहमा आफ्नो दाबी पेश गरिरहेको बताइएको छ । यसअघि महासचिव कमल काफ्लेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भएपनि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवार नबन्ने सार्वजनिक गरेका छन् ।
प्रथम उपाध्यक्षमा विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रूची देखाएका छन् भने महासचिवमा सचिव लक्ष्मण पौडेल र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरूपमा व्यक्त गरेका छन् । उम्मेदवार र प्यानलको खाकाले बिहीबारसम्म ठोस आकार लिने बताइएको छ ।
चुनावी प्रतिस्पर्धामा भने दुई प्यानल खडा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दाबी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
व्यवसायीहरूले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले वरिष्ठ र नेतृत्व क्षमता तथा आर्थिक दृष्टिकोणले अब्बल रहेको प्रचार गर्दै उम्मेदवारीमा दावेदारी गर्ने गरेका छन् । कतिपय व्यवसायीहरु आफूले नजिते पनि हराउने र कतिपयले व्यापारमा गरेकोे घातको बदला लिने भन्दैमा पक्षधरता देखाउने गरेकोे समाचार स्रोत बताउँछ ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
एशोसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएको छ ।
काठमाडौं : विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकहरुलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१’ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।
यसले भिजिट भिसामा गइ सम्बन्धित मुलुकमा रोजगारी पाएको अवस्थामा उनीहरू वैधानिक कामदार हुनेछन् । श्रम स्वीकृति लिएर गएको कामदार विदेशमा अंगभंग वा मृत्यु भएमा क्षतिपूर्तिको व्यवस्था छ ।
मन्त्रालयले वैधानिकीरण श्रम स्वीकृति प्रक्रियालाई पनि सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेश गर्नुपर्ने छैन । श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालयअन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीृकति प्रदान गरिनेछ । सन् २०२४ को मे ३१ सम्म रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सक्नेछ ।
अफगानिस्तानमा जाने श्रमिकहरुको हकमा भने नेपाल सरकारको मन्त्रिपरिषद्को २०७३ असोज २० को निर्णयबमोजिम हुनेछ । साथै सप्लायर्स कम्पनीको सिफारिस पत्र कार्यालय वा विभागको इमेलमा आउनुपर्नेछ । तर नेपाल सरकारले वैदेशिक रोजगारमा जान खुला नगरेका मुलक र पेशाको हकमा यो व्यवस्था लागू हुने छैन ।
वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औंठा छापमध्ये कुनै एक वा दुवै लिइनेछ । श्रम स्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र जैविक विवरण लिइएको हो श्रमिकले वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीमा सोही निकाय वा कार्यालयमात्र छनोट गरी आवेदन दिनुपर्नेछ ।
यसअघि ‘अन्य प्रकृतिका भिसामा गइ वैदेशिक रोजगारीबाट फर्केका कामदारको श्रम स्वीकृति’ शीर्षकमा यस्तो खालको श्रम स्वीकृति प्रदान गरिन्थ्यो । तर यस्तो खालको श्रम स्वीकृति लिनका लागि श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो । साथै श्रमिकले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै नेपालबाट पहिला श्रम स्वीकृति लिइ कुनै पनि देशमा वैदेशिक रोजगारीमा गएको व्यक्ति बीचमा अर्को देशमा श्रम स्वीकृति लिइ गएकोमा पुनः पहिले श्रम स्वीकृति लिइ गएको देशमा भिसा प्राप्त गरी रोजगारीका लागि जान चाहेमा भिसा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था हटाइएको छ । पहिलाकै मुलुकमा जान चाहेमा सम्बन्धित मुलुकसँगको श्रम सम्झौता र ई–भिसाको आधारमा पुनः श्रम स्वीकृति दिन सकिने व्यवस्था गरिएको छ । यसअघि भने यस्तो व्यवस्था थिएन ।
त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमा प्रमाणीकरण शुरु गर्ने र निर्णय गर्ने जिम्मा कम्प्युटर अपरेटर, नायव सुब्बा, भाषा अनुवादक, शाखा अधिकृत र अधिकृतलाई जिम्मा दिइएको छ । जसले भिसाको प्रकृति, जारी मिति, अन्तिम मितिको रुजु गर्नेछन् । साथै नेपाली वा अंग्रेजी भाषा अनुवाद गर्ने, बायोमेट्रिक नभएको हकमा फिंगर प्रिन्ट स्क्यान गर्नेछन् । यसअघिको व्यवस्थाअनुसार दुई वटा तहबाट श्रम स्वीकृति प्रमाणीकरण गर्ने व्यवस्था थियो । कम्प्युटर अपरेटर, नायव सुब्बा र भाषा अनुवादकले कागजपत्र रुजु गर्ने र शाखा अधिकृतले श्रम स्वीकृति प्रमाणित गर्ने व्यवस्था थियो ।
त्यस्तै मन्त्रालयले कार्यविधि संशोधन गर्दै पुनः श्रम स्वीकृति माग गर्दा यसअघि श्रम स्वीकृति भएको निस्सा पेश गर्नु नपर्ने व्यवस्था गरेको छ । अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्दा अनलाइन प्रणालीमा प्रविष्ट भएका सम्पूर्ण सूचनाको आधिकारिकता सम्बन्धमा प्रणालीमा विवरण प्रविष्ट गर्ने सम्बन्धित व्यक्ति वा संस्था नै पूर्णरुपमा जिम्मेवार हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगकर्ताले गलत सूचना (कागजात) प्रविष्ट गरेका कारणले हुने समस्या तथा कानूनी कारबाहीको भागिदार सम्बन्धित संस्था वा व्यक्ति नै हुनेछन् ।
श्रम स्वीकृतिको माग गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले प्रणालीमा प्रविष्ट नगरी अन्य व्यक्ति वा संस्थालाई प्रविष्ट गर्न लगाएको अवस्थामा विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थाले आफैं वा विवरण प्रविष्ट गर्नुपर्ने व्यक्ति वा संस्थाको अनुरोधमा रद्द भइसकेका भिसालाई वैध भिसा बनाइ वा अन्य प्रकारको भिसालाई गैरकानूनीरुपमा कामदार भिसामा परिवर्तन गरी वा अन्य व्यक्तिको कागजात सच्चाइ आफैंजस्तो हुने गरी गलत सूचना वा कागजात प्रविष्ट गरेमा अन्य व्यक्ति वा संस्थाको विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थालाई समेत मतियारको रुपमा प्रचलित कानूनबमोजिम सजाय गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कास्की पोखरा घर भइ काठमाडौंको चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरेको हो ।
श्रेष्ठले १२४ जनालाई टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।
टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि १४५० डलर तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी भट्टराईले बताए ।
चुच्चेपाटीको जमघट रेष्टुरेन्टमा विनोदले विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेको र त्यहाँ भेटेर विनोदले शुरूमा पीडितबाट प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिने गरेको अनुसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिए ।
श्रेष्ठले मिन बहादुर कार्कीसमेत ४ जनालाई भारतको दिल्लीमा पुर्याएर प्रतिव्यक्ति ३ लाख उठाएपछि भारतमा रहेका एजेन्टलाई सम्पर्क गराएर विश्वास दिलाएको तथा रकम पूरा लिएपछि पीडितहरु १५ दिन होटलमा नै बसेको र कोही सम्पर्कमा नआएपछि नेपाल फर्केिएको खुलेको एसएसपी भट्टराईले बताए ।
पीडितहरुले आफ्नो काम नभएपछि नेपालमा आएर रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर आवश्यक कारबाहीका लागि राज्यको ध्यानाकर्षण समेत गराएका थिए ।
पीडितहरुलाई विश्वास दिलाउन श्रेष्ठले प्रत्येकलाई चेक दिने गरेको, बैंकमा जाँदा चेकको दस्तखत नमिल्ने चेक भएपछि पीडितहरु प्रहरीकोमा आएको एसएसपी भट्टराईले बताए । यस्तै श्रेष्ठकी श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल यसअघि नै ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको खुल्न आएको एसएसपी भट्टराईले बताए ।
त्यस्तै अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४८ वर्षीय जंगबहादुर वि.क. (बराल) रहेका छन् ।
यसअघि उक्त गिरोहका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा पक्राउ परेका थिए ।
काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब साढे पाँच लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यस अवधिमा ५ लाख ४२ हजार १ सय ४३ जना वैदेशिक रोजगारीमा गएकोमा नयाँ ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या क्रमशः ३ लाख ८७ हजार ८ सय ३९ र २ लाख १७ हजार ९ सय ५९ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीले १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन गत आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुनमा पनि १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
काठमाडौं : गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) अन्तर्गतका मुलुकहरुले युरोपेली मुलुकहरुले लागू गरेको सेन्जेन भिसाजस्तै खाडी क्षेत्रका लागि संयुक्त भिसा प्रणाली लागू गर्ने भएका छन् । जीसीसीअन्तर्गत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, ओमान र कतार रहेका छन् ।
ठूलो संख्यामा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘ग्रान्ड टुर्स भिसा’ शुरु गर्ने तयारी गरेको उनीहरुले बताएका छन् । हाल युरोपेली संघको सेन्जेन भिसाजस्तै उक्त एकीकृत भिसाले खाडीका सबै मुलुक भ्रमण गर्न पाइने छ । एक महिने अवधिको रहने उक्त भिसा आप्रवासी कामदारले पनि भ्रमण गर्न र छुट्टी मनाउन पाउनेछन् ।
यसले पर्यटन उद्योगलाई उल्लेखनीय महत्व दिने र होटल पर्यटकहरुको आगमनमा वृद्धि गर्ने अपेक्षा गरिएको यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले बताएका छन् । उनले अन्ततः क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै पर्यटकहरुका लागि प्रमुख गन्तव्यको रुपमा खाडी मुलुकहरु स्थापित हुने पनि बताएका छन् । ग्रान्ड टुर्स भिसा सन् २०२४ को अन्त्यसम्म कार्यान्वयनमा आउने बताइएको छ ।
यूएईका अधिकारीहरुले एकीकृत जीसीसी पर्यटक भिसाले सन् २०३० सम्ममा १२८.७ मिलियन पर्यटक आउने जीसीसी मुलुकहरुको संयुक्त आंकलन रहेको बताइएको छ । उक्त भिसाले व्यापार र सांस्कृतिक आदानप्रदानका लागि खाडी क्षेत्रमा अवसरहरु सिर्जना गर्ने आंकलन गरिएको छ ।
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनि रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भइ हाल काठमाडौं आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका-९ इमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा रामेछाप मन्थली नगरपालिका-९ स्थायी घर भइ हाल काठमाडौं गोकर्णेश्वर-५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाहरुमध्ये रिञ्जिनले निराजन केसीसमेत १० जनालाई बेलायत पठाइदिने भन्दै रु ५६ लाख ५० हजार ठगी गरेका थिए । त्यसैगरी प्रकाश बज्राचार्य एवम् कल्पना बज्राचार्यले नरेश महर्जनसमेत दुई जनालाई क्यानडा पठाइ दिने भन्दै रु १५ लाख तथा चन्द्रमाया थापा कार्कीले राकेश ओझालाई स्पेन पठाइ दिने भन्दै रु दुई लाख लिएको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
आरोपितहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
काठमाडौं : नेपाल सरकारले वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न कडाइ गरेको बताए पनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको छ । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल वायुसेवा निगमका अधिकृतसहित काठमाडौंबाट ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई पक्राउ गरेपछि केही सुस्त बनेको भिजिट भिसाको ठगी धन्दा पुनः संगठित बनेको देखिएको छ ।
भिजिट भिसा प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई पु¥याइएका युवाहरु दुबई विमानस्थलमा अवतरण भएपछि मानव तस्करीमा संलग्न गिरोहले त्यसलाई सफल वैदेशिक यात्रा भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमार्फत व्यापकरुपमा प्रचारप्रसार गरिरहेका छन् । उनीहरुले केही महिना यूएईमा बसेपछि युरोपेली मुलुकमा सहजरुपमा जान पाउने ‘ग्यारेन्टी’ नै गर्ने गरेका छन् ।
भिजिट भिसाको सेटिङमा पठाउँदा पूर्ववत् रुपमा गिरोहले ४४ देखि ५५ हजारसम्म लिने गरेको समाचार स्रोत बताउँछ । नेपालबाट संस्थागत अर्थात म्यानपावर कम्पनीबाट गएका कतिपय कामदारले भनेअनुसार तलब तथा सेवा सुविधा नपाएको भनि गुनासो आइरहेको छ । तर भिजिट भिसा दुरुपयोग गरी युवायुवतीलाई यूएईमा लगेको समूहले एक हजारदेखि १५ सय यूएईको मुद्रा एइडी सजिलै पाउने भएकाले कुनै समस्या वा कठिनाइ नरहेको दाबी पनि सामाजिक सञ्चालन रहेका ती भिडियोमा गर्ने गरिएको छ ।
नेपाल सरकारले घरेलु कामदारको रुपमा जान कुवेत, ओमान, यूएई, साउदी अरेबिया, कतार र इराकलगायतका देशमा पनि रोजगारीको अवसर रहेको भन्दै सम्पर्क गर्न ह्वाट्सएप, ईमोलगायतका सामाजिक संजालको माध्यमबाट प्रचारप्रसार गर्ने गरिएको छ ।
आकर्षक रोजगारीका लागि ठगी गर्नेहरुले यूएईलाई सुरक्षित कार्यस्थल बनाएर बसेको धेरैको अनुमान छ । विगतमा इन्टरपोल प्रहरीले ठगीका केही आरोपीलाई पक्राउ गरेपछि ठगीका अन्य अभियुक्तहरु पनि पक्राउ पर्न सक्ने आशा बढाएको थियो । तर सामाजिक सञ्जालमा देखिएका प्रचारप्रसार सामग्रीले सेटिङवालाहरु निस्फिक्री धन्दा चलाउन सक्रिय रहेको देखिएको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा छन् ।
उनीहरुले १० जना युवाहरुलाई अमेरिका पठाउने भन्दै साढे ५ करोड रुपैयाँ लिएर केन्या पुर्याएर बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिए । ङिमबुटी शेर्पाले आफ्ना श्रीमान दावा तथा टासी शेर्पाले आफ्ना छोरालाई अवैध बाटोबाट अमेरिका पठाएको बताउँदै जान चाहनेलाई फुड प्याकिङमा अमेरिका पठाउने र मासिक ४ लाख आम्दानी हुने प्रलोभन देखाएर युवाहरुलाई विश्वासमा लिएको प्रहरीको भनाइ छ ।
ङिमवुटी शेर्पाले एउटै घरमा रेष्टुरेन्ट, ब्युटीपार्लर तथा चिया पसलसमेत सञ्चालन गरी सोही स्थानमा पीडितहरुलाई बोलाइ कुराकानी तथा कारोबार गर्ने गरेको तथा अन्य गिरोहका मानिसहरुलाई समेत सोही स्थानमा भेटी कुराकानी तथा रकमको कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
उनीहरुले पीडितहरुबाट भिसा निकाल्नका लागि शुरुमा ५ लाख रुपैयाँ लिएको र त्यसको २-३ दिनपछि भिसा आइसक्यो भनेर टिकट काट्नका लागि फेर ५-७ लाख, डलर साट्न ५ लाख रुपैयाँ लाग्छ भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको खुल्न आएको एसएसपी भट्टराईले जानकारी दिए ।
काठमाडौंबाट दुबई हुँदै केन्याको राजधानी नैरोबी पुर्याएपछि अफ्रिकन मूलका एजेन्टले नेपाली युवाहरुलाई लिन आएका थिए । ट्याक्सीमा राखेर उनीहरुलाई केन्याको जिम्मारमानस्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा ६ महिनासम्म राखिएको थियो । उक्त घरमा पुग्ने बित्तिकै पीडितहरुबाट २-३ सय डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरुले नै लिएर गएको खुलेको प्रहरीको भनाइ छ ।
काम हुँदैछ भन्दै उनीहरुलाई ६ महिनासम्म विश्वासमा दिलाउँदै राखिएको थियो । प्रहरीले दु:ख दिन्छ भन्दै बेलाबेलामा कोठा समेत एजेन्टहरु सार्ने गरेको पीडित युवाहरुले बताएको प्रहरीको भनाइ छ । नैरोबीकै अर्को किनुमा थप २-३ महिना बन्धक गराएपछि बल्ल ‘पछि प्रहरीले समात्छ’ भन्दै उनीहरको पासपोर्ट भने पीडित युवाहरुलाई नै एजेन्टले फिर्ता गरिदिएका थिए ।
पीडितहरुले पासपोर्ट प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले आफ्नो घर तथा साथीहरुबाट मगाएर तिरेको र हवाई टिकटसमेत आफैंले काटेर नेपाल फर्किएको प्रहरीले बताएको छ ।
अमेरिका पुर्याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिकोमध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको र उक्त गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्यालगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाइ राखिरहेको र पीडितहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको एसएसपी भट्टराईले बताए ।
काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीले चासो नदेखाएपछि गैरआवासीय नेपालीलाई वैदेशिक रोजगार बचतपत्र–२०८६ मा लगानीका लागि आह्वान गरिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना प्रकाशन गरी १ अर्ब रूपैयाँको उक्त बचतपत्र खरिदका लागि आह्वान गरेको हो ।
बचतपत्र वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले खरीद गर्न सक्ने प्रावधान राखिएको छ । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएकाहरूले आफू वा आफ्नो परिवारको (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी)को नाममा बचतपत्र खरिद गर्न सक्नेछन् ।
वैशाख २३ देखि जेठ २२ गतेसम्म बिक्री खुला गरिएको उक्त बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकको रकमसम्म खरिद गर्न पाइने सूचनामा उल्लेख छ । गत वर्ष वार्षिक १२ प्रतिशत रहेको बचतपत्रको वार्षिक ब्याजदर यसपटक भने ९ प्रतिशतमा झारिएको छ ।
सरकारले अति नै सुरक्षित र आकर्षक भनेपनि वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूले भने उक्त बचतपत्रमा न्यून लगानी गर्ने गरेका छन् । भारतमा रहेका नेपालीहरूले भने त्यसमा आवेदन गर्न पाउँदैनन् । मलेसिया, साउदी अरेबिया, कतार, ओमानलगायतका देशमा गएका नेपालीले कमाएको रेमिट्यान्स रकम बचत गर्ने र बचत भएको रकम उत्पादनमूलक क्षेत्रमा लगाइ पुँजी निर्माण गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले २०६७ सालदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न शुरू गरेको हो । तर उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका कामदारको आकर्षण र ध्यान पुग्न नसकेको विज्ञहरू बताउँछन् ।
विगतमा एक अर्ब रुपैयाँको बचतपत्र बिक्री आह्वान गर्दा करोडको मात्रै बिक्री भएको थियो । अर्थविद् शतिस आचार्यले स्रोत मुलुकमै गएर वैदेशिक रोजगार बचतपत्रमा गरिने लगानी र त्यसबाट प्राप्त हुने लाभका बारेमा प्रचार गरी कामदारको ध्यानाकर्षण गर्नुपर्ने बताए ।
बचतपत्र खरिदका लागि आवेदनकर्ताले आफ्नो राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको उक्त रकम, जम्मा वा खर्च भएको बैंक स्टेटमेन्ट, विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता प्रमाणपत्र, नाबालिगको नाममा भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं : वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी रहेको प्रहरीले बताएको छ ।
उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब पाइने लोभ देखाएर ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । नगरकोटी रकम लिएपश्चात विदेश नपठाइ सम्पर्कविहीन भएपछि पीडितहरुले जाहेरी दिएका थिए ।
अनुसन्धानको क्रममा विदेश पठाउने भनि ठगी गरेको देखिएको जानकारी दिँदै प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि नगरकोटीलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies