काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो ।
स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो । यस्तै, डोल्टी पावर नौ दशमलव ५६, साधना लघुवित्त आठ दशमलव ७२, समता घरेलु लघुवित्त आठ दशमलव ७२, कुमारी बैंकको ऋणपत्र चार दशमलव शून्य तीन र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी सात दशमलव ५५, हिमालयन डिस्टिलरी छ दशमलव ३३, जानकी फाइनान्स पाँच दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने पाँच दशमलव २३ प्रतिशत घाटा व्यहोर्नुपरेको छ ।
काठमाडौं : मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमका बीच बैंकले काठमाडौं विश्वविधालय अन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा , ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापा तथा दुबै संस्थाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।
यस सहयोगबाट नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।
दैलेख -नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।
दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए । ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भने । नबिल बैंकका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । डेपुटी सिइओ ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् ।
कामपा सामाजिक विकास विभागकी निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिइन् । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ ।
वैशाख २० गतेपछि फाराम भर्नेहरुको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिइन् । “मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब पाँच हजार जनाले फाराम भर्नुभएको छ । विभिन्न वडाहरुबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ । अहिले पनि फाराम भर्न रोकिएको छैन”, प्रमुख कोइरालाले भनिन् ।
फाराम भरेकामध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिइन् । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको कोइरालाले जानकारी दिइन् । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघसँग सहकार्य गरेको छ ।
मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने कामपाको विश्वास छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिइन् ।
अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आउनुभएका सहभागीहरुले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाँबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिइन् ।
काठमाडौं–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौंमा गरेको उक्त क्याफ्टीङ लिडरसिप कार्यक्रममा उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरुको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरे ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तब्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका भएकाले पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे । कार्यक्रममा कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा विक्रीकला सम्बन्धी तालिम प्रदान गरे ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर रहेका कलाकार मनोज गजुरेलको पनि उपस्थिति थियो ।
काठमााडौं : भारतको जिएलए विश्वविद्यालयले काठमाडौंको पुतलीसडकमा अवस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका विद्यार्थीलाई आफ्नो विश्वविद्यालयको अनुभव प्रदान गर्न भ्रमण गराएको छ । विश्वविद्यालयको आमन्त्रणमा शुक्रबार कलेजको तर्फबाट ४ जना विद्यार्थी र २ जना शिक्षक सो विश्वविद्यालयको भ्रमणमा गएका हुन् ।
कलेजका अनुसार विश्वविद्यालयको भ्रमणमा बिई तहको सिभिल इन्जिनियरिङ अध्ययन गर्ने २ जना र बिटेक इन बायोटेक्नोलोजी अध्ययन गर्ने २ जना विद्यार्थी सहभागी भएका छन् । साथै शिक्षकहरुको तर्फबाट सिभिल इन्जिनियरिङको विभागीय प्रमुख र बिटेक इन बायोटेक्नोलोजीका विभागीय प्रमुख सहभागी भएका छन् ।
विश्वविद्यालय र कलेजले गत वर्ष एकआपसमा शिक्षा र प्रविधिको अनुभव आदानप्रदान गर्नका लागि सहमति गरेअनुसार शिक्षक तथा विद्यार्थीहरु भ्रमणमा गएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताए । उनका अनुसार भ्रमणमा गएको टोलीले ६ दिनसम्म विश्वविद्यालयको भ्रमण गरेर उच्च शिक्षामा प्रयोग भएका प्रविधि र शैक्षिक कार्यक्रमहरुको अनुभव प्राप्त गर्नेछन् ।
विश्वविद्यालयको तर्फबाट गत बिहीबार विश्वविद्यालयका एकेडेमिक इनिसिएटिभ भाइस प्रेसिडेन्ट सबिलाल छतर्जी र विश्वविद्यालयकै एकेडेमिक इनिसियटिभ सहायक म्यानेजर अतिफ अतिक सिद्धिकी कलेजको भ्रमणमा आएका थिए ।
विश्वविद्यालय र कलेजले शैक्षिक कार्यक्रम र प्रविधिको विषयमा अनुभव साटासाट गर्दै दुवै पक्षलाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने समझदारी गरेका छन् । सोहीअनुरुप दुवै पक्षबाट भ्रमणहरुको शुरुवात भएको कलेजले जनाएको छ ।
वैशाख २६ देखि काठमाडौंको भृकुटिमण्डपमा १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदैछ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यसहित शुरु हुन लागेको महोत्सवलाई ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने सन्देश दिन खोजिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सञ्चालन हुने सो महोत्सवबाट लघु, घरेलु तथा साना उद्योगलाई के फाइदा हुन्छ ? प्रस्तुत छ, सोही महोत्सवको सन्दर्भमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
महोत्सवलाई यस पटक किन अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला भन्नु भएको छ ? यो मेलामा नयाँ के छ ?
हामीले बिगत लामो सयमदेखि साना तथा घरेलु उद्योगबाट उत्पादिन वस्तु बिक्री तथा प्रदर्शनी गर्दै आएका छौं । यस पटकको महोत्सवमा पनि यस्तै उत्पादनहरु हुनेछन् । अहिले देशभरका पालिकाहरुले आफ्नो एक उत्पादनलाई महोत्सवमा ल्याउनका लागि सहयोग समेत गर्ने भनेका छन । जसले गर्दा विगतको भन्दा यसपटक उद्योगी तथा व्यवसायीको सहभागिता धेरै नै हुने छ । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजी जस्ता अन्तरक्रिया, छलफल तथा कार्यक्रम समेत गर्ने तयारी छ । यस पटक नेपाल सरकार, स्थानीय तहको सहयोगमा स्थानीय तहका उत्पादन भएको बस्तुलाई अन्तर्राष्ट्रिय बजारको पहुँच पुर्याउनका लागि समेत प्रयास गरेका छौं । महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक र टर्कीको सहभागिता रहने छ । साथै, राजधानीमा प्रदर्शनी गर्दा अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्नेका उद्यमीका लागि यो मेला उपयुक्त गन्तव्य हुनसक्ने हामीले मानेका छौं ।
पछिल्लो समयमा साना तथा घरेलु उद्योगहरु आर्थिक मन्दीले समस्यामा छन् । मेलाले उद्यामीलाई सहयोग पुग्ला त ?
हामी लामो समयदेखि आर्थिक मन्दीको पीडामा छौं । सधै निराश भएर बस्ने हो भने उद्यम गर्न सकिँदैन । अर्थतन्त्र विस्तारै चलायमान हुँदैछ । बजारमा विस्तारै चहलपहल बढ्दै छ । तर आर्थिक मन्दीको प्रभाव अझै नहटेको कारण बैंकहरुमा पैसा थुप्रिएर बसेको छ । बैंकहरुले साना तथा घरेलु उद्योगलाई सहज रुपमा ऋण र ब्याजको प्रवाह मिलाउन नसक्दा समेत नेपालको परम्परागत उद्योगहरु माथि उठ्न सकेका छैनन् । साना उद्यमीलाई सहयोग गर्ने कोही पनि छैन । साना उद्योगीहरुले आफनो उत्पादन क्षमता बढाउन सकेका छैनन् । उत्पादन गरेको वस्तुको पनि बिक्री कम भैरहेको छ । गाउँमा उत्पादन गरेको वस्तु बिक्री कम छ । समस्या पनि धेरै छन् । यस पटक हामीले गाउँका उत्पादनलाई सहरसम्म पुर्याउने, सहरबाट विदेशसम्म पुर्याउने सम्पर्कको रुपमा यस महोत्वसलाई लिएका छौं, जसले गर्दा अवश्यपनि उद्यमीहरुलाई लाभ हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको आकषर्ण कस्तो छ ?
अन्तर्राष्ट्रिय बजारमा हाम्रो उत्पादन जहाँ पुगेको छ त्यहाँ राम्रो माग समेत छ । कतिपय मागलाई हामीले पुर्याउन समेत सकेका छैनौं । अहिले उद्योगको उत्पादन ३० प्रतिशत समेत हुन सकिरहेको अवस्था छैन । सत प्रतिशत उद्योगको क्षमता हुँदाहुँदै पनि आर्थिक कारणले उद्योगी व्यवसायीले काम गर्न सकेका छैनौं । उत्पादन वृद्धि गर्ने वातावरण बन्न सकेको छैन । लगानी सम्मेलन जुन उद्देश्यको साथ आयोजना गरिएको थियो त्यसको फल प्राप्त गर्न सकिएन जस्तो लाग्छ । अहिले अध्यादेशमार्फत् ८ वटा कानून परिर्वतन गरेका छौं तर, लगानी सम्मेलनबाट विदेशीको मन जित्न सकेनौं ।
साना तथा घरेलु उद्योगमा वैदेशिक ठूला लगानी आउँदा समस्या हुन्छ भन्ने चिन्ता हुँदाहुँदै पनि लगानी गर्ने वातावरणमै हामीले जोड दिएका थियौं । विदेशी र स्वदेशी लगानीकर्ताबीच एक अर्कासँग समन्वय गरेर अगाडि बढ्नका लागि सरकारले समेत भूमिका निर्वाह गर्न आवश्यक छ । मेला महोत्सवले वस्तुलाई बजारमा ल्याउने र आर्थिक चलायमान हुने अपेक्षा गर्न सकिन्छ । बजारको चक्रलाई व्यवस्थित गर्नका लागि यस्ता मेला महोत्सवले सहयोग पुर्याउँछ । अन्तर्राष्ट्रिय बजारमा नेपाली घरेलु उत्पादन फरक प्रकारका देखिन्छन् । विदेशी उपभोक्ताहरुमा नेपाली उत्पादन प्रतिको आकर्षणपनि राम्रो देखिएको छ । नेपाली उत्पादनलाई थप ब्राण्डिङ गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा हाम्रो वस्तुलाई सहजै बिक्री वितरण गर्न गाह्रो छैन ।
अन्त्यमा, मेला महोत्सव सधैँ प्रदर्शनीमार्गमा नै हुने गरेको छ । यस स्थानमा महोत्सव गर्नका लागि कत्तिको सहज छ ?
सहज छैन । कुनै पनि मेला महोत्सवको लागि स्थानको अभाव त छँदैछ, मेला गर्नका लागि निकै समय प्रतिक्षा गर्नुपर्ने अवस्था पनि छ । यहाँ अहिले हरेक दिन केही न केहीको मेला, महोत्सव, एक्स्पो चलिरहेको हुन्छ । एक दिन समय थप गर्न समेत मुस्किल छ । हामीले पनि यस पटक आमाको मुख हेर्ने दिन औँसीको दिन मेला शुरु गर्नुपरेको छ । यो मात्रै नभएर महोत्सव गर्नका लागि समय पाउन निकै समय लाग्यो । भृकुटिमण्डप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि एक मात्र निर्विकल्प स्थान बनेको छ । हामीले माघदेखि प्रयास गर्दा बैशाखको अन्त्यमा बल्ल स्थान प्राप्त गर्न सकेका हौं । स्थान एउटा छ तर, मेला गर्ने ५० भन्दा बढी संस्था छन । त्यसैले गर्दा प्रदर्शनीको लागि अर्काे विकल्प आवश्यक छ ।
किमाथाङ्का - सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए ।
उनका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् । उडान अवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर–७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो । विश्वकै पाँचौं अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ ।
राहुल गुप्ता/मध्यान्ह
बारा- उद्योगहरुको सुरक्षा हुन नसक्दा आगलागीबाट बारा पर्सामा बर्षेनी करोडौको क्षति हुने गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण हेडक्वाटर पिलुवा बाराले आयोजना शुक्रबार गरेको औधोगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो बताएका हुन् ।
औद्योगिक सुरक्षामा सरकारको ध्यान जानु पर्ने बताएका हुन । आगलागिबाट बर्षेनि करौडौ रुपैयाको धनमाल जलेर नष्ट हुने गरेको बिरगन्ज उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष हरि गौतमले बताएका छन् । उनले पटक पटक सरकारसग उद्योगमा हुने आगलागिबाट बचाउन आगो नियन्त्रक बारुणयन्त्र माग गरेपनि नपाएको उनले बताए । बारा पर्सामा झण्डै ८ सय उद्योग सञ्चालनमा भएपनि उद्योगले सुरक्षा अधिकृत नराखेको र भएका जनशक्तिलाई सुरक्षा सम्बन्धि प्रशिक्षण समेत नदिएको उनले बताए । करौडौं रुपैया लगानी गरेर उद्योग स्थापना गरेका उद्योगहरुले सुरक्षामा ध्यान नदिएकोले बर्षेनि क्षति ब्यहोर्नु परेको उनले बताए । यीनै समस्या उद्योगलाई लक्षित गरि सशस्त्र प्रहरी बलले औद्योगिक बहु–प्रकोपिय जोखिम न्युनिकरण सम्बन्धि कार्यक्रम बारामा आयोजना गर्नु परेको सशस्त्र प्रहरी बलको छिन्नमस्ता महोत्तरीका बाहिनिका बाहिनिपति दिपेन्द्र शाहले बताएका हुन् ।
आगलागि जस्ता बिपदबाट उद्योगको सुरक्षा गर्न कार्यक्रमको आयोजना गरी आफुहरुको आंखा खोलेकोमा धन्यबाद दिंदै अगामी दिनमा मधेश प्रदेशका उद्योगहरुमा सुरक्षा अधिकृत राख्न निर्देशन दिने र बेलाबेला उनीहरुलाई जोखिम न्युनिकरण तालिमको आयोजना गर्न आफुले पहल गर्ने मधेस प्रदेश उद्योग बाणिज्यका अध्यक्ष अशोक टेमानीले बताए । नगर उद्योग बाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न दुई दिने अभिमुखिकरण कार्यक्रममा आयोजक पिलुवाका शसस्त्र प्रहरी उपरिक्षक मोहन बस्नेत क्षेत्री, उद्योगीहरु शम्भुनाथ झा, युवराज सुबेदी लगायतले आगलागिबाट भएको क्षति र बच्न गर्नुपर्ने उपाय बारे बालेका थिए ।
तालिममा बारा र पर्साका उधोगी, सुरक्षानिकायका प्रमुख प्रतिनिधिहरु, आयल निगम अमलेखगन्जका प्रमुख बिनितमणी उपाध्याय, ईलाका प्रशासन सिमरा, ईलाका प्रहरी सिमराको उपस्थिति रहेको थियो । कार्यक्रममा सुरक्षा सम्बन्धि उद्योग तालिम दिने र शनिबार स्थानिय उद्योगमा प्रयोगात्मक अभ्यास गराउने जनाएको छ।
काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।
एडीबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडीबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
अर्थसचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए ।
अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताएको भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए । “जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा म जानकार छु । थप सहयोगका लागि एडीबी तत्पर छ”, मासात्सुगुको भनाइ उद्धृत गर्दै उनले भने ।
भेटका क्रममा सचिव मरासिनीले एडीबीले नेपालको विकासमा पुर्याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि आग्रह गरे । अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि उनले दिए । जवाफमा अध्यक्ष मासात्सुगुले एडीबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies